साउदी पुगेका ६० जना नेपाली पाँच महिना देखि अलपत्र

वैदेशिक रोजगारीका लागि साउदी पुगेका ६० जना नेपाली पाँच महिना देखि अलपत्र परेका छन् ।
रियादस्थित साउदी युनाइटेड कम्पनीमा कार्यरत नेपालीले काम र तलव नपाएका हुन् । गएको एक महिनाको मात्रै तलव दिएको र त्यसपछि तलव नपाएको पीडित कामदारले जनाएका छन् ।
अहिले ८ जना बस्ने कोठामा ३० जना बसेका छन् । नअटेका भवनको छतमा बसेका छन् । खाना, खाजाको टुँगो छैन । आफूसँग भएको पैसा सकिएको र कम्पनीले पनि नदिएपछि विजोग भएको पीडित श्रीराम तिमल्सिनाले बताएका छन् ।
ट्रिपल स्टार म्यानपावर कम्पनीमा प्रतिव्यक्ति एक लाख देखि एक लाख ५० हजार रुपैयाँ बुझाएर साउदी पुगेका उनीहरुले पहिलो महिनाको ५ सय देखि ७ सय रियाल सम्म तलव पाएका थिए । त्यसपछि कम्पनीले तलव दिएको छैन् ।
पीडितले उक्त कम्पनी मालिकले विभिन्न कम्पनी खडा गरेर कामदार फसाउँदै आएको बताएका छन् । पहिले साउदी अलमैदान र अल मसारी कम्पनीबाट कामदार लाने गरेको र कम्पनी बदनाम भएपछि साउदी युनाइटेडबाट लाने गरेको पाइएको छ ।
पीडित कामदारले तत्काल नेपाल फर्काउन वा अन्तै काम लगाइदिन आग्रह गरेका छन् । यता ट्रिपल स्टार म्यानपावर कम्पनीका सञ्चालक हरिकाजी गुरुङले सबै कामदार आफ्नो कम्पनीबाट नगएको र आफ्नो कम्पनीबाट गएका कामदारलाई अन्य कम्पनीमा सार्ने काम भैरहेको बताएका छन् ।
उनीहरुलाई रेष्टुरेण्टमा सार्न म्यानपावरको मान्छे पुगि सकेको र केहि दिनमै अर्को कम्पनीमा सारिने उनले जनाएका छन् । यस अघिको तलव दिलाउन पनि कम्पनीसँग कुरा गरेको तत्काल केहि रकम दिने र बाँकी रकम अलिक पछि दिने बताएको गुरुङले जानकारी दिएका छन् ।