चर्चित गीत वारी जमुना पारी जमुनाका गायक खेमराज गुरुङको निधन

काठमाडाैं, भदाै ९ । चर्चित गीत वारी जमुना पारी जमुनाका गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिसको समस्या देखिएका गुरूङलार्इ १० दिन देखि चावहिल स्थित मेडिकेयर अस्पतालमा उपचार गराइएकाे थियाे । उपचारकाे क्रममा गायक गुरुङकाे विहिबार दिउँसो ५ः५० बजे निधन भएको अस्पतालले जनाएको छ । अत्याधिक मदिरापानका कारण गुरुङको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको अस्पतालले बताएको छ ।
उनलार्इ एयर एम्वुलेन्सबाट दिल्ली लैजाने तयारी गरिएकाे भए पनि स्वास्थ्य अवस्था नाजुक भएकाले लैजान नमिल्ने भन्दै डक्टरहरूले अनुमति दिएका थिएनन् । गुरूङका वारी जमुना पारी जमुना, अालुतामाले जस्ता सयाै गीतहरू चर्चित छन् । गुरूङ २०३३ साल माघ १ गते संखुवासभा जिल्लाकाे खाँदवारीमा बुवा अमृतबहादुर गुरूङ र अामा तुलसीमाया गुरूङकाे काेखबाट जन्मिएका थिए । उनका जीवन, साेल्टी, धरान पाेखरा, अालुतामा लगायतका गीति एल्वम चर्चित छन् ।