के खादामा राजनीतिक नारा लेखेको हुन्छ ? रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ समक्ष ४ प्रश्न

हिजोआज यो सामाजिक संजालमा खादा प्रयोगको बारेमा जुन खालको बहस चलिरहेको छ त्यस तर्फ सम्पुर्ण नेपाली जो खादा प्रयोग गर्ने नगर्ने सबैको ध्यान आकर्षित भईरहेको छ । यस सन्दर्भमा हामी (जो खादा प्रयोगलाई धार्मिक र सांस्कृतिक रूपमा मान्नेहरु) स्वयम् अन्यौलमा भएको महसुस गरिरहेका छौ । साँचिकै भन्नुपर्दा हामीलाई इतिहासको कुनै कालखण्ड ले गर्दा आफ्नो सांस्कृतिक विशेषता तथा शैक्षिक ज्ञानबाट समेत बन्चित हुनुपरेको कारण हामी साधारण व्यक्तिहरुमा लामा लिपिको ज्ञान र आफ्नो संस्कृतिमा चलिरहेको खादाको रङको बारेमा समेत ज्ञान नभएको कारण अहिले खादा प्रयोगको नकारात्मक प्रभावहरुको बिरोध गरि रहँदा हामी टुलुटुलु हेर्ने र सुन्ने बाहेक केही गर्न नसक्दा सार्है नमिठो लागि रहेको छ । दोष बिरोध गर्नेको मात्रै हैन हाम्रो कमजोरी पनि हो कि हामिले यसको बारे प्रचार प्रसार र परिचय कसैलाई गरिएन |
१ ) के सचिकै खादामा लेखिएको अक्षरमा तिब्बतको राजनीतिक नारा लेखिएको हुन्छ ?
२ ) के खादाले साँचिकै हाम्रो धर्म र संस्कृतिको प्रतिनिधित्व गर्दैन ?
३ ) कुन रङको खादाले कस्तो खालको बिषय अङ्कित/सुचित गर्छ ?
४ ) कुन रंगको खादा कस्ता कामको लागि प्रयोग गर्न सकिन्छ ? (स्वागत,विवाह,पुजापाढ़)
तपाईं बौद्ध धर्म संग अरु बौद्धमार्गी भन्दा अलिक बढि नजिक हुनु भएको र छ्योइमा भएको लिपि पनि तापईको अध्ययनको विषय भएको कारण यी मेरा प्रश्नको उत्तर पक्कै पनि तपाईबाट पाउन सकिन्छ कि भनेर आशा राखेर तपाइँ समक्ष मेरो बिचार राखेको छु ।यदि तपाईंले यस विषयमा प्रष्ट पार्नु भए धेरै आभारी हुनेछु ।
*********
रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ
अति नै महत्त्वपूर्ण जिज्ञासा् अनि प्रश्नको लागि यहाँ प्रती आभार प्रकट गर्दछु / गर्न चाहान्छु।समय र यहाँको प्रश्नको मध्य नजर राख्दै खादाको बारेमा एकदमै छोटकरीमा यहाँ र यहाँ जस्तै सम्पुर्ण शुभ-चिन्तकहरुको लागि यहाँ केही लेखहरु लेखेको छु । आशाबादी छु कि यस मेरो छोटो लेखले यहाँ जस्तै धेरै जना शुभ- चिन्तकहरुको जिज्ञास मेट्नेछन् ।
१.खादामा कुनै पनि फ्री टिबेट , फ्री टिबेट, फ्री टिबेट… चाहियो भनेर आदि इत्यादि जस्ता तिब्बतको राजनितिक नारा लेखीएको छैन र हुँदैन पनि |
२.बौद्ध धर्ममा अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठको ठुलो महत्त्व हुन्छ । खादामा यी नै अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठ लेखिएको हुन्छ । अष्ट मङ्गल चिन्ह र सुभ मङ्गल पाठ नै आम बौद्धहरुको पहिचानको प्रतीक हो । त्यसैले खादाले बौद्ध धर्म र संस्कृतिको धेरै ठुलो प्रतिनिधित्व गर्छ ।
।
३.बौद्ध धर्ममा बिशेष गरि खादा (पन्च रङ)अर्थात् पाँच वटा रङको आधारमा बनाइएको हुन्छ।निलो रङ,पहेलो रङ,रातो रङ,सेतो रङ र कलेजी रङ। अहिले सम्म कालो रङमा खादा बनाइएको छैन । किन कि (कालो) र कालो रङ लाई हामी बौद्धहरु अशुभको रुपमा लिन्छौ र लिने गर्छौ ।।तेसैले कालो रङको खादा छैन, हुँदैन र देखिदैन। निलो रङ र निलो रङको खादा भगवान बुद्धको (केश)शिर माथीको चुग्तोर र स्वच्च्छताको प्रतीक हो।
पहेलो र रङ र पहेलो रङको खादा भगवान बुद्धको चिवर,(बस्त्र),मैत्री र करुणाको प्रतीक हो।रातो रङ र रातो रङको खादा भगवान बुद्धको रगत (खुन) र शान्तिको प्रतीक हो।
सेतो रङ र सेतो रङको खादा भगवान बुद्दको दात,हड्डी र पबित्रताको प्रतीक हो।कलेजी रङ र कलेजी रङको खादा भगवान बुद्धको हृदय,मध्यम मार्ग र आर्य अषटगिक मार्गको प्रतीक हो।
४.बिशेष गरि खादा प्रयोग गर्दा गुरु भगवान हरुको आ-आफ्नो रुप र रङ अनुसार प्रयोग गर्नु पर्दछ।आफ्नो दक्ष गुरु र भगवान बुद्धहरुको लागि पहेलो र कलेजी रङको खादा प्रयोग गर्नु पर्दछ। तारा (डोल्मा),बज्र योगिनी,डकिनि आदि इत्यादीको पुजा पाठ र वहाँहरुलाई चढाउनको लागि निलो रङको खादा प्रयोग गर्नु पर्दछ।।
(यीदाम)इष्ट देब,भैरब ,महाभैरब,(छ्योइ क्योइ) धर्मपाला आदि इत्यादिको पुजा पाठ वहाँहरुको अर्पणको लागि रातो रङको खादा प्रयोग गर्नु पर्दछ। गुरु बर्गहरुले शुभ कार्यमा,खुसियालीमा आशिष स्वरुप अर्थात् शुभ मङ्गलम स्वरुप आफ्नो शिष्यहरुलाई शुभ मङ्गलम प्रदान गर्दा सेतो खादा प्रयोग गर्नु पर्दछ। हामी जस्तो सर्व साधरण मान्छेहरुले पनि कोहि कसैको आफ्नो होस् या पराइको स्वागत तथा शुभ कार्यमा र शुभ कार्यको खुसियालीमा आदि इत्यादीमा केही शुभ मङ्गलम प्रकट गर्नु पर्दा सेतो रङको खादा प्रयोग गर्नुपर्दछ।
– रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