दोरम्बामा मारिएका बाबुराम तामाङकी छोरीले प्रधानमन्त्रीलाई भनिन् ‘हामीलाई चाँडो क्षतिपूर्ति देऊ’

काठमाडौं – द्वन्द्वकालका अधिकांश घटनामध्ये एउटा चर्चित काण्ड हो रामेछापको दोरम्बा घटना । १३ वर्षअघि साउन ३२ गते (आजैका दिन) दोरम्बामा नेपाली सेनाको कारबाहीमा २२ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । माओवादी कार्यकर्ता र नेताको बैठक चलिरहेको बेला उक्त घटना भएको थियो ।२०६० सालमा सरकार र माओवादी दुवैतर्फबाट युद्धविरामको घोषणा भएको थियो ।
त्यसलगत्तै सरकार र तत्कालीन माओवादीका शीर्ष नेताहरूको दाङको हापुरेमा वार्ता चलिरहेको थियो । वार्ता चलिरहेकै बेला साउन ३२ गते रामेछापको मन्थलीस्थित नेपाली सेनाको ब्यारेकबाट गएको टोलीले दोरम्बामा २२ माओवादीको हत्या गरेपछि युद्धविराम अन्त्य गरेर माओवादी पुनः सशस्त्र युद्धमा फर्कियो । त्यतिबेला माओवादीको रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङ (पुष्प) थिए । दोरम्बामा मारिनेमा ‘पुष्प’ पनि परे । नेकपा माओवादी केन्द्रले मंगलवार पार्टी कार्यालयमा दोरम्बा हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा १३ औं दोरम्बा स्मृति दिवस मनायो । दोरम्बा स्मृति दिवसमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त घटनामा ज्यान गुमाएका आफन्तका परिवारलाई दोसल्लासहित प्रमाणपत्रले सम्मान गरे । दोरम्बा घटनामा मारिएका बाबुराम तामाङकी छोरी संगीता तामाङ प्रधानमन्त्री प्रचण्डको हातबाट प्रमाणपत्र लिँदै गर्दा भावुक भइन् ।
दोरम्बामा मारिएका आफ्ना बुवा बाबुरामको स्मृतिसभामा राखिएका फोटो खिचिरहेकी उनी केहीबेरमै निकै भावुक बनिन् । जन्म दिने बुवालाई गुमाएकी उनले दोरम्बा घटना सम्झिँदै भनिन्, ‘म त्यतिखेर सानै थिएँ । घरमा परिवारसँग बसिरहँदा दोरम्बा घटनामा मेरो बुवा मारिएको समाचार सुनें । बुवा पार्टीको काममा बाहिर बस्ने हुँदा कहिलेकाहीँ मात्रै भेट हुन्थ्यो,’ उनले भनिन् । शहीद परिवारलाई उचित क्षतिपूर्ति र सम्मान दिनुपर्ने संगीताले बताइन् । सरकारले शहीद परिवारलाई १० लाख दिने निर्णय गरेकोे तर उक्त रकम पूर्ण रूपमा नपाइसकेको भन्दै उनले चाँडो रकम दिलाउन माग गरेकी छिन् । @ लोकान्तर |