हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

समृद्धिका लागि युवा परिचालन – डा. प्रदिपमान तुलाचन

Dr.-pradipman-tulachan

एसएलसी परीक्षा उत्तीर्ण गरेर श्रम बजारमा आउने युवाको संख्या वर्षमा करिब ६ लाख हाराहारी छ । अनि वर्षमा करिब चार लाख ५० हजार वैदेशिक रोजगारमा जान्छन् । नेपालका औपचारिक र अनौपचारिक क्षेत्रमा वार्षिक करिब ६० हजार युवाले अवसर पाउँछन् । त्यसरी हेर्दा वर्षमा एक लाख युवा पूर्णत: बेरोजगार हुन्छन् । त्यसरी बाहिरिने युवाबाट वर्षमा करिब सात खर्ब नेपाल भित्रिन्छ, रेमिट्यान्सका रूपमा । अनि यससँगै अर्को तथ्यांक जोडेर विश्लेषण गर्न आवश्यक हुन्छ ।गतवर्ष मात्रै उच्च शिक्षाका लागि ३२ हजार चार सयले बिदेसिने भन्दै शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । उनीहरूबाट वर्षमा करिब १९ अर्ब बिदेसिइरहेको छ । यसैसँग जोडिने तर केही वर्षअघि सार्वजनिक भएको नेपालको अर्थतन्त्रसम्बन्धी एउटा तथ्यांकले भन्छ– नेपालमा विदेशी अनुदान वर्षमा करिब ३५ अर्ब आउँछ र नेपालबाट वर्षमा करिब ६३ अर्ब बाहिरिन्छ । नेपालको समृद्धिका लागि यसरी बाहिरिने रकम र युवाको संख्यालाई कसरी नेपालमै उपयोग गर्न सकिन्छ ? बहस यहीँबाट सुरु गर्नुपर्ने हुन्छ ।

युवाकेन्द्रित योजना

नेपालको अर्थतन्त्र युवाको मिहिनेतले धानेको छ । वर्षमा सात खर्बभन्दा बढी रकम युवाले खाडी मुलुकबाट पठाउँछन् । त्यही रकमले नेपालको राजनीतिक संक्रमणमा अर्थतन्त्र धानिरहेको छ । तर, रानजीतिक नेतृत्व र कर्मचारीतन्त्रले नेपाललाई समृद्ध बनाउने कार्यक्रम र योजना बनाउन सकेका छैनन् । अर्थात् युवाकेन्द्रित मार्गचित्र तयार हुन सकेको छैन । अहिलेसम्म नेपालमा जति पनि विकास निर्माणका कार्य भए, यसमा युवालाई समाहित गरेर योजना, कार्यक्रम वा परियोजना बनाउन सकिएको छैन । र, युवाबाट फाइदा लिन सकिन्छ भन्ने सोचको विकास पनि भएन । ती कार्यक्रम, परियोजनाले देशको समृद्धिमा कति फाइदा गर्छ ? वा कसरी फाइदा लिन सकिन्छ भन्ने सोचाइ भएन । हुन त युवासँग सम्बन्धित केही योजना बर्सेनि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिन्छ । तर, त्यसले परिणाम दिन सकेको छैन । राजनीतिज्ञ, योजनाकार र बुद्धिजीवीले युवालाई केन्द्रित गरेर योजना र कार्यक्रम बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा, त्यसो हुन सकेको छैन । अहिलेसम्म उनीहरूले पनि यस सम्बन्धमा आवाज उठाएका छैनन् । नारामा उनीहरूले युवालक्षित कार्यक्रमको पक्षमा वकालत गरेको त देखिन्छ तर परिणाम निकाल्ने गरी काम गरेको भने देखिन्न । त्यसमा केही राजनीतिक कारण पनि छन् । राजनीतिक मुद्दा र फाइदाका लागि युवाको पक्षमा बोल्ने तर त्यसलाई टुंगोमा पुर्‍याउनेतर्फ कसैले चासो दिएको देखिन्न । युवा समस्या समाधान भएमा राजनीतिक दलका नेताको राजनीतिक नारा नै टुंगिन्छ, जुन उनीहरूले चाहने विषय नै भएन ।

