सम्पन्न र समृद्ध नेपाल यसरी गर्ने कि !

नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको चुनाव भएको दिन संसदमा बोलेको अभिव्यक्तिले यहाँ लेख्न उत्प्रेरित बनाएको छ। निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यंग्यात्मक शैलीमा वहाँले भनेका थिए, “चीनबाट काठमाडौँ रेल ल्याउछौं। काठमाडौँदेखि पोखरा हुँदै लुम्बिनी रेल पुर्याउछौं। तर, बजेट कहाँबाट ल्याउने ? कसले लगानी गर्छ ? मुखले भनेर मात्रै हुँदैन। सरकारको बजेटमा यस्ता ठूला परियोजना पार्न सक्नु पर्छ। सरकारले प्रस्तुत गरेको बजेटमा नपरेका परियोजनाहरू सार्बजनिक रूपमा यो गर्छु र त्यो गर्छु भन्दै हिड्नु त्यो औचित्यहीन हुन्छ”।
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले थपेका छन्, “नेपालमा बार्षिक २ अर्ब पर्यटक भित्र्याउन सकिन्छ”। उस्तै परे बार्षिक ३ अर्बसम्म पर्यटक नेपाल भित्र्याउन सकिन्छ।
१० बर्ष अगाडी तत्कालिन एमाओवादीले नेपाललाई १० बर्ष भित्रमा सिंगापुर बनाउँन सकिने कुरा र निवर्तमान प्रधानमन्त्री ओलीले घरघरमा पाईपबाट ग्याँस वितरण गर्ने कुरा, नेपालले आफ्नै पानीजहाज किन्ने कुरा, चुच्चो ठुथुनो परेको रेल काठमाडौँमा गुडाउने कुरा र दुईबर्ष भित्रमा नेपालमा लोडसेडिङ् अन्त्य गर्ने कुरा लगभग उस्ताउस्तै हुन्। यी सबै विकास गर्नु भनेकै नेपाललाई सिंगापुर जस्तै बनाउँने भनिएको हो। त्यसैले उतिबेला माओवादीले १० बर्षमा नेपाल सिंगापुर बनाउँने भन्नु र ओलीले यी सब विकास गर्छु भन्नु उस्ताउस्तै हुन्।
तर, नेपालमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। नेपालमा विकास निर्माणका लागि विदेशीको मुख ताक्ने प्रबृत्ति बन्द गरौँ। अमेरिकालाई अर्को कुनै राष्ट्रले शक्तिशाली बनाएको होइन। त्यहाँ कै शासक र अमेरिकन जनताले नै अमेरिका शक्तिशाली भनाएका हुन्। आर्थिक क्रान्ति गरेर पछिल्लो पटक विश्व कै आर्थिक विकास गर्ने चीनलाई कुनै अर्को देशले सहयोग गरेको होइन। विश्वका समृद्ध देशहरू जापान, कोरिया, अस्ट्रेलिया, जर्मन तथा अन्य विकसित देशहरूको विकासमा कुनै अर्को देश अथवा दैवशक्तिले ति देशहरू सम्पन्न र समृद्ध भएका होइनन्। ति सम्पन्न देशहरू आफ्नै देशका कुशल शासकहरू र ति देशका जनताहरूले नै आफ्ना देशहरू सम्पन्न र समृद्ध बनाएका हुन्।
यद्धपि, देशलाई समृद्धतिर उन्मुख गर्न देशको शासन व्यवस्था मजबूत हुनु अति जरूरी छ। देशमा स्थायी शान्ति कायम हुनु अति जरूरी छ। देशमा विधमान चरम विभेद र एउटै देशका नागरिकहरू बीच असमानता जस्ता प्रवृत्तिले देशमा कहिल्यै स्थायी शान्ति कायम हुनै सक्दैन। मुलुकमा स्थायी शान्ति कायम नभए पछि देश समृद्धितिर उन्मुख हुने कुरै भएन।
