तामाङ पहिचान स्थापित गर्न घेदुङले चरणवद्ध आन्दोलन गर्ने घोषणा

-सन्तवीर लामा
धनकुटा÷नेपाल तामाङ घेदुङ प्रदेश नं.१ ले नयाँ संविधानमा तामाङ समुदायको पहिचान सहितको हकअधिकारलाई स्थापित गरी स्थानिय निकाय संरचना गर्दा तामाङ जातिको स्वयत्त र संरक्षित क्षेत्रको शुनिश्चित गर्न सरकारलाई दवाव दिने उदेश्यले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
नेपाल तामाङ घेदुङ प्रदेश नं.१ को अध्यक्ष मित्रसेन योञ्जन तामाङको अध्यक्ष शुक्रवार धनकुटाको हिलेमा सम्पन्न घेदुङका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष, सचिवहरु र प्रदेशका पदाधिकारी एवं सदस्यहरुको विस्तारित भेलाले यस्तो निर्णय गरेको हो । नयाँ संविधानले तामाङ पहिचानलाई सम्वोधन नगरेको, स्थानिय निकायको पुनःसंरचना जस्तो गम्भिर विषयमा छलफल भैरहँदा स्थानिय निकाय पुनःसंरचना प्राविधिक समितिले तामाङ जनतालाई वेवास्ता गरेको, एक नंम्वर प्रदेश अन्तर्गत लिम्वुवान र खम्वुवान भित्र वसोवास गर्ने तामाङ जनताको संरक्षित क्षेत्रहरुको कुनै ग्यारेण्टी नगरिएको लगायतका दर्जनौं माग राखेर सम्वोधनका लागी चरणवद्ध आन्दोलनको तयारी गरिएको अध्यक्ष मित्रसेन योञ्जन तामाङले वताएका छन् ।
अध्यक्ष तामाङले पहिचान र अधिकारका लागी नेपाल तामाङ घेदुङले तामसालिङ स्वयत्तताको लागी पुर्ववाट आन्दोलनको घोषणा गरिएको वताउँदै तामाङले भने “नेपालको राज्यसत्ताले तामाङ जाति माथि इतिहाँसको लामो कालखण्डामा विगत देखी नै विभेद गरेको छ” । उनले विशेष गरेर १ नम्वर प्रदेश भित्रको लिम्वुवान र खम्वुवानमा सदियौ देखी वसोवास गरिरहेको तामाङ समुदायको राजनैतिक हैसियतलाई स्थापित गर्नको लागी पनि घेदुङले पुर्वमा तामाङ जनतामा एकता र राजनितिक जागरणको कार्यक्रम संचालन गर्न लागीएको वताएका छन् ।
आठौं राष्ट्रिय महाधिवेशन पछिको प्रथम विस्तारित भेलाले आगामी भाद्र २० र २१ गते प्रदेश नं.१ अन्तर्गगतका सम्पुर्ण जिल्ला प्रशासन कार्यालय मार्फत १५ दिने अल्टिमेटम सहित ज्ञापन पत्र वुझाउने, अशोज ६ गते प्रदेश नं.१ भरी एक दिने चक्काजाम गर्ने र अशोज १३ गते धनकुटाको हिलेमा एक नम्वर प्रदेश स्तरिय “वृहत तामाङ राजनितिक जनजागरण सभा” आयोजना गर्ने निर्णय भएको समेत अध्यक्ष तामाङले वताएका छन् ।
विस्तारित भेलामा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्यहरु लालचन्द्र गोङ्गवा तामाङ धनकुटा, मैतवहादुर गोले तामाङ सुनसरी, खड्गवहादुर मोक्तान तामाङ ताप्लेजुङ, सन्तवहादुर घिसिङ खोटाङ, हस्तवहादुर घिसिङ तामाङ संखुवासभा, दिलकुमार पाख्रीन तामाङ झापा, पुर्व केन्द्रिय सदस्य वीरवहादुर तितुङ तामाङ धनकुटा, पुर्व युवा घेदुङका केन्द्रिय सदस्य वुद्ध तितुङ तामाङ लगायतले तामाङ जनतामा राजनितिक जागरण अभियान संचालन नभएकै कारण तामाङ जनता राजनितिमा पछि परेको भन्दै राजनितिमा तामाङ जनतालाई सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।
नेपाल तामाङ घेदुङ प्रदेश नं.१ अध्यक्ष मित्रसेन योञ्जन तामाङको अध्यक्षतमा सम्पन्न विस्तारित भेलामा घेदुङका जिल्ला अध्यक्षहरु काजीमान घिसिङ झापा, मंगलसिंह मोक्तान सुनसरी, गणेश स्याङ्गवो संखुवासभा, सन्तलाल तामाङ इलाम, सिताराम थिङ तामाङ धनकुटा, दिलवहदाुर पाख्रीन तामाङ मोरङ, पुर्व अध्यक्ष कृष्ण गोले तामाङ झापा, प्रदेश समितिका प्रमुख सल्लाहाकार मनु मोक्तान तामाङ इटहरी, उपाध्यक्ष रामवहादुर ग्यावा तामाङ, प्रदेश सदस्यहरु मणी तितुङ तेह्रथुम, सविला मोक्तान तामाङ, धनकुटा, सिता तामाङ संखुवासभा, दानवहादुर तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए । भेलाको संचालन प्रदेश सचिव निरेन तितुङ तामाङले गरेका थिए । विस्तारित भेला तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाको व्यावस्थापनमा सम्पन्न भएको थियो ।