मध्यरातमा स्वयंवरपछि बेहुली फिल्मी शैलीमा अर्कै केटासँग फरार …
धनुषामा एक बेहुली स्वयंवरपछि फरार भएकी छन्। आइतबाार राति धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवती स्वयंमरपछि अर्कैसँग भागेकी हुन्।
आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुलासहित जन्ती टोली युवतीको घरमा आएको थियो। विवाहको मूल विधि शुरु हुनुअघि हुने राति १ बजे स्वयंवर सम्पन्न भयो। स्वयंवरलगत्तै दुलहीको भेषमा रहेकी ती युवती फिल्मी शैलीमा सबैको आँखा छलेर भागेको ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए।
निरीक्षक खड्काकाअनुसार बेहुली भगाउनका लागि त्यही टोलका केही व्यक्तिहरुले भूमिका खेलेका थिए। बेहीली फरार भए लगत्तै प्रहरी टोली पुगेर फरार बेहुली र बेहुली भगाउन सहयोग गर्नेहरुको खोजी गरिरहेको छ। जन्ती र माइतीपक्षको नाम भने प्रहरीले गोप्य राखेको छ।
बेहुली स्वयंवरपछि अर्कै केटासँग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ। विवाहका लागि आएका बेहुला र जन्तीसमेत के गर्ने भन्ने अन्योलमा परेका छन्।
निरीक्षक खड्काका अनुसार बेहुली फरार भएपछि के गर्ने भन्ने विषयमा केटी पक्ष र केटापक्षबीच छलफल भइरहेको छ।
स्थानीयका अनुसार बिहे भाग्ने बेहुलीको ईनरबा टोलका एक युवकसँग लामो समयदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो। प्रहरीले ती बेहुली तिनै युवकसँग भागेको हुनसक्ने अनुमान गरेको छ।
२० फागुन २०७५