हेडलाईन

राष्ट्रवादको आवरणमा जातिवादको खेती – मोहन गोले तामाङ         गणतन्त्र, संघीयता र धर्म निरपेक्षता माथि अझै खतरा !         साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ – १ नेपाल         बैंक खाता नचलाए निष्कृय, प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिए बैंकलाई कारवाही गर्ने         परी तामाङ पक्राउ पर्दा अरुलाई चाहिँ किन छुट ?         गोरखामा कुकुरसंगको भिडन्तमा चितुवाको ज्यान गयो         अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध        

कुलमान घिसिङ भन्छन् : दुई वर्षपछि भारतबाट बिजुली किन्ने होइन, बेच्ने अवस्थामा पुग्छौँ

नेपाल विद्युत प्राधिकरणले नेपाल अब विस्तारै बिजुलीमा आत्मनिर्भर हुन थालेको बताएको छ । सकभर आउँदो बर्खामा नै नेपाल बिजुलीमा आत्मनिर्भर हुने, नभए थोरै मात्र आयात गर्नुपर्ने र २०७७ सालको बर्खामा त भारतमा बिजुली पठाउने अवस्थामा पुगिने प्राधिकरणले जनाएको छ ।

 

तर हिउँदको समयमा पनि नेपालमै उत्पादित बिजुलीले आत्मनिर्भर हुनको लागि अझै दई वर्ष कुर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

नेपालका धेरै आयोजना ‘रन अफ दिन रिभर’ प्रणालीका भए पनि अहिलेको हिउँदमा प्राधिकरण र निजी क्षेत्रले साढे ६ सय मेगावाट बिजुली उत्पादन गरेको र बिजुलीको सबैभन्दा धेरै माग हुने समयमा भारतबाट ५ सय मेगावाटसम्म आयात गर्नुपरेको घिसिङले जानकारी दिनुभयो ।

तर औसतमा हरेक वर्ष भारतबाट आयात हुने बिजुली घटेको उहाँको दावी छ । प्राधिकरणले गरिरहेका काम, अबको योजना, विद्युतीकरणको अवस्था लगायतका विषयमा  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानी ।

हिजोआज केमा व्यस्त हुनहुुन्छ ?

हामी नेपालमा विद्युतको विस्तार र विकासका काममा लागिरहेका छौँ । अहिले पनि बिहान ८÷९ बजेदेखि बेलुकी ८ बजेसम्म म अफिसकै काममा लागेको हुन्छु । दिनदिनै बिभिन्न समस्या आएका हुन्छन्, ती समस्या समाधान पनि गर्नुपर्‍यो । त्यस्तै लोडसेडिङको व्यवस्थापन, सव स्टेशनको निर्माण, प्रसारण लाइनको निर्माण र फलो अप, नयाँ आयोजनाको खोजीलगायतका काममा नै दिनहरु बितिरहेका छन् ।

तपाईँको नाममा कुलमान घिसिङ चोक, कुलमान मार्ग राखिएका खबर पनि आइरहेका छन्, काममा झनै उत्साह थप्छन होला हैन यस्ता खबरले ?

म पनि यही देशको नागरिक हो । मैले निकै धेरै केही गरेको हैन, मैले एउटा राष्ट्रसेवकले निभाउनुपर्ने भूमिका तलमाथि नगरी निभाएको मात्रै हो । मेरो कामबाट प्रभावित भएर मेरो नाममा चोकको नाम राखेको, बाटोघाटोका नाम राखेको यस्ता समाचार हेर्छु/सुन्छु, मलाई खुशी लाग्छ । मलाई नागरिकले गरेको यस्तो सम्मानले काममा थप उत्साह मिलेको छ । सँगसँगै जिम्मेवारी पनि बढेको महसुस गर्छु ।

फागुनको मध्य समयमा पनि तपाईँहरुले औपचारिक रुपमा लोडसेडिङ गर्नुभएको छैन, कसरी व्यवस्थापन भैरहेको छ ?

