हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

क्यानडामा ‘बुद्धका आँखा भएको देश’ खोज्ने सङ्गीत मझेरीको कथा

हाम्रो भाषा सङ्गीतकै भाषा हो, हाम्रो नाता सङ्गीतको नाता हो…

कसैलाई सुखै सुख कहाँ हुन्छ लेखेको
जिन्दगी त भोग्नै पर्छ कहाँ मिल्छ देखेको
त्यही भोगाइको गीत गाउने हाम्रो अभियान हो…

क्यानडा एडमन्टनको नेपाली साङ्गीतिक ब्यान्ड ‘सङ्गीत मझेरी’को मुखडा गीतका हरफहरू हुन् यी।

मझेरीको यो ‘सिग्नेचर सँग’को मर्मले भनेझैँ मझेरीले यहाँ बस्ने नेपालीहरूको जीवन भोगाइबाट उब्रिएको समयमा सङ्गीतको भाषा बोल्दै नाता गाँस्न तपाईँको घर दैलोमा आइपुग्छ। कहिले देउसी भैलोको मेलो ल्याउँछ कहिले मालश्रीको धुनले घर आँगनलाई मङ्गल बनाउँछ। साथमा बाजा बजाएर नयाँ पुराना नेपाली गीतको स्वाद तपाईँलाई चखाउने त छँदै छ।

भर्खरै यहाँको एक स्थानीय सभाहलमा मेझेरीका ‘क्रु’ आफ्ना बजाउने ‘जिनिस’हरू लिएर प्रस्तुत भए। मादल, हार्मोनियम, गितार, तबला, अरू झङ्कार दिने केके बाजागाजामा आफ्ना कुशल हात फिट्दै गाए ‘जहाँ छन् बुद्धका आँखा, त्यहाँ छ मेरो देश…’ साथमा थिए यो गीतका गायक तथा सर्जक भक्तराज आचार्यका दुई गायक छोरा सत्य र स्वरूप।

हलमा भिडमभीड उपस्थित नेपालीहरूको बुद्धका आँखा भएको भौतिक देश त धेरै टाढा छुटेको थियो। तर माइनस ५ डिग्रीको ठिहीमा पनि आफ्नो मन मुटुमा गढेर बसेको बुद्धका आँखा भएको देशप्रतिको माया भने गीतको भावसँगै पग्लिरहेको थियो भित्र हलमा।

बुद्धका आँखा छुटेको देशमा बसे पनि घरमा सत्तेनारायण लाउँदा वा बर्थडे भोज/पार्टी जमाउँदा होस् तपाईँलाई सबै स्वाद र प्रकारका नेपाली गीत, भजन वा अथेन्टिक नेपाली लोकलय र धून आफ्नै सिकुवामा सुन्न मन छ भने एडमन्टनमा सङ्गीत मझेरीले नेपाली गीत सङ्गीतमार्फत नेपाली भावना जोड्ने खाँचो पुरा गर्न सक्ने भइसकेको छ अब।

मझेरीले नेपाली गीत सङ्गीतलाई यहाँका नेपालीहरूको नियमित उपभोगको सामग्रीको रूपमा प्रस्तुत गर्ने जमर्को गर्दै छ ! ‘महिनामा एकपल्ट हुने सङ्गीत मझेरीलाई तपाईँले निम्तो गर्दिनु मात्र पर्छ आज मेरो घरमा मझेरी जमाउनु पर्‍यो भनेर, मझेरी आउँछ नेपाली गीत सङ्गीतले तपाईँको मझेरी गुञ्जाउन’ मझेरीका गायक राजेन्द्र सुबेदी भन्छन्।
तपाईँले के गर्नु पर्छ त ?

