सुलभ तामाङ प्रतिभा पुरस्कार कवि बिना थिङ तामाङलाई प्रदान

काठकाडौँ । ‘सुलभ तामाङ प्रतिभा पुरस्कार’ कवि बिना थिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रू २५ हजार रहेको छ ।
तामाङ सेवा समाजले प्रदान गर्ने सो पुरस्कार आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले कवि थिङलाई प्रदान गर्नुभयो ।
त्यसैगरी उहाँले कालिका नारी प्रतिभा पुरस्कार गुठीले प्रदान गर्ने ‘कालिका नारी प्रतिभा पुरस्कार’ पाँच कवियत्रीलाई प्रदान गर्नुभयो । जनही रू एक हजार राशिको उक्त पुरस्कार कवियत्रीहरू थिङ, कुमारी तामाङ, हिरामाया घिसिङ, अनिषा थिङ र गजलकार सजना गोलेलाई प्रदान गरियो ।
सो अवसरमा उपकुलति घिमिरेले पत्रकार तथा लेखक रवीन्द्र तामाङको ५० औँ जन्मोत्सवको अवरसमा प्रकाशित ‘पचास वर्ष रवीन्द्र तामाङ’ स्वर्णग्रन्थ लोकार्पण गर्दै आममानिसले नबुझे पनि मातृभाषामा जुन साहित्य आएको छ त्यसले नेपालीपन दिएको छ भन्नुभयो । पुस्तकमा ३० संस्मरणात्मक लेख, अन्तवार्ता रहेका छन् ।
समाजका अध्यक्ष कुयाङ तामाङले नेपाली साहित्यलाई अगाडि बढाउन तामाङ समुदायको पनि अतुलनीय योगदान रहेको बताउनुभयो । कार्यक्रममा पुरस्कृत पाँच कवियत्रीले समसामयिक कविता वाचन गर्नुभएको थियो । रासस