यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन
-विनु थिङ तामाङ
तामाङ जातीले सांस्कृतिक एवं धार्मिक अर्थात् नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व “ल्होछार” हो | बौद्धधर्मलम्वी तामाङ जातीले “ल्होछार” महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । स्वदेश तथा बिदेशमा रहेका अधिकांश तामाङ समुदायहरु सोनाम “ल्होछार” मनाउने गर्द्छन् भने केहि संख्यामा ग्याल्बो “ल्होछार मान्ने तामाङहरु पनि रहेका छन् | तामाङ समुदायमा दुईवटा “ल्होछार” नभई एकैमात्र “ल्होछार” पर्व मान्न / मनाउन वर्तमान अवस्थामा ठुलो समस्याका साथ चुनौती देखा परेको छ | सोनाम ल्होछार मान्ने तामाङ समुदायहरु आफ्नो जातिको “मौलिक पहिचान”लाई आधार मान्दछन् भने ग्याल्बो ल्होछार मान्नेहरु “धार्मिकशास्त्र”लाई जोड दिने गरेको पाइन्छ |
ल्होछार दुइ शब्द मिलेर बनेको हुन्छ। तामाङ भाषामा “ल्हो” भन्नाले बर्ष वा साल र “छार” भन्नाले नयाँ भन्ने हुन्छ | ल्होछार अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ | बौद्ध ज्योतिष शास्त्र (तिब्बेतियन) मा उल्लेख भए अनुसार “ल्हो”अर्थात वर्षलाई १. जिवा २. लाङ ३. ताग ४.ह्योई ५. ड्रुग ६.ड्रुल ७. ता ८.ल्हुक ९. टे १०. ज्या ११. ख्यी १२.फाग गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ।
तामाङ भाषाको चलनचल्तीमा १२ ल्हो गन्ति / गणन गर्ने तरिका निम्न रहेका छन् |
१. नाम्युङ – मुसा
२.म्हे – गाई अर्थात् गाई वर्ष भन्ने गर्दछन् भने तिब्बेतियन र चाइनिजहरु गोरु (0X) भनेर गणन गर्ने गर्द्छन् | सांकेतिक चिन्ह स्त्रीलिङ्ग र पुरुषलिङ्गमा छुट्टाई गाई र गोरु |
३. च्यान – बाघ
४.तावर – बिरालो | तर तिब्बेतियनहरु ह्योई (खरायो) भनेर गणन गर्ने गर्द्छन् | सांकेतिक चिन्हमा नै फरक बिरालो र खरायो |
५.मु-पुख्री – गडुल |
६. सा-पुख्री – सर्प
७. ता – घोडा ( स्थानीय रुपमा “ता र घोडा” दुवै प्रयोगमा आएको पाइन्छ | ता’ तामाङ मौलिक भाषा हो या तिब्बेतियनबाट आयात भई प्रयोगमा आएको भाषा हो | छलफलको बिषय हुनसक्छ किनकी ‘ता’ एकै शव्द प्रयोग भएको पाइन्छ | ल्हो गन्ति /गणन गर्ने अन्य सबै शव्द ठेट तामाङ भाषामा रहेका छन् )
८.घ्यु – भेडा ( खाम अनुसार स्त्रीलिङ्ग र पुरुषलिङ्ग (Male – Female) छुट्टाएको पाइन्छ | कुनै बर्ष Male कुनै बर्ष Female |
९. मागर/माकर – बाँदर
१०. नामे / नाम्क्या – चरा | यसमा पंक्षिलाई लिएको छ | सांकेतिक रुपमा “चरा” अर्थात् (Bird) | तर कुन वर्गको चरा ? परेवा ,ढुकुर ,डाँफे वा घरपालुवा पंक्षि वा वन पंक्षि छुट्टिएको छैन | तिब्बेतियन र चाइजहरु कुखुराको भाले (Rooster) लाई सांकेतिक चिन्ह रुपमा लिन्छन् र प्रयोग गर्ने गर्द्छन् | तामाङहरु भने भंगेरा जातिको जस्तो देखिने चरालाई सांकेतिक चिन्हको रुपमा बुझ्ने गर्दछन् |
११. नागी – कुकुर
१२ ड्वा – सुँगुर / बादेल
ल्हो गन्ति / गणन तरिका तामाङ भाषाको चलनचल्तीलाई नै प्रयोग गरी तामाङ समुदायको मौलिकतालाई जगेर्ना गर्नु बुद्धिमानि हुनेछ र देखिन्छ |