अमेरिका होइन, आ मोरी खा !

‘यो त कहाँको अमेरिका हुनु यो त आ मोरी खा हो । मरेर काम गर्यो भने बाँच्न सकिन्छ, खान सकिन्छ नभए छैन,’ ललितपुरको जाउलाखेलतिर घर भएका तर अमेरिकामा धेरै हिउँद कटाइसकेका ट्याक्सी चालक दाईको अनुभव हो ।
आफ्नो ३ हप्ते अमेरिकी बसाइ सकेर घर फर्कनै लाग्दा अर्की दिदीले भावबिह्वल हुँदै भनिन्, ‘हामी पनि कहिले होला यसरी नै झिटीगुण्टा कसेर नेपाल फर्किने?’
यी माथिमा दुई पात्र त प्रतिनिधि पात्र मात्र हुन् । जो अमेरिकामा अनेकन सपना बोकेर गएका हुन्छन् । तर ती सपना पुरा नहुँदा निराशसँगै डिप्रेसनका विरामी बन्न पुग्छन् । दुई महिनाअघि ३ हप्ता अमेरिका बसाइको क्रममा मैले यस्तै अनेकन खालका नेपालीहरु भेटे र उनीहरुसँग कुराकानी गर्ने मौका पाएँ ।
ती भेटिएका नेपालीहरु मध्ये अमेरिका आएकोमा कोही अत्यन्तै खुशी थिए भने कोही निराश पनि । कोहीले देखिने गरि प्रगिति गरेका थिए भने कोही प्रगति शुन्य भएर पिल्सिएर बसेका थिए ।
साँच्ची नै यो सपनाका देशमा कैयन्का सपनाले ठाउँ पाएन । बिलाए ती सपना र विपनाका बीच । भर्खरै बेनी तिरका दाजुभाइले आधी करोड दलाललाई बुझाएर गैरकानूनी बाटो महिनौं लगाएर ज्यानै हत्केलामा राखेर अमेरिका छिरेको समाचार पढियो । दाजुभाइ मध्ये एकजना त प्राविका हेडसर नै रहेछन् । साना नानीहरुका भविष्य कोर्ने मियो हुन् उनी। उनले नै जोखिमपूर्ण बाटो रोजे अमेरिका जान । बाटामा पुलिसका गोली, लुटेरा, चोरहरुबाट जोगिँदै हप्तौं जंगलको बाटो छिचोल्दै पुग्नु आफैंमा ठूलो साहसिक कार्य हो । यसरी जाँदा कैयन्ले त मानसिक सन्तुलन समेत गुमाउँदा रहेछन् ।
भाग्यले साथ दिए सकुशल अमेरिका त पुग्लान्, तर त्यहाँ नि पैसा त बोटमा फल्ने हैन । नेपालबाट आउने धेरैले यही सोचेर आएका हुन्छन् कि- अमेरिकामा त सजिलै पैसा कमाइन्छ । तर सोचे जस्तो पक्कै होइन ।
ती बेनीका हेडसर र अन्य सरले आफ्ना ठाउँमा सहजै कमाइ लाख कटाएका उता तेती कमाउने काम पाउन फेरि अर्को हण्डर खानु पर्यो । पक्कै पनि उनीहरु आफ्नो लागि मात्रै सोचेर त्यता हानिएका थिएनन् । परिवार र साना नानीका भविश्यका लागि यति ठूलो रकम र हण्डर झेल्न तयार भएका हुन् ।
सानफ्रान्सिसको सहरलाई सिलिकन भ्याली भनिन्छ । आइटीका लागि बुद्धभूमि । गुगल, फेसबुक लगाएतका ठूला कम्पनीका मुख्यालय यहीं छन् । त्यही बस्ने दाईले सुनाए सरकारले लगानी गर्नेलाई काम गर्न सक्ने वातावरण तयार गरोस् यता आएका धेरै नेपाली घर फिर्नेछन् । उनी नेपालमा केही गरौं भनेर पटक-पटक प्रयास गर्दा नभएर, नसकेर विरक्तिएर अमेरिका आएका थिए । ‘कसलाई आफ्नो ठाउँ, साथीभाइसँग टाढिन रहर होला र !’ खुइऽऽय गर्दै उनले सुनाए ।