देशमा विकास निर्माण गर्न सरकारको मात्रै मुख ताक्नु पनि गलत हुन्छ। सरकारलाई उचित सल्लाह र सहयोग गर्नुपर्ने देशको एक असल र जिम्मेवार नागरिकको दायित्व र कर्तब्य पनि हुन आउछ। तर, सरकारले देश विकास निर्माण गर्ने हकमा आम जनताको सुझाव र सल्लाह सङ्कलन गरेर राष्ट्रिय हितमा आएका सल्लाह र सुझावहरूलाई आत्मसात गरेर देशलाई अगाडी पढाउनु पर्ने हुन्छ। त्यसो गर्दा मात्रै देशको विकास निर्माणमा सहयोग पुग्न सक्छ ।
देशको विकास निर्माण गर्ने हकमा हामी नेपालीहरू अति संकीर्ण मानसिकताले ग्रसित छौं। फरक राजनीतिक दलले प्रस्ताव गरेका कुनै पनि पूर्वाधार विकास परियोजनालाई असफल पार्न विभिन्न षडयन्त्र रच्छौँ। यो गलत प्रबृत्ति नेतादेखि सर्बसाधारण जनतासम्म विधमान छ। यस्तो गलत प्रवृत्तिलाई आम नेपाली जनताले निरुत्साहित पार्नुपर्छ।
नेपालमा विकास गर्न प्रयाप्त प्राकृतिक श्रोत र साधन छन्। प्रयाप्त जनशक्ति पनि छ। तर, प्रयाप्त पुँजी छैन। तपशिल उपायहरू अवलम्बन गर्नसके प्रयाप्त बजेटको व्यवस्था गरेर केहि बर्षभित्रमा नै देशलाई सम्पन्न बनाउन सकिनेछ।
विकल्प न. १: प्रवासीएका ५० लाख प्रवासी नेपालीहरूलाई हाइड्रोपावर र कृषिमा लगानी गर्न आह्वान गर्नुपर्ने ।
पूर्वाधार विकास निर्माणमा सरकारले निजी क्षेत्रबाट लगानी गर्न वातावरण बनाउनु पर्छ। जस्तै हाइड्रोपावर अथवा कृषि आदि। हाइड्रोपावर परियोजनामा निजी क्षेत्रबाट लगानी गर्ने अवसर भए प्रवासमा रहेका ५० लाख युवाहरूले लगानी गर्न सक्छन्। सो हाइड्रोपावरमा आफै लगानी गर्छ। परियोजना सम्पन्न गर्न आफै श्रम गर्छ र परियोजना सम्पन्न पछि आफै मालिक बन्छ।
यस विकल्पबाट ५० लाख प्रवासीएका युवाहरूले २० खर्ब रुपैयाँ अथवा ३ हजार देखि ४ हजार मेगावाट हाइड्रोपावर परियोजना निर्माण गर्न सक्ने पुँजी लगानी गर्न सक्छ। त्यसको लागि सरकारले परियोजनाको स्थान निर्धारण गर्न, प्राविधिक र प्रशासनिक जनशक्तिको व्यवस्था गर्न र परियोजना सम्पन्न पछि विधुत बिक्रिवितरण गर्न सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसबापत सरकारले विधुत बिक्रिवितरणमा निश्चित कर लगाएर राज्यको राजस्व वृद्धि गर्न सक्छ अथवा परियोजनाको निश्चित प्रतिशत शेयर सरकारको स्वामित्वमा राख्न सक्छ।
यसको अलावा आधुनिक कृषि परियोजनामा पनि प्रवासीएका युवाहरूले लगानी गर्न सक्नेछन्। आधुनिक प्रविधियुक्त माध्यमद्वारा कृषि परियोजना नेपालमा भित्र्याएर लाखौं बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन सके जोखिमपूर्ण वैदेशिक रोजगारलाई यसले विस्थापन गर्न मद्दत मिल्ने छ। खाद्यान्न उत्पादन हुन सक्ने कुनैपनि सार्बजनिक जमिन बाँझो राख्नु हुँदैन। ति जमिनमा विधुत र सिचाई दुवै परियोजना सम्पन्न गरेर आधुनिक कृषि गर्न सकिन्छ। देशको लागि आवश्यक जति पनि खाद्यान्न स्वदेश मै उत्पादन गरेर बढी भएको उत्पादन विदेशसम्म निर्यात गर्ने लक्ष्य राख्नु पर्दछ।
