पुरुषको पूजा गरेर महिला मुक्तिको आन्दोलनमा टेवा पुग्ला त ?

हिजो आज हिन्दु महिलाहरुको तीजको रनक निक्कै चर्किएको महसूस हुदैछ चाहे स्वदेश होस् या बिदेशी भुमिमा । कुनैदिन कुनैबार खाली छैन भ्याई नभ्याई छ कार्यक्रम । यसमा सहभागिहरुले यसको धार्मिक महत्वलाई खासै ध्यान दिएको देखिएन।हिजो आज तीजले दिनानुदिन बिकृतिको रुप लिदै गएको छ । तीज हिन्दु शास्त्र अनुसार पार्बतिले १०८ जुनि तपस्या गरेर महादेवलाई पतिको रुपमा पाएको दिन हो । यो दिन बिबाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै पूजा उपासना गर्दछन भने अबिबाहित महिलाहरु शिवजी जस्तो छाडा उरठ्याउला श्रीमान पाउ भनेर । हाम्रो आदिबासी समाज मातृप्रधान समाज हो ।जहाँ पुरुष पूजाको गुन्जायस छैन । नेपाली हिन्दु नारीहरु लैङ्गिक समानताको कुरा गर्दछन फेरि उहीँ पुरुष पूजाको चाड अति महत्वकासाथ मनाउछन । एमाले पार्टिले नारी मुक्तिको कुरा देशमा जोडदार रुपमा उठाएको थियो । नारी समानता /मुक्तिको ठूला ठुला कुरा उठाए बिगतमा ,अहिले पनि उठाइ रहेको छ तर आज त्यही पार्टिको पूर्व उपाध्यक्ष तथा राष्ट्रपति बिद्या भण्डारीले आफ्नै कार्यकक्षामा पुरुष पुज्ने हिन्दु चाड राष्टृय ढुकुटिबाट धुमधाम मनाएका छन् । के पुरुषको पूजा गरेर महिला मुक्तिको आन्दोलनमा टेवा पुग्ला त ?
राष्ट्रपति भनेको सबै जातजाती समुदाय तथा धार्मिक आस्था भएका नेपालिहरुको साझा संस्था हो । लोछार,उधौली,छट,ईद,कृसमस, चासोक, माघे सन्क्रान्ती पनि यसरी राष्ट्रपती कार्यालयले मनाउन सक्छ ? नमनाउने हो यो राष्ट्र र राष्ट्रपति फेरि पनि हिन्दुहरुको मात्र भन्नुपर्ने बाध्यता सृजना हुन्न र ?
संस्कृतिलाई बिकृती नबनाऔ
हिजो आज तीज चाड एउटा फेसन र बैभव प्रदर्शनको प्रतिस्पर्धात्मक मैदान जस्तो भैरहेको छ । हुनेले आफ्नै भए भरको गरगहना अन्य आभुषण र सकेसम्म महङ्गा बस्त्र प्रदर्शन गर्ने नहुनेले खोजेर वा मागेर भए पनी प्रतिस्पर्धामा उत्रने सन्स्कार जस्तै भैरहेको छ । यो चाड केवल धानाढ्य र कुलिनबर्गको लागि मात्र सहज र उत्साह साबित भैरहेको छ । आफुसङग पनि नहुने माग्ने ठाउँ पनि नहुने तर रहर हुनेको लागि तिज ज्यादै सकस हुँदै गैरहेको छ ,अभिशाप हुँदै गएकोछ । यो बिकृतिले हिजो आज तराईमा ब्यप्त दैजो प्रथाको रुप नलेला भन्न सकिन्न । अर्थिक हैसियत नहुने महिलाहरुको लागि भोलिका दिनहरुमा दैजो ल्याउन नसक्ने दुलहिको जस्तो हुन के बेर? बौशाख महिनामा सुख्खा जङ्गलमा सल्केको आगो जस्तै सल्किएको तीजको बिकृतिलाई अघि बढ्न दियो भने तिज भोलिको दिनमा घरायसी झगडा लगायत बिपन्न महिलाहरुको आत्मा हत्याको कारण बन्न सक्ने ठूलो सम्भवना छ ।
हिजोसम्म सासु र घर परिवारले बर्षभरिमा बुहारीलाई दिएको उत्पीडन गित मार्फत माइतिमा पोख्ने चाड थियो तिज ।आज खोइ ती गितहरु ?यस्को सट्टा उताउलो गित र भड्किलो नाच प्रदर्शन गर्ने थलोको रुपमा बिकसित हुदैछ । यो बिकास हिन्दुहरुको लागि पनि चिन्ताको बिषय हुनुपर्दछ ।
आदिबासी महिलाहरु तिजमा
