एमालेले माग्यो सभामुखको जवाफ ,जनजातीलाई आन्दोलनमा उत्रिन उक्साएको ….

काठमाडौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख ओनसरी घर्तीले संविधान संशोधनका लागि आन्दोलनमा उत्रिन आदिवासी जनजातिहरुलाई आव्हान गरेको विषयमा जवाफ माग गरेको छ ।
एमालेले व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा मुलुकमा स्थायित्व कायम गर्न भूमिका खेल्नुपर्ने पद्मा आसिन व्यक्तिले आन्दोलनका लागि उक्साउनु आपत्तिजनक भएको भन्दै सभामुख घर्तीसँग जवाफ माग गरेको हो ।
एमालेका उपाध्यक्ष भीम रावलले सभामुखले आदिवासी जनजातिहरुलाई आन्दोलनका लागि उक्साउनु संविधानको भावना विपरित भएको बताए ।
उनले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान कार्यान्वयनमा भूमिका खेल्नुपर्ने सभामुखलाई आन्दोलनका लागि उक्साउन पदीय गरिमा र मर्यादाले नदिने भन्दै आदिवासी जनजाति समुदायसमक्ष व्यक्त गरेका विचार बारे सभामुख घर्तीले जवाफ दिनुपर्ने बताए ।
सभामुख घर्तीले शनिबार आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले काठमाडौमा गरेको कार्यक्रममा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित हुने गरी संविधान संशोधनका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई आग्रह गर्दै आन्दोलनमा आफूले पनि साथ दिने बताएकी थिइन् ।