तामाङ भाषाको विकासबारे भाषाविद् अमृत योन्जन तामाङको सुझाव

भाद्र – १५ याम्बु | नेपाल तामाङ घेदुङ केन्द्रले राष्टिय नाचघरमा एक कार्यक्रमको आयोजन गरि ३४ जना सल्लाहकारहरुको सूची प्रकाशित गरेको छ |कार्यक्रममा सबै सल्लाहकारहरुलाई सम्मान गरेको थियो । घेदुङको सल्लाहकारमा भाषाविद् अमृत योन्जन तामाङ पनि मनोनयन हुनु भएको छ |
उक्त सम्मान कार्यक्रममा सल्लाहकारहरुबाट सुझाव माग गरिएको थियो । यसै क्रममा घेदुङका सल्लाहकार एवं भाषाविद् अमृत योन्जन तामाङले मातृभाषा, मातृभाषामा शिक्षा र लिपिको बारेमा प्रस्तुत गर्नु भएको सुझाब निम्न रहेका छन् |
१. तामाङ भाषाको विकास
(१) अब हामीलाई स्थानीय तामाङ भाषाले मात्र पुग्दैन। “तामाङ राष्टि्य भाषा”को विकास गर्नु पर्दछ। यसका लागि तामाङ भाषाको स्तर उन्नत गर्नु पर्छ। प्रशासन, कानुन, न्याय, शिक्षा, स्वास्थ्य, सञ्चार, ज्ञानविज्ञान आदि क्षेत्रका प्राविधिक शब्दावलीको विकास गरिनु पर्दछ। यो अहिलेसम्म हुन सकेको छैन।
(२) शिशु कक्षा र अनौपचारिक शिक्षा स्थानीय तामाङ भाषामा हुनु पर्छ।
(३) आधारभूत तह (कक्षा १-८)को शिक्षा स्थानीय तामाङ भाषामा हुनु पर्दछ।
(४) माध्यमिक तह (कक्षा ९-१२)को शिक्षा क्षेत्रीय तामाङ भाषामा हुनु पर्दछ।
(५) उच्च शिक्षा (विश्वविद्यालय तह) तामाङ राष्टि्य भाषामा हुनु पर्दछ।
२. शिक्षामा तामाङ भाषाको प्रयोग विस्तार
(१) नेपाल सरकारबाट २०५४ देखि मातृभाषा विषयको रुपमा शिक्षा प्रारम्भ भएको हो र तामाङ भाषामा पनि सोही वर्ष देखि विषयको रुपमा शिक्षा सुरु भएको हो। तर यसतिर हाम्रो ध्यान केन्द्रित हुन सकेन। फलस्वरुप तामाङ भाषामा न पाठ्यपुस्तक गतिलो बन्यो न पठनपाठ न नै खासै हुन सक्यो।
(२) नेपाल सरकारबाट २०६३ मा बहुभाषिक शिक्षा प्रारम्भ भयो। यो शिक्षा ८ वटा भाषामा सुरु भएकोमा तामाङ भाषामा पनि भएको थियो। बहुभाषिक शिक्षा भनेको माध्यमको शिक्षा हो। यसमा पनि हाम्रो ध्यान जान सकेन। कुनै मातृभाषी विद्यार्थीले म मातृभाषामा पढछु वा अभिभावकले मेरो बच्चालाई मातृभाषामा पढाइ दिनु भन्ने वित्तिकै विद्यालयले मातृभाषामा पठाउनु पर्ने निर्देशन छ। बहुभाषिक शिक्षा पढाए वापत सरकारले प्रति विद्यालय १५ हजार दिने ब्यवस्था पनि गरेको छ तर हामी चुक्यो। यस तर्फ हाम्रो ध्यान गएन। यो कुरा तामाङ हेडसर र तामाङ शिक्षकहरुलाई थाहा छ तर उनीहरु मातृभाषा प्रति सचेत छैनन्।
(३) शिक्षक नियुक्ति गर्ने र हटाउने अधिकार विद्यालय ब्यास्थापन समितिलाई छ तर उसले तामाङ भाषी शिक्षक नियुक्त गर्ने आँट गर्दैनन्। किनकि ऊ आफ्नो मातृभाषा प्रति सचेत छैनन्। आफ्नो पार्टी प्रति कृतज्ञ हुन्छन्।
(४) नेवार, मैथिली, भोजपुरी, उर्दू लगायतका भाषा माध्यमिक तहमा अध्यापन भइरहेको छ। नेवार, मैथिली, उर्दू आदि भाषामा त्रिभूबन विश्वविद्यालयमा अध्ययन अध्यापन हुन्छ। तामाङ भाषामा अध्ययन अध्यापन गर्न कुरै नियम कानुनले छेक्छ जस्तो मलाई लाग्दैन। हामी किन तयार हुन सकेनौ ?
(५) शिशु कक्षा र अनौपचारिक शिक्षा स्थानीय मातृभाषा हुने निर्देशन छ। अहिलेसम्म यो काम गर्ने प्रयास भएन। यो काम हामीले तुरुन्त नै गर्नु पर्छ।
३. लिपि
कार्यदलको ३ वटा बैठक बस्यो । हामी सहमतिको नजिक छौं। कार्यदलका एक जना सदस्य १ महिनाको लागि विदेश भ्रमणमा जानु भएको छ। उनी आउने वित्तिकै बैठक बसेर यसको निकास दिनेछौ।
मेरो विचारमा तामाङ भाषा र तामाङ भाषामा शिक्षाबारे मैले उठाएका कुराहरुमा मनन गर्नु आवश्यक छ। यसबारे छलफल गरेर ठोस निष्कर्षमा पुग्न सकिन्छ र कार्ययोजना बनाउनु आवश्यक छ ।
साभार: अमृत योन्जन तामाङको फेसबुक मार्फत