नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा
काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादववीच एकताको गृहकार्य भैरहेको समाचार सूत्रले बताएको छ ।
यता राष्ट्रिय जनता पार्टीसँग संघीय समाजवादी फोरमको एकता प्रक्रिया अगाडि बढेको भनि भैरहेको प्रचार सही नभएको दावी गर्दै सूत्रले भट्टराई र यादव आफ्ना पार्टी एक गराउन सहमति नजिक पुगिसकेको कुरामा जोड दिएको छ ।
राजपामा रहेका दलसँग एकता वार्ताका लागि वार्ता कमिटीको प्रयास अन्तिम चरणमा पुगिरहेको बेलामा उपेन्द्रले अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरी संघीय फोरम बनाएका थिए ।
केहीदिन अघि मात्र यादवले पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकीकरणबारे राजपासँग मात्र होइन नयाँ शक्ति पार्टीसँग पनि वार्ता प्रक्रिया जारी रहेको खुलासा गरेका थिए ।
यादव र भट्टराई दुवै पूर्व कम्युनिस्ट नेता भएकाले एकताका लागि सहज हुने समाचार सूत्रको भनाई छ । स्थानीय निर्वाचनमा पनि यादव र भट्टराईले नेतृत्व गरेको पार्टीबीचमा नै विभिन्न ठाउँमा तालमेल पनि भएको थियो ।
केही वर्षअघि भट्टराईले पार्टी एकता अन्तिम चरणमा पुगेपछि यादवलाई कार्यकारी संयोजक नदिएकाले पार्टी एकता हुनसकेको थिएन । अहिले पार्टीको हैसियत अनुसार लेनदेन हुनसकेमा एकता तत्काले हुनसक्ने जानकार सूत्रले दावी गरेको सरलपत्रिकामा समाचार छ |