पूर्वाधारमा युवा

नेपालको समृद्धिका लागि घरेलु तथा परम्परागत उद्योगधन्दाभन्दा पनि मेघा प्रोजेक्ट आवश्यक पर्छ । अहिलेसम्म त्यस्ता परियोजना नेपालमा सञ्चालन हुन सकेका छैनन् । सरकार र निजी क्षेत्रले हजारौँ युुवालाई एउटै ठूला परियोजना र कम्पनीमा रोजगार सिर्जना हुने गरी परियोजना सञ्चालन गर्न नसक्दा खुद्रे योजनाले समृद्धिको नारा बेकार बनाउँछ । युवाशक्ति अहिलेका लागि राष्ट्रको शक्ति हो । युवालाई रोजगार दिन सकियो भने राष्ट्रलाई समृद्धिको बाटोतिर लैजान सकिन्छ र विकास निर्माण स्वत: उचाइतिर जान्छ । त्यसकारण युवालाई कसरी विकास निर्माणका ठूला परियोजना र कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने सोचको विकास गर्न आवश्यक पर्छ । देशको विकास र युवा लक्षित कार्यक्रमका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्ता परियोजनामा शिक्षित, सीपयुक्त, अर्धसीपयुक्त, र सीपविहीन सबै प्रकारका युवाले अवसर पाउँछन् । त्यस्ता युवामा प्राविधिक र गैरप्राविधिक दुवै पर्छन् । त्यसकारण सरकारले प्राथमिकतासाथ ठूला रेलवे, पुल–पुलेसा, जलविद्युुत् आयोजना, सडकलगायत पूर्वाधार योजना बनाउन आवश्यक छ । ती परियोजना निर्माण गर्न युवालाई लगाई आर्थिक विकास गर्न युवाशक्तिलाई सहभागी गराउन आवश्यक छ ।

कृषिमा खपत

कृषि मन्त्रालयको एउटा तथ्यांकअनुसार अहिले नेपालको करिब एक लाख ५० हजार हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । जमिनमा काम गर्ने युवाशक्तिको अभाव, सिँचाइको समस्या, बिउबिजनको समस्याले समग्र कृषि उत्पादनमै कमी ल्याएको छ । यसले मुलुकलाई बिस्तारै परनिर्भरतातिर धकेलिरहेको छ । कुनै समयमा धान निर्यात गर्ने प्रमुख देशमा नेपाल पनि पथ्र्यो, अहिले एकादेशको कथाजस्तै भएको छ र कुल खपतको ३० प्रतिशत धान आयात गर्न थालेका छौँ हामी । अर्थात् नेपाली भान्सा आयातीत खाद्यान्नले भरिभराउ भएको छ । त्यसकारण अब युवालाई खपत गर्न सकिने सबैभन्दा ठूलो क्षेत्र कृषि नै हो । कृषि क्षेत्रअन्तर्गतका खेतीपाती, पशुपालन, माछापालनलगायत तत्काल आम्दानी दिने क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गरी आधुनिक कृषि उत्पादन र बजार व्यवस्थापनमा युवालाई लगाउन सकिन्छ । यसका लागि उनीहरूलाई आधुनिक प्रविधिको प्रयोग गर्न अभिमुखीकरण तालिम दिन सकिन्छ ।

आइसिटी क्षेत्रमा अवसर

अहिलेको संसार डिजिटलाइज्ड बन्दै गएको छ । स्वाभाविक रूपमा त्यसको प्रभाव नेपालमा पनि परेका छ र युवामा यसको आकर्षण बढेको छ । सूचना तथा प्रविधिको क्षेत्र हरेक दिन नयाँ हुने क्षेत्र हो । त्यसकारण मान्छेका हरेक व्यवहार डिजिटल हुँदै गएका वेला आइसिटी क्षेत्रमा हजारौँ युवालाई खपत गराउन सकिन्छ । अहिले यो नेपालमा निकै ठूलो क्षेत्रको रूपमा विकास भइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, विपत् व्यवस्थापनलगायत क्षेत्रको छिटो सूचना प्रवाह गराउनका लागि दक्ष बनाएर युवालाई अवसर प्रदान गर्न सकिन्छ । साथै, ई–मार्केटिङ वा ई–बिजनेसमा पनि युवालाई जोड्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनमा खपत

