गीतकार तीर्थ तामाङलाई ‘मेलोडी अवार्ड’

२१ भदौ, पोखरा । नेपालमै पहिलोपटक पोखरामा क्याफे एण्ड लाउञ्ज बारले आयोजना गरेको ‘मेलोडी अवार्ड’ चर्चित गीतकार तीर्थ तामाङलाई प्रदान गरिएको छ ।
पोखराको चिप्लेढुंगामा रहेको मेलोडी क्याफे एण्ड लाउञ्ज बारले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा पहिलोपटक ‘मेलोडी अवार्ड’ आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले तामाङलाई नगद २५ हजार ५ सय २५ रुपैयाँसहित दोषल्ला र दूबोको माला लगाइदिएर अवार्डसहित सम्मान गरे ।
अवार्ड प्राप्त गर्ने तामाङ पोखरामा बसेर तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा कृयाशिल छन् । पोखरा बाटुलेचौर निवासी तामाङले चालिसको दशकबाटै गीत लेखन शुरु गरेका थिए । उनका गीतहरु पचासको दशकमा आएर स्वरबद्ध भए ।
पचासको दशकमा कर्ण दासको स्वर र सुन्दर थापाको संगीतमा रेकर्ड गरिएको ‘ब्यर्थै फेरी घाइते मुटु बल्भिmयो’ बोलको गीत तामाङले नै रचेका हुन् । कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको आवाज र सुन्दर थापाको संगीत रहेको ‘म आफैं धमिलो कहाँ थिएँ र ?, विनोद बानियाको आवाजमा रहेको ‘सक्छौ भने ओखती बनाऊ, आज देश विरामी छ’ लगायत दर्जनौं गीत तामाङले सिर्जना गरेका छन् ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अवार्डले नयाँ प्रतिभा जन्माउन र सुस्ताएका प्रतिभा ब्यूँझाउन उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सम्मानित व्यक्तिको परिचय दिदै गजलकार प्रकट पंगेनी ‘शिव’ले तीर्थ तामाङ अमर सिर्जनाका धनी भएको बताए । तामाङले रचना गरेका गीत जन्मिने तर नमर्ने अमर भएकाले पोखरेलीले सम्भिmरहने गरेको बताए ।
सम्मानित तीर्थ तामाङले आफूलाई अवार्डले गीत रचनामा लागिरहन प्रेरणा प्रदान गरेको बताए । उनले केही समयदेखि आफू सुस्ताए पनि अवार्डले झक्झकाएर ब्यूँझाएकाले थप सिर्जनामा लाग्ने बाचा गरे ।
अवार्ड आयोजक संस्था मेलोडी क्याफे एण्ड लाउञ्ज बारका सञ्चालक मध्येका एक तथा कार्यक्रमका संयोजक बिनोद बानियाँले गीत संगीतको प्रबर्द्धनका लागि आफूहरुले अवार्ड आयोजना गरेको बताए । उनले अवार्डलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार प्रदेश नम्बर ४ मा रहेर गायन, वाद्यवादन र गीत रचना गर्नेमध्ये एक जनालाई हरेक वर्ष अवार्ड प्रदान गरिनेछ । ब्यावसायसँगै सामाजिक कार्य पनि गर्ने उद्देश्य अनुरुप अवार्ड प्रदान गर्ने जमर्को गरेको उनको भनाई छ । अवार्ड भनिए पनि नोमिनेसन र धेरै बिधा नराखिएको उनले प्रष्ट्याए ।
कार्यक्रममा सम्मानित व्यक्ति तामाङका रेकर्डेड गीतहरु कन्दरा व्याण्डका विवेक श्रेष्ठ, कर्ण दास, बिनोद बानियाँ र पशुपति गुप्ताले गाएर तामाङप्रति सम्मान व्यक्त गर्दै सांगीतिक माहोल सिर्जना गरेका थिए । @ अनलाइनखबर |