यसरी समृद्ध बनाउन सकिन्छ देश

-मदन राई
नयाँ संविधान घोषणा भएपछि लामो समयदेखि चल्दै आएको शासन प्रणाली उल्टिएको छ । संविधान जारी हुनुअघि शासक प्रधान हुने शासन प्रणाली हामीकहाँ थियो । अहिले परिदृश्य फेरिएको छ । संविधान जारी भएपछि गणतन्त्र र लोकतन्त्र पूर्ण रूपमा संस्थागत भएका छन् । यसले शासनमा जनता प्रधान भएर आएको छ । नयाँ संविधानको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यही हो । नयाँ संविधान जारी भएपछि पुराना राजनीतिक शक्तिको साटो नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पनि सँगसँगै आएको छ । त्यही आवश्यकता बोध गरेर हामीले डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी निर्माण गरेका छौँ । बाबुरामजीले नै राज्यले जनतालाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ भनेर नयाँ मोडेल अगाडि सार्नुभएको छ । अहिलेका जनता समृद्धि चाहन्छन् । समृद्धिका निम्ति राजनीतिक दर्शनका रूपमा उहाँले पाँच ‘स’ को अवधारणा अघि सार्नुभएको छ । पहिलो स्वाधीनता र सार्वभौमिकता आवश्यक छ । अधीनमा बसियो भने के जिन्दगी हुन्छ र ? यहाँ हामी अप्रत्यक्ष अधीनमा छौँ । कहिले भारतको अप्रत्यक्ष अधीनमा छौँ, कहिले अन्य छिमेकीको अधीनमा । त्यसकारण पनि देश र जनता समृद्ध बन्न अनिवार्य र पहिलो सर्त भनेको देशको स्वाधीनता, सार्वभौमिकता हो । स्वाधीनता प्राप्तिका लागि समानुपातिक समृद्धि आवश्यक हुन्छ । समृद्धिका लागि नेपाली आफैँले केही गर्नुपर्छ ।
नेपालमा बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुक्षेत्रीय समाज छन् । यी सबै नेपालीलाई समान रूपमा एक ठाउँमा राख्न समानुपातिक समावेशी हुनुपर्छ । गफै गरेर, मान्छे भेला गरेर देश समृद्ध बन्दैन । त्यसका लागि सुशासन पनि सँगसँगै आवश्यक पर्छ । सुशासन र सदाचार आवश्यक पर्छ, भ्रष्टाचार होइन । त्यसपछि सहभागितामूलक समाजवाद प्राप्त गर्न सकिन्छ । समाजवाद भनेको परम्परागत अर्थमा राज्यले सबै कुरा जनतालाई गरिदिने र राज्यप्रधान हुने भन्ने थियो । तर, हामीले ३ असोजमा संविधान जारी गरिसकेपछि अब जनता प्रधान छन् । अब राज्यले जनताका लागि गर्ने हो । जनताको सहभागितामा सहभागितामूलक समाजवाद आवश्यक छ । त्यस्तो समाजवादका लागि राज्यको पनि भूमिका उत्तिकै रहन्छ, तर सहायक सेवा गर्ने हुनुपर्छ । खास सहभागिता जनताको हुन्छ । त्यसकारण हामीले सहभागितामूलक समाजवाद भनेर हाम्रो राजनीतिक दर्शन बनाएका छौँ । अब हाम्रो वाम–लोकतन्त्र होइन, प्रगतिशील लोकतन्त्र राजनीतिक दर्शन हो । वाम भन्नेबित्तिकै सीधै कम्युनिस्ट भन्ने बुझिन्छ । हामी कम्युनिस्ट पनि होइनौँ, कांग्रेस पनि होइनौँ । हाम्रो मिसन परम्परागत समाजवाद पनि होइन, पूर्ण समाजवादका केही अंश परिभाषाका हिसाबले गर्छाैं, तर त्यो जनता संलग्न भएको, सहभागी भएको र जनताका लागि गरिने समाजवादको कुरा हामीले गरिरहेका छौँ । यसलाई हामीले राजनीतिक दर्शनको पाटो बनाएका छौँ ।
समृद्धि कसरी प्राप्त गर्ने भन्ने विषयमा हामी व्यावहारिक पाटोबाट घोत्लिन जरुरी छ । समृद्धि प्राप्तिका लागि मान्छे नै अग्रसर हुनुपर्छ । मान्छे २४ घन्टामा १२ घन्टा सुत्नैपर्छ । यताउता तयारी गर्नुपर्यो गइहाल्छ । त्यो समय पनि ‘अल्याङमल्याङ’ गर्दैमा बितिहाल्छ । समयलाई हामीले यसरी खेर फालिरहेका छौँ । जनतालाई सरकारले समृद्धिको बाटोमा लगाउनुपर्छ । त्यसमा समयको सञ्चय कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ । दोस्रो, समृद्ध बन्न जनता जे गर्न पनि तयार छन् । जनता बिजुली बनाउन तयार छन्, तर बाटो छैन । भोटेकोसी, त्रिशूली, सोलुखुम्बुमा बिजुली यति धेरै निस्कन्छ, तर त्यहाँ प्रविधि पुर्याउन बाटो छैन । समस्या सडकको छ । म गाउँमा टेलिफोन लान चाहन्छु, तर त्यहाँ सडक छैन । त्यहाँ उद्योग लान खोज्छु, बाटो छैन । कच्चापदार्थ लानुपर्यो, सडक हुँदैन । गाँउमा उत्पादित सामग्री बजारमा लानुपर्यो, बाटो छैन । गाउँमा हजारौँ हेक्टरमा म कृषि उत्पादन गर्न चाहन्छु, तर बाटो छैन । व्यापार गर्न पनि बाटो छैन ।
त्यसकारण जनतालाई समृद्ध बनाउन चाहिने सबैभन्दा पहिलो कुरा सडक नै हो । जुन काम सर्वसाधारणले गर्न सक्दैनन् । सडक बनाउन खर्बाैं लगानी लाग्ने गरेको छ । बिजुलीलाई अर्बले पुग्छ । तर, बाटोलाई खर्बाैं लाग्छ । जुन जनताले गर्न सक्दैनन्, त्यो काम राज्यले गरिदिने हो । समृद्धिका लागि व्यवहारमा जाँदा दोस्रो ‘स’का रूपमा सडकको काम गर्नुपर्छ । तेस्रो, ‘स’ भनेको सुरक्षा हो । अहिले हाम्रो समाज गुन्डामय भएको छ । जाहाँ–त्यहीँ आतंक छ । ठेक्का लुट्ने, काम लुट्ने, केही गर्न नदिने अवस्था हामीकहाँ देखिन थालेको छ । त्यसकारण बाटो खन्नेलाई सुरक्षा दिने, बिजुली बनाउनेलाई सुरक्षा, उद्योगधन्दालाई निर्बाध रूपमा सञ्चालन हुन दिने वतावरण निर्माण गर्न पनि शान्ति सुरक्षा आवश्यक छ । सुरक्षा महत्त्वपूर्ण बनेर आएको छ । समयको सञ्चय, सडक निर्माण र विस्तारसँगै सुरक्षा पनि जोडिएर आउँछ ।
अर्काेतिर हामीकहाँ विकृति किन मौलाइरहेको छ भन्ने कुरा हाम्रो शिक्षा प्रणालीका कारणले पनि हो । किताब पढाएर ठूलो मान्छे बनाउने, विकासशील बनाउने कुरा मात्र हुन्छ । के किताब पढाएर भात पाक्छ ? एमए पास गर्दैमा भात पकाउन आउँछ ? आउँदैन ।२० वर्ष लगाएर एमए पास गर्दा दुई लाइन पढेको कुरा सम्झना छ ? छैन । लुगा धुन आउँदैन । धान फलाउन आउँदैन । चामल बेच्नुपर्ने देशमा अर्काको चामल ल्याएर खानुपर्ने अवस्था धान फलाउन नजानेर आएको होइन र ? त्यसकारण शिक्षालाई अब काममुखी, व्यवहारमुखी, उत्पादनमुखी र जीवनमुखी बनाउनुपर्छ । समृद्धिका लागि आवश्यक पर्ने व्यावहारिक पाटोका लागि बदल्नैपर्ने चौथो पक्ष भनेको शिक्षा हो ।
