हेडलाईन

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने         गौतमबुद्ध विमानस्थलको युद्धस्तरमा काम : आगामी जेठभित्र उडानयोग्य         दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद         हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ         इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने         ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो         बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा         आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै         यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन         तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न         शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?         राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?         पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा         राष्ट्रपतिज्यू, गणतन्त्रलाई यति विलासी नबनाइदिनुस्         केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने        

नेवाःताम्सालिङ प्रदेश नै उपयुक्त

१.०  विषय प्रवेश

नेपालको संविधान, २०७२ ले सात प्रदेशको सङ्घीय राज्य जन्मायो तर न्वारान गर्न सकेन । संविधानको धारा २९५(२), धारा ७(२) र धाराका आधारमा प्रदेशको नाम, भाषा र राजधानीको टुङ्गो लगाउने जिम्मा हो अब प्रदेशको । ३ नं. प्रदेशको न्वारान कसरी गर्ने ? हुनत, सात प्रदेश बनाउँदा कुनै सिद्धान्तको आवश्यक परेन ।

दुई तिहाई बहुमतको सरकार छ लालबहादुर, श्यामबहादुर वा ३ नं.को नाम पशुपति प्रदेश, ५ नं. को सिद्धार्थ प्रदेश, जे राखे पनि हुन्छ । यसो भनेर गलत काम गर्न अभिप्रेरित गर्नेहरू पनि नभएका होइनन् । यो अवधारणा केन्द्रीकृत शासनसत्ताको पक्षपाति छ ।

लेखक – परशुराम तामाङ

तर यसको अर्को पाटो पनि छ त्यो हो नामसँग उत्पीडित राष्ट्रियता (जाति) को पहिचान र अधिकार जोडिएको हुन्छ । यी दुई बिलकुल विरोधी धारणा हुन् । यो द्वन्द्वात्मकतालाई बुझ्नु पर्दछ । यसको सही व्यवस्थापन नभए यो द्वन्द्वको कारण हुनसक्छ । तसर्थ, प्रदेशको नामका सम्बन्धमा एउटा वैज्ञानिक हल र तर्कसम्मत निष्कर्ष निकाल्न जरुरी छ ।

२.०  जातीय समस्यासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता

(क)    पुँजीवादी दृष्टिकोण

पुँजीवादी खेमामा संयुक्त राज्य अमेरिकाका राष्टपति विड्रो विल्सन उपनिवेशका जनताको आत्मनिर्णयको अधिकारका समर्थकहरूको प्रवक्ता नै थिए । उनले १४ बुँदे अवधारणा पेश गर्दै भनेका थिए, “जुन सरकारले शासितहरूको सहमतिबाट आफ्ना सबै न्यायिक शक्तिहरू प्राप्त गर्दछन् भन्ने सिद्धान्त स्वीकार गर्दैन वा मान्यता दिँदैन, शान्ति लामो समयसम्म टिक्दैन वा टिकाउन सकिन्न ।” उनले भने, “आत्मनिर्णयको अधिकार खाली पदावली मात्र होइन, यो एउटा क्रियात्मक सिद्धान्त हो, जसलाई भविष्यमा राजनेताहरूले आफ्नो जोखिममा मात्र नमान्ने छन् ।” उपनिवेशमा होस् वा स्वाधीन देशमा राष्ट्रिय उत्पीडनमा परेका जाति÷राष्ट्रियताको आत्मनिर्णयको अधिकार वा शासनमा सहभागी हुने अधिकार कसैले छिन्न सक्दैन ।

(ख)    माक्र्सवादी दृष्टिकोण

माक्र्सवादी खेमामा क. भी. आई. लेनिनले सन् १९१३ अक्टोबर—डिसेम्बरमा “राष्ट्रिय (जातीय) सवाल बारे आलोचनात्मक टिप्पणी” र सन् १९२४ को फेब्रुवरी—मे महिनामा “राष्ट्रियता (जाति) हरूको आत्मनिर्णयको अधिकार” भन्ने दुईवटा लेखमार्फत जातीय सवालबारे माक्र्सवादी दृष्टिकोण अगाडि सारेका थिए । लेनिन कुनै एक राष्ट्र (जाति) वा भाषाको विशेषाधिकारको विपक्षमा र राष्ट्र र भाषाहरूको समान अधिकारको पक्षमा थिए । उनी “उत्पीडित राष्ट्र (जाति) को आत्मनिर्णयको पक्षमा थिए । क. लेनिन आफै रुसी जातिका व्यक्ति हुनुहुन्थ्यो तापनि उहाँले रुसी जातिलाई “उत्पीडक जाति” भन्नुभयो ।

क. माओत्सेतुङले भनेका थिए कि चीन एउटा अद्र्धऔपनिवेशिक अद्र्धसामान्ती मुलुक थियो र ती कारणहरूबाट चीनका सबै राष्ट्रियताहरू समान रूपले पीडित रहेका थिए । तर चीनका अल्पसङ्ख्यक जनजातिहरूले भने हान अन्धजातिवादको जातीय उत्पीडन पनि भोग्नुपरेको थियो । उनले पार्टीमा “हान अन्धजातिवादको आलोचना गर” र “अल्पसङ्ख्यक जनजातिहरूको उचित सम्मान गर र उनीहरूलाई स्वशासनको अधिकार देऊ” भन्ने नीति पारित गराए । यसबाट के बुझ्नुपर्दछ भने जुन व्यक्ति श्रमजीवी वर्ग र उत्पीडित जातिको मुक्तिको सवाल उठाउँदैन त्यो कम्युनिस्ट हुन सक्तैन ।

(ग)    राष्ट्रसङ्घीय मान्यता

अन्तर्राष्ट्रिय समुदायले आदिवासी जातिलाई जाति/राष्ट्र (people) को मान्यता दिएको छ । नागरिक तथा राजनीतिक अन्तर्राष्ट्रिय अनुबन्धको धारा १, २ कै अर्थमा आदिवासी जातिको अधिकारसम्बन्धी घोषणापत्रको धारा ३ मा आदिवासी जातिको आत्मनिर्णयको अधिकार हुन्छ  र सोही अधिकारका कारणले उनीहरू स्वतन्त्रतापूर्वक राजनीतिक हैसियत निर्धारण गर्न सक्छन् भन्ने स्विकार गरेको छ । सोही घोषणापत्रको धारा ४ मा आत्मनिर्णयको अधिकार प्रयोग गर्दा उनीहरूलाई आन्तरिक तथा स्थानीय मामिलामा स्वशासन र स्वायत्तताको अधिकार हुनेछ पनि भनेको छ । साथै, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदिवासी तथा जनजातिसम्बन्धी महासन्धि, १६९÷१९८९ ले पनि आदिवासी जातिलाई भूमि तथा प्राकृतिक स्रोतमाथि पहुँच, स्वामित्व र नियन्त्रणको हक हुनेछ उल्लेख गरेको छ । यो मान्यता पुँजीवादी तथा समाजवादी खेमा, दुवैको साझा सहमति हो ।

३.०  अन्तर्राष्ट्रिय अभ्यास

संसारमा नेपाल मात्र एक्लो सङ्घीय शासन प्रणाली भएको देश हैन ।  विश्वका ४० प्रतिशतभन्दा बढी मानिसहरू सङ्घात्मक प्रणाली अन्तर्गत पर्दछन् । जुन देश एकल जाति वा राष्ट्रका आधारमा बनेको छ, त्यहाँको सङ्घीय एकाई स्वतः प्रशासकीय एकाइको रूपमा मात्र बनेको छ । तर जहाँ  बहुजातीय समाज छ, त्यहाँ स्थानीय बाहुल्य जाति, भाषा, संस्कृति, इतिहास, पहिचान र समुदायको समस्या र आकाङ्क्षालाई सम्बोधन गर्ने उद्देयले सङ्घीयताको ढाँचा तयार गरेको देखिन्छ ।

(क)  सङ्घात्मक राज्यः  भारतमा २९ वटा राज्यहरूमध्ये १९ वटा राज्यको नाम जाति, भाषाको पहिचानका आधारमा राखिएको थियो । बाँकी भूगोल वा राजवंशका आधारमा राज्यको नाम राखिएको थियो । भारतका सबै स्थानीय आदिवासी जनजातिका स्वायत्त क्षेत्रहरूमा जनजातिका पहिचान झल्किने नामहरू छन् । संयुक्त राज्य अमेरिकाको ५० राज्यहरूमध्ये ३० राज्यहरू आदिवासी जातिको नाम (नेटिभ अमेरिकनको जाति, भाषा)मा र बाँकी मात्र युरोपियन राजवंश वा भूगोलको सम्झानामा राखिएको छ । रुस, दक्षिण अफ्रिकाका राज्यहरूको नामसमेत जातीय छन् । चीन, रूसजस्तो समाजवादी देश तथा संयुक्त राज्य अमेरिका, भारत, स्विजरल्यान्डजस्ता पुँजीवादी देशहरूले पनि राज्य÷प्रदेश वा क्षेत्रको नाम जाति, भाषाका आधारमा राखेको पाइन्छ ।

(ख) एकात्मक राज्य : एकात्मक ढाँचाको शासनमा पनि जातीय, क्षेत्रीय पहिचान र विशेषतालाई सम्बोधन गर्न राज्य संरचना निर्माण गरिएको छ । जस्तो चीनमा ५६ जातिहरू छन् । त्यसमध्ये हान जातिको जनसङ्ख्या ९१.५१ प्रतिशत र अन्य ५५ जनजातिको ८.४९ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यहाँ २२ प्रदेश र ५ राष्ट्रिय जातिहरूको स्वायत्त क्षेत्र र २ हङ्कङ र मकाउजस्ता स्वशासित क्षेत्र रहेका छन् । ५ वटा अल्पसङ्ख्यक जातिहरूको स्वायत्त क्षेत्रहरू सम्बन्धित जातिको नाममा नै राखिएका छन् । साथै, ८० वटा स्वशासित काउन्टी र ३१ वटा स्वशासित  प्रिफेक्चरहरू सबै ५५ वटा नै अल्पसङ्ख्यकका नाममा बनेका छन् । चीन, संयुक्त अधिराज्यजस्तो एकात्मक देशहरू तथा भारत, अमेरिका, इथोपिया, स्विजरल्यान्ड, दक्षिण अफ्रिका जस्ता सङ्घात्मक देशहरूमा पनि पहिचानका आधारमा राज्य, प्रदेश वा क्षेत्रको नामाकरण गरिएका छन् ।

४.  बिश्लेषण र निष्कर्ष

४.१   प्रदेश नं. ३ : ऐतिहासिक पहिचान

नेपालमा पहिलो संविधानसभा, राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको पुर्नसंरचना उच्चस्तरीय राष्ट्रिय सुझाव आयोगले सर्बसम्मतिले प्रदेश निर्धारणका लागि पहिचानलाई प्राथमिक र सामथ्र्यलाई सहायक आधार निर्धारण गरेको थियो । पहिचानअन्तर्गत जातीय÷समदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक÷क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरताजस्ता मापदण्डहरू पहिचान गरेका थिए । ३ नं. प्रदेशमा पहिचानका के–के विशेषताहरू छन् ?

(क)   ३ नं. प्रदेशको भूगोल र मानव सभ्यताको इतिहास

३ नंं प्रदेशभित्र पुरानो नेपाल खाल्डोको काठमाडौं, भक्तपुर, ललितपुरलगायत त्यसका वरिपरिका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट जिल्लाहरू समाहित छन् । यो काठमाडौं उपत्यका र यसका वरिपरिको भूभागलाई तामाङ र नेवारले आफ्नो ऐतिहासिक थातथलोका रूपमा दाबी गर्दैआएका छन् । तामाङहरू काठमाडाँैलाई याम्वु भन्दछन् । नागलाई तामाङ भाषामा ङ्याङवु भनिन्छ । यही “ङ्याङवु” अपभ्रंशमै “याम्वु” बनेको हुनुपर्छ । आज नेवारले काठमाडौंलाई भन्ने “येँ” भन्छन् । यो “येँ” चाँही “याम्वु”को संक्षिप्त रूप हो । यसबाट पहिलो आवाद भएकाले नै काठमाडौं खाल्डोको नाम आफ्नो भाषामा राखेको हुनुपर्छ भन्ने अनुमान हुन्छ  ।

नेपाल खाल्डोको उत्पत्तिका विषयमा बौद्धपरम्परा तथा हिन्दुपरम्पराका आख्यानहरू पाइन्छन् । बौद्धपरम्परामा स्वयम्भू पुराण र ड्यानियल राईटको वंशावली छन् भने हिन्दुपरम्परामा हिमवत्खण्ड, नेपाल माहात्म्य प्रमुख छन् । यो दुवै मतअनुसार उहिले नेपाल खाल्डो जलमग्न थियो । बौद्धमतमा नेपालखाल्डो दुई पटक जलमग्न थियो भन्ने कथा वर्णित छ । पहिलोचोटि महामञ्जुश्रीले नागवास नामक तालको पानीको निकास खोली बसोबासयोग्य बनाएको र दोस्रो पल्ट यसलाई दानासुरले तालको रूपमा परिणत गरेको थियो र यसलाई श्री कृष्ण वा विष्णुले वध गरे भनिएको छ (पाण्डे र रेग्मी २०५४) । स्वयम्भू पुराणमा महामञ्जुश्री महाचीनबाट आएका थिए र पानी बाहिर पठाएपछि आपmूसँग आएका शिष्यहरूलाई आवाद गरी तथा धर्माकरलाई राजा थापी उनी स्वदेश पmर्किए भनिएको छ । त्यसलाई मञ्जुपतन भनिन्थ्यो ।

काठमाडौँ उपत्यका पहिले ताल थियो भन्ने कुरा भूगर्भशास्त्र अनुसार पनि पुष्टि हुन्छ । पाण्डे र रेग्मीले टोनी हेगन र तजा अगस्टो ग्यानसागरलाई उद्धृत गरेअनुसार  २८ करोड वर्षदेखि १३ करोड ५० लाख वर्षपूर्वसम्म वर्तमान हिमालयको स्थानमा विशाल समुन्द्र थियो । त्यतिखेर वर्तमान भारतीय उपमहाद्वीप अस्ट्रेलिया, दक्षिण अपिm्रका र दक्षिण अमेरिकाको भूभाग एकै ठाउँमा थियो । अन्दाजी ७ करोड वर्ष पहिले अनेकौ पटक गरी दुई महादेशीय भाग निचोरिन जाँदा पूर्व पश्चिम पmैलिएको हिमालय पर्वतमाला र उप हिमालय पर्वतमालाको उत्पत्ति हुन गयो । यसरी हिमालयको उत्पत्तिको सिलसिलामा दक्षिणतिर बग्ने नदीहरूको बहावलाई तल्लो हिमालय पर्वतमालाले रोकी दिँदा काठमाडाँै र पोखराजस्ता तालहरूको उत्पत्ति हुन गयो ।

(ख)  तामाङ समाजको विकास

धरै विद्वान्हरूले काठमाडौँ उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछि प्रवेश गरेका समुदायहरूसँग पराजित भएपश्चात् तामाङहरूले काठमाडौँ उपत्यकाको काँठ र वरिपरिको पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् (वंसिटार्ट, १९०९ : १४१, करण, १९६० : ६६) । काठमाडौं उपत्यकाको बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बानियापाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोलामा लेलिनग्राद विश्वविद्यालय पुरातत्व विभागका प्रागैतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लेभ सेटेन्कोबाट भएको उत्खनन्ले मङ्गोलियाका गोवी नमुनाका ढुङ्गेउपकरण काठमाडौँमा फेला परेबाट पाषणयुगीय मङ्गोलियनहरू तिब्बत र हिमालयपार गरी नेपाल आइपुगेको र इसापूर्व ३०,००० वर्षभन्दा पहिलेदेखि नै मङ्गोलहरू काठमाडौं उपत्यकामा आवाद भएको अनुमान गरिएको छ । यसबाट काठमाडौँमा सबैभन्दा पहिले मङ्गोलमूलका मानिसहरूले बसोबास गरेका थिए र ती मानिसहरू तामाङ नै थिए भत्रे बलियो प्रमाण दिन्छ (शर्मा, सं. २०३९ : ३५९–४६४) । यो उत्खनन्को परिणाम र चीनबाट आएका महामञ्जुश्रीले काठमाडौंको गोकर्ण, पशुपति, किट्नी र चोभार गल्छीमा ७००० हजारवर्षअघि डॉडा काटी नेपालखाल्डोको पानी बाहिर पठाएर बस्ती बसाएको वंशावलीको कथनका बीचमा निकै तादम्यता देखिन्छ ।

नेपालका आदिवासी शंकारहित रूपमा मङ्गोलहरू थिए (वंसिटार्ट, १९९१) । अहिले पनि काठमाडौँ उपत्यकाको तीन सहर र तिनको उपसहरहरूको चार ढोकादेखि बाहिर चारैतिर तामाङ जातिको घनावस्ती सुरू हुन्छ । सन् १८४७ मा हडसनले उपत्यकाको र त्यसको वरिपरि नेवार र मुर्मी (तामाङ) बसोबास गर्दछन् भनेका छन् (१९७२ : ३०) । डा. ओल्डफिल्डले पृथ्वीनारायण शाहले जित्नुभन्दा पहिले दूधकोशीदेखि अरूणसम्म किरात देश थियोे भनी सन् १८५८ मा लेखेका छन् (मो.१, ह.५३–५४)। सन् १८८० – १८९५ तिर वंसिटार्ट लेख्दछन्, “नेपाल उपत्यकामा घना आवादि छ र त्यहाँ करिव ३००,००० मानिसहरू होलान्” भत्रे अनुमान गर्न सकिन्छ र तिनीहरूमध्ये अधिकांश नेवार र तामाङ छन् (१९९१ : ६) । कर्कपैट्रिकले “नेपालमा नेवार जातिले राज्य गर्नुभन्दा पहिले भोटे जातिले राज्य गरेका थिए । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आजसम्म संरक्षित छन् र हाल कच्छाडको पहाड तर मुख्यरूपमा कुतिपट्टीको पर्वतीय भू–भागमा आवाद छन्” भनेका छन् (१८११ ः १४८) ।

ह्यामिल्टनले हिन्दुकृत मूर्मि (तामाङ) नै काठ भोटिया हुन् र त्यो समुदाय नेवारभित्र समाहित छ भनेका छन् (१९९०ः५९) । लिच्छवीकालको अभिलेखमा चावहिल उत्तर–पूर्वको भू–भागलाई भोटबिस्टी भनिन्थ्यो । यसै क्षेत्रमा मानदेवको पालामा बौद्धनाथ स्तुपा बनेको भनिन्छ र त्यो तामाङ वंशावलीअनुसार योञ्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ पूर्खाहरूले निर्माण गरेका थिए (तामाङ सं. २०५१ः४२) । काठमाडौँका नेवारहरू अभैm पनि बनेपालाई भोट भन्दछन् । यो तामाङ भाषाको वोद अपभ्रंश भै वोंदी, बनेपा र भोट बनेको हो । म्याकडोनाल्डले “तामाङहरू मुख्यरूपमा पूर्वमा दूधकोशी र पश्चिममा बढीगण्डकीबीचको माथिल्लो आधाभाग २०० मिटरदेखि २७०० मिटरको उचाइमा बसोबास गर्दछन्” भनेका छन् (१९८३ : १२९) । यस क्षेत्रमा तामाङहरूको सयौँको सङ्ख्यामा किपट (सामूहिक भूमि) पाइएको छ (हेर्नुहोस्–लामा (१९५९), वंसिटार्ट (१९०६), मोरिस (१९३३), लामा (२०४०), फुरर हेमेन्डोर्फ (१९५६) र रेग्मी (१९७८) ।