हिजो आज तिजे मेलाहरुमा हिन्दु महिलाहरु मात्र नभएर आदिबासी महिलाहरुको सहभगिता बढ्दै गएको देखिन्छ । कतिले जानेर कतिले नजानेर ।उनिहरुले हिन्दु चाडको राम्रो मोडेल भएर बिज्ञापन गरिरहेकाछन ।आङ्काजी शेर्पाले भने जस्तै ‘नेपाली फिल्महरुमा चाहिँ थेप्चे भनेर नलिने अनि तिजको कार्यक्रममा चाहिँ उहीँ थेपचे नारीहरुलाई अग्रपंक्तिमा राखेर बिज्ञापन गर्ने’। आदिबासी नारीहरु धार्मिक सहिष्णुताको नाममा आफैले तिज आयोजना गरेर रातो चुरा पोते र छड्के तिलहरी भिरेर छमछम नाचेकाछन ।आफैले आयोजना गरेर हिन्दु चाडको प्रबर्धन गर्नु र उनिहरुले आयोजना गरेको ठाउमा सहभागी हुनु फरक कुरा हुन । हरेक चाडहरुको पछाडी धार्मिक आधार हुन्छन भन्ने कुरा उनिहरुले बिर्से जस्तो वा वास्ता नगरे जस्तो देखिन्छ । घरमा श्रीमानलाई खुट्टा ढोगाउने अहिन्दु चेलिहरु पनि यो पतिभक्ती पर्बमा खुबै रमाएको देख्दा बडो चाख लागेर आउछ ।
धार्मिक /सास्कृतिक सहिष्णुता
धार्मिक/सास्कृतिक सहिष्णुताको लागि सहभगिता हुनु र आयोजक भएर हिन्दु धर्मको प्रबर्धन गर्नु फरक कुराहरु हुन । अहिन्दु नेपाली नारिहरुले बुझ्नुपर्ने कुरा हो ।धार्मिक सहिष्णुता हिन्दु समाजबाट प्रष्ट र खुल्ला रुपमा प्रदर्शन हुनसकेको छैन । गैर हिन्दुहरुले धार्मिक सहिष्णुताको नमूना २५० बर्षदेखी देखाईरहेकाछन । राज्यले उनिहरुको धर्म, संस्कार खर्लप्प खाएर हिन्दु धर्म लादिदिदा पनि चुप चाप सहेर बसेकाछन ।हिन्दु धर्मकै पछि दगुरिरहेकाछन । हिन्दुधर्मको वकालत गर्ने राप्रपा नेपालका आधिभन्दा बढी कायर्कर्ता र नेता अहिन्दुछन । हिन्दु धर्मले देशमा अहिन्दुहरुको काध चढेर हिडेको छ ।तैपनी धर्मको नाममा एउटा चल्ला पनि मरेको छैन । देशमा यो भन्दा बढी धार्मिक सहिष्णुता के देखाउनु पर्छर गैर हिन्दु नेपालिहरुले?
अब सहिष्णुता देखाउने पालो हिन्दुहरुको हो। पिडक जातिहरुको हो । आज हिन्दु तिज राष्ट्रपती भवन परिसरमा मनाईरहदाको बिरोध होइन र ईर्ष्या पनि होइन ,समानताको प्रश्न मात्र हो । अहिले लिम्बूनिहरु रातो साडी, पोते, चुरा ,छड्के तिलहरी र सिन्दुर(जुन लिम्बू आभूषण होइन) भिरेर तिजमा “पोइला जान पाम पाम ” भन्ने गितमा धानको बोरा जस्तो कम्मर मर्काउन खोज्दै नाचे जस्तै भोलि लिम्बुले आयोजना गरेको चासोक तङ्नाममा राष्ट्रपती बिद्या भण्डारी साम्याङ्फुङ,कन्ठा र ढाकाको साडी(जुन उनको जातिय आभूषण होइन) लगाएर लिम्बू तरेबाहरुसङ्ग फनफनी धान नाच्न तयार हुन्छन कि हुन्न ? लोसारमा घलेक लगाएर कौडा नाच्न प्रधान न्यायधिश शुसिला कार्की आउछन कि आउदैनन ? केपि ओलि ढोल र झ्याम्टा बोकेर साकेला सिलि नाच्न आउछन ?अरु धर्मका चाड मनाउन राष्ट्रपती कार्यालयबाट पनि राज्यको कोषबाट रकम छुटिन्छ कि छुटिन्न?यो प्रश्नहरु फेरि चर्को रुपमा उठ्नेछन ।
हिजो पृथ्बी नारायण, राणा र पन्चायतले सिधै आदेश मार्फत हिन्दु धर्मको समरक्षण गरिन्थ्यो तर आजको लोकतान्तृक युगमा अहिन्दुहरुलाई नै प्रयोग गरेर हिन्दु धर्मको व्यापक प्रचार प्रसार लगायत हिन्दु सन्स्कारलाई मन्द बिषको रुपमा अहिन्दु समाजमा फैलाईदैछ अहिन्दु चेली बेटिहरुले एक्चोटी चिउडोमा हात राखेर सोच्ने कि ?
– भुपेन्द्र चेम्जोङ