आर्थिक विकास र समृद्धिका लागि विधिको शासन आवश्यक – डा. बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिका लागि विधिको शासन आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय बबरमहलमा जनतासँग नियमित भेटघाटको क्रममा बोल्दै उहाँले भन्नुभयो – ‘हामी सबैले विधिको शासन अवलम्बन गर्नुपर्छ र पार्टीभित्र पनि नेता कार्यकर्ताहरुको व्यवस्थापनका लागि विधिको शासन लागू गर्नुपर्छ तब मात्र आर्थिक विकास र प्रगति सम्भव छ ।’ कानूनी शासन लागू गर्न नसक्दासम्म परिवर्तन र समृद्धि हासिल हुन नसक्ने उहाँको भनाइ थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान जारी भइसकेको सन्दर्भमा संविधानका अपूर्णतालाई संशोधनमार्फत पूर्णता दिँदै मूल रुपमा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक विकास र समृद्धिको काम पुराना राजनीतिक शक्तिहरुबाट सम्भव नभएकोले नयाँ राजनीतिक शक्ति निर्माणमा आफूहरु लागेको पनि उहाँले बताउनुभयो ।
नयाँ शक्ति सबैको शक्ति भएको हुँदा यसले कसैलाई अन्याय नगर्ने र सबै जनताको मुद्दालाई यसले उठाउने बताउँदै उहाँले भन्नुभयो – ‘वैदेशिक रोजगारीमा हुने ठगी रोक्न, अनियमितता, वित्तीय क्षेत्रका समस्याहरु समाधान गर्न र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्छ ।’
जनजीविकासँग सम्बन्धित एजेण्डाहरु नै नयाँ शक्ति नेपालको एजेण्डा भएको हुँदा अब जनताको सेवालाई नै नयाँ शक्ति नेपालले आफ्नो धर्म मान्ने बताउँदै उहाँले भन्नुभयो – ‘नयाँ शक्ति जनताको पार्टी हो, नयाँ शक्तिले सधैं जनताको सेवा गर्नेछ ।’ भूकम्पपीडित, बाढीपीडित, शहीद, वेपत्ता, घाइते, अपांगहरुलाई राज्यले यथोचित न्याय गर्न नसकेको बताउँदै उहाँले भूकम्पपीडित, द्वन्द्वपीडित, प्राकृतिक प्रकोपपीडितलाई राज्यको तर्फबाट राहत र सहयोग दिलाउन नयाँ शक्ति नेपालले पहल गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा संयोजक भट्टराईले ७९ वर्षीय कवि मनोजकुमार रिमालले लेखेको कविता संग्रह ‘गीत वसन्त’को विमोचन पनि गर्नुभयो ।