(ग)  नेवार समाजको विकास

यता काठमाडौँ उपत्यकामा विभिन्न समयमा दक्षिणबाट आएकाहरूको ज्यापूसंस्कृतिमा घुलमिल भई एउटा नयाँ समुदायको  विकास भयो, जुन आज नेवार समुदायको नामले प्रसिद्ध छ । त्यसैले नेवार समाज नश्लको आधारमा नभई भाषाको आधारमा विकसित एक भाषा समुदाय हो । यो खस, तामाङ, गुरुङ, मगर जस्तो जाति बाचक शब्द होइन । चित्तरञ्जन नेपालीका अनुसार यस समाजमा विशुद्ध आर्य जातिका सन्तती ठकुरी, मल्ल, कान्यकुब्जी ब्राम्हण राजोपाध्याय, मैथिली ब्राम्हणको एक समूह, शाक्य, विभिन्न जातिका व्यक्तिहरूको सम्मिलन हुन आएको छ । राइटस्का वंशावलीको भनाइ अनुसार नेवा(र)हरूको प्रवेश मिथिलाका राजा नान्यदेव र हरसिंहदेवसित भएका हुन् । स्मिथ आदि विद्वान्हरूले नान्यदेव दक्षिणी कर्णाटवंशी भएको र उनीसँग आएका “नाएर” वा “नैयार” हरू नै कालान्तरमा अपभ्रंश भै नेवा (र) हुन गएको हो । यसलाई खण्डन गर्दै वावुराम आचार्यले यस देशका आदिजाति किरातहरूको एक शाखा “नेपार” बाट नेवार र नेपाल देश हुन गयो भनेका छन् ।  चित्तरञ्जन नेपालीले पनि यस विचारलाई समर्थन गरेका छन् (२०६०, पृ. १७३–१८३) ।

रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मीका अनुसार डा. थमस यङ्ग र जर्ज ग्रियर्सनको मतमा  नेपाल र नेवार शब्द कुनै एकै मूलवाट व्यूत्पन्न भएका हुन् । बावुराम आचार्यले यसको समर्थन गर्दै नेपाल र नेवार शब्दहरूको उत्पत्ति मुर्मि वा तामाङ वोलीको “न्यार्वा” शब्दवाट भएको अनुमान गरेका छन् । उनको अनुसार मौर्यकालीन मगधको भाषामा “र” को उच्चारण थिएन तथा “र” को ठाउँमा “ल” को उच्चारण गरिन्थ्यो, यसै कारण नेवार वा नेपारलाई कौटिल्यले “नेपाल” भनेका हुन् । उनको विचारमा नेपालको पूर्वरूप नेपार थियो र किराँतहरू नेपार थिए (पृ. ८) ।

बाबुराम आचार्यका अनुसार नेपारहरू पछि आएका लिच्छवीहरूले पराजित गरेपछि उनीहरू उपत्यकाका वरपरका डाडातिर लागे । पहाडतिर लागेपछि यस जातिको नाम “नेर्वुङ”, “न्यार्वा”, “ङार्वा” “न्येर्वा” आदि हुन गयो (आचार्य, संस्कृति, वर्ष १, अंक १) । नेर्वुङ तथा ङार्वा भनेको तामाङजातिमा वर्ण शंकर भई बनेको थर हो । यो नेवार समाज पनि  आर्य, द्रविड, मङ्गोल जस्ता नश्लहरू समिश्रित छन् । चित्तरञ्जन नेपालीका अनुसार नेवार शब्दको प्रयोग सबभन्दा पहिले गोरखाका राम शाहको थिति बन्दोबस्तसम्बन्धी पत्र र पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भएको थियो (२०६०, पृ. १८२) ।

यो काठमाडौंखाल्डोमा ठकुरी, मल्लहरूले शासन गरे । लिच्छवी र मल्लहरू दक्षिणको गंगा मैदानबाट आएका थिए ।  लिच्छवीहरू पनि नेवारी समुदायमा नै विलय भएका थिए । अहिलेसम्म पनि नेवारहरू मल्लहरूलाई ठकुरी राजा (ठकुजुजु) नै भन्दछन् । प्राचीन नेवारहरू आफैले भने राज्य नै बनाएको वा चलाएको देखिँदैन । मल्लकालमा जनता नेवारी भाषी थिए । त्यसैले मल्लराजाहरूले नेवार समुदायमा जातप्रथा प्रवेश गराउँनुका साथै मैथिली साहित्यलाई नेवारीभाषामा अनुवाद गराएर मैथिली भाषाको पनि प्रचलन गराएको देखिन्छ ।

४.२   तामाङ–नेवार सांस्कृतिक अन्तरनिर्भरता

तामाङ र नेवार नेपालको कूल जनसङ्ख्याको ५ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुने समुदाय हुन् । सन् २०११ को जनगणनाको प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामा तामाङ जातिको जनसङ्ख्या ५.८ प्रतिशत र नेवारको जनसङ्ख्या ४.७ प्रतिशत रहेको छ । मल्लकालदेखि राणाकालसम्मको काठमाडौं खाल्डोको बसोबासको स्थितिको अध्ययनबाट के देखिन्छ भने काठमाडौं खाल्डोको ४ सहरको ४ ढोकाभित्र नेवार र  ढोकाबाहिर तामाङहरूको बसोबास थियो । नेवार मूलतः व्यापारी समुदाय र तामाङहरू गुजारा अर्थतन्त्रका नेवार व्यापारीहरूका क्रेता र नेवार नगरराज्यको विकासका लागि आवश्यक श्रमपूर्ति गर्ने जनसङ्ख्या थियो । नेवारहरू तिब्बत व्यापार गर्थे र व्यापारिक वस्तुहरूको ओसारपसारमा तामाङहरूको श्रम प्रयोग गरिन्थ्यो । अहिले देखिने नेवार–तामाङ आवादीबीचको गैरतामाङ गैरनेवार बस्तीहरू पृथ्वीनारायण शाहको पालामा सुरू भई पछिल्लो ३०–४० वर्षभित्रमा तीव्ररूपमा बनेका हुन् ।

तामाङभाषा र नेपालभाषा दुवै भोटे–बर्मेली समुदायका भाषा हुन् । भाषा वैज्ञानिकहरूका अनुसार तामाङभाषा  र नेपालभाषा ई. पू. ३२०० वर्षअधि एउटै भाषा थियो । काठमाडौंलाई नेवार(नेवा) ले येँ र तामाङ (ता) ले यम्बु, ललितपुरलाई नेवा–येल (ता–येरङ), भक्तपुरलाई नेवा–खोप (ता–खोपङ), बनेपालाई नेवा–भोँट (ता–वोँदी) भन्ने तथा सैवु, भोटाहिटी, भोटेबहाल जस्ता अनगिन्ती शब्दहरू त दुवै समुदायको जनजिब्रोमा पाइन्छ । काठमाडौं खाल्डोमा दक्षिणबाट प्रवेश गरेका मैथिली ब्राह्मण औ मानिसहरूसमेत नेवार बनेका थिए । यो क्रममा केही काठे तामाङहरू पनि नेवार समाजमा अन्तरघुलन भएको देखिन्छ । तामाङको मुल्म्ही (प्रधान) वा मुर्मी साहेद यसरी नै नेवारी समाजको अंग बन्यो । काठमाडौं खाल्डोको शासन ठकुरी तथा मल्लहरूको हातमा गएपछि हिन्दूधर्म, मैथिली र संस्कृत भाषाको प्रभाव नेवारी समाज र भाषामा व्यापक मात्रामा प¥यो । यसले तामाङभाषा र नेपालभाषाबीचको सजातीयपनमा अहिले दुरी पैदा गरेको अनुमान गर्न सकिन्छ ।

नेपालको इतिहासले किराँतकाललाई स्वीकार्दछ र नेवार समाजले समेत ज्यापूमा किराँत अस्तित्व खोजेको देखिन्छ । यस.के. चटर्जीले कालान्तरमा किराँतहरू आसामदेखि कास्मिरको हिमालय (लद्दाख) सम्मको मध्यपर्वतीय अञ्चलमा फैलिए भनेका छन् (१९६५, पृ. १६९) । नेवारहरूले महाकाल, स्वेत भैरब, बागेश्वरी मान्नु र तामाङको योञ्जन थरले टुँडिखेलको महाकाललाई इष्टदेवता, ब्लोन थरले इन्द्रचोकको स्वेत भैरव र रूम्बा थरले पशुपति–बागेश्वरीको ६ हाते भैरवलाई धर्मपाला मान्नु संयोग मात्र होइन । तामाङहरूको मुख्य धार्मिक तिमालजात्रा (पितृश्रद्धापुजा) र प्रमुख तीर्थहरू–नमोबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू काठमाडौं उपत्यकामा नै अवस्थित छन् । आजभन्दा ५०–६० वर्षअधिसम्म पनि बौद्ध (ज्यारुङखस्योर) क्षेत्रमा तामाङहरू मात्र बस्दथे र अहिलेसम्म पनि त्यो ६० घरेको नामले प्रसिद्ध छ ।

४.३    ३ नं. प्रदेशको राजनीतिक इतिहास

(१)  नेवार राज्यः किंवदन्तीअनुसार काठमाडौं खाल्डोमा पौराणिक कालमा गोपाला, महिसपाला तथा किराता (घुमन्ते मङ्गोलहरू) ले सन् २०५ सम्म राज्य गरेका थिए । त्यसपछि गंगा मैदानको वैशालीबाट आएका सोमवंशी लिच्छवीहरूले किरातलाई पराजित गरेका थिए । लिच्छवीकालमा नेपालको सीमा त्रिशूलीदेखि दूधकोशीसम्म पुगेको थियो भन्ने अनुमान गरिएको छ । सन् ८८० मा लिच्छवी शासनको अन्त्य भयो भन्ने इतिहासकारहरूको मत रहेको छ । त्यसपछि सन् ८८० देखि सन् १२०० सम्मको नेपालको इतिहासका धेरै कुरा प्रकाशमा आएको छैन ।

सन् १२०० देखि भारतबाट आएका मल्लहरूले काठमाडौंमा राज्य खडा गयो र जसको सीमा सूर्यविक्रम ज्ञवालीका अनुसार उत्तरमा शिवपुरी, दक्षिणमा चित्लाङ र पश्चिममा त्रिशूली थियो । १५ औं शताब्दीमा लेखिएको नेपाल महात्म्यका अनुसार नेपाल मण्डलको सीमा उत्तरमा शिवपुरी, दक्षिणमा चिसापानी, पश्चिममा त्रिशूली र पूर्वमा कोशी (रोशी, सुनकोशी, तामाकोशीमध्ये कुनै एक हुनसक्छ) उल्लेख छ । राजा जयस्थिति मल्लले नेवारसमाजलाई ४ वर्ण र ६४ जातमा बाँडेका थिए । सन् १४२८ लेखि १४८२ सम्म यक्षमल्लले शासन ग¥यो र उनको राज्य पूर्वमा कोशीसम्म पुगेको थियो । उनको शेषपछि यक्षमल्लको राज्य उनका छोराहरूमा बाँडियो र कान्तिपुर, ललितपुर, भादगाउँ (त्रिपुरा) र बनेपा (भोँट) (बनेपा पछि भादगाउँमा विलय भएको थियो) मा विभाजित भयो । कान्तिपुर सन् १४८४ देखि १७६८ सम्म, ललितपुर सन् १५३६ देखि १७६८ सम्म र भादगाउँ सन् १४९६ देखि १७६९ सम्म स्वाधीन राज्यहरू थिए ।  यी तीनै राज्य काठमाडौं खाल्डोमा सीमित थियो (हेर्नुहोस नक्सा २) । पृथ्वीनारायण शाहले कान्तिपुर र ललितपुरलाई सन् १७६८ मा र भादगाउँलाई सन् १७६९ मा पराजित गरेपछि मल्लराज्यहरूको अन्त्य भयो ।

काठमाडौं खाल्डोमा एउटै राज्य हँुदा नेवार सभ्यताको सुरुवात् र तीन राज्य हँुदा नेवार सभ्यता शिखरमा पुगेको देखिन्छ ।  उक्त अवधिमा काठमाडौं खाल्डोमा क) नेवारीसमाज ४ वर्ण र ६४ जातमा विभाजन, ख) प्रत्येक जात विशेषको अलगअलग गुठि व्यवस्था, ग) नेवारी भाषा र साहित्यको विकास र संस्कृत तथा मैथिली साहित्यलाई नेवारी भाषा र साहित्यमा प्रवेश, घ) सबै प्रकारको फाइन आर्ट, पेन्टिङ, भवन निर्माणकला आदिको विकास, घ) धेरै मठमन्दिर बने, मूर्तिहरू कुँदिए र नयाँ चाडपर्वहरूको सिर्जना, ङ) कृषिको विकास, च) काठमाडौं भारत चीन तिब्बतको व्यापारिक मार्ग बन्यो र व्यापारिक पुँजीको विकास भई काठमाडौं खाल्डो रोमजस्तै नगरराज्यको रूपमा तीव्र गतिमा विकास भएको थियो ।

(२)  तामाङ राज्य :  बुढीगण्डकीदेखि दूधकोशीसम्मका भूगोलमा गोर्खासाम्राज्यको स्थापना नहुन्जेलसम्म पनि कुनै न कुनै रूपमा तामाङहरूको स्वशासित राज्य (मुख्खेली)हरू थिए । गोर्खाको बार्पाकमा घलेराज्य, पूर्वपट्टि गण्डी (बुढीगण्डकी) को पूर्व किनार धादिङको सेमजोङको डाप्साङमा वाइबा थरका तामाङ जातिको राज्य थियो, जसलाई सम्भवतः गोर्खाका राजा राम शाहले पूर्वतर्पm बढ्ने क्रममा हराएका थिए । धादिङकै सेर्तुङ, झार्लाङ र बसेरमा तामाङराज्यहरू थिए । तामाङहरू राजालाई ग्ले भन्दछन् यही अपभ्रंश भै घले बनेको हो । रसुवाको गोल्जुङमा राजा नरभुपाल शाहको पालासम्म घले तामाङराज्य थियो । पृथ्वीनारायण शाहले जितेपछि आन्तरिक नेतृत्व त्यहीको ज्योमोलाई दिई बाहिरी नेतृत्व गोर्खाले लिएको थियो (तामाङ, सन् २००५) ।

नुवाकोटको ककनीमा तामाङको रूम्बा थरको राज्य थियो । मल्लहरूले नै ककनीराज्यलाई उखेलेका थिए । गोपालराज वंशावलीले नेवार र तामाङहरूबीचको तनावमाथि निकै हदसम्म पारेको देखिन्छ । ह्यामिल्टन र हजसनका लेखहरूले यो छनक दिन छोडेको छैन । रामेछापको दोरम्बा, ताल्जुमा घिसिङ थरका तामाङ राजाको राज्य थियो । यसलाई गोर्खाली सैनिकले अन्तिम पटक सन् १७६२ भदौमा कब्जा गरेका थिए (थापा, २०३९ः७०–७१) । काभ्रेको तिमालमा बल तामाङको स्वायत्त राज्य थियो । पछि यो मकवानपुरको अधीनमा गएको थियो भन्ने देखिन्छ । यसलाई पृथ्वीनारायण शाहका भाइ दलजीत शाह र रामकृष्ण कुँवरको नेतृत्वमा आएको गोर्खाली फौजले वि.सं. १८१९ असोज २ गते कब्जा गरेको थियो (आचार्य, सं. २०६१ः२०४) । सो आक्रमणमा तामाङराज्यको रक्षार्थ खटिएका रेन्जेन दोर्जे राजासहित ३०० तामाङ युवायुवतीहरूको हत्या भएको थियो । त्यो वेला यो राज्य मकवानपुरका सेन राज्यअन्तर्गत सामन्त राज्य रहेको बुझिन्छ । यो नै तामाङको अन्तिम सत्ता थियो ।

मकवानपुरको बेतिनी, खैराङ र टिस्टुङमा पनि तामाङराज्यहरू थिए । यस्ता सत्ताहरू थर (अबिल) र किपट माथि आधारित थिए । सन् १९१५ मा प्रकाशित मेजर सी.जे. मोरिसद्वारा लिखित “द गोर्खाज एन एन्थालोजी” मा बल, धिसिङ, मोक्तान, स्याङबो र योन्जनहरूको २९ वटा किपटहरूको सूची उल्लेख थियो । महेश चन्द्र रेग्मीले लैन्ड टेन्युर एन्ड ट्याक्सेसन सिस्टममा थमौती र खोसिएको थुप्रै किपटहरूका बारेमा जानकारी दिएका छन् । यो वास्तवमा प्राथमिक किसिमको सामुदायिक राज्यहरू थिए जसलाई ग्रामीण गणतन्त्र भन्न सकिन्छ ।

४.४ स्वायत्त प्रदेशहरूको जनस्तरमा घोषणा

(क)   नेवाः गणराज्यको घोषणा

२०६६ पौस ११ गते नेवारहरूको विभिन्न सङ्घ संस्थाहरूको मोर्चा, नेवाः स्वायत्त राज्य सङ्घर्ष समितिले काठमाडौंमा एक विशाल जनसभाका बीचमा नेवाः राज्यको घोषणा ग¥यो । नेवार समुदायको आत्मनिर्णय, स्वशासन र स्वायत्तताको अधिकार तथा नेवा प्रदेशमा नेवारको अग्राधिकारको माग गरिएको थियो । उक्त घोषणापत्रमा नेवा राज्यको क्षेत्र सम्बन्धमा “ऐतिहासिक नेपाल मण्डलको आधार नै वर्तमान नेवा राज्यको क्षेत्र निर्धारण गर्दाको प्रमुख आधार हो” भनिएको थियो ।

(ख)   ताम्सालिङ प्रदेशको घोषणा

२०६६ मङ्सिर २१ गते ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाको तीन जिल्लाको नेवार बाहुल्यक्षेत्र र काभ्रेको बनेपा र मकवानपुरको चित्लाङसमेतलाई छोडेर काठमाडौँ वरिपरिको तामाङ बाहुल्यक्षेत्रलाई ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गरेको थियो । यसमा मुल त काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट जिल्लाहरू पर्दछन् । यो मूल क्षेत्रसँग जोडिएका अन्य जिल्लाका तामाङबाहुल्य पनि यसैमा हुने उद्घोष गरिएको थियो । तामाङजाति (राष्ट्र)को आत्मनिर्णय, स्वशासन र स्वायत्तताको अधिकार तथा ताम्सालिङ प्रदेशमा तामाङको अग्राधिकारको माग गरिएको थियो ।

४.५  जातीय जनसङ्ख्याको वितरण

३ नं. प्रदेशमा तामाङ जाति र नेवार समुदायको ऐतिहासिकता, जनसङ्ख्या र भूगोलको निरन्तरतालाई हालको जनसङ्ख्याको वितरणले पनि प्रमाणित गर्दछ । कुल प्रदेशको जनसङ्ख्याको ५६.३० प्रतिशत आदिवासी जनजाति छन् (तालिका १) । यीमध्ये तामाङ २० प्रतिशतभन्दा बढी, नेवार १७ प्रतिशत र अन्य अल्पसङ्ख्यक छन् । यो प्रदेशमा तामाङको कुल जनसङ्ख्याको ७४% र नेवारको कुल जनसङ्ख्याको ७१% बसोबास गर्दछन् । यहाँ बाहुन १८ प्रतिशत, क्षेत्री १७ प्रतिशत ३७ प्रतिशत खस आर्य छन्  र दलितहरू ५.२७ प्रतिशत छन् ।  पहिलो संविधानसभा, राज्यको पुनर्संरचना समिति र आयोगद्वारा प्रस्तुत पहिचान र सामथ्र्यताका सर्वसम्मत आधार र १ % भन्दा धेरै जनसङ्ख्या भएका क्लस्टर मिलाउने मापदण्डअनुसार ३ नं. प्रदेश तामाङ र नेवार, दुई प्राचीन राष्ट्रियताको आधारमा बनेको छ । आधुनिक नेपाल राज्यको निर्माण हुनुभन्दा पहिले नै यो भूभागमा नेवार र तामाङ सभ्यताहरूको विकास भइसकेको थियो । अतः प्रदेशको नाम नेवा–ताम्सालिङ वैज्ञानिक छ ।

तालिका नं. १ :  प्रदेशअनुसार प्रमुख जातीय जनसङ्ख्याको वितरण, सन् २०११

४.६   भाषिक जनसङ्ख्याको वितरण

नेपालको संविधानको (१) धारा ७(२) अनुसार नेपाली भाषाको अतिरिक्त प्रदेशले बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । धारा ७(३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेअनुसार हुनेछ । ३ नं. प्रदेशको १३ जिल्लाको भाषिक बनौटको विश्लेषण गर्दा ९ जिल्लामा तामाङभाषा, ३ जिल्लामा नेपालभाषा, १ जिल्लामा थारुभाषा क्रमशः बहुसंख्यकले बोल्ने भाषा हुन् (तालिका २) । अतः ३ नं. प्रदेशको नेपालीका अतिरिक्त तामाङभाषा र नेपालभाषा नै सरकारी कामकाजको भाषा हो । संविधानअनुसार प्रदेशसभाले आफ्नो प्रदेशको कामकाजी भाषा तोक्न सक्छ । यसका लागि भाषा आयोगको सिरफारिस आवश्यक पर्दैन ।

तालिका नं. २ : प्रदेश ३ नं.मा नेपालीभाषाको अतिरिक्त जिल्लाअनुसारका पहिलो भाषाहरू, २०११

४.८   विशेष, संरक्षित वा स्वायत्त क्षेत्र

संविधानको  धारा ५६(५) मा सङ्घीय कानुनबमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ । उक्त व्यवस्थाको कार्यान्वयनका लागि धारा २९५(३) अनुसार नेपाल सरकारले एक आयोग गठन गर्न सक्नेछ । ३ नं. प्रदेशमा चेपाङ, शेर्पा, माझी, दनवार, थामी, सनवार, पहरी, दराई, योल्मो, जिरेल, हायु, बोटे  १२ वटा जनजातिहरू बसोबास गर्दछन् । यिनीहरूमध्ये ९ वटा जातिको स्वायत्त क्षेत्र र बाँकीको विशेष वा संरक्षित क्षेत्र बन्नसक्ने देखिन्छ । स्वायत्त क्षेत्रको कामकाजी भाषामा सम्बन्धित जातिको मातृभाषालाई तोक्न सकिन्छ ।

तलिका ४ः ३ नं. प्रदेशको कमसंख्यका जनजाति जनसंख्या, २०११

५.० उपसंहार

तामाङ र नेवार, नेपालको प्राचीन÷प्राक्—प्राचीन सभ्यताहरू हुन् । यो दुई सभ्यताको मानव भूगोललाई समेटेर ३ नं. प्रदेश बनेको छ । यसर्थ, ३ नं. प्रदेशको नाम नेवाः— ताम्सालिङ प्रदेश नै उपयुक्त हुन्छ । यसले पहिलो संविधानसभा, राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको पुनर्संरचना उच्चस्तरीय राष्ट्रिय सुझाव आयोगद्धारा सर्वसम्मतिले निर्धारण गरेको पहिचानका मापदण्डहरू जातीय/समदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक÷क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरतालाई पूरा गर्दछ ।

वर्तमान संविधानले माक्र्सवादी वा राष्ट्रसङ्घीय मान्यता अनुसारको उत्पीडित आदिवासी जनजाति र मधेसी, कसैको पनि आत्मनिर्णय, स्वशासन र स्वायत्तताको अधिकार तथा प्रदेश वा स्थानीय सरकारमा अग्राधिकारको मागलाई स्वीकार गरेको छैन । त्यसकारण पहिचानकोे आधारमा प्रदेशको नाम राखियो भने पनि यसले इतिहासको सम्मानभन्दा बढी केही हुनेछैन । तर पनि विभिन्न देशका द्वन्द्व व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय अनुभवले के देखाएको छ भने उत्पीडक जाति र उत्पीडित जातिको द्वन्द्वलाई मत्थर पार्न पहिचानको सम्मान आफैमा अर्थपूर्ण हुन्छ । यो मानको खातिर मान सरह हो ।

नेपालमा हिन्दुखसआर्यको पहिचान नै सिंगो मुलुकको राष्ट्रिय पहिचान हो । कम्तीमा प्रादेशिक वा स्थानीय सत्ताको पहिचान, त्यही माटोको स्थानीय ऐतिहासिक सभ्यतालाई दिँदा नै उत्पीडित समुदायप्रति न्याय हुन्छ । उत्पीडित समुदायहरूले पनि राज्यमाथि अपनत्व बोध गर्न पाउनेछन् । विद्यमान अवस्थामा खसआर्यको राष्ट्रिय पहिचान र उत्पीडित जनजाति वा मधेसीको प्रोदेशिक वा स्थानीय पहिचान, एक अर्काको पुरक हो, विपरीत हैन । यसबाट देशभित्र बहुपहिचान र देशबाहिर एकल पहिचान बन्दछ । अर्थात् देशभित्र खसक्षेत्री वा लिम्बु र देशबाहिर सबैले नेपाली । हाम्रो माग र धारणा त नेपाललाई सामाजिक संरचना प्रतिविम्बित हुनेगरी बहुराष्ट्रिय÷जातीय इन्द्रेणी राष्ट्रवादद्वारा अभिव्यक्त गराउने थियो । दुःखपूर्वक भन्छु त्यो हुन सकेन ।

