दुई बेग्लाबेग्लै घटनामा छोराहरु द्वारा आमा र बाउको हत्या

बन्चरोले हानेर आमाको हत्या
भदौ ४, जाजरकोटमा जग्गाका विषयमा विवाद भएपछि छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । प्रहरीले सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत वोहोराले गत साउन २२ गते जग्गाका विषयमा विवाद भएपछि छोराले बन्चरोले हानेर आमाको हत्या गरेको बताएका छन् ।
पक्राउ परेका खत्रीले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन दिएपछि छानवीन गर्दा घटनाको रहस्य खुलेको हो । खत्रीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक बोहोराले खत्रीले दिएको वयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता बाहिर आउने जनाएका छन् ।
धारिलो हतियार प्रहार गरी छोराले आफ्नै बाबुको हत्या
दाङमा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले शुक्रबार साँझ दाङको हाँसीपुर गाविस वडा नं २ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेको बताएका छन् ।
एसपी सिंहले हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको जानकारी दिएका छन् । हत्यापछि हसन फरार रहेकोले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ ।
कतिपय स्थानीयले बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने जानकारी दिएको पनि प्रहरीले जनाएको छ ।