फ्रान्समा बुर्किनी प्रतिबन्धले खैलाबैला

पेरिस (बीबीसी)
भाद्र १०, २०७३- फ्रान्सका २६ नगरले समुद्र तटमा ‘बुर्किनी’ नामक पूरै शरीर ढाक्ने स्वीम सुट पहिरिन महिलालाई प्रतिबन्ध लगाएपछि राष्ट्रियस्तरमै विवाद चर्केको छ । अधिकारवादी संस्था एन्टिइस्लामफोबिया संघ (इस्लामको कथित डरविरुद्धको संस्था) ले यो प्रतिबन्धलाई गलत भन्दै हटाउन उच्च अदालतमा निवेदन दिएको छ ।
खासगरी रिभेरा क्षेत्रका ती नगरका मेयरहरूले धर्म निरपेक्षताका नियम र सार्वजनिक सुव्यवस्था कायम राख्न उक्त प्रतिबन्ध लगाउनु परेको दाबी गरेका छन् । मत सर्वेक्षणहरूमा धेरैजसो फ्रान्सेलीले उक्त प्रतिबन्धलाई समर्थन गर्ने बताएका छन् । मुस्लिम समुदायले चाहिँ आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको प्रतिक्रिया दिएका छन् । आइफोप सर्वेक्षणका अनुसार ६४ प्रतिशत फ्रान्सेली जनता प्रतिबन्धको पक्षमा छन् । ३० प्रतिशतले भने यसबारे आफूलाई कुनै मतलव नभएको जनाएका छन् । यो प्रतिबन्धबारे फ्रान्सेली सरकारका वरिष्ठ सदस्यहरूका पनि फरक फरक धारणा छन् ।
प्रधानमन्त्री म्यानुअल भाल्स पनि विवादमा मुछिएका छन् । उनले ती नगरका मेयरहरूलाई ढाडस दिँदै ‘बुर्किनी लगाउने महिलाले फ्रान्सेली गणतन्त्रको सहनशीलता जाँचिरहेको’ टिप्पणी गरे । शिक्षामन्त्री नजात भलाउद वेलकासेमले चाहिँ प्रतिबन्धलाई अप्रिय भन्दै ‘एउटी महिलाले समुद्री तटमा लगाउने लुगाको जिहादी समूह आईएससँग सम्बन्ध रहने भन्ने विचार’ प्रति आपत्ति जनाइन् । निस सहरमा प्रहरीले उक्त प्रतिबन्ध लगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि विवाद मच्चिएको हो । सियाम नामकी एक ३४ वर्षीया आमालाई निसमा प्रतिबन्ध उल्लंघन गरेको भन्दै प्रहरीले ९ युरो जरिवाना तिराएको थियो । ती महिलाले भने आफूले बुर्किनी नभएर लेगिंस, ज्याकेट र हेडस्कार्फ लगाएको दाबी गरेकी छिन् ।
‘प्रहरीले मलाई ठीक हिसाबले लुगा लगाउन भन्यो । हेडब्यान्डका रूपमा हिजाव लगाउन भन्यो । मैले त्यसै गरें । मैले त आफ्नै सहरमा विरानो अनुभव गरें । कसैले आएर मलाई सान्त्वना दिए भने कसैले अपमान गरे,’ ती महिलाले भनिन् ।
फ्रान्सेली दैनिक लिवरेसनले उक्त प्रतिबन्धलाई ‘स्थानीयस्तरको मूर्ख कानुन’ भनेको छ । यसले इस्लामिक प्रोपागान्डालाई खुराक मिल्ने उसकोटिप्पणी छ । फ्रेन्च काउन्सिल अफ द मुस्लिम फेथ (सीएफसीएम) का अध्यक्ष अनौर काविवेकले यो विवाद चुलिँदै गएर फ्रान्समा मुस्लिम समुदायप्रति घृणा बढाउने काम भइरहेकामा चिन्ता व्यक्त गरे । यो प्रतिबन्ध लगाइएका नगरहरू दक्षिण पूर्वी फ्रान्सका तटीय क्षेत्र हुन् । यस प्रतिबन्धलाई आधार बनाई जरिवाना गर्ने सहरमा केन्स र निसमात्र छन्, जहाँ अहिलेसम्म २० जनामाथि कारबाही भएको छ ।
अधिकारवादी संस्थाहरूले यसअघि निसको अदालतमा प्रतिबन्धविरुद्ध मुद्दा दायर गरेका थिए । तर अदालतले मागबमोजिमको फैसला नगरेपछि उनीहरू उच्च अदालत गएका हुन् । गत जुलाई १६ मा एक इस्लामिक लडाकुले निस सहरको मेलामा रमाइरहेका मानिसमाथि लरी जोतेर ८६ जनाको हत्या गरेपछि नगरका अधिकारीहरूले उक्त प्रतिबन्ध आवश्यक ठानेका हुन् । स्थानीय नेताहरूले यसलाई ‘जायज’ भनेका छन् । पछिल्ला वर्ष फ्रान्समा लगातार ‘जिहादी आक्रमण’ हुँदै आएको छ ।