पाँचौँ ‘स’ यति महत्त्वपूर्ण छ कि त्यो स्वास्थ्य हो । रोगी भयो भने मान्छेले कसरी काम गर्छ ? रुघा लाग्यो भने मान्छे सात दिन सुत्नुपर्ने अवस्था आउँछ । रुघा तातो–चिसोले हुने हो । अहिले हाम्रो स्वास्थ्य प्रणाली यस्तो छ कि डाक्टरहरू मान्छे बिरामी होस् भनेर प्रार्थना गर्छन् । किनकि डाक्टरहरू १० हजारको अवस्थामा छन् । पाँच वर्षपछि डाक्टरहरूले जागिर नै पाउँदैनन् । हावापानी र खानापानले मान्छे बिरामी हुने रोग ९० प्रतिशत देखिएको छ । यस्तो कुरा सिकाउँदा पनि मान्छेले सिक्न सक्छन् । थोरै खायौ भने तिमी भोकले कुपोषित हुन्छौ, धेरै खायौ भने बोसो लागेर मोटाएर बिरामी हुन्छौ । अनि चिसो, तातो दुवैले दु:ख दिन्छ । शरीरमा पानी थोरै भयो भने सुक्छौ, धेरै भयो भने पनि समस्या ल्याउँछ भन्ने कुराको सामान्य शिक्षा दिइयो भने मान्छे बिरामी हुने क्रम धेरै रोकिन्छ । निरोगी हुन्छन् । त्यसकारण स्वाथ्यमा पनि ध्यान दिनुपर्छ ।
हामी नयाँ शक्ति चुनाव जित्नेभन्दा पनि जनताको मन जित्ने उद्देश्य लिएर आएका हौँ । हामीलाई जनताले निर्वाचनमार्फत पत्याए अथवा हामीलाई भरसक ६६ प्रतिशत मत दिएर जनताले विजयी गराए भने हामी संविधान संशोधनको बाटो जान्छौँ । सरकार प्रमुख, कार्यकारीजति सीधै मत हाल्ने हुनुपर्छ । सांसदले मन्त्री हुनै पाउँदैन । सांसदको काम कानुन बनाउने हो । अहिले कानुन एकजना पनि सांसदले बनाउँदैनन्, कर्मचारीले बनाउँछन् ।उनीहरूले नै गाइड गर्छन्, मनपरी गर्छन् । बिग्रेको त्यहीँबाट हो । सांसदलाई कानुन बनाउनै आउँदैन । सांसदको दाउ खाली मन्त्री हुनैमा देखिन्छ, अनि कसरी बन्छ त देश ? सांसदले विधेयक ल्याउनुपर्छ । त्यसकारण संसद्लाई समानुपातिक समावेशी बनाउने गरी जानुपर्छ ।
यता सरकार प्रमुखहरू प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, मेयरहरूलाई सीधै जनताले भोट हाल्छन् । पाँच वर्ष राम्रो काम गरे फेरि जनताले भोट देलान्, नत्र सीधै हटाउन सक्छन्, त्यसकारण ६६ प्रतिशत मत आयो भने हामी संविधान नै संशोधन गरेर अगाडि बढ्छौँ । ५१ प्रतिशत पायौँ भने ७ वर्षमा हामी २०–२० खर्बका हिसाबले हेर्दा पनि सय खर्बको बजेट चलाउन पाउने रहेछौँ । सय खर्ब बजेटमा हामी ४० प्रतिशत सडकमै हाल्छौँ । किनभने उत्तर–दक्षिण नौदेखि ११ र पूर्व–पश्चिम चारदेखि पाँचवटा बाटो बनाउने र निजगढ एयरपोर्टलाई छिटोभन्दा छिटो तयार पार्ने काम भयो भने हामीलाई समृद्ध हुनबाट कसैले रोक्न सक्दैन ।
सडक र एयरपोर्ट बनेपछि पाँच करोड पर्यटक १० वर्षमै आउँछन् । किनभने दक्षिणको ढोकामै ७२ लाख मानिस छन् । हपहपी गर्मीमा छन् उनीहरू । उत्तरमा त्यत्तिकै छन् । दुवै छिमेकमा अढाई–तीन अर्ब यहीँ छ । अरू देशबाट पनि उत्तिकै आउँछन् । यति राम्रो वातावरण, हावापानी छ । पाँच करोड टुरिस्ट केही होइन । त्यसकारण पनि समृद्धि हाम्रा लागि केही होइन । ४० खर्ब बाटो र निजगढ विमानस्थलमा खर्च गरेर निर्माण गर्न सक्यौँ भने अरू हामी पेट बाँधेर बसेरै भए पनि अगाडि बढाउन सक्छौँ ।
त्यसकारण मलाई लाग्छ, नेपाल समृद्ध बन्न १० वर्ष पनि लाग्दैन । तर, हामीलाई जनताले विश्वास गरे भने र भारत र चीनको सन्तुलित सम्बन्ध बनाएर पुलको काम गर्न सक्यौँ भने मात्र हामी समृद्ध हुन्छौँ । बजारका लागि पनि गाह्रो छैन । आजको २० वर्षमा नेपाली करोडपति हुन्छन् । परम्परागत रूपमा खाली खुट्टा मात्र तान्ने हो भनेचाहिँ समृद्ध बन्न गाह्रो छ ।
(राई नयाँ शक्ति नेपाल अन्तरिम परिषद्का सचिवालय सदस्य हुन्)