काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। काठमाडौंका विभिन्न ठाउँमा बम बिस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र चन्द कार्यकर्ता काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो।
महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गर्ने चन्द कार्यकर्ताले गोली चलाएका थिए। ‘हामी पक्राउ गर्ने क्रममा थियौं, उताबाट गोली चल्यो, त्यसपछि जवाफी फायर भयो,’ राठौरले भने, ‘दुबैतर्फ कुनै क्षति भएको छैन।’
नख्खु, बसुन्धरास्थित मेनपावर कम्पनीका अध्यक्षको घरमा बिस्फोट गराउने र कमलपोखरी लोत्सेचोकको आँगन मिठाइ पसलमा बम राख्ने समूह त्यहाँ रहेको जानकारीका आधारमा प्रहरी पुगेको थियो।
राठौरका अनुसार सो क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको छ। रोशी गाउँपालिका काभ्रेको विकट क्षेत्र हो।
राजधानीका बिस्फोट घटनामा संलग्नहरूमाथि अनुसन्धान सिलसिलामा केही व्यक्ति रोशी गाउँपालिकामा रहेको टेलिफोन ‘लोकेसन ट्रयाक’ गर्दै प्रहरी त्यहाँ पुगेको थियो। राठौरले दुबैतर्फ कति फायर भएको भन्ने यकिन हुन बाँकी रहेको बताए। श्रोत – सेतोपाटी