राजनीतिभन्दा राम्रो समाजसेवा

कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ । समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ । देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता व्यतिmको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ । हुन त यस्ता समाजसेवी कदरपत्र वा नामका लागि, केही पाइएला भन्ने उद्देश्यले सामाजिक रूपान्तरणका लागि जीवन उत्सर्ग गरेका हुँदैनन् तर नयाँ पुस्तालाई सामाजिक रूपान्तरण गर्ने अभियानमा यस्ता व्यक्तित्वको जीवनीले अभिप्रेरित गरिरहेको हुन्छ । पूर्वी तराईको सप्तरी जिल्लामा जन्मेका डा.नागेश्वरप्रसाद सिंह एक यस्तै एक समाजसेवी हुनुहुन्छ । उहाँ नेपालमा अन्तर्राष्ट्रिय स्तरका सामाजिक सङ्घ संस्था एवं शिक्षालाई सबैको पहुँचसम्म पु¥याउन जीवन पर्यन्त प्रयत्नरत रहनुभयो ।
राणाकालीन नेपालमा तराईको एक समृद्ध परिवारमा सन् १९२६, जुलाई २७ मा जन्मनुभएका ‘नागोबाबु’ को प्रारम्भिक शिक्षा दीक्षा भारतको सुपौल जिल्ला डगमाराबाट सुरु भएको थियो । उहाँ पटना प्रवासमा रहँदै नेता बी.पी. कोइरालाको सम्पर्कमा आइसक्नु भएको थियो । एम.एस. गर्न अमेरिका जाने छनोटमा परेपछि ‘नागोबाबु’ आफ्ना राजनीति गुरु बीपी कोइरालासँग बिदा लिन बीपी निवास विशालनगर, काठमाडौँ पुग्दा बीपी ले ‘देशमा परिवर्तन पश्चात् तपाईंहरू जस्ता शिक्षित युवाको खाँचो छ, नगए हुन्छ’ भनेपछि उहाँ डा. तुलसी गिरीसँगै गृह जिल्ला सप्तरी राजविराज आई राजनीति र चिकित्सा सेवालाई सँगै अगाडि बढाउन थाल्नुभयो । सन् १९५९ (२०१६ साल) को संसदीय निर्वाचनमा ३७ नम्बर संसदीय क्षेत्रबाट विजयी हुनुभयो । वि.सं. २०१७ पुस १२ गते राजा महेन्द्रको अध्यक्षतामा गठित मन्त्रिमण्डलमा यातायात मन्त्री हुनुभयो । यसैगरी वि.सं. २०१९ देखि २०२४ सम्म स्नातक संसदीय क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा विधायकको रूपमा प्रतिनिधित्व गर्नुभयो । वि.सं. २०२८ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजयपछि राजनीति परित्याग गरी निरन्तर सामाजिक सुधारको अभियानमा लाग्नुभयो ।
देशलाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्न विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्थाहरूको सञ्जाललाई देशमा फैलाउन विभिन्न पहलहरू गर्नुभयो । डा. सिंहले वि.सं. २०२० भदौ १९ गते अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको नेपाल शाखा नेपाल रेडक्रस सोसाइटी आफ्नै अध्यक्षतामा गठन गर्नुभयो तर तत्कालीन पञ्चायती शासनकालमा दरबारकै व्यक्ति अध्यक्ष हुनुपर्ने चाहनाले गर्दा उहाँले उक्त पद परित्याग गर्नुभयो । विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित ‘विश्व शान्ति परिषद्’ को सन् १९७६ मा उपाध्यक्ष निर्वाचित भई नेपालको प्रतिनिधित्व गर्नुभयो । यस परिषद्मा विश्व स्तरीय राजनीतिज्ञ एवं कूटनीतिक व्यक्तित्वहरू रहने गर्दछन् । प्रजातन्त्र स्थापनापछि पछिल्लो पटक यस परिषद्को वि.सं. २०५१ मा दिल्लीमा आयोजित सभामा उहाँसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो ।
यसैगरी विश्वस्तरीय शान्ति स्थापना गर्न पहल गर्ने उद्देश्यले उहाँसँगै मातृकाप्रसाद कोइराला, निलाम्बर आचार्य, कृष्ण प्र. भण्डारी, शैलेन्द्रकुमार उपाध्याय, हेमन्तबहादुर बिसी लगायत अन्य राजनीतिज्ञ एवं कूटनीतिज्ञसहित नेपाल विश्व शान्ति समितिको गठन गर्नुभयो । पेसागत हकहितका निम्ति गठित चिकित्सकहरूको सर्वोच्च छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको अध्यक्ष भई नेतृत्व प्रदान गर्नुका साथै नेपाल क्षयरोग निवारण सङ्घको समेत अध्यक्ष हुनुभयो ।
डा. सिंहले वि.सं. २०१४ मा ‘महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पस’, राजविराज स्थापना गर्नुका साथै वि.सं. २०२८ मा कन्याहरूका लागि ‘केसो अनुरुद्ध माध्यमिक विद्यालय’, राजविराज स्थापना गर्न विभिन्न दातालाई उत्प्रेरित गरी जग्गा प्राप्ति तथा भौतिक संरचना निर्माण गर्न सफल हुनुभयो । त्यसैगरी वि.सं. २०३३ मा राजनीतिज्ञ कृष्णराज बर्मासँगै अर्काे ‘राजदेवी माध्यमिक विद्यालय, राजविराज’ स्थापना गर्न अग्रसर हुनुभयो र सफल पनि हुनुभयो ।
दाता रुद्रनारायण सिंहलाई राजविराजमा विमानस्थल निर्माणका लागि ६० विघा जग्गा प्रदान गर्न अभिप्रेरित गरी वि.सं. २०१५ मा तत्कालीन निर्माण तथा यातायात मन्त्री गणेशमान सिंहबाट उद्घाटन गराउन सफल हुनु भयो ।
राजनीतिज्ञ तथा समाजसेवी मातृकाप्रसाद कोइरालाले
सन् १९७१ मा विराटनगर लायन्स क्लबको स्थापना गरी लायन्स अभियान नेपालमा सुरु गर्नुभएको थियो । यसपछि डा. सिंहको सामाजिक अभियान लायन्स क्लबका माध्यमबाट चल्न थाल्यो । गाउँगाउँमा पुगी गरिब, निःसहायको आँखाको निःशुल्क शल्यक्रिया गरी अन्धोपन निवारणको क्षेत्रमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो ।