अस्ट्रेलियामा २२ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस सम्पन्न , पहिलो आदिवासी महिला सांसद अभिनन्दित

सिड्नी-नेपाली आदिवासी जनजाति मञ्ज अस्ट्रेलियाको आयोजनामा सिड्नीको पिटरश्याम टाउनहलमा २२ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ ।
मञ्चको अयोजनामा यही १३ अगस्ट शनिबार साँझ नेपाली आदिवासी समुदायहरुको साँस्कृतिक झाँकी, खानाका परिकारहरु, पोशाकको प्रर्दशन गरेर यो दिवस मनाइएको मञ्चका अध्यक्ष चित्र तुम्बाहम्फे लिम्बुले बताए ।
कार्यक्रममा अस्ट्रेलियाको संघीय संसद् निर्वाचित पहिलो एबोरजिनल महिला लिण्डा बर्नीलाई मञ्चको तर्फबाट अभिनन्दन गरिएको थियो । उक्त अवसरमा बोल्दै संसद बर्नीले भाषा कुनै पनि जातिको महत्वपूर्ण पहिचान भएको बताइन् । ‘मेरो भाषा बोल्ने अहिले तीन जना मात्र जीवित छन्,’ बर्नीले भनिन् ‘संसारको जुनसुकै कुनामा रहेपनि भाषा मर्न दिनु हुँदैन ।’ बर्नीले आफ्नो निर्वाचन क्षेत्रमा नेपाली समुदायको बसोवास धेरै भएकोले आफू सधै यो समुदायको सहयोगको लागि तयार रहने बताएकी थिइन ।
कार्यक्रममा आदिवासी जनजातिका मुद्धा र नेपालमा जारी पहिचानको आन्दोलनका बारेमा पनि विचार विमर्श भएको थियो । कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, न्यु साउथ वेल्सका लागि वाणिज्यदूत दिपक खड्का, मञ्चका गणेश तामाङ, अरुण तामाङ, चित्र तुम्बाहाम्फे लिम्बुले कार्यक्रममा मनतब्य राखेका थिए ।
यो दिवस भाषा, धर्म, संस्कृति र मौलिकतालाई जोगाउने र इतिहासले गरेका विभेदलाई पहिचान गरी समतामूलक समाज सिर्जना गर्न संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष मनाउने गरिन्छ । नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया र आवद्ध १० वटा आदिवासी जन्य संघसस्थाहरुको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरेका हुन् ।