तामाङ सेलो गीतमा डम्फुको नाममा नाङलो !
-बिना लामा तामाङ
तामाङ जातिको पहिचान संग जोडिएको बाजा हो ‘डम्फु’ । ठेट तामाङ भाषामा यसको नाम डाम्बा हो | खसकरण भएर यसको नाम डम्फु हुन पुग्यो।
तामाङ समुदायमा गाउंघरतिर आखे, म्हेम्हेहरु अहिले पनि डाम्बा नै भन्ने गर्छन । तामाङ जातिमा यसको छुट्टै महत्व रहेको छ । प्राचीनकालमा पेङदोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोईराला रुखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका भन्ने किम्बदन्ती तामाङ समाजमा प्रचलित रहेको छ ।
त्यसैले हरेक डाम्बामा ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि रहेको छ ।
डाम्बाको सानो अहिलेका तामाङ र सेलो गीतको म्युजिक भिडियोमा डाम्बा साट्टो ‘नाङलो’को प्रयोग बेसी भएको पाइन्छ | गीतको शब्दले ‘डम्फु’ भनेको हुन्छ तर भिडियो नृत्य गरेर अभिनय गर्ने कलाकारहरुले हातमा चाहि डम्फु आकारको ‘नाङलो’ बोकेको हुन्छ ।
फोटोमा कलाकारहरु नाङलो बोक्दै
केही अपवादलाई छोडेर हरेक म्युजिक भिडियोमा डम्फुको नाममा नाङलोको प्रयोग भईरहेको पाइन्छ |म्युजिक भिडियोमा मात्र नभई सांस्कृतिक कार्यक्रमहरुमा पनि सजिलोको लागि डम्फुको सट्टामा नाङलोको प्रयोग गरेको पाइन्छ ।
यसरी डम्फुको सट्टामा नाङलोको प्रयोग गर्दा डम्फुको बारेमा गलत सन्देश जान्छ कि जांदैन ? बिदेशी दर्शक अनि भावी पुस्ताले डम्फु भनेको नाङलो हो भनेर बुझ्ने त होइन ,चिन्ताको बिषय बनेको छ |
डम्फू तुलनामा नाङलो हलुका, सस्तो पर्ने भएकोले प्रयोग गरिएका होला भनेर भन्न सकिन्छ तर आजको सजिलोले भोलीको पुस्तामा पर्न जाने सन्देश भने नकारात्मक हुनसक्छ । यस तर्फ सबैको ध्यान जानु जरुरी छ |
यस तर्फ सम्पूर्ण तामाङ जाति र प्रयोकर्ता कलाकारले सोच्नु पर्ने हुन्छ | तामाङ जातिको पहिचानलाई पहिचानलाई संरक्षण गर्न यसरी म्युजिक भिडियो र सांस्कृतिक कार्यक्रमहरुमा डम्फुको साट्टो नाङलो बजाउन आजै देखि छाड्ने हो की ?
२१ कार्तिक २०७५