हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

तामाङ भाषा लिपि र लेखन शैली

-प्रतीक ङेसुर तामाङ

तामाङ भाषा कुन लिपिमा कसरी लेख्ने भन्ने विषयमा समय समयमा बहसहरू हुँदै आएको छ । यही बहस र छलफलकै क्रममा नेपालको नेपाल तामाङ घेदुङ र भारतको सिक्किम तामाङ बौद्ध संघ तथा अखिल भारतीय तामाङ बौद्ध संघले संयुक्त पहलहरू गरेको पाइन्छ । यही पहलस्वरूप तामाङ भाषालाई पनि बौद्धधर्म ग्रन्थका लागि प्रचलनमा रहेको सम्बोटा (अुछेन) लिपिलाई नै आधारभूत लिपि मानेर त्यसकै आधारमा लेखिने सहमति भएको थियो ।

लिपिका सम्बन्धमा संस्थागत पहल गर्ने क्रममा नेपाल तामाङ घेदुङले २०४९ मै सम्बोटा लिपिलाई नै तामाङ लिपि मान्ने निर्णय गरेको थियो । यसैगरी, घेदुङको २०५४ सालमा उर्लाबारी मोरङमा सम्पन्न महाधिवेशनले सम्बोटा लिपिलाई तामाङ भाषाको आधारभूत लिपि मान्ने, तामाङ भाषाको लेखनमा सबै सम्बोटा अक्षरहरू प्रयोग नहुने र कुनैका लागि अक्षर वा उच्चारण नपुग्ने देखिएकाले त्यस्तो बढी भएको झिक्ने र नपुग भएको बनाउने, सिक्किम तामाङ बौद्ध संघसँग मिलेर लिपि विकास गर्ने र त्यस विकसित लिपिलाई तामयिग नामकरण गर्ने, उक्त विकसित लिपिको आधारमा पाठ्यक्रम र साहित्य, पाठ्यपुस्तक निर्माण गर्ने र पठनपाठनमा प्रयोग गर्ने र सम्पूर्ण तामाङहरूले उक्त विकसित तामयिग लिपि अनिवार्य रूपमा सिक्ने र त्यसको व्यवस्था नेपाल तामाङ घेदुङले आफ्ना प्रत्येक इकाइमार्फत अधिराज्यभर गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।

वास्तवमा तामयिग अलग्गै लिपिभन्दा पनि अुछेन लिपिलाई प्रयोग गरी तामाङ भाषाका लागि विकास गरिएको लेखन प्रणाली हो । धार्मिक महŒव बोकेको लिपिलाई नै व्यवहारमा ल्याउँदा समुदायमा अपनत्वको भावना देखिने विश्वासले पनि तामाङ समुदायले यही लिपिलाई अंगालेको मान्न सकिन्छ । एउटै लिपिमा एकभन्दा बढी भाषा लेख्न सकिन्छ र भाषाको चरित्रअनुसारको लिपि अनुसरण गर्न सकिन्छ । सम्बोटा लिपिले तामाङ भाषाको उच्चारण बोक्छ भन्ने ठहर निकै सान्दर्भिक र वैज्ञानिक देखिन्छ । यसर्थ, यो लिपिमा तामाङ भाषा पनि लेख्ने अभ्यास अगाडि बढाउने निर्णयलाई सही र वस्तुपरक मान्न सकिन्छ । पहिचान भएका तामाङ भाषाको वर्णहरूलाई प्रतिनिधित्व गर्ने सम्बोटा लिपिका वर्णलाई मात्र लिएर सरल विधिमा लेख्ने शैली नै तामयिगको मुख्य विशेषता हो । यो लेखन शैलीमा छ्योअीमा प्रयोग हुने शास्त्रीय ढाँचाको व्याकरणको झन्झट छैन ।

हरेक भाषाका आआफ्नै वर्ण हुन्छन् । वर्णको संरचना र संख्या भाषाको विशेषतामा निर्भर हुन्छ । यसैले लिपि प्रयोगको सन्दर्भमा वर्ण पहिचान सबैभन्दा महŒवपूर्ण पाटो हो । तामाङ भाषामा कति वटा वर्णहरू आवश्यक पर्छ भन्ने विषय टुंग्याउन पटक पटक छलफल तथा गोष्ठीहरू भएको पाइन्छ । यी गोष्ठीमा तामाङ भाषाको वर्ण पहिचानबारे विभिन्न संघसंस्था र भाषाविद्हरूबीच साझा निष्कर्षका लागि पहल भएको देखिन्छ । यही क्रममा पटकपटकको छलफलबाट तामाङ भाषाका लागि निम्नानुसारका वर्ण आवश्यक हुने निष्कर्षमा पुगेको पाइन्छ ।
निर्धारण गरिएका वर्णलाई प्रतिनिधित्व हुने गरी सम्बोटाका वर्ण तामाङ भाषामा चलाइएको पाइन्छ । सम्बोटा लिपिको कुन वर्ण चलाउने या नचलाउने भन्ने विषयको मुख्य आधार भनेकै तामाङ भाषाको पहिचान भएका वर्णहरू हुन् । सम्बोटा लिपिमा कतिवटा वर्णहरू छन् भन्ने मुख्य आधार होइन । सम्बोटामा व्यञ्जन वर्ण ३० (साल्जेसुम च्यु) र स्वर वर्ण चार (ज्याङ सी) प्रयोगमा छन् । तामाङ भाषाका लागि ‘आ’ समेत २५ वर्ण प्रयोगमा ल्याइएको देखिन्छ । तामाङ भाषा लेखनका लागि सालजे सुम च्युका आठवटा वर्णहरूप्रयोगमा ल्याइएको छैन । तर, बौद्ध धर्मग्रन्थ अध्ययनका लागि भने सबै वर्ण सिक्नैपर्ने हुन्छ ।

सरल लेखन शैली

भाषाको विकास र स्थायित्वका लागि सरल लेखन शैली पहिलो सर्त नै हो । जति सरल लेखन शैली हुन्छ, त्यति नै त्यो भाषाले व्यापकता पाउन सक्छ । क्लिष्टताले भाषालाई मृतावस्थामा पु¥याउने काम गर्छ । राज्यकै लगानी रहेको संस्कृत भाषा अहिले कुनै पनि समुदायको मातृभाषाका रूपमा रहन सकेको छैन । कर्मकाण्डीय भाषाका रूपमा मात्र खुम्चिन पुगेको छ । जब कि, संस्कृत भाषाको विश्वविद्यालय नै सञ्चालनमा रहेको छ । यसको मूल कारण त्यसमा रहेको क्लिष्टता नै हो ।

सम्बोटा लिपिमा लेखिएको छ्योअीको व्याकरण शास्त्रीय ढाँचामा लेखिएको छ । धेरैजसो शब्दको लेखन र उच्चारणबीच व्यापक अन्तर छ । अथवा लेखाइअनुसारको उच्चारण पाइँदैन । उच्चारणअनुसारको लेखाइ पनि हुँदैन । यसले गर्दा छ्योअीमा प्रयोग भएको शैली सिक्न र व्यवहारमा उतार्न जो कोहीलाई कडा मिहिनेतको खाँचो पर्छ । आजसम्म लामा गुरुहरूकै मात्र निजी सिकाइ र लेखाइका रूपमा सीमित हुनुको कारण पनि यही हो ।

एउटा हेक्का राख्नैपर्ने कुरा के हो भने तामयिग शैली ससाना बालबालिकाका लागि विकास गरिएको शैली पनि हो । उनीहरूका लागि जति कम वर्ण भयो उति नै सिक्न सिकाउन सजिलो हुन्छ । वर्ण र व्याकरणको भारी बोकाउँदा त्यसैले थिचेर साना बालबालिकाका लागि सिक्न पनि उत्तिकै गाह्रो हुन्छ । सम्बोटाको २५ वटा वर्णले नै तामाङ भाषाका सबै ध्वनिलाई अभिव्यक्त गर्न पर्याप्त हुने भएकाले छ्योअीमा चलाइएको सबै वर्ण प्रयोग गरिएको छैन ।