अहिले देशैभरि कहीँ पनि लोडसेडिङ छैन । पोहोर हामीले सुख्खा समयमा औद्योगिक क्षेत्रमा दैनिक औसतमा ४ घन्टा लोडसेडिङ गरेका थियौँ । तर अहिले भने हामीले उद्योगमा पनि मज्जाले बिजुली दिएका छौँ । प्राविधिक कारणले कतै कतै सूचना जारी गरेर बिजुली काटेका छौँ, छिटो मर्मत गरेर बिजुली सञ्चालन गरेका छौँ ।

भएका आयोजनालाई मर्मत सम्भार गरेर पूर्ण क्षमतामा चलाइरहेका छौँ । बिजुली खेर जाने पुराना संरचना फेर्दै लगेका छौँ । अत्याधिक बिजुलीको माग हुने साँझको समयमा भारतबाट केही बढी मात्रामा बिजुली आयात गरेर भए पनि नागरिकलाई बिजुली दिइरहेका छौँ ।

जसरी पनि देशमा बिजुली गएको छैन, त्यो त खुशीको कुरा भयो । तर भारतबाटै बिजुली आयात गरेर मात्रै कुलमानले लोडसेडिङ हटाएको हो भन्ने टिकाटिप्पणी पनि सुनिन्छ । अहिले भारतबाट कति आयात भएको छ ?

आरोप लगाउनेहरुलाई त मेरो भन्न केही छैन । हाम्रा धेरैजसो जलविद्युत परियोजना ‘रन अफ् दि रिभर’ प्रणालीमा आधारित छन् । बर्खाको तुलनामा आधा पनि बिजुली उत्पादन हुन्न । तर हिउँदको जस्तोसुकै सुख्खा समयमा पनि हाम्रा योजनाहरुबाट ४ सय मेगावाट बिजुली उत्पादन भैरहेको छ । कुलेखानीसहितका आयोजना चलाउँदा हामीले ५ देखि साढे ५ सय मेगावाट बिजुली हिउँदको समयमा नै उत्पादन भैरहेको छ ।

यस्तै निजी क्षेत्रको पनि बिजुली जोड्दा ७ सय मेगावाटसम्म बिजुली हिउँदको समयमा पनि नेपालबाटै उत्पादन भएको छ । अहिले सबैभन्दा धेरै बिजुलीको माग हुने साँझको समयमा भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेका छौं । तर राती र दिउँसोको समयमा भने यो मात्रा धेरै कम हुन्छ ।

अहिले पनि हिउँदमा छ सय मेगावाट बिजुली भारतबाट किन्नुपर्ने अवस्था रहेछ, नेपालकै बिजुलीले आत्मनिर्भर हुने अवस्था कहिले आउला त ?

हेर्नुस्, आत्मनिर्भर र परनिर्भर भन्ने कुरा त सामान्य हो । कुनै बस्तुमा हामी परनिर्भर हुन्छौँ, कुनै बस्तुको अर्को देश होला । बिजुली पनि त्यस्तै हो । आउँदो कात्तिकमा ४ सय ५० मेगावाटको तामाकोसी जलविद्युत परियोजना आउँछ । तामाकोशी आएपछि हामीलाई धेरै नै भर हुन्छ । सकभर यही बर्खामा नत्र आउँदो बर्खायाममा हामी हाम्रै बिजुलीले आत्मनिर्भर हुन्छौं ।

आउँदो बर्खादेखि त हामीले भारतलाई बिजुली बेच्ने अवस्था आउँछ । बर्खामा हामीले भारतलाई मनग्य बिजुली पठाउँछौं, अनि हिउँदमा उताबाट ल्याउँछौ । अनुपातको हिसाबले त आउँदो वर्षदेखि नै आयात र निर्यात बराबर हुन आउँछ ।

तर हिउँदमा पनि भारतबाट बिजुली आयात गर्नु नपर्ने अवस्था आउन अझै २ वर्ष लाग्छ । २ वर्षपछि त हामीले बर्खामा भारतलाई मनग्य बिजुली बेच्ने तर हिउँदमा पनि उताबाट आयात गर्ने अवस्था अन्त्य हुन जान्छ ।

त्यसको लागि इनर्जी बैंकिङको सहमति त भैसकेको छ हैन ?

एकदमै । हामीले अबको एक दुई वर्षमै बर्खामा बिजुली निर्यात गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर नै भारतसँग इनर्जी बैंकिङकै सहमति गरेका हाैँ । एक वर्षपछि त हामीले हिउँदमा आयात गर्ने भन्दा धेरै बिजुली भारतलाई दिइसकेका हुनेछौँ ।

बर्खामा भारतलाई दिने र हिउँदमा लिने क्रम २ वर्ष चल्छ । त्यसपछि हामी हिउँदमा पनि आत्मनिर्भर हुनेछौँ । बरु देशमा बिजुली खपत कसरी बढाउने भनेर हामीले योजना बनाइरहेका छौँ ।

बिजुली निर्यातमा भन्दा धेरै देशमै खपत गर्दा फाइदा हुन्छ हो ?

सही कुरा भन्नुभयो । अहिले हामीले बिजुली निर्यात भनेर निकै हल्ला गरेका छौँ । तर हामीजस्तो विकासोन्मुख देशले बिजुली बेचेर धनी हुने होइन, र त्यो धेरै फाइदाजनक पनि छैन । किनभने हामीले १० रुपैयाँको बिजुली खपत गर्‍यौँ भने त्यसले १ सय रुपैयाँको फाइदा दिन्छ ।

देशको आर्थिक वृद्धिदरमा विद्युत खपतको दरले ठूलो भूमिका खेलेको हुन्छ । सार्क देशमा हेर्ने हो भने हामी बिजुली खपत गर्ने देशमा सबैभन्दा तल नै छौँ । २ सय युनिट प्रतिव्यक्तिको हाराहारीमा मात्रै छौँ । भारतले प्रतिव्यक्ति खपत ११ सय भन्दा धेरै लगिसक्यो ।

त्यसैले बिजुली धेरै उत्पादन गरौँ भन्नु चाहिँ सही हो, तर निर्यातकै पछि लाग्नु चाहिँ अर्थतन्त्रको लागि त्यति राम्रो हुँदैन । त्यसैले देशमै खपत गर्ने गरी हामीले योजना बनाउनुपर्छ ।

तपाईँले खपत बढाउने योजना सुनाइरहँदा तामाकोशीसहित प्राधिकरणले निर्माण गरिरहेका आयोजनाको म्याद थपिएको थपियै छ । यस्तो सक्षम नेतृत्व प्राधिकरणमा हुँदा पनि आयोजनाको काम फटाफट किन हुन सकेको छैन ?

हो, तामाकोशीसहितका केही आयोजना ढिलाइ भएका छन् । हाम्रोमा मुख्य समस्या नै ठेकेदारको हो । ठेक्का लिने बेलामा तँछाडमछाड गर्ने, तर काम गर्ने बेलामा भने जहिल्यै भाका सारेका छन् । मेलम्ची देखिसक्नुभएको छ नि । नेपालमा राम्रा ठेकेदार कमै मात्र आउँछन् । तामाकोशीको विषयमा पनि ठेकेदारलाई धेरै कुरामा दबाब दिएका छौँ, एउटा सहायक ठेकेदार कम्पनीले पूरा गर्न नसकेका काम अर्काबाट पनि गराइरहेका छौँ ।

अर्को कुरा भूकम्प र सीमामा आएको अवरोधले पनि हाम्रा आयोजना प्रभावित भएका हुन् । कुनै पनि परियोजनाले मज्जाले काम गरिरहेको बेलामा केही अवरोध आयो भने त्यसले परियोजनालाई धेरै पछाडि धकेल्छ ।

जस्तै भूकम्प र बाढीले तामाकोशीका दर्जनौं संरचना ध्वस्त बनायो । हामीले बाटो नयाँ खन्नुपर्ने भयो, टनेल नै अर्को खन्नुपर्‍यो । हामीले सबै कुरा फेरि व्यवस्थापन गर्‍यौँ । अब भने तामाकोशी अघि बढेको छ । कात्तिकमै बिजुली उत्पादन हुन्छ । त्यस्तै अरु परियोजना पनि द्रुत गतिमा अघि बढेका छन् ।

जलविद्युत उत्पादनमा मात्र होइन, प्रसारण लाइनमा पनि धेरै अबरोध छ भनेर तपाईँले बेलाबेला गुनासो गर्दै आउनुभएको छ । खास प्रसारण लाइन र सब–स्टेशन निर्माणमा के समस्या छ ?

