गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन ११ बुँदे घोषणापत्र सहित सम्पन्न (भिडियो)

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमा सम्पन्न भएको छ ।
“भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटन पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङले गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा भएको यस सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
सम्मेलनमा मुख्यत: गैरआवासीय नेपाली संघको आगामी नीति तथा संस्थागत संरचनाका बिषयमा अध्यक्ष शेष घलेले पेश गर्नुभएको प्रस्ताव माथि छलफल भयो ।
एनआरएनएको संस्थागत क्षमता अभिबृद्धि गरी नेपाल र नेपाली समुदायको अपेक्षालाई परिपूर्ती गर्नेगरी संरचना तयार गर्ने, दोस्रो पुस्ताका एनआरएनलाई संस्थामा सहभागी बनाउने र परोपकारी कामका लागि बेग्लै एनआरएन फाउण्डेसन स्थापना गर्ने नयां नीतिमा प्रस्ताव गरिएको छ ।
सम्मेलनले सो प्रस्ताव प्रति सहमति प्रदान गर्दै गैरआवासीय नेपालीहरुको सुझाव र प्रतिक्रिया लिएर कार्यन्वयनको प्रकृयामा लैजान अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जिम्मा दिएको छ ।
सम्मेलनमा पुन:निर्माण, गैरआवासीय नेपाली संघको भवन निर्माण, गैरआवासीय नेपाली नागरिकता, बैदेशिक रोजगार, महिला, पर्यटन प्रर्बद्धन लगायतका बिषयमा गहन छलफल भएको छ । ती छलफलबाट प्राप्त निष्कर्षहरुलाई समावेश गर्दै सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।