देवनागरी लिपिकै सन्दर्भमा पनि अहिले सबै स्वर वर्ण प्रयोगमा छैनन् । १६ वटा स्वर वर्णमध्ये तीनवटा वर्णहरू (ॠ ऌ ॡ) त प्रयोगमै छैनन् । शास्त्रीय अर्थ, व्याख्या र परम्परा जे जस्तो भए पनि वर्णहरूको उच्चारण र लेखनमा परिवर्तनको क्रम जारी छ । नेपाली भाषा लेखाइमा ‘ञ’ वर्णको प्रयोग घट्दो छ । अञ्चल, चञ्चल, योञ्जन, पञ्च जस्ता शब्दहरूको लेखाइ अब अन्चल, चन्चल, योन्जन, पन्चमा रूपान्तरित भइसकेको छ । कतिपय शब्दहरूको हिज्जे पनि परिवर्तन भइसकेको छ ।

जस्तो ः शहर–सहर, संख्या–सङ्ख्या, धादिङ– धादिङ, पंक्षी–पन्छी । लेखाइ परम्पराकै कुरा कोट्याउने हो भने कुनै समय‘षटाएको’, ‘दाञा’, ‘ञयाँ’, ‘ञाहाँ’, ‘दर्षास्त’, ‘षारेज’‘षबर’, ‘एस्ता’ ‘पायेनन्’ जस्ता शब्दहरू प्रचलनमा थिए । तर, अहिले यी शब्द ‘खटाएको’,‘दायाँ’, ‘नयाँ’, ‘यहाँ’, ‘दर्खास्त’, ‘खारेज’, ‘खबर’,‘पाएनन्’ लेखिने गरेको त दशकौं भइसक्यो ।

पहिले पहिले कुनै बेला अ वर्णको रूप भिन्न थियो । यी सबै भाषाको लेखन पद्धतिमा रहेको क्लिष्टता हटाएर सरल बनाउने प्रक्रियाहरू नै हुन् । यिनै प्रक्रियाले गर्दा नै आज नेपाली भाषाले व्यापकता पाएको हो । भानुभक्त आचार्य र पृथ्वीनारायण शाहकै पालाको भाषा र लेखनशैलीलाई च्यापेर बसेको भए आज नेपाली भाषा यति विकसित अवस्थामा आइपुग्ने नै थिएन । यसैले भाषालाई व्यावहारिक बनाउने कोसिसमा लाग्नु नै बुद्धिमानी ठहर्छ । शास्त्रीय व्याख्या, अर्थ र पद्धतिलाई पक्रेर ‘अहिले पनि त्यस्तै हुनुपर्छ’ भनेर जबर्जस्ती गर्नु त्यो भाषाप्रति सरासर अन्यायबाहेक केही होइन । यसले भाषाको स्वाभाविक विकासको गतिलाई अल्झाउने काम गर्छ ।

तामयिगको अर्को विशेषता भनेको सन्दर्भअनुसार शब्दको अर्थ बुझ्ने र बुझाउने हो । तिब्बती शैलीमा एकभन्दा बढी अर्थ दिने अनेकार्थी शब्दहरूलाई फरकफरक हिज्जे राखेर लेख्ने गरिन्छ । तर, तामयिगले भने प्रसंगअनुसार अर्थ बुझ्न सकिने भएकाले एउटै शब्दलाई फरक फरक हिज्जे प्रयोगमा जोड दिएको छैन । यसले एउटै बहुअर्थी शब्दलाई फरकफरक हिज्जेसहित सम्झनुपर्ने जटिलता हटाएको छ । तिब्बती शैलीको ङोन्जुग, जेन्जुग, याङजुग र गोचेनहरूको प्रयोगलाई तामयिगले अंगीकार गरेको छैन ।

भाषाको लेखन प्रणाली जति सरल, वैज्ञानिक हुन्छ, त्यति भाषा पनि सरल रूपमा बग्न सक्छ । त्यसमार्फत अभिव्यक्त गरिने प्रणालीमा छिटोछरितोपन देखा पर्छ । हामीले तयार गर्न खोजेको लेखन प्रणाली कहिलेकाहीँ केही पृष्ठ लेख्नका लागि होइन, दुई चार हरफ कोर्न मात्रै पनि होइन । हाम्रो दैनिक जीवनमा प्रयोग हुने लेखन अभ्यासमा उतार्ने, विद्यालय, महाविद्यालयका लागि पाठ्यसामग्री तयार पार्ने, यही लिपि र लेखन प्रणाली अपनाएर साहित्य भण्डार श्रीवृद्धि गर्र्नेसमेत यसको उद्देश्य हो । तिब्बती भाषाका लागि विकास गरिएको सम्बोटाको पौराणिक व्याकरणको भारी बोकेर होइन, त्यसलाई सकेसम्म सरल बनाउँदा नै तामाङ भाषा र साहित्य लेखनमा सहजता आउँछ भन्ने हेक्का सबैले राख्नु आवश्यक छ ।