धेरै समस्या त हामीले समाधान गरिसकेका छौँ । केही ठाउँमा मुआब्जाको कारणले रोकिएको थियो, त्यो लगभग मिलिसकेको छ । केही ठाउँमा चाहिँ वनको कारणले अलिक ढिलाइ भएको छ ।

उदाहरणको लागि ललितपुरमा निजी क्षेत्रले टुंगुन ठोस्ने आयोजनाबाट ६ मेगावाट बिजुली निकालेको छ, तर अध्यधिक जंगलको कारणले हामीले मातातीर्थसम्म प्रसारण लाइन निर्माण गर्न सकेका छैनौँ । ९/१० किलोमिटर पुरै जंगल भएको कारणले ढिलाइ भएको छ ।

देशमा अहिले सबैभन्दा सफल रुपले काम गरिरहेको निकायलाई पनि जंगलले यस्तो दुःख दिएको रहेछ, रुख कटानमा कहाँबाट यस्तो अवरोध आउँछ ?

अब रुख काट्न नदिने निकायहरुको पनि बाध्यता होला । हामीले नीति नियम नै यस्ता अप्ठ्यारा बनाएका छौँ, जस्ले हामीलाई नै काम गर्न समस्या छ । एउटा सरकारी निकायले बनाएको नियमले अर्को सरकारी निकायलाई काम गर्न निकै गाह्रो छ ।

तर जिल्ला वन अधिकृत, रेञ्जरहरु अलिकति मात्रै सकारात्मक भैदिँदा पनि धेरै कुरा समाधान हुन्थ्यो, कतिपय ठाउँमा त उहाँहरु टसको मस गर्नु हुन्न । माथिल्लो निकायसँग राम्रो कुरा हुन्छ, तर जब हामी फिल्डमा जान्छौँ, त्यसपछि समस्याका चाङ लाग्छन् । सबै कुरालाई नियममै कस्ने भन्दा पनि केही कुरालाई व्यवहारिक रुपले हेरिदिए हुन्थ्यो ।

अब अलि फरक प्रसंगको कुरा, जहाँ–जहाँ बिजुली पुगेको छ, त्यहाँ–त्यहाँ त तपाईँहरुले कुशल व्यवस्थापन गरेर लोडसेडिङ हटाउनुभएको छ, तर बिजुली नै नपुगेका ठाउँमा बिजुली पुर्‍याउन पहल भएन भन्ने गुनासो आउँछ नि ?

हामीले पहल नगरेको भन्ने कुरामा सत्यता छैन । पछिल्लो १० वर्षमा जति घरमा बिजुली पुगेको थियो, त्यति घरमा हामीले पछिल्लो एक वर्षमा बिजुली पुर्‍याउन संरचना बनाएका छौँ ।

म कार्यकारी निर्देशक भएर आइसकेपछि नयाँ विद्युतीकरणमा त क्रान्ति नै आएको छ । बिजुलीको विस्तार भन्ने कुरा जडान गरिएका मिटरले पुष्टी गर्छ । हामीले ५/६ लाख मिटर बाँडिसकेका छौँ । पहाडको टुप्पोमा एउटा घर छ भने त त्यहाँ बिजुली पुग्न समय लाग्ला नत्र अन्य ठाउँमा हामीले ४ वर्षमा बिजुली पुर्‍याइसक्छौँ ।

भनेपछि ४ वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुग्ने भयो, होइन ?

यो योजना हाम्रो मात्रै नभएर उर्जा मन्त्रालयकै हो । मन्त्रालयले पोहोर नै पाँच वर्षभित्रमा सबै नेपालीको घरमा बिजुली पुर्‍याउने भनेर योजना बनाएको छ । एक वर्ष बितिसक्यो । अब ४ वर्ष छ, ४ वर्षमा सबै नेपालीको घरमा बिजुली पुग्छ । त्यसको लागि बजेट छुट्याइएको छ । जाईका, एडीबी, विश्व बैंकलगायतका साझेदार निकायसँग पनि सहकार्य भैरहेको छ । विद्युतीकरणमा त पछिल्ला १० वर्षमा नभएका काम हामीले गरेका छौँ ।

बिजुली पुर्‍याउनको लागि तार र पोल भएर मात्र भएन । धेरै सब–स्टेशन चाहियो, ठूला–ठूला प्रसारण लाइन चाहियो, हामीले त्यो काम पनि गरिरहेका छौँ । गएको वर्षमा हामीले ३० वटा सब–स्टेशन चार्ज गर्‍यौँ, आउँदो वर्ष ५० वटा सब–स्टेशन बनाउँदैछौँ ।

उज्यालाे/अर्जुन पोख्रेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution