यौन शोषणका कारण १५ वर्षीया कृष्णकुमारी चेपाङले आत्महत्या गरेको आफन्तको दावी

गोरखा, भदौ १ – आँबुखैरेनीको सिंगापुर लजमा काम गर्दै आएकी १५ वर्षीया कृष्णकुमारी चेपाङ आफ्नै सुत्ने कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
काम गर्ने लजमा बारम्बार यौनशोषण भएकाले बहिनीले आत्महत्या गरेको दाबी गर्दै मृतकका आफन्त जिल्ला प्रहरी कार्यालय तनहुँमा न्याय माग्न पुगेका छन् ।
कृष्णकुमारीले यौनशोषणका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै चितवनको चण्डीभन्ज्याङ ६ की अञ्जु चेपाङ प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बयान दिएकी छन् ।
बयानमा बहिनीसँग भएको अन्तिम टेलिफोन रेकर्डसमेत उनले पेस गरेकी छन् । उक्त रेकर्डमा बहिनीले विगत ६ महिनादेखि लजमा आउने पाहुनासँग रात बिताउनुपरेको पीडा सुनाएकी थिइन् ।
प्रहरीले प्रारम्भिक बयान लिए पनि समय अभावका कारण मंगलबार जाहेरी दर्ता गर्न नभ्याएको बताएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेशप्रसाद श्रेष्ठले कृष्णकुमारीको शव गत शुक्रबार बिहान आफ्नै सुत्ने कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको बताएका छन् ।
उनका अनुसार त्यस दिन लजका सञ्चालक भने घरमा थिएनन् । इन्सपेक्टर श्रेष्ठले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको भए पनि रिपोर्ट भने आइनपुगेको जनाएका छन् । चेपाङ बालिका एक वर्षदेखि उक्त लजमा काम गर्दै आएकी थिइन् ।