हो, त्यहाँ जसरी बसे पनि, जति राम्रो गरे पनि नेपाली मन शान्त छैन । अलिक राम्रो वातावरण बन्दा धेरैको रहर घर फर्किने नै छ ।
अनि किन त यत्रो दु:ख भोग्दै बस्नु त ? प्रमुख दुईवटा कारण देखियो ।
पहिलो, धनी र गरिबका खाडल उता कम हुन्छ । महिनामा हजारौंदेखि लाखौं डलर कमाउनेका बीचको जीवनस्तर उही लाग्छन् ऋणमा गाडी घर लियो, मासिक चुक्ता गर्दै गयो, जागिर वा काम हुँदासम्म तिर्न खान सहज नै हुन्छ, काम नपाउँदा त्यही मासिक भुक्तानी तिर्न नसके बैंकले फिर्ता लगिहाल्छ ।
दोस्रो, उता जे काम गरे नि लाज भएन यता आफन्त, छिमेकी, समाजको लाज । सानो काम गरेको भनेर छि:छि दुरदुर सहनु भन्दा काम नै नगर्ने बाटो हामी धेरैले यता रोजेका रहेछन् । न्यूयोर्कका धेरै ट्याक्सी नेपालीले कुदाउँदा रहेछन् । मलाई एअरपोर्ट पुर्याउने दाइ सोलुका रहेछन् । ‘कति बसेर फर्किनुभो ?’ भन्ने उनको प्रश्नमा मैले भने, ‘३ हप्ता ।’
उनले फेरि भने, ‘फेरि यतै बस्ने गरी आउनको लागि फर्किन लाग्नुभा हो?’ ।
देशका लागि काम यहीँ बसेर गर्नपर्छ भन्ने सोच पुरातन भइसक्यो । मंगलका बारेमा यहाँ बसेर अनुसन्धान गर्ने समयमा नेपाली जहाँ बसे नि नेपाली भन्ने भावनाका साथ काम गर्नुपर्छ । बाहिर बस्नेले नै देशका बारेका समाचार अनलाइन र अन्य सञ्चारबाट अझ नियमित थाहा पाइरहेका हुन्छन् । देशलाई जतिखेर चाहियो त्यति बेला देश छोड्नेलाई सुविधा हैन सँजाए दिनपर्छ भन्ने केहीका विचार पनि हुनसक्छन् । आज देशलाई जता बसेका नेपालीले नि आफ्नो हैसियत अनुसारको सहयोग गरे नि राम्रै हुन्छ ।
ती अमेरिकी नेपाली जो न नेपाली भएर बस्न सके त न त अमेरिकी हुन नै, तिनको संख्या दिनदिनै बढिरहेको छ । उनीहरुलाई समेटिने कार्यक्रमहरु बनाई आह्वान गर्नसके तिनले पक्कै देशका लागि आफ्नो उर्वर सीप र समय दिनेछन् । नभए यी भूगोलका आधारमा तय हुने विषयहरु सदा नसुल्झने बहसका रुपमा रही रहनेछन् । उदाहरणका लागि भारतले जसरी एनआरआइलाई ब्यवहार गर्दछ सोही अनुरुप हामीले देशका लागि उताको अनुभव साट्ने मौका दिने हो भने देश कै लागि राम्रो हुनेछ ।
अमेरिकामा मरेर काम गरेर आर्जन गरेको सीप र डलरलाई यहाँ लगानी गर्ने वातावरण निर्माण गर्न ढिलाई गर्न हुन्न । पर्यटन, कृषि लगायतका सेवामुखी उद्योगहरुले यी अनुभवको बढी उपयोग गर्नसक्छ ।
आखिर सपना र बाँध्यतामा बाँधिएर विदेशिने पनि त नेपाली नै हुन् उनीहरुले यहाँ काम गर्ने इच्छा देखाउँदा मलजल गरी बढाउने काम त देश कै र सरकार कै हो । यस्ता अभियानमा बस्ने ठेगानाले बाधा नगरोस् गर्ने ईच्छा र काम लाग्ने सीपका आधारमा अभियान अघि बढून् ।
– सुधन सुवेदी, काठमाडौं / इकान्तिपुर |