नेपालमा वर्षमा करिब सात लाख विदेशी पर्यटक भ्रमणमा आउँछन् । पर्यटनले वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत योगदान गर्छ । र, एकजना पर्यटकबाट करिब ११ जनाले अवसर पाउँछन् भन्ने अनुमान गरिन्छ । तर, नेपालको पर्यटन क्षेत्रमा दक्ष र सीपयुक्त युवाको संख्या कम छ । पर्यटनमा युवालाई सीपयुक्त बनाएर उपयोग गर्न सकिन्छ । पर्यटनका पर्वतारोहण, पदयात्रालगायत विविध क्षेत्रमध्ये नयाँ क्षेत्रका रूपमा एग्रो टुरिज्मको विकास गर्न सकिन्छ । एकातिर क्षेत्रविस्तार गर्ने अर्कातिर सीपयुक्त दक्ष जनशक्ति पर्यटनमा संलग्न हुने स्थिति आउँदा पर्यटकले गर्ने खर्चमा वृद्धि हुन्छ । त्यस्ता युवालाई होटल, पदयात्रा, पथप्रदर्शक, सांस्कृतिक पर्यटन, होमस्टेमा आदिमा अवसर दिन सकिन्छ ।

युवालाई नयाँ  अवसर

नेपालका त्यस्ता थुप्रै संरचना र क्षेत्र छन्, जहाँ युवालाई सबैभन्दा बढी उपयोग गर्न सकिन्छ । एउटा सोझो, सामान्य र सहज रूपमा लाखौँ युवालाई ‘सोसल मोबिलाइजर’ बनाएर परिचालन गर्न सकिन्छ । निश्चित पारिश्रमिक दिएर उनीहरूलाई परिचालन गर्ने नीति बनाउन सकिन्छ । प्रत्येक सांसदलाई तीन करोड बाँड्नुको सट्टा सोही रकमले युवालाई राष्ट्रसेवामा लगाउन सकिन्छ । स्वास्थ्य, शिक्षा, जनचेतना, कालोबजार नियन्त्रणका लागि अनुगमनमा पनि युवालाई परिचालन गर्न सकिन्छ । यस्तो अवसरमा लाखौँ युवा खपत हुन सक्छन् र त्यसले देशलाई सुशासनतिर लैजान सक्छ र रोजगारी बढाउँछ । सही कार्ययोजना बनाउन सकियो भने प्रत्येक जिल्लामा हजारौँ युवायुवतीलाई स्वरोजगार बनाउन पनि सकिन्छ ।

युवालाई केन्द्रमा नराख्दा

देशको समृद्धिको बाटोमा युवालाई केन्द्रित र आकर्षित गराउन सकिएको छैन । विकास निर्माणका कार्यक्रममा युवा वञ्चित छन् । योजनामा युवालाई सहभागी गराउन सकिएको छैन । त्यसो गर्न सकियो भने धेरै युवालाई दिनुपर्ने विज्ञता र दक्षताका विषयमा केन्द्रित हुन पाइन्छ । यसका लागि पुँजीको व्यवस्था गर्नुपर्छ । यसबाट युवामा आत्मविश्वास बढाउन सकिन्छ ।

मास मुभमेन्ट आवश्यक

बेरोजगार युवालाई मास मुभमेन्टमार्फत अभियान चलाउन आवश्यक छ । धेरै युवा बेरोजगार भएको विभिन्न संघसंस्थाले तथ्यांक सार्वजनिक गरिरहेका छन् । उनीहरूले उक्त तथ्यांक सार्वजनिक गरेर के फरक पर्छ ? यसबारे कुनै चासो कसैले दिएको देखिन्न । यद्यपि सरकार र संघसंस्थाले त्यो तथ्यांकको बेवास्ता गरिरहेका छन् । तर, उनीहरू स्वयंले के–के काम गरे त बेराजगार युवाका लागि ? प्रश्न स्वाभाविक रूपमा उठ्छ । अब ती बेरोजगार युवालाई अवसर प्रदान गर्न कसरी आवाज उठाउने र कसरी बढीभन्दा बढी ‘प्रोडक्टटिभ’, दक्ष र सीपयुक्त बनाउने त ? यससम्बन्धी कुनै आवाज उठेको छैन । सरकारले कार्ययोजना पनि बनाएको छैन । अहिलेसम्म सरकारले सानातिना कार्यक्रम मात्रै चलाएको छ, फाटेको लुगा टालेजस्तो ।

युवाकेन्द्रित आयोग र मन्त्रालय

युवाकेन्द्रित कार्यक्रम सञ्चालन गर्न योजना आयोग र युवा मन्त्रालयको अहिलेको संरचनाले सम्भव छैन । अहिलेको अवस्थामा ती निकायले युवालाई आकर्षित गर्न पनि सक्दैनन् । उनीहरूको सोचाइ र योजना परम्परागत मात्रै छ । उनीहरूको भूमिका परिवर्तन गर्ने हो भने ती निकायमा युवाको भूमिका बुझेको मान्छे चाहिन्छ वा दक्ष र क्षमतावान् नयाँ व्यक्ति आवश्यक हुन्छ । यदि राष्ट्र बनाउने र देशका लागि पसिना बगाउने हो भने संरचनागत परिवर्तन आवश्यक छ । अनि प्रक्रियामुखी संरचनालाई परिणाममुखी बनाउन पनि आवश्यक छ । नेपालको कर्मचारीतन्त्र सामन्ती सोचबाट आएको संरचना हो । अहिले पनि यसको सोच सामन्ती नै छ । त्यो संरचनासँग नयाँ भिजन छैन । सोच नै साँघुरो छ । ९० प्रतिशत कर्मचारी चाकडीबाज मात्रै छन् । त्यसले परिणाम कहिल्यै दिँदैन । युवालाई विभिन्न क्षेत्रमा आकर्षित गर्न सकियो भने एकतातिर युवाको विदेश पलायन रोकिनेछ भने अर्कातिर लगानी पनि बढ्नेछ । विदेश र निजी क्षेत्रबाट लगानी बढाउन लगानीमैत्री वातावरण आवश्यक छ, तर त्यसका लागि आकर्षक र ठूला परियोजना आवश्यक पर्छ । यी क्षेत्रका लागि कार्यक्रम बनाउन सकियो भने कति जनशक्ति खपत गर्न सकिन्छ ? कतिलाई तालिम दिनुपर्छ वा कतिलाई अन्य ज्ञान दिन आवश्यक पर्छ, त्यसको प्रस्ट तस्बिर आउँछ । स्वदेशका युवालाई खपत गराउन सकियो भने स्वत: राष्ट्रियताको भावना अभिवृद्धि हुन्छ । बाहिरबाट कसरी विदेशी लगानी भित्र्याउन सकिन्छ ? कसरी निजी क्षेत्रको लगानी बढाउन र सुरक्षित गराउन सकिन्छ ।

नयाँ सोच

नेताहरूले युवाशक्तिलाई राष्ट्रको विकास निर्माणमा लगाउनुभन्दा कसरी आफ्नो स्वार्थपूर्तिका लागि आफ्नो पार्टीको झन्डा बोक्न लगाइरहेका छन् ? युवा राष्ट्रका सम्पत्ति हुन् र यसलाई राष्ट्र निर्माणमा लगाएर नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच अहिले राजनीतिक दलमा पलाएको छैन । तसर्थ नयाँ शक्ति नेपालले युवा शक्तिलाई नै राष्ट्रको सम्पत्ति र शक्ति मानी युवा शक्तिकेन्द्रित आर्थिक विकास र निर्माणसम्बन्धी कार्ययोजना तयार गर्ने सोच बनाएको छ । यो पार्टी सत्तामा पुगेमा प्रत्येक विकास निर्माणमा युवाको सशक्त भूमिका हुनेछ र उनीहरूले रोजगारी पाउनेछन् । युवालाई रोजगार तथा स्वरोजगारका लागि आवश्यक पर्ने ज्ञान सीप र दक्षता हासिल गर्न दिने हालसम्म राष्ट्रियस्तरको एक उच्चस्तरीय संस्थान वा केन्द्र छैन । विभिन्न विषयमा युवालाई ज्ञान, सीप र दक्षता दिने राष्ट्रियस्तरमा एउटा संरचना तयार गर्न सकिन्छ र प्रत्येक प्रदेशमा एउटा यस्तै संरचना निर्माण गरी युवालाई आवश्यक व्यावहारिक दक्षता दिन आवश्यक छ ।

(डा. डा. प्रदिपमान तुलाचन , अर्थ–कृषि विज्ञ तथा श्रम सहकारी तथा स्वरोजगार विभाग, नयाँ शक्ति नेपालका प्रमुख हुन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution