संस्कृत र बुद्धिज्म पछ्याउँदै बेइजिङबाट नेपाल ओहाेरदोहाेर
एक वर्ष अघिको कुरा हो, चीनको कान्सु प्रान्तस्थित नर्थवेस्ट विश्वविद्यालयमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक काशीनाथ न्यौपानेले चिनियाँहरूलाई संस्कृत भाषा सिकाइरहँदा अनुवादमा सघाउने व्यक्ति थिए, लिउ यिङ्ह्वा। नेपालमा संस्कृत, बुद्धिज्म र शाक्यमुनिको जन्मस्थल भएकाले संस्कृतबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम खिच्न सकिने धारणा उनैले प्रकट गरेका थिए।
चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा जोडिएपछि उनीसँग थप कुरा गर्ने इच्छा थियो तर उनको व्यस्तता सकिएकै रहेनछ। बेइजिङ फर्किएकै रहेनछन्। त्यस पछाडिको करीब एक वर्ष लामो रिक्तता रह्यो। हालै क्वाङ्सीका एकजना पत्रकारले आफ्नो नेपाल भ्रमण सम्बन्धी नेपालखबर अनलाइनमा प्रकाशित सामग्री चिनियाँमा अनुवाद भएपछि चिनियाँ अनलाइनहरूमा प्रकाशित गरे। उनले पर्यटन र ट्राभल सम्बन्धी अनेकन वेभसाइटहरूमा सार्वजनिक गरेको लिंक मैले पनि शेयर गरें।
त्यो खबर हेर्नेमा एकजना तिनै विद्वान लिउ यिङ्ह्वा थिए, जसले प्रतिक्रिया पनि जनाए। जब उनको नेपाल भ्रमणबारे मैले चर्चा गरें, तब उनी अलिक अक्मकाए र भने, ‘म नेपालका त्यति धेरै ठाउँ त गएको छैन। त्यसैले यो लेखमाजस्तो अनुभव त बताउन सक्दिनँ होला।’
हाल ५६ वर्षीय बेइजिङका वासिन्दासँग संस्कृत र बुद्धिज्मबारे कुरा गर्नु श्रेयस्कर हुन्थ्यो। त्यसमाथि उनी ट्रेडिसनल चाइनिज मेडिसिन (टीसीएम) क्षेत्रमा पनि सक्रिय व्यक्तित्व थिए। हाल चाइना टिबेटोलोजी रिसर्च सेन्टर अन्तर्गत बेइजिङ हस्पिटल फर टिबेटन मेडिसिनमा परामर्शदाता, एसोसियट रिसर्च फेलो, ट्रेडिसनल तिब्बती चिकित्सा अनुसन्धानमा संलग्न।
झण्डै १२ वर्षअघिदेखि नै उनमा संस्कृत शिक्षाको तिर्खा जागेको रहेछ। २००७ देखि २००९ मार्चसम्म उनले भारतको कोलकत्ता विश्वविद्यालयबाट संस्कृत शिक्षा अध्ययन गरेका थिए। संस्कृतकै लागि २००७ मा उनी छोटो समय काठमाडौं गएका रहेछन्। सन् २०११ मा काठमाडौं विश्वविद्यालय, बौद्ध अनुसन्धानालयबाट संस्कृतको तालिम लिएका रहेछन्।
बुद्ध धर्मावलम्वी भएकाले शाक्यमुनिको जन्मथलो गइराख्ने इच्छा त हुने नै भयो। पहिलो पटक संस्कृत तालिमका लागि नेपाल गएपनि लुम्बिनी पुग्न भ्याएनछन्। दोश्रो पटक सन् २०११ मा उनले चिनियाँ टिबेटोलोजीको डेलिगेसनसँगै संस्कृत कार्यशालामा भाग लिए अनि लुम्बिनीको तीर्थयात्रा गरे, पोखरा पनि पुगे। उनी पोखरालाई ‘पोकारा’ भन्थे।
उनका नजरमा नेपालमा संस्कृत शिक्षा निकै विकसित छ। विद्यालय र गुरूहरू पनि पर्याप्त छन्। भारतको भिसा पाउन मुश्किल र मौसम पनि गर्मी लागेकाले पनि उनलाई नेपालले बढी आकर्षित गर्यो। चिनियाँका लागि नेपाली भिसा लिन पनि सजिलो। उनी तिब्बतमा मेडिसिन रिसर्चका लागि गैरहनुपर्ने हुन्थ्यो। नेपालबाट तिब्बत नजीक पर्ने भएकाले उनी नेपाल रोज्थे। त्यतैबाट तिब्बत जान्थे। त्यसै क्रममा नेपालका विभिन्न ठाउँमा गाडीमार्फत् यात्रा गरे। धेरै नेपाली साथी बनाएकाले नेपालप्रतिको उनको सम्मोहन झन् गहिरो हुँदै गयो।
नेपाल–चीन मित्रताको इतिहासमा वास्तुकलाविद् कालीगढ अरनिको र उनले बनाएर छोडेका देवालयहरू तथा बेइजिङ सहरको मण्डालाकारको डिजाइन भुल्न नहुने उनी ठान्छन्। उनका नेपाली गुरूका अनुसार बेइजिङको स्वरूप मण्डलाकारको हुनुमा अरनिकोको इन्जिनियरिङले काम गरेको हुनसक्छ। उनी भन्छन्, ‘चीनको प्राचीन सभ्यता विकासमा नेपालले धेरै ठूलो योगदान गरेको छ। चिनियाँहरूले नेपाली सहयोग बिर्सनु हुँदैन र नेपालीप्रति कृतज्ञ हुनुपर्छ।’
अन्य मुलुकमा विरलै पाइने नेपालको परम्परागत संस्कृति र प्राकृतिक दृश्यले उनको हृदयमा छाप पारेका छन्। उनी भन्छन्, ‘हिमालको दक्षिण भागमा रहेको नेपालको यो अवस्थिति र वातावरणको अनुभूति अन्यत्र कहीं पनि हुनसक्दैन।’
फेवातालमा डुंगा शयर गर्दै सूर्योदयको दृश्य हेर्नु, गल्लीमा साइकल चलाउँदै पूर्ण स्वतन्त्रताको अनुभूति लिनुले मात्रै होइन, पुराना शैलीका नेपाली विशेषतायुक्त र आकर्षक घरहरूले उनको मन तानेको रहेछ। तथापि उनले मन दुख्ने कुरा भन्न छोडेनन्, ‘नेपालको शहरी यातायात कमजोर छ। काठमाडौंको ग्रीष्मऋतुमा धुलोधुँवा र वर्षायाममा हिलोले स्वास्थ्यमा पार्ने असर चिन्ताजनक हो।’
संस्कृत र बुद्धिज्मबाट नेपालमा प्रचूर संभावना देखेका लिउले लामै सुझाव दिए, ‘नेपालले संस्कृत कक्षाहरू संचालन गरेर विदेशी विद्यार्थी आकर्षित गर्न सक्छ। संस्कृत समर क्याम्प वा अन्य संस्कृत भाषासम्बन्धी शिविरहरू आयोजना गर्नसक्छ। विदेशी विद्यार्थीहरूलाई नेपाली संस्कृति सिकाउने काममा आकर्षित गर्न सकिन्छ। नेपालले विदेशमा पढाउन चाहने शिक्षकका लागि केही शर्तहरू बनाउन सक्छ। संस्कृत सिकाउन तथा नेपाली प्राचीन सभ्यता फैलाउनका लागि गुरूहरूको सदुपयोग गर्न सक्छ। नेपाल बुद्धको देश हो। नेपालले बौद्ध पर्यटनको प्रचूर श्रोतबाट पनि धेरै लाभ लिनसक्छ।’
यातायात पूर्वाधार सुधार गर्न सकियो भने नेपालमा पाहुनाहरू आउँछन्, हेर्छन् र बस्छन्। वृत्तचित्र, फिल्म, टेलिभिजन, संगीत र सांस्कृतिक (बुद्धिष्ट फेस्टिभल) इत्यादि गतिविधिबाट नेपालको भौगोलिक बनावट विश्वमा फैलाउन सकिन्छ। पिछडापन त एउटा हेराइको कोण हो। यातायात पूर्वाधारका लागि केही योजना र स्तरोन्नतितर्फ केन्द्रित हुने हो भने क्रमशः सुधार हुँदै जान्छ। प्राकृतिक वातावरण तथा प्राचीन सांस्कृतिक विशेषताको जगेर्ना गर्न ध्यान दिनुपर्छ। अर्थतन्त्र विकासका लागि भनेर परम्परागत संस्कृति र वातावरण ध्वस्त पार्नु हुँदैन। चीनको यातायात सुविधा, विद्युत, संचारको अनुभव लिन सकिन्छ।
नेपालप्रतिको एक शुभेच्छुक चिनियाँ हुनुको आत्मीयता दर्शाउँदै उनले उपायहरू रचना गरे र आफ्नो आगामी योजना सुनाए, ‘पटक पटक नेपाल जान चाहन्छु। साथीहरू र परिवारका सदस्यहरू लिएर तीर्थयात्रामा जाने योजना छ। अध्ययन र संस्कृत पढ्नका लागि पनि जान चाहन्छु।’
लुम्बिनीमा चीन, दक्षिण कोरिया लगायत विश्व परिचायक मन्दिरहरू छन्। यो एउटा बहुदेशीय एकताको प्रतीक हो। सिकाई त कुनै व्यक्ति वा देशबाट मात्रै हुनुपर्छ भन्ने छैन। राम्रो कुरा जो कोहीबाट पनि ग्रहण गर्न सकिन्छ। चीनले अरूबाट धेरै कुरा सिकेर आफ्नो देशको उन्नति गरेको हो। चिनियाँहरू विगतमा रूढिवादी थिए, अहिले खुला हुँदै गए। नेपालले पनि अरू देशबाट सिकेर उन्नति गर्न सक्छ।
नेपाल र चीनबीचमा जनस्तरीयदेखि सरकारी सम्बन्ध पनि गहन छ। यो मित्रता एसिया प्यासिफिक क्षेत्रको शान्ति र विकासका लागि महत्वपूर्ण छ। लिउ भन्दै गए, ‘युगान्तरसम्म पनि यो सम्बन्ध यथावत रहने अपेक्षा छ। नेपालले आफ्नो सुन्दर दृश्य, सभ्यता यथावत् राख्नेछ र नेपालीहरूको मुहारमा खुशी छाइरहने छ।’
बुद्ध धर्मावलम्वी भएकाले संस्कृत अध्ययन र लुम्बिनी तीर्थयात्रा गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो उपलब्धी ठानेर धन्य भए उनी। नेपालीसँगको मित्रता पनि अनुपम सम्पत्ति भएको सुनाए। भारत ११, श्रीलंका १, युरोपको जर्मनी, स्वीडेन, डेनमार्क, नर्वे लगायतका देशमा पुगेका छन् उनी।
२००७ देखि २०१७ सम्म ६ पटक अध्ययन तथा धार्मिक पर्यटनका लागि नेपाल पुगे लिउ। उनले नेपालमा खिचिएका असंख्य फोटोहरू देखाए। एक दशकभित्रका फोटोमा उनी कलिलो युवादेखि प्रौढावस्थासम्मको देखिए। लक्ष्मी लम्साल /नेपालखबर