हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

तामाङ जातिको विवाह संस्कार ब्रेलसाङ र यसभित्र रहेको विकृति

परिभाषा:

तामाङ भाषामा विवाहलाई ब्रेलवो अथवा ब्रेलसाङ भनिन्छ। विवाह दुई व्यक्ति(पुरुष र महिला)का बीचको सम्झौता हो। श्रीमान र श्रीमतीका बीचमा जिन्दगीभर संगै जिउने र संगै मर्ने शर्तनामा सहित मनाइने एउटा उत्सव जसले कानुनी सम्बन्धलाई स्थापित गर्दछ, त्यही स्थापित कानुनी सम्बन्धलाई ब्रेलसाङ(विवाह) भनिन्छ। विवाहका सम्बन्धमा सबैले आ-आफ्नै तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ। How to Choose A Suitable Life Partner उपन्यासमा विवाहको सम्बन्धमा यसरी लेखिएको छ; “Marriage is a very important tool for human beings to live a balanced life and have a systematic society.” मानवका लागि एउटा सन्तुलित जीवन जिउन र सामाजिक प्रक्रिया जान्नका निमित्त आवश्यक एवम् महत्त्वपूर्ण चीज नै विवाह हो।

मिस तामाङमा सहभागि तामाङ युवतीहरु

विवाहको सम्बन्धमा Oxford Advance Learner’s Dictionary यस्तो लेख्छ:- Marriage is the legal relationship between husband and wife. And the ceremony in which two people become husband and wife. श्रीमान र श्रीमती बीचको कानुनी सम्बन्ध विवाह हो र दुई व्यक्ति (पुरुष र महिला) जुन समारोहमा श्रीमान र श्रीमती हुन्छन् त्यो नै विवाह हो।

एउटा पुरुष र एउटी महिलालाई एउटा विशेष प्रकारको सामाजिक एवम् कानुनी प्रक्रियाद्वारा एकैठाँउमा उभ्याउने पद्धतिलाई नै विवाह भनिन्छ,जसले समाजको विकास निर्माण देखि लिएर थुप्रै उद्येश्यहरु परिपुर्ति गर्न सहयोग गर्दछ। खैर जे होस् विवाह एउटा जीवन पद्धतिको एउटा अत्यावश्यक पाटो हो।

तामाङ समुदायमा विवाह आफ्नै धर्म एवम् संस्कृति अनुसार गरिन्छ। तामाङ जातिको आफ्नै किसिमको वैवाहिक संस्कार छ। तामाङ समुदायमा तामाङ ह्रिमठीम(संस्कृति) अनुसारको कुटुम्ब मिल्ने थरहरुका बीचमा मात्रै विवाह हुन्छ।

प्रकार:

तामाङ जाति भित्र प्रायः विवाहलाई २ भागमा विभाजन गरिएको पाइन्छ।

१. मागी विवाह:

तामाङ जातिमा कुटुम्ब मिल्ने केटा पक्षबाट कुटुम्ब मिल्ने केटी पक्ष समक्ष तामाङ संस्कृति अनरुप विधिसम्मत तरिकाले केटी मागेर गरिने विवाह नै मागी विवाह हो। तामाङ जातिमा मागी विवाहलाई सबैभन्दा राम्रो मानिन्छ।

२. भागी विवाह:

केटा र केटीकोे एकआपसमा मन मिलेको तर अभिभावक र समाजले स्वीकार नगरेको अवस्था केटाकेटी भागेर गरिने विवाहलाई भागी विवाह भनिन्छ। यसलाई प्रेम विवाह पनि भन्न सकिन्छ।

संस्कृति:

तामाङ जातिमा आफ्नै माैलिक वैवाहिक संस्कार रहेको छ। तामाङ लोकबाजा डम्फु बजाएर तामाङ लोकसंस्कृतिको मुर्धन्य संगीत तामाङ सेलोको तालमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नु तामाङ संस्कृति र जातीय पहिचानको गाैरवमय परिचय हो। उक्त विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम सफल होस भनेर लामागुरुहरुलाई अनिवार्यरुपमा टाशी-घेपा र टाशी-चेक्पा अर्थात शुभ मोलम पाठ गर्न लगाउनुपर्छ।

तामाङ संस्कृतिको माैलिक पक्षहरुको खोजी गरेर हेर्ने हो भने तामाङ चेलीको ह्रुई(थर) परिवर्तन हुदैन। जस्तो योञ्जन वंशकि चेलीको विवाह घिसिङको छोरासंग भयो तापनि उनी घिसिङ कदापि हुदिनन्।

आफ्नो छोरीचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका ४ प्रकारका वस्तुहरु साक्षी राख्ने गरिन्छ।

१. विवाह हुने स्थानका अलाैकिक ज्योहो-ज्योमो(देवी देवता)हरु,

२. हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयुरको प्रतिकस्वरुप कुखुराको भाले,

३. नदीमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरुप जिउँदो माछा र

४. विवाह स्थलमा भएका सम्पूर्ण सज्जन महानुभावहरु।

यिनै ४ प्रकारका साक्षीहरुको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरीचेली कुटुम्बलाई जिम्मा लगाउँछ। यही तामाङ संस्कृतिलाई तामाङ जातिमा छोङ्खोर, घासा वा चारदाम भनिन्छ। यही चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरीबेटी तपाईं कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुइ अर्थात् थर चाहिँ हजुरहरुलाई सुमपेका छैनौं भनी माइतीकै थर रहने कुरा बताउँछ, तसर्थ यही कारणले तामाङ चेलीको थर परिवर्तन हुदैन।

चारदामको समयमा ताम्बा र गान्बाले भन्ने तामाङ लोकशैलीको प्रस्तुतीकरण काल्पनिक रुपले नेपाली भाषामै राख्ने जमर्को गरको छु। यो कसैको नाम र जीवनसंग मेल खाएमा अन्यथा नलिनुहोला।

आज मिति २०७२ साल फाल्गुन २० गते बृहस्पतिबारका दिन फलाँटे गा. वि. स. वडा नं: ७ निवासी पाल्साङ बज्र योञ्जन तामाङको एकमात्र सुपुत्री पूर्ण स्कन्धले बाँधिएको कायस्वरुप उर्साङ योञ्जन तामाङको नामले परिचित योञ्जन चेली रामेछाप जिल्ला दोरम्बा गा. वि. स. वडा नं: ६ निवासी फुर्भुनाम्ग्याल घिसिङ तामाङको जेष्ठ सूपुत्र दावाछिरि घिसिङका साथ जीवनसाथीका रुपमा सुम्पिदैछाैं।

यो सन्देश यश गाउँका अलाैकिक ज्यहोज्योमो(देवीदेवता)लगायत सजीव रुपमा रहेको यस भेगका हिमालय पर्वतका डाँफे र समथर तराईका घना जंगलका मयुर अनि मुनाल चराले सुनोस् भनी प्रतिनिधिका रुपमा सञ्चारसंबाहक परेवा वा सुनपङ्खी कुखुराको भाले राखिएको छ। नदीनालामा रमाउने जलचरहरु माछा, गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रुपमा माछालाई ल्याएका छाैं भने यश विवाह मण्डपमा विराजमान सम्पुर्ण सज्जनवृन्दहरुलाई साक्षी राखी आजको मितिमा २ बजेर ३५ मिनेट जादाको समयदेखि हाम्री चेली सुश्री उर्साङ योञ्जन तामाङलाई तपाईंहरूको छोरा दावाछिरि घिसिङको हातमा जिम्मा लगाएका छाैं। पाले पुण्य मारे पाप भनेर हामीले हाम्री चेली दिएका छैनौं, हाम्री चेली तपाईं घिसिङ रेम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रुपमा रहेता पनि योञ्जन थर नै जीवनपर्यन्त रहिरहनेछ।

यसरी विधिवत तरिकाले समारोह अन्त्य भैसके पश्चात् ती साक्षीको रुपमा ल्याइएको डाँफे र मुनाल पंक्षीको प्रतिनिधि परेवा वा कखुराको भाले, गोही र कछुवाको प्रतिनिधि माछालाई आ-आफ्नो ठाउँमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलाहा-दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ।

विकृति:

विवाह भनेको एउटा शुभकार्य हो। विवाह प्रत्येक समुदाय र व्यक्तिको जीवनमा अनिवार्य कर्म मानिन्छ तर हाम्रो आफ्नै तामाङ धर्म र संस्कृति हुदाहुदै पनि विवाहमा सबैभन्दा बढी अन्य धर्म र जातिको रीतिरिवाज थोपरिएको छ। जन्मदाँ लामाद्वारा थाप्साङ(न्वारान) गराउने, मर्दा लामाद्वारा नै संस्कार्ने र घेवा गर्ने तामाङले कतिपय ठाउँमा विवाह गर्दा पंडित बोलाएर कन्यादान गराएको देखियो। जुन तामाङ संस्कृति भित्र पर्दैन। यतिमात्र हैन तामाङ जातिको विवाह संस्कारमा थुप्रै विकृतिहरु छन्।

१. स्वाँगे बिच विवाह:

तामाङ जातिमा आफ्नै किसिमको थरीय पद्धतिको व्यवस्था छ। हिन्दु वर्णाश्रम अनुसारको थरीय पद्धतिको अनुसरण गर्दै जाँदा आज तामाङ जातिमा स्वाँगे बिचमा विवाह भएको देखिन आएको छ। स्वाँगेभाई भन्नाले ह्रुइ(थर)हरुको समूह जुन एउटै बाजे र बज्यैबाट पैदा भएको हो भन्ने गरिएको छ। जस्तो योञ्जन वर्गमा योञ्जन, बम्जन, लोप्चन, डुम्जन र मिक्चन पर्दछन्। यिनीहरू ५ वटै थर म्हेमे हुँगा राजा र माम नाङसाल्मोको सन्तानका रुपमा लिइएको छ। यसै कारणले यी ५ थरका बीचमा विहाबारी चल्दैन। तामाङ जातिमा यसलाई ङाह्रुअी भनिन्छ।

उदाहरणका लागि काभ्रेपलान्चोक जिल्लाको कोशीपारी क्षेत्र फलाँटे, भुम्लुटार र भुम्लुसल्ले लगायतका तामाङ गाउँमा दोङ र बलहरुको बाहुल्यता रहेको पाइन्छ। ती दोङ र बल थरका तामाङ तामाङ थरीय पद्धति अनुसार दाजुभाइ हुन्, यो कुरा ह्रुइसाङ च्योपगेमा प्रष्ट लेखिएको छ। तर ताम्बा गान्बाको कमजोरी भनाैं या अज्ञानताको कारणले भनाैं दोङ र बल थरका केटाकेटी बीच वैवाहिक सम्बन्ध गाँसिरहको देखिन्छ। यस विषयमा बल थरका तामाहरुलाई प्रश्न गर्दा उनिहरु दोङ होइन भन्ने गर्दछन् भने बलका छोरीचेली विवाह गर्नेहरु घमण्डकासाथ दोङ हाैं भनिरहेका छन्। तर दोङ भनेर घमण्ड गर्ने समुदायका एकजना अग्रज व्यक्तित्वले हामी दोङ होइनौं, हामी त ङार्देन रेम्बोर्छेका सन्तान हाैं भन्ने उत्तर दिनुभयो। यदि वहाँको भनाइमा सत्यता छ भने त ठीकै हो तर दोङ भनेर बलको छोरी विवाह गर्न मिल्दैन।

कुटुम्ब मिल्ने थरीय वर्गसंग मात्रै विवाह गर्नु पर्दछ। जस्तैः ५ वटा थर भएको योञ्जन वर्गभित्रका ५ थरका तामाङले मोक्तान वर्गमा पर्ने ४ थरका तामाङको छोरा वा छोरीसंग विवाह गर्न मिल्छ। मोक्तान वर्गमा मोक्तान, स्याङ्तान, पाख्रिन र थोकर पर्दछ।

२. एउटै थरका आमाको दूध खाएको केटा र केटीका बीच विवाह:

यो पनि तामाङ समुदायमा विकृतिको रुपमा फैलि रहेको छ। तामाङ समुदामा केटा र केटीको अामा एउटै थरकी रहेछिन् भने पनि विवाह हुदैन। यस्तो नाता सम्बन्धलाई आमा थेत्माला कोला अर्थात् एउटै आमाका सन्तान मानिन्छ। त्यसर्थ केटा र केटीको अामा एउटै थरको भएमा हाडनाता समानको विवाह मानिन्छ। जस्तो केटाको आमा बम्जन हो र केटीको आमा बम्जन छ भने विवाह गरिदैन। यही कारणले आज पनि केटी माग्न जाँदा दुवै पक्षले तीनपुस्ता सहित आमाको थर र मावलीका बारेमा सोध्ने गर्दछन।

३.सिन्दुर पोते र कन्यादान:

तामाङ समुदायमा सिन्दुर पोते र कन्यादान दिने प्रचलन पनि थिएन । यो पनि एक प्रकारको विकृतिको उदाहरण हो। हिन्दु संस्कार र हिन्दु महिलाले प्रयोग गरेको देखेर देखासिकी गर्दै आज तामाङ समुदायमा सिन्दुर पोते र कन्यादान दिने संस्कृतिको विकास भैरहेको छ। तामाङ समुदायमा सिन्दर पोते भनेकै चारदाम हो, चारदाम गरिसकेपछि सिन्दुर पोते गर्नु भनेको तामाङ संस्कृतिको खिल्ली उडाउनु हो।

तामाङ समुदायमा छाकजुठो बारेर निराहार बसेर, कपाल खाैरेर कन्यादा दिने चलन छैन। बाैद्धशास्त्रमा गाई(पशु) दान समेत गर्न हुन्न भने मानव जस्तो सर्वश्रेष्ठ प्राणीको दान कसरी संभव छ। तामाङ जातिको विवाह संस्कारको विशिष्टता भनेकै यही हो।

४. दाइजोको प्रचलन:

तामाङ समुदायमा दाइजो दिने र लिने प्रचलन परापूर्वकालदेखि नै थिएन। हाल आएर अरुको देखासिकी गरेर तामाङ समुदायले पनि आफ्नो चेली कुटुम्बलाई दिदा दाइजो पठाउने र बुहारी भित्र्याउदा पनि दाइजो लिन र माग्न पछि नहट्ने चलन बढ्ने क्रम चलिनै रहेको छ। यसलाई तामाङ संस्कृतिमा आएको विकृतिको रुपमा लिन जरुरी छ। यो चलन भर्खरै मात्र तामाङ समुदायमा शुरुआत भइरहेको हुदा यसलाई तामाङ समुदायले निरुत्साहित गर्न जरुरी छ।

५. केटा र केटीको ल्हो र खाम:

तामाङ जातिमा विवाह हुने केटा र केटीको ल्हो, खाम र थर कुरा चलाउने बेलामा नै हेर्नुपर्ने हुन्छ। तर तामाङ जाति अहिले चिना बनाउन तल्लीन भएको देख्छु। सबै कुरा मिले पनि केटाकेटीको ल्हो र त्यसै अनुरुप खाम पनि विशेष मिल्नु पर्छ। यदि नमिलिकन शारीरिक आकर्षणको भरमा मात्रै विवाह सम्पन्न भयो भने भविष्यमा अनिष्ट हुने वा सम्बन्ध राम्रो हुदैन। कतिपय ठाउँहरुमा ल्हो र खाम नमिलाइ गरिएको विवाह असफल भएको पनि पाइन्छ। अदालतमा जानुस् सबैभन्दा बढि सम्बन्धविच्छेदको मुद्दा तामाङ जातिको हुनेगर्छ।

६. अन्य जातका महिला भित्र्याउने:

तामाङ जातिमा अन्य जातको केटी विवाह गर्ने संस्कार पछिमात्रै चलेको पाइन्छ। आज पनि केटाकेटी एक आपसमा मन पराएर विवाह गरे मात्रै हो तर अन्य तरिकाबाट वेजातको केटी विवाह गरिदैन। यदि गरिहाले पनि कुटुम्ब मिल्ने थरको तामाङलाई माइती बनाएर तामाङ संस्कृति अनुरुप घर र समाजले स्वीकार्ने चलन थियोे र यद्यपि यदाकदा चलिनै रहेको पाइन्छ। यसरी स्वीकारे पश्चात् उनी पनि तामाङ समुदायकै सदस्य मानिन्छ।

अन्त्य:

तामाङ संस्कार एवम् संस्कृति नै तामाङ जातिको पहिचान हो। हिजोका दिनमा पंडित बोलाएर छोराको नाम बालकृष्ण राखेता पनि, छोरीको विवाहमा पंडित पढाएर कन्यादान दिए पनि अबका दिनहरमा सम्पुर्ण तामाङ समुदायले आफ्नै माैलिक संस्कृतिमा नै जन्मदेखि मृत्यु सम्मका सम्पूर्ण संस्कारलाई अवलम्बन गर्नेछ भन्ने विश्वास गर्दैछौं।

अनि ह्रुइसाङ च्योपगे अनुसारको थरहरुका बीचमा मात्रै नयाँ युवा पिढीले वैवाहिक सम्बन्ध गाँस्ने कार्य गर्नेछ र शारीरिक आकर्षणका भरमा विवाह कदापि गर्ने छैनन्।

लेखक – धर्मचन्द्र योञ्जन तामाङ
फलाँटे-४, जुरेडाँडा, काभ्रेपलान्चोक






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution