भूकम्पपिडितको लागि ‘अनुदान रकम ३ लाख रुपैयाँ बनाउने तयारी’

एक संसदीय समितिको बैठकमा डाकिएका प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई दिइने अनुदान रकम दुई लाख रुपैयाँबाट बढाएर तीन लाख बनाउनका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन्।
सोही बैठकमा बोलाइएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखले भूकम्प पीडितलाई तीन लाख अनुदान दिने विषयमा अधिकारीहरुबीच गम्भीर छलफल भइरहेको बताए।
विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष बितिसक्दा पुनर्निर्माण कार्य अत्यन्त सुस्त भएको भन्दै आलोचना भैरहेको छ।संगसंगै भूकम्प पीडितलाई घर निर्माण गर्न नयाँ-नयाँ आश्वासन आउने क्रम पनि रोकिएको छैन।
सोमबार संसदको विकास समितिको बैठकमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले आफ्नो नयाँ योजना सुनाउँदै भूकम्प पीडितलाई अनुदान थप्ने तयारी तीव्र भइरहेको जानकारी दिए।
तयारी
सो बैठकमा उपस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “अनुदान रकम एक लाख थपेर तीन लाख रुपैयाँ पु-याउने जानकारी सम्माननीय प्रधानमन्त्रीले दिनुभयो। त्यसका लागि स्रोत जुटाउन छलफल भइरहेको छ।”
यदि भूकम्प प्रभावित ३१ जिल्लाका करीब आठ लाख भूकम्प पीडितहरुलाई आवास अनुदानको रकम बढाउने हो भने सरकारलाई थप ८० अरब रुपैयाँ आवश्यक पर्दछ।
प्रधानमन्त्रीको नयाँ योजना अनुसारै अनुदान रकम बढाउनका लागि अहिले स्रोत जुटाउने सम्भाव्य उपायबारे अर्थ मन्त्रालयले विभिन्न दातृ निकायसँग छलफल थालेको बताइएको छ।
पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट बढी प्रभावित क्षेत्रका चार लाखभन्दा बढी पीडितहरुसँग यसअघि नै अनुदान सम्झौता गरिसकेको बताइन्छ।
रकम
ती मध्ये करीब २ लाख ८० हजार पीडितहरुले अनुदान सम्झौताको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाइसकेका प्राधिकरणको भनाइ छ।
बाँकी पीडितहरुलाई आगामी असोजको पहिलो सातासम्ममा पहिलो किस्ताको रकम वितरण गरिसक्ने प्राधिकरणको योजना छ।
भूकम्प पीडितहरुका घर निर्माणका लागि तीन लाख रुपैयाँ अनुदानका अतिरिक्त दुई लाख रुपैयाँ ऋण उपलब्ध गराउने सम्भावनाबारे पनि गृहकार्य भइरहेको अधिकारीहरुले बताएका छन्।
उनीहरुले काठमाण्डू उपत्यकाका तीन जिल्लाका भूकम्प पीडितहरुको पहिचान गर्न सर्वेक्षण कार्य जारी रहेको पनि जनाएका छन्। @ बीबीसी/नेपाली