बहस र तर्क

मानक उच्चारण कायम हुन वर्ण संयोजन सही ढंगले हुनु आवश्यक हुन्छ र लामो अभ्यासको खाँचो पर्दछ । लामो अभ्यासबाट मात्र शब्द, वाक्य, लिपि र लेखन प्रणालीको जाँच हुन सक्छ । यसबाट कति व्यावहारिक र वैज्ञानिक हो भन्ने परीक्षण हुन सक्छ । नेपाली भाषाको पनि लामो अभ्यासबाटै वर्ण, वर्ण संयोजन र प्रस्तुतिले तिखारिने मौका पाएको हो । वर्ण विन्याससम्बन्धी प्रचलित नियमले ठोस मान्यता
पाएको हो ।

तामयिग लेखनशैली तामाङ भाषा लेखन प्रयोजनका लागि मात्रै हो । त्यसमा पनि विद्यालय जाने ससाना बालबालिकाले कसरी छिटोछरितो ढंगले लिपि सिक्न सक्छन्, त्यसलाई प्रयोगमा ल्याउन सक्छन् भन्ने पक्षलाई मध्यनजर गर्दै यो लेखन प्रणालीको विकास भएको देखिन्छ । भाषा जहिले पनि जटिलताबाट सरलतातिरै अघि बढ्छ । क्लिष्ट छ, व्याकरण बढी झन्झटिलो छ भने त्यस्तो भाषा र लेखन प्रणाली व्यावहारिक हुनै सक्दैन । त्यसलाई बिस्तारै बिर्सने क्रम सुरु हुन्छ । त्यस्तो अवस्थामा प्रयोगकर्तालाई पनि रुचि हुँदैन ।

गह्रुँगो भारी बोक्न कोही पनि तयार हुँदैनन् । बोकिहाल्यो भने पनि गन्तव्यमा नपुग्दै छोडिदिन सक्छ । भाषाको सवालमा पनि गह्रुँगो व्याकरणको भारी बोकाउन जबर्जस्ती गर्नु उचित हुँदैन । छिटो छरितोपन भएको भाषा नै जीवित रहन सक्छ । ‘परम्परागत रूप र शैलीलाई बिगार्न पाइँदैन’ भनेर अड्डी कसेर बसेमा भाषाको समयअनुसार विकास सम्भव छैन ।

दैनिक जीवनमा प्रयोग हुने लेखन अभ्यासमा उतार्ने, विद्यालय तथा महाविद्यालयका लागि पाठ्यसामग्री तयार पार्ने, यही लिपि र लेखन प्रणाली अपनाएर साहित्य भण्डार श्रीवृद्धि गर्र्नेसमेत तामयिगको उद्देश्य हो । तिब्बती भाषाका लागि विकास गरिएको सम्बोटाको पौराणिक व्याकरणको भारी बोकेर होइन, त्यसलाई सकेसम्म सरल बनाउ“दा नै तामाº भाषा र साहित्य लेखनमा सहजता आउ“छ भन्ने हेक्का सबैले राख्नु आवश्यक छ |

सम्बोटा लेखन र पठनपाठनको गतिविधि किन लामा धर्मगुरुमा मात्रै सीमित रह्यो ? यही लिपि र लेखन शैलीमा आममानिसले पढ्नेलेख्ने अभ्यास किन विकास हुन सकेन ? किन यो आममानिसका लागि बिरानो लिपिका रूपमा रह्यो भन्ने गहन सवाल छन् । योभित्र भएको क्लिष्टताले यसलाई आममानिसको दैनिक अभ्यासको लिपि बन्नबाट वञ्चित गरेको हुन सक्छ । जब कि यो लिपिको विकास भएकै १४ सय वर्षभन्दा बढी भइसकेको छ ।

तामाङ भाषालाई लेखन परम्परामा गजबले ढाल्न नसक्नाले धेरै विषयवस्तुलाई समेटेर पाठ्य सामग्रीमा राख्न सकिएको छैन । तामाङ जातिको मौलिक पहिचानसँग गाँसिएका विविध विषयलाई समावेश गरेर नयाँ पुस्ताको ज्ञानको क्षेत्र अझ फराकिलो बनाउने अवसर गुमिरहेको छ । भाषा कुनै पनि समाजको मूल संरचना हो । यसबाट प्रशस्त मात्रामा ज्ञान गुणका कुरा दिन सकिन्छ । लेख्य परम्परा र अभ्यासको विकास नहुँदा भाषा दिनानुदिन मरणासन्न अवस्थामा पुगिरहेको गम्भीर तथ्यलाई सबैले बुझ्नुपर्छ ।

वास्तवमा लामाहरूले पनि तामाङ भाषा लेख्न र पढ्न अुछेन (सम्बोटा) लिपि सिकेकै थिएनन् । लामा विद्या सिक्ने क्रममा धार्मिक संस्कार सम्पन्न गर्न उनीहरूले सम्बोटा लिपि सिकेका हुन् । तिब्बती भाषामा लेखिएका बौद्ध धर्मका ग्रन्थको अध्ययनका लागि लिपि सिक्ने, अक्षर चिन्ने काम भयो । यसले गर्दा पनि तामाङ भाषामै लेख्नेपढ्ने बानी विकास हुन पाएन ।

कतिपय लामा गुरुहरू तामयिग अवधारणको विशेषता, आवश्यकता र मौलिकताबारे विस्तृत अध्ययन नगरीकनै बहसमा आउने गर्नाले पनि समस्या बल्झिरहेको छ । यतिसम्म कि साल्जे सुम च्युको ‘आ’ वर्णलाई समेत हटाएको, ‘आ’ नै नभएपछि यो वर्णबाट बन्ने तामाङ शब्दहरू कसरी लेख्ने भन्ने खालको उद्देकलाग्दो तर्क पनि देखिन्छ । यसैगरी, च्या, छ्या, ज्या वर्ण प्रयोगमा नल्याएपछि यसबाट बन्ने शब्दहरू लेख्नै असम्भव हुन्छ भन्ने अर्को तर्क पनि गरेको देखियो । यसका लागि अरू उपायको व्यवस्था गरिएको छ भन्ने यथार्थलाई ढाँकछोप गर्ने प्रयास भएको पनि देखियो । यस खालको अति गलत प्रचारले पनि लिपिसम्बन्धी सहमतिको बाटोमा तगारो सिर्जना गर्ने काम भइरहेको छ ।

अबको बाटो

भाषा लेखाइ र पढाइका लागि जतिसुकै सरल र वैज्ञानिक शैलीका रूपमा तामयिगको अवधारणा ल्याइएको भए पनि यसलाई व्यापकता दिन नसकिरहेको अहिलेको तीतो यथार्थ हो । २०४९ सालमै नेपाल तामाङ घेदुङले आधिकारिक रूपमा सम्बोटा लिपिलाई नै तामाङ लिपि मान्ने निर्णय गरेको हिसाबले पनि कम्तीमा २५ वर्ष बितिसकेको छ । ठूलो संस्थाले निर्णय गरेपछि स्वतः सबै क्षेत्रमा लागू भइहाल्छ, सबैले स्वीकार्नुपर्छ भन्ने अहमता घेदुङमा कतै न कतै देखियो । यसले गर्दा भाषा, लिपिसँग सम्बन्धित विभिन्न व्यक्ति, व्यक्तित्व, अन्वेषक तथा संघसंस्थासँग जुन गति र गहिराइमा छलफल बहस, सहकार्य र अन्तक्र्रिया हुनुपर्ने थियो, त्यसो हुन सकेन । भाषा र लिपिको खोज, अनुसन्धान र अध्ययन गरिरहेका व्यक्ति तथा संस्थालाई समावेश गरेर अघि बढ्न नसक्दा तामयिग अवधारणा साझा अभियान बन्न सकेन ।
लिपिलाई अंगीकार गर्ने र व्यावहारिक बनाउने अभियानमा व्यापक संलग्नता हुनै सकेन । अहिलेको सन्दर्भमा हिजो यो अवधारणा स्थापित गर्ने अगुवाहरू नै चुप लागिदिँदा तामयिग अभियान नै अभिभावकविहीन बनेको छ । संस्थागत दृष्टिकोणले भन्ने हो भने केही वर्षदेखि तामयिग अवधारणा अलपत्र परिरहेको छ ।