विकल्प न. २: प्रवासीएका ५० लाख युवाहरूबाट सरकारले ऋण लिएर विकास निर्माण गर्नुपर्ने।
यो विकल्पबाट सरकारले प्रवासमा रहेका ५० लाख नेपाली युवाहरूबाट सहुलियत दरमा ऋण लिएर हाइड्रोपावर जस्ता पूर्वाधार विकास निर्माण गर्न सक्छ। प्रवासमा रहेका नेपालीहरूबाट बार्षिक झन्डै पाच खर्ब रुपैयाँ नेपाल भित्रिएको नेपाल सरकार कै पछिल्लो तथ्यांकले देखाएको छ। अवैध रूपमा हुण्डी मार्फत नेपाल भित्रिएको रकमलाई पनि जोड्ने हो भने बार्षिक झन्डै ७ देखि ८ खर्ब रुपैयाँसम्म रकम विदेशमा काम गर्ने नेपालीहरूले स्वदेश भित्र्याएको हुन सक्छ।
अवैध हुण्डी व्यवसायलाई पूर्णरूपमा विस्थापित गरेर नेपालमा रेमिट्यान्स भित्र्याउन सरकारले बिशेष भूमिका खेल्नु पर्छ। वैध रूपमा रेमिट्यान्सबाट स्वदेश पैसा पठाउने सबै प्रवासी नेपालीहरूलाई निश्चित दरमा ब्याज दिईने आव्हान गरेर सरकारले ऋण लिन सक्छ र सो रकम पूर्वाधार विकास निर्माणमा लगानी गर्न सक्छ। यस स्किमबाट कम्तिमा ५ खर्ब रुपैयाँसम्म सरकारले प्रवासी नेपालीहरूबाट ऋण लिने लक्ष राख्न सकिन्छ। आफ्नै देशको विकासमा निश्चित अवधिको लागि सरकारलाई ऋण दिँदा सबै प्रवासी नेपालीहरूले सस्तोमा ऋण दिन राजी हुन सक्नुपर्छ।
विकल्प न. ३: चन्दा स्वरूप आर्थिक संकलन गरि विकास निर्माण गर्नुपर्ने।
यो विकल्पबाट तीन करोड नेपालीहरू एकजुट हुन अति आवश्यक छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू र सभासद्हरू साथै प्रवासमा रहेका ५० लाख नेपाली युवाहरू, नेपालका निजामति कर्मचारीहरू, प्रहरी, सेना, निजी कम्पनीहरूमा कार्यरत सबै कर्मचारीहरूबाट एकएक महिनाको तलब राज्यकोषमा चन्दा स्वरूप संकलन गर्ने योजना बनाउनु पर्छ। यसो गर्दा झन्डै २ खर्ब रुपैयाँ भन्दा बढी आर्थिक राज्यकोषमा संकलन हुन सक्छ।
यो अभियानमा बेलायती र भारतीय गोर्खा सेनामा कार्यरत सबै लगायत निवृत्त भईसकेका सबैबाट एकएक महिनाको तलब र पेन्सन संकलन गर्ने लक्ष्य राख्नु पर्छ। साथै नेपालभर व्यापार व्यवसाय गर्ने सबै व्यवसायीहरूबाट उनीहरूको श्रेणीकरण गरि आर्थिक सङ्कलन गर्दा अर्को थप २ देखि ३ खर्ब रुपैयाँ संकलन गर्न सकिन्छ। यो स्किमबाट झन्डै ५ देखि ६ खर्ब रुपियाँसम्म आर्थिक संकलन गर्न सकिन्छ। सरकारले यस चन्दा स्वरूप संकलन भएको रकमबाट पनि देशको आवश्यकतालाई नै पूर्ति गर्न सक्ने खालको हाइड्रोपावर लगायत अन्य पूर्वाधार विकास निर्माण गर्न सक्छ।
माथिको कुनै एक विकल्प रोजी देशको भौतिक पूर्वाधार विकास गरेर नेपाललाई केहि बर्ष भित्रमा नै सम्पन्न र समृद्ध गर्न सबै तीन करोड नेपालीहरू एकजुट हुने कि ? देश निर्माण गर्न विदेशीहरूको मुख ताक्ने प्रवृत्तिलाई सदाको लागि त्याग्ने हो कि ? आफ्नै लगानी, आफ्नै पौरख, आफ्नै विवेक, आफ्नै प्रविधि र योजना अनि आफ्नै श्रम लगानी गरेर नेपाल निर्माण गरि विश्वलाई नै चकित पार्ने हो कि ?