तामाङ भेषभूषामा सजिएर बौद्धमा रोपाइँजात्रा

काठमाडौँ, भदौ ५ गते । भाद्रकृष्ण द्वितीयाको दिन बौद्धमा मनाइने रोपाइँजात्रा शनिबार एक वर्षभित्र मृत्यु भएका घरबाट लाठे रोपार निकाली मनाइएको छ । बौद्ध क्षेत्रमा एक वर्षभित्रमा मृत्यु भएकाका घरबाट लाठे रोपार निकाली बौद्ध स्थूपा परिसरमा रोपाइँ जात्रा मनाए मृतकको आत्माले शान्ति पाउने विश्वास रहेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
समितिको संयोजनमा बौद्धमा क्रियाशील सङ्घसंस्थाको सहभागितामा सम्पन्न जात्रामा लाठे रोपार तामाङ भेषभूषामा सजिएर निस्केका थिए ।
प्रताप मल्लको पालादेखि नै गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइँजात्रा मनाउन सुरु गरिएको समितिले जनाएको छ ।
जात्रामा बुद्धको भेषमा सजिएर लाठेको प्रदर्शन गरेका मनोज लामालाई समितिले सर्वोत्कृष्ट लाठे घोषणा गरेको छ ।
गाईजात्राको तेस्रो दिन जयबागेश्वरीमा पनि रोपाइँजात्रा मनाइन्छ । रासस