प्रचन्ड नेतृत्वको सरकारमा कांग्रेसको १५ जना मन्त्रि , ससुरा र जुवाई मन्त्रि बने

काठमाडौं—नेपाली कांग्रेसका युवा नेता गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसीको कांग्रेस राजनीतिमा आफ्नै स्पष्ट प्रभाव छ । राष्ट्रिय राजनीतिमा पनि यी ज्वाइ ससुराको ब्यक्तित्वको उतिकै प्रभाव छ ।
एउटै पार्टीका यी दुवै प्रभावशाली नेताहरुका लागि गत फागुनमा सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशन खल्लो सावित भएको थियो । कारण, ससुरा अर्जुननरसिंह केसी अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका लागि चुनाव लडे भने ज्वाइ गगन थापा सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाको प्यानलबाट । नतिजा दुवै पराजित ।
राजनीतिक पासा पल्टिन कति नै बेर लाग्छ र ? महाधिवेशनमा महामन्त्रीमा पराजित सुसुरा र ज्वाइ दुवैलाई एकै पटक मन्त्री पद पड्काउने अवसर प्राप्त भएको छ । महाधिवेशनमा केसी र थापा पराजित हुंदा उनीहरु दुवैले फरक ध्रुवबाट चुनाव लडेर भोग्नुपरेको पराजयको तीतो अहिले फरक ध्रुवमै रहेका कारण मीठो अवसर बनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा नेपाली कांग्रेसको तर्फबाट ससुरा ज्वाइ दुवैले मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् । गगनले स्वास्थ्य मन्त्रालय र अर्जुनरसिंहले शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
गगनका सुसुरा अर्जुननरसिंह केसी यसअघि मन्त्री बनिसकेका छन् भने गगन भने मन्त्रीका रुपमा ‘अनटेष्ट’ पात्र हुन् ।
अर्जुननरसिंहले नुवाकोट—१ बाट चुनाव जितेका हुन् भने गगन काठमाडौं—४ बाट चुनाव जित्ने कांग्रेसका जुझारु युवा नेतामा पर्छन् । कांग्रेसको आन्तरिक राजनीतिमा दुवैले फरक धारबाट राजनीतिक गर्दै आएका छन् ।
कुनै समय कोइराला क्याम्पका सशक्त नेता मानिने केसी गत वर्षको फागुनमा सम्पन्न महाधिवेशनमा कोइराला क्याम्प परिवर्तन गरी देउवा क्याम्पबाट महामन्त्रीमा चुनाव लडेका थिए । गगन पनि कोइराला क्याम्पकै हुन् तर सुशील कोइरालाको निधनपछि कांग्रेसमा उदाएको अर्को धारमा रहेर गगन फरक ध्रुबको राजनीतिक सुरु गरेका हुन् ।
कांग्रेसभित्रका प्रभावशाली नेताका रुपमा चिनिने कृष्ण सिटौलाको धारबाट गगनले अहिले कांग्रेसमा राजनीतिक गर्दै आएका छन् । ससुरा देउवा क्याम्पमा पुगेका बेला थापा सिटौला क्याम्पमा पुगेपछि कांग्रेसको आन्तरिक राजनीतिमा ससुरा—ज्वाइको धार फरक—फरक बन्न पुगेको हो । सभापति देउवा क्याम्पबाट अर्जुननरसिंह मन्त्री बन्ने सौभाग्य पाएका हुन् भने गगनको भाग्य चम्कनुमा सिटौला क्याम्पको महत्वपूर्ण खम्बा हुनु प्रमुख कारण बनेको छ ।
सिटौला १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए भने उनकै क्याम्पबाट गगन महामन्त्रीमा लडेका थिए । यता गगनका ससुरा अर्जुननरसिंह भने देउवाले सभापतिमा जित्दा उनकै प्यानलबाट महामन्त्रीमा लडेर सशांक कोइरालासाग पराजित भएका पात्र हुन् ।
नेपाली कांग्रेसले यसअघि १३ मन्त्रालय पाउने भनिएपछि भागवण्डा मिलाउन नसकेपछि १५ मन्त्रालय लिएको छ । कांग्रेसको तर्फबाट देउवाले ८ मन्त्रालय, पौडेलले ५, खुमबहादुर खडका र कृष्ण सिटौला पक्षकाले १ १ मन्त्रालय पाएका छन् ।
यी हुन कांग्रेसका १५ मन्त्री
अर्जुननरसिंह केसी -सहरी विकास
प्रकाशशरण महत -परराष्ट्र
बालकृष्ण खांड -रक्षा
सूर्यमान गुरूङ -श्रम तथा रोजगार
केशवकुमार बुढाथोकी -सामान्य प्रशासन
रोमि गौचन थकाली -बाणिज्य
सीतादेवि यादव -शान्ति तथा पुनर्थापना
जीवनबहादुर साही -पर्यटन
दीपक गिरी -सिंचाई
नविन्द्रराज जोशी -उद्योग
शंकर भण्डारी -बन
गगन थापा -स्वास्थ्य
ह्दयराम थामी -सहकारी तथा गरिवी निवारण
विमलेन्द्र निधी – उपप्रधान तथा गृह
रमेश लेखक -यातायात