अहिले नेपाल मण्डल वा ताम्सालिङको नामको प्रस्ताव पनि चर्चामा रहेको छ । के यी दुईमध्ये कुनै एक नामले ३ नं. प्रदेशको पहिचानको प्रतिनिधित्व गर्न सक्दछ ? हेर्नुस् तालिका २ र ३ । कुनै एक नामजस्तो नेपालमण्डलले सिङ्गो प्रदेशलाई प्रतिनिधित्व गर्न सक्दैन । ३ नं. प्रदेशको १३ जिल्लामध्ये ९ जिल्लामा तामाङ जाति बहुलतामा रहेका छन् । तसर्थ प्रदेशको सामाजिक संरचनाअनुसार नेवा ताम्सालिङ बहुपहिचानका आधारमा प्रदेशको नाम राख्नु नै वैज्ञानिक र तर्कसङ्गत हुन्छ ।

अतः  ३ नं. प्रदेशसभा र सङ्घीय सरकारले निम्न बमोजिम निर्णय गर्नु उचित हुनेछ :

(क) ३ नंं प्रदेशको नाम – नेवा–ताम्सालिङ प्रदेश राख्ने ।

(ख)  ३ नंं प्रदेशको भाषा – नेपालभाषा र तामाङ भाषालाई प्रदेश र स्थानीय तहमा सरकारी कामकाजको भाषाको मान्यता  दिने । प्र्रादेश सरकारको कामकाजी भाषालाई केन्द्रीय (सङ्घीय) सरकारको पनि कामकाजी भाषा बनाउने ।

(ग) ३ नंं प्रदेशभित्रका चेपाङ, शेर्पा, माझी, दनवार, थामी, सनवार, पहरी, दराई, योल्मो, जिरेल, हायु, बोटे १२ वटै अल्पसंख्यक जातिको विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्माण गर्ने र तिनमा सम्बन्धित समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउने ।

सन्दर्भग्रन्थसूची

०१.     अर्याल, बी. आर. (डा) र डा. भी. एम. इञ्चले (सन् २००५), म्याप अफ नेपाल, हिस्टोरिकल, इथनोग्राफिक, लिङ्गुइस्टिक, काठमाडौं ः शिराम प्रकाशन ।
०२.    आचार्य, बाबुराम (२०६१ सं.), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (द्वितीय संस्करण), ललितपुर ः साझा प्रकाशन ।
०३.    आचार्य, बाबुराम, संस्कृति, वर्ष १, अंक १)
०४.    ओल्डफिल्ड, एच.ए.( १८८०), स्केचेज अफ नेपाल, लन्डन ।
०५.      करण, पी.पी. (१९६० ई.) नेपाल ः ए कल्चरल एन्ड फिजिकल जियोग्रामी, लेकिसङटन ।
०६.     कर्कपैट्रिक (१९११÷१९८६ ई.) एन एकाउन्ट अफ द किङडम अफ नेपाल, न्यू दिल्ली, ः एसियन पब्लिसिङ, सर्भिसेज ।
०७.    केतवि, राष्ट्रिय जनगणना, २०६८, काठमाडौँ ।
०८.    चटर्जी,  यस. के. (१९६५), रेस मुभमेन्टस एण्ठ प्रिहिस्टोरिक कल्चर्स, वैदिक एज, बम्बई, ।
०९.    तामाङ, परशुराम (२०५१ सं.) तामाङ जाति, काठमाडौँ ः ने.रा.प्र.पृ.÷
१०.    तामाङ, परशुराम (२०६२ सं.), तामाङ वंशावली, काठमाडौँ ः दुबतास्मृति गुठी ।
११.    तामाङ, परशुराम (२०६३ सं.), ताम्सालिङ, तामाङ स्वायत्त प्रदेश ः एक प्रस्ताव, काठमाडौं ः दुबता स्मृति गुठी ।
१२.    नेताघे (२०५४ सं.), स्मारिका–२०५४, काठमाडौँ ।
१३.    नेपाली, चित्तरञ्जन (२०६०), केही एैतिहासिक निबन्धहरू, काठमाडौंः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
१४.    पाण्डे, रामनिवास र दिेनेशराज रेग्मी (२०५४), नेपालको पौराणिक इतिहास, काठमाडौं ः नेपाल र एशियाली अनुसन्धान केन्द्र,     त्रिविवि ।
१५      म्याकडोनाल्ड, ए.डब्लू (१९८७ ई.), क्रियटिभ, डिसमेम्वरमेन्ट अमोङ द तामाङ एन्ड शेर्पा अफ नेपाल, एसेज अन द इथ्नोलोजी अफ नेपाल एन्ड साउथ एशिया, भोलम – २, काठमाडौ ः रत्न पुस्तक

भण्डार

१६.     मोरिस, सी. जे. ( १९३३÷८५ ई.), द गोर्खाज ः एन इथ्नोलोजी, देल्ही ः वी.आर.पी. कर्पोरेसन ।
१७.     रेग्मी, एम.सी. ( १९८८ ई.), ल्याण्ड टेन्युर एन्ड ट्येकसेसन ईन नेपाल, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
१८.    वंसिटार्ट, ई. (१९०६÷१९९१) द गोर्खाज, देल्ही ः एशियन एजुकेशनल सर्भिसेज ।
१९.     शर्मा, जनकलाल (२०३९ सं.), हाम्रो समाज ः एक अध्ययन, काठमाडौँ ः साझा प्रकाशन ।
२०.    हजसन, वी. एच. (१९७२ ई.), एसेज अन द ल्याङवेज, लिट्रेचर एन्ड रिलिजन अफ नेपाल एन्ड टिवेट, न्यू देल्ही ः मञ्जुश्री पब्लिसिङ हाउस ।
२१.    ह्यामिल्टन, एफ. बी. ( १८१९÷१९९०), एन अकाउन्ट अफ द किङडम अफ नेपाल, न्यू देल्ही, एसियन पब्लिसिङ हाउस ।

लेखक – परशुराम तामाङ,नेपाल कम