आगामी वर्षदेखि जातीय र धार्मिक पर्वमा १५ दिन बिदा दिने तयारी
सरकारले विस २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय रुपमा लिँदै सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाले जातीय पर्वमा सार्वजनिक बिदा नदिइएको भन्दै आन्दोलन हुँदै आएकाे अवस्थामा सरकारले आगामी वर्ष पुन: बिदा दिने प्रस्ताव राखेकाे हाे ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईकाे बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।
२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदा यथावत राख्दै सरकारले थप पर्वमा बिदा दिन लागेको हो । यस वर्ष कतिपय जातीय पर्वमा सम्बन्धित जाति बढी रहेका प्रदेशमा मात्र प्रदेश सरकारले बिदा घोषणा गरेकाे थियाे ।
आगामी वर्षदेखि किरात समुदायको चाड उभौली र उधौली, मुस्लिम समुदायकाे इदुल पित्र, बकरइद र मोहम्मद जयन्ती, डिसेम्बर २५ मा क्रिसमस, गुरुङ समुदायले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होछार र शेर्पाको ग्याल्वो ल्होसार, छठ पर्व, महिलाहरुले मनाउने ऋषि पञ्चमीका दिन महिलालाई मात्र सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ ।
यस्तै माघ १ गते थारु समुदायको माघी पर्व र नेपाल ब्राम्हण समाजको माग बमोजिम जनैपूर्णिमाका दिनमा समेत सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ । सार्वजनिक बिदाकाे प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी भइरहेको जनाएको छ ।