बुबाले शंका गर्दा युवती द्वारा आत्महत्या

भदौ – ११ धादिङ | बिहानको हिँडाइपछि घर फर्कँदै गर्दा चियाको अफर आयो । सँगै पढाउने भएकोले कुनै संकोच नमानी उनि सहकर्मीको घरमा पुगे । उनले चिया पकाइन् । चिया खाएर घरमा बस्दै गर्दा एक्कासी घरमा चोर आयो भन्ने आवाज आयो । एकछिन अलमल परेपछि उनिहरु बसेको कोठामा बाहिरबाट चुकुल लाग्यो । अब फसाद पर्यो ।
नीलकण्ठ नगरपालिका–३ धादङबेसी बजार बस्ने सरिना खातुनले सँगै धादिङ बोर्डिङ स्कूलमा पढाउने एक जना शिक्षकलाई बिहान चिया खान कोठामा बोलाएकी हुन् ।
कृष्णअस्टमीको दिन बिहान । सरिनाको शिक्षक साथी मर्निङ वाल्कबाट फर्कदैँ गर्दा उनको घरमा चिया खानका लागि गए । चिया खाएर फर्कने सुर गर्न लाग्दा सरिनाका बाबुले एक्कासी कराए ‘चोर आयो’ । उनले कराएपछि बाहिरबाट चुकुल लगाए ।
छिमेकीहरु चोर आयो भनेर कराएको सुनेपछि आए । तर कसैले केही गर्ने भन्ने सोच्न सकेनन् । सरिनाका बाबुले युवक र छोरीलाई कुटपिट गरे । कसैले रोकेनन् । केहीबेरपछि प्रहरी आयो । प्रहरीले ति युवकलाई गिरफ्तार गर्यो । प्रहरीले उनलाई एक जना साथीको जिम्मा लगाएर घर पठायो । उनिहरु गए ।
सरिनाले शिक्षक साथीलाई मन पराएर नभई साथीको रुपमा बोलाएको भएपनि परिस्थिति बिग्रिएको थियो । घटनापछि सरिना काठमाडाैमा बस्दै आएकी दिदीको कोठामा बस्नका लागि गइन् ।
सरिनाका बाबु केही दिनदिनदेखि बिरामी थिए । उनी छोरी काठमाडौं गएपछि घर छाडेर गए । चार लाख रुपैयाँ लिएर घर छाडेर हिँडेका उनले मलाई नखोज्नु भनेका थिए ।
आफ्नो दिदीको कोठामा पुगेकी सरिना सधैँ एकसुरले बसिरहन्थिन् । उनको आमा पनि बिरामी परेर उपचारको लागि पहिल्यैदेखि काठमाडौंमा थिइन् । शुक्रबार बिहान दिदी आमालाई लिएर उपचार गराउन अस्पताल गएको बेला सरिनाले कोठामै पासो लगाएर आत्महत्या गरिन् ।
छोरीको आत्महत्या भएको, श्रीमतीसँग केही दिनअघि झगडा गरेर कुटपिट समेत गरेका सरिनाका बाबुले विष खाए । प्रहरीले उनको उद्धार गरि अस्पताल लग्योे । उनको उपचार भयो ।
सरिनालाई परिवारको चाहना अनुसार काठमाडौं पठाइएको र त्यसपछि भएको आत्महत्याको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
समाजको प्रवृत्ति, धार्मिक कट्टरता र प्रहरीको असावधानीले आत्महत्या भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । केटा केटीको कुनै भावना नबुझि शङ्का गरेर कुटपिट गर्नु र स्वतन्त्र बाँच्न नदिनु आत्महत्याको कारण देखिएपनि भित्रि कारण सरिनासँगै बिलाएको छ । आत्महत्या भएपनि यो हत्या गरिएसरहको घटना भएकोले अनुसन्धान गरि पीडकलाई कारबाही गर्नु पर्ने धादिङकी महिला अधिकारकर्मी गायत्री खतिवडाले बताएको समाचार उज्यालोअनलाइनमा छ |