रियो ओलम्पिक २०१६ को पहिलो दिनमै जितबहादुर मोक्तान तामाङले खेल्ने

श्रावण २१, २०७३- जितबहादुर मोक्तान आर्चरीमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदै छन्। उनले ३१ औं गृष्मकालीन ओलम्पिकको पहिलो दिन नै रियो डे जेनेरियोस्थित साम्बाड्रोम मार्किज डे सापुकाईमा प्रतिस्पर्धा गर्दै छन्।
सोमबार रियो पुगेका उनले प्रतियोगिता स्थलमा बुधबार र बिहीबार अभ्यास गरिसकेका छन्। ‘ट्रनिङ ठीकै भयो,’ पहिलो दिनको अनुभवबारे उनले रियोबाट भने, ‘प्रतियोगिता स्थल र प्राक्टिस रेन्जमा दुई–दुई घन्टा अभ्यास गरेको थिएँ। हावा बढी चल्दो रहेछ। हावा एकनासको छैन, दिशा परिवर्तन गर्दै आउने रहेछ। एकोहोरो हावा चल्यो र त्यसलाई ठम्याउनसकेँ भने राम्रो खेल देखाउन सक्छु।’
रियोमो मौसम काठमाडौं सुहाउँदो भएको उल्लेख गर्दै उनले भने, ‘करिअरकै सबभन्दा राम्रो स्कोर गर्ने लक्ष्य बनाएको छु। यसको लागि तयार छु। र, आत्मविश्वासी पनि। तर, आर्चरीमा धैरे कुरा हावाको बहावमा पनि भर पर्छ। त्यसैले खेलमा राम्रो गर्न भाग्यले पनि साथ दिनुपर्छ।’ उनले नोभेम्बर, २०१५ मा बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा ३ सय २१ र ३ सय २१ गरी कुल ६ सय ४२ स्कोर गरेको थियो। त्यो नै उनको व्यक्तिगत उच्च स्कोर हो र त्यही प्रदर्शनबाट उनले ओलम्पिक खेल्ने अवसर पाएका हुन्।
‘प्रतियोगिता स्थल निक्कै ट्रिकी छ,’ प्रशिक्षक दीपकराज गुरुङले रियोबाट बताए, ‘राम्रो खेल्न पहिले हावाको बहाव बुझ्नु आवश्यक छ। सहभागी सबै खेलाडी उत्कृष्ट छन्। हाम्रो लक्ष्य पनि उत्कृष्ट प्रदर्शन गर्ने नै हो। करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै र शीर्ष ६४ मा प्रवशे गर्ने हाम्रो लक्ष्य हो।’ प्रारम्भिक चरण (र्यांकिङ राउन्ड) मा १ सय २८ खेलाडी छन्। यसमा शीर्ष ६४ मा रहने खेलाडी दोस्रो चरण प्रवेश गर्नेछन्।
मकवानपुरका जितले पोखरामा दुई साता र दशरथ रंगाशालामा पाँच दिन अभ्यास गर्ने निक्कै राम्रो स्कोर गरेका थिए। एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभवी यी ३६ वर्षीय खेलाडीले प्रशिक्षणमा ६ सय ७४ स्कोरसम्म गरे। यसलाई रियोमा पनि कायम राख्न सके उनले प्रेमप्रसाद पुनको राष्ट्रिय कीर्तिमान तोड्न सक्छन्।
एसियन आर्चरी ग्राँ प्रि (सन् २०१०) मा प्रेमले ६ सय ५५ स्कोरको राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनले ओलम्पिक दूरी (७० मिटर) मा नियमित अभ्यास गर्ने मौका नमिले पनि करिअरकै उत्कृष्ट लयलाई रियोमा निरन्तरता दिने आस गरिएको छ | @ इकान्तिपुर |