तामाङ भाषालाई लेखन अभ्यासमा उतार्न कसरी अगाडि बढ्ने भन्ने विषयमा निकै समय खर्च भइसकेको छ । प्रशस्त स्रोतसाधन लगानी भइसकेको छ । यसकारण अब एउटा निश्चित बाटो समातेर अघि बढ्न ढिलाइ गर्नुहुन्न । ‘सम्बोटा कि तामयिग’ भन्ने बहसले तामाङ समुदायलाई अल्झाइराखेको छ । दुई दशकदेखि निष्कर्ष दिन नसकेको यो बहस अझै जारी छ । यसकारण आफ्नो अडानमा पुनर्विचार गर्नैपर्ने देखिन्छ ।

वास्तवमा कमजोरी भएकै हो । सम्बोटा लिपिलाई लेखन शैली परिवर्तन गर्दैमा अलग लिपि भइहाल्छ भन्ने सोचमा घेदुङ चल्दै आयो । घेदुङले नयाँ लिपिको विकास गरिएको व्यापक प्रचार गर्दै आएको पनि हो । उही लिपिलाई केही अक्षरहरू नचलाउँदैमा र लेखन शैली फरक गर्दैमा नयाँ लिपि ‘तामयिग’ का रूपमा न्वारन गरिदिएपछि नै विवाद सुरु भएको हो ।

नयाँ लिपि नै बनाएझंै गरी प्रस्तुत हुँदा सम्बोटाका जानकारहरूले त पचाउने कुरै भएन, सामान्य भाषा र लिपिबारे जानकारी राख्नेहरूले समेत लिपिसम्बन्धी घेदुङको प्रस्तावनालाई स्वीकार गर्न सकेनन् । ‘जसरी देवनागरी लिपिमा तामाङ भाषा, नेपाली भाषा, हिन्दी, संस्कृत धेरै भाषा लेखिन्छ, व्याकरण पनि फरक फरक छ, तर लिपिको नाम अलगअलग छैन, तामाङ भाषा लेख्दैमा लिपिको नामै अर्को कसरी हुन्छ ?’ यस्ता तर्क र प्रश्नहरू निरन्तर आइरह्यो । यसको चित्तबुझ्दो जवाफ नहुँदा लिपि अभियान जहीँको तहीँ अड्किएर रह्यो ।

अर्को गम्भीर पक्ष भनेको त्यतिखेर भएको निर्णयको अक्षरशः पालना नहुँदा पनि झमेला निम्तिने काम भएको देखिन्छ । त्यतिखेरको निर्णयमा ‘सम्बोटालाई आधारभूत लिपि मान्ने, त्यसैका आधारमा नयाँ लिपि विकास गर्ने र विकसित लिपिको नाम तामयिग राख्ने’ स्पष्ट उल्लेख छ । तर, लिपिको नयाँ रूप तयार पार्ने विषयमा जाँगर चलाएको देखिँदैन । सम्बोटाकै लिपिलाई हुबहु प्रचलन ल्याएको पाइन्छ । यसैले लिपिको नाममा विवाद नगरी लेखन शैलीमा मात्र छलफल अघि बढाए सहमतिको सम्भावना धेरै नजिक देखिन्छ । यसैगरी, तामाङ भाषा अलग्गै भाषा भएकाले सरल लेखन शैलीलाई अपनाउनुपर्छ ।

तिब्बती भाषाकै व्याकरणलाई जबर्जस्ती अनुकरण गर्न लगाउने प्रयास छाड्नुपर्छ । यति दुई कुरामा सहमति गरेर अगाडि बढेमा भाषाका लागि नयाँ फड्को हुन सक्छ । भाषा र लिपि विकासका लागि सहज रूपमा नयाँ ढोका खुल्न सक्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution