भूटानी महारानी अशी दोर्जी वाङ्मो वाङचुक लुम्बिनीमा
रुपन्देही । भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छिन् ।
राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुग्नुभएकी वाङचुकले लुम्बिनीको भ्रमण गरेकी हुन्। महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए । महारानी वाङचुकले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरिन्। लुम्बिनी भ्रमणपछि उहाँले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थल कपिलवस्तुको तिलौराकोटको भ्रमण गर्नुभएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए।
महारानीलाई लुम्बिनीको पुरातात्विक महत्व र गुरुयोजनाबारे लुम्बिनी विकास कोषका पथप्रदर्शक दिलीप राईले जानकारी गराएका थिए। बिहीबार साँझ लुम्बिनी आइपुगेकी महारानी वाङचुक भोलि स्वदेश फर्किने कार्यक्रम छ ।रासस