दुईचार इष्टमित्र सज्जनबृन्दलाई डाक्न सक्नु हुन्छ घरमा र सङ्गीतको आनन्द आफूले लिन र अरूलाई पनि दिलाउन सक्नुहुन्छ। भ्याउनुहुन्छ केही मिठो मसिनो पनि पकाउनु होस पस्किनु होस भ्याउनुहुन्न कालो चिया बाँड्नुहोस्। मझेरीको कोष विकासका लागि तपाईँले सकेको केही स्वैच्छिक भेटी दिएर टोलीलाई तपाईँ आफ्नो मझेरीबाट बिदा गर्नुहुन्छ भने तपाईँको सदासयताको मझेरीले स्वागत नै गर्ला सायद।

सन् २०१६ अगस्टमा क्यानडाको एडमन्टन सहरमा बस्ने केही नेपालीहरू एउटा चिया पसलमा भेला भए। भेलाका अगुवा थिए नेपालमा सङ्गीतको सारेगम पढेका र सङ्गीत कर्ममा प्रेम र लगन भएका ईश्वर खत्री। खत्रीको सङ्गीतमा खुब रुचि र लगाव छ। अहिलेको पुस्ताका जानेमाने गायकगायिकाले गाइसकेका छन् उनका दुइटा एल्बममा। भर्खरै पनि अन्जु पन्तको स्वर र खत्रीको सङ्गीतमा नयाँ गीत रेकर्ड भएको छ। लाग्छ ईश्वर खत्री मामको काम जे गरे नि किनारामा नेपाली गीत सङ्गीतको कर्मलाई क्यानडामा जोगाइ राख्ने कटिबद्ध सपनाको कार्यन्वयनमा छन् हरपल जस्तो लाग्छ।

भेलाको उद्देश्य थियो नेपाली गीत सङ्गीतको सिर्जनामा लगाव र झुकाव भएकाहरूलाई एउटा गठनमा बाँध्ने। समूहमा बाँधिन तयार भएर भेलामा आएका थिए गायन, लेखन, वाद्यवादन र सङ्गीत सिर्जनाका शौखिन केही थान नेपालीहरू।

अरुबेला दालभातको टन्टामा कुदाकुद त छँदै थियो अब नेपाली गीत सङ्गीतको स्वाद र परम्परालाई नयाँ मुलुकमा पनि हुर्काउने र यसका उपभोक्ता जोगाइराख्ने हुटहुटीले छोप्यो साथीहरूलाई। परेको बेला गीत पनि लेख्ने, धुन पनि भर्ने र गाइपनि हाल्ने काभ्रेका ईश्वर खत्री त छँदै थिए।

रेडियो नेपालमा २०४८ सालमै स्वर परीक्षामा आफ्नो स्वरलाई पास उतारेर त्यसपछि विभिन्न मञ्च र अवसरहरूमा गायनलाई निरन्तरता दिँदै आफ्नै एकल एल्बम पनि निकाल्दै नेपाली गीत सङ्गीतमा लागी परेका झापाका राजेन्द्र सुबेदी हुन् मझेरीका अर्का सिपालु प्रतिभा। धनगढीका गायक मातृका गौतम, काभ्रेकै तबला बादक रेवति गैरापिप्ली, गायक बच्चु कैलाशसँग घनिष्ठ यार-दोस्ती भएका विराटनगरका गायक पुष्कर पोखरेल, झापाका अर्का गायक गोपाल प्रसाईँ, झापाकै अर्का गायक सुरज खतिवडा, नवलपरासीका मादल बादक एवम् गायक रामबाबु पौडेल, स्थानीय विश्वविद्यालयमा सङ्गीतमा विद्यावारिधि पढ्ने सुवास गिरी, अर्जुन रसाइली, गैरे पनि जोडिए समूहमा।

बेलाबेला अनलाइन पत्रिकाहरूमा लेख/साहित्य लेख्ने, गीत, कविता जोरजाम गर्ने मान्छे हुनुको नाताले मलाई सङ्गीत चुम्लुङ्गमा बस्न योग्यता पुगेको ठहर्याइयो। न बाजा बजाउन जान्नु छ, न गाउन जान्नु छ तर पनि यो सङ्गीत समूहमा यो कलमकार पनि मिसियो।

यो समूहले तत्काललाई आफू बस्ने सहरमा उपलब्ध श्रोत साधन र प्रतिभाको उच्चतम उपयोग गर्दै नेपालीहरूलाई नेपाली गीत सङ्गीतको स्वाद प्रत्यक्ष बाजागाजाको रौनकमा पस्किने आफ्नो बाटो तय गर्‍यो। पार्टी, भोज, पर्व, भेलामा नेपाली गीत भजन किर्तन गर्ने र नेपाली कला संग्कृति र परम्परालाई सङ्गीतको माध्यमबाट जीवन्त राख्न सघाउने धेयको टुङ्गो लायो भेलाले। यसका सबै सदस्य गीत सङ्गीतप्रतिको मोह र शौखले स्व प्रेरित र स्वचालित हुनेछन् भन्ने कुरा नि बुझ्ने बुझाउने काम भयो।

किन मरिहत्ते त यो सब गर्न ?

‘नेपाली गीत सङ्गीतको परम्परा यति धनी छ, हामीसँग प्रतिभा छ, अनि जहाँ बसे पनि मान्छेले खोज्ने त आफ्नोपन हो त्यसैले सङ्गीत मझेरी’ गायक राजेन्द्र सुबेदीको बुझाइ प्रस्ट छ।

नेपाली माटोपानीमा हुर्केको नेपाली पहिचानका कुरा भाषा, चाडपर्व, भेषभुषा, आलोपालो, पर्मपैंचो, हार गुहार, भोजभतेर, आदि सबै थोक सँगै आउने रहेछन् मान्छेको बसाईंसराइसँगै । तब न बन्दो रहेछ मानव समाज। यसमा गीत सङ्गीत छुटोस् कसरी ।

जन्मिन लागेको सङ्गीत टोलीले के गर्छ भन्ने कामको टुङ्गो त लाग्यो। अब पालो आयो नामको। कसैले ‘सरगम समूह’ भन्यो, कसैले ‘सरगम पलेटी’ सुझायो। पलेटी पहिले नै छ देश विदेश घुमिराछ नेपाली गीत सङ्गीत लिएर। चित्त बुझिरहेको थिएन नाममा। चिया पसलमा रात छिप्पिँदै थियो। नेपालबाट दस हजार कोश पर महासागरपारि नेपाली गीत सङ्गीत मुर्झाउने उत्साही नेपाली प्रतिभाको डबलीको न्वारान सिध्याएर आ-आफ्नो घर फर्किने चटारोले उम्किन दिएको छैन। यो कलमकारले नाम जुरायो ‘सङ्गीत मझेरी’ गरौँ भनेर। तत्काल पास भयो।
नयाँ मुलुकको बसाइका काम, पढाइ, परिवार, भविष्य, हाट-बजार आदिका दौडादौडबिचमा अलिअलि रहर र धेरथोर जिम्मेवारीको अर्को एउटा काम थप्दै यसरी जन्मियो सङ्गीत मझेरी।मझेरी स्वयंसेवाले चलेको एउटा अनौपचारिक मण्डल हो। यसले आफ्नो नियमित सङ्गीत कर्मको रूपमा पालैपालो आफ्ना सदस्यहरूका घरघरमा पुगेर प्रत्यक्ष बाजागाजाको रौनकमा गाउने गरेको छ।

मझेरीका सदस्यहरूको घर मझेरीमा पलेटी कसेर गाउने मासिक चक्रीय प्रथा विगत दुई वर्षदेखि निरन्तर छ एडमन्टनमा। मझेरीका सदस्यहरू सबै एउटा ठाउँमा बस्दैनन्। कोही सहरको उत्तर कुनामा बस्छ भने कोही सहरको बायब्य दिसाको अर्को कुनामा हुन्छ। रात साँझ, हिउँको चिप्लेटी, मुटु काम्ने जाडोको प्रहार सबै सहेर आफ्नो बाजाको कुम्लो बोकेर निस्किन्छ मझेरीवाला आफ्नो गन्तव्यमा पुग्न। जसै रातले बाहिर धरालाई छोप्न थाल्छ अनि भित्र मझेरीमा उघारिन्छन् बाँसुरीका थैला, हार्मोनियमका बाकस, डम्फु र खैंजडीका पोका, माइक र मादलका झिटीगुन्टा र गिटारको घर। घरवाले मझेरी जोडी केही मिठो चोखो पकाएर सङ्गीतका सातै सुरको

रसस्वादनमा आफ्ना पकवान मिसाएर पाहुनालाई खुवाउने आफू पनि खाने लालसामा पर्खिरहेका हुन्छन्।

अब सुरु हुन्छ नारायण गोपाल, भक्तराज, बच्चु कैलाश, प्रेम ध्वज, अम्बर गुरुङ, गोपाल योञ्जन, अरुण थापा आदि पुराना हस्तीका कालजयी गीतको गुञ्जन। बिचमा विष्णु ज्ञवालीको चिताकर्षक बाँसुरीले मात्रै गाउँछ कैले रेसम फिरिरि…त कैले फुलको थुँगा…

केही स्थानीयस्तरमा लेखिएका बनाइएका गीतहरूको पालो आउँछ अब। जहाँ कोही जन्मेको देश छोडेर आएको रनाहा पोख्छ गीत मार्फत त कोही कुनै अमुक प्रेयसीको कल्पनामा डुबेर बिताइदिन खोज्छ दुई दिनको जिन्दगी।

अरू ‘डांगडुंगे ड’ स्वादका गीत सुन्नेलाई त नेपालबाट आइरहने सेलिब्रेटीले चित्त बुझाएकै छन्। सङ्गीत मझेरीले कतै नहल्ली चुपचाप ध्यान माग्न भएर गीत सुन्ने प्रकारका श्रोताको आवश्यकतालाई पुरा गरिदिएको छ एडमन्टनमा।

मझेरीले आफ्नो मासिक गायन चक्रका अलावा नेपाली गीत सङ्गीत सुनाउने दुई/चार वटा ‘पब्लिक ओरियन्टेड’ कार्यक्रम गरिसकेको छ। पलेटी कसेर वा कुर्सीमै बसेर शान्त शरीर र दिमागले यस्ता गीत सुन्ने र परख गर्ने श्रोता टन्नै छन् सहरमा। आउँछन् टिकट काटेर गीत सुन्न नेपालीहरू।

नेपाली सुगम सङ्गीतका कुशल गायक एवं वरिष्ठ सर्जक भक्तराज आचार्यलाई केही नगद राशिले सम्मान गर्दै उनका दुई गायक छोराहरू सत्य-स्वरूपलाई निम्त्याएर कार्यक्रम गर्‍यो मझेरीले हालसालै। नेपालबाहिर गायक सङ्गीतकार भक्तराज आचार्यलाई यसरी नगद राशिसहितले सम्मान गरिएको यो सायद पहिलो पल्ट थियो। सङ्गीत मझेरीको प्रस्तुति सुन्न र आचार्य बन्धुका गीतले आनन्दित हुन एडमन्टनबासी नेपालीको भिडाभिड घुइँचो नै लाग्यो। जिब्रोको क्यान्सरले अहिले गाउन अशक्त गायक भक्तराज आचार्यका कर्णप्रिय सदाबहार गीतहरू पस्किइयो कार्यक्रममा। केही मझेरीका सदस्यले केही भक्तराजका सुपुत्रहरूले गाए।

‘बुबा भक्तराज आचार्यको सम्मानमा यति टाढा क्यानडामा यसरी कार्यक्रम हुनु हाम्रा लागि निकै गर्वको कुरा हो, यो अभियान सबैतिर भइदिए भक्तराजको योगदान दोस्रो पुस्तामा र देशबाहिरका सबै नेपालीमा पुग्ने थियो’ स्वरूपले बुबालाई सम्झिए मञ्चबाट।

‘चालिस काटेका मान्छेलाई ठिकै हुन्छ यस्ता गीत गाउने कार्यक्रम… मन पनि अब त यति चट्टान भइसकेछ कि हजार हण्डरले गर्दा जे सुने नि पग्लिन छोड्यो, उ बेला उमेर जवानीमा पो गीतको भाकाले नि प्रेमको भाका बोल्दो रहेछ…’ कार्यक्रम चलिरहँदा चालिस पुग्न आँटेका काठमाडौँका कुमार उप्रेतीले एक झट्का हँसाउन भ्याए साथीभाइलाई एक कुनामा।

‘दर्शकको बाक्लो उपस्थितिको तुलनामा कार्यक्रम ठिकै थियो, त्यस्तो विधि मनोरञ्जन दिए जस्तोचाहिँ लागेन, सबै उमेर समूहका लाई अपिल गर्ने गीत पस्किनु पर्ने हो… एउटै व्यक्तिलाई जहिले पनि जहाँ पनि सुन्दा एक प्रकारले दिक्क नि भइने रहेछ…’ आफ्नी ९ बर्से छोरी लिएर गीत सुन्न गएका टेक खत्रीले मझेरीको प्रस्तुतिमा समालोचक प्रतिक्रिया दिए।

‘धेरै उफ्रिपाफ्रि नगरी शान्त भएर सुन्ने भक्तराज आचार्यका गीत प्रस्तुत गरिएको कार्यक्रम मलाई मन पर्‍यो, म यस्तै प्रकारको सङ्गीत श्रोता हुँ… भुरालाई नसम्हाल्ने बाउआमाले, प्रविधिमा चुस्तताको कमीले र अन्य ब्यबस्थापकीय कमजोरीले त नेपालीलाई जहाँ गए नि छोड्ने कुरै होइन’ मझेरीको प्रस्तुति सुन्न आएका दीपक तिम्सिनाले कार्यक्रमबाट हिँड्दै गर्दा भने।

‘विदेशको व्यस्त जीवनबाट थोरै समय निकालेर आफ्नो माटोको गीत-सङ्गीतमा रम्नुको छुट्टै मज्जा छ, यसमा
लागिएको छ’ मझेरीका एक सदस्य रामबाबु पौडेल भन्छन्।

त्यो बेलाको सञ्चारको एक मात्र विकल्प रेडियो नेपालमा ‘मुटु जलिरहेछ…’, ‘जहाँ छन् बुद्धका आँखा… ’ गीत खुब सुनेर हुर्किएँ को पुस्ता छ यहाँ। यही पुस्ता ओइरिएको थियो गीत सुन्न।

‘रेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटा र केन्द्रीय प्रसारण सिंहदरबारलाई हुलाकबाट भक्तराजका गीतको फर्माइस अनुरोध गरेर खुब चिठी लेखिन्थ्यो, ती गीतहरू आज यहाँ सुन्दा मज्जा आयो’ कार्यक्रममा उपस्थित एक सङ्गीतप्रेमी विगत सम्झिँदै थिए।

‘भक्तराजका यी गीतहरूमा ‘टिन एजर’ जीवनका विगतोश्पर्सी यादहरू गढेर बसेका रहेछन् आज प्रत्यक्ष सुन्दा ती यादहरू चल्मलाए’ अर्का सङ्गीत पारखी बोले।

पुग्दो बाजागाजा र गायकगायिकाको अभाव भने छ मझेरीलाई। अझ महिला स्वर त शून्य नै छ समूहमा। नेपाली समुदायका संस्थाहरूले आफ्ना कार्यक्रमहरूमा प्रस्तुतिका लागि नि बोलाउन थालेका छन् मझेरीलाई। नेपाली भावना र संस्कृतिलाई जोड्न घरघरमा स्वयंसेवक सङ्गीत गर्ने कार्यक्रम त मझेरीको छँदै छ।

‘महिनामा एकपल्ट ब्यबसायिकरुपले नेपाली गीत गजल गाउने बजाउने सम्भाव्यता बारे नि केही नेपाली रेस्टुरेन्टहरूसँग कुरा भइरहेको छ, साथै क्यानेडीयनलाई पनि हामी नेपाली गीत र लोक भाका सुनाउने योजना बन्दैछौं’ ईश्वर खत्रीले मझेरीको आगामी योजना सुनाए।

‘अब केही बाजागाजा किन्न पुग्ने रकम बनिसकेको छ कोषमा’ खत्री आगाडिको बाटो हेर्दछन् क्यानडामा नेपाली सङ्गीत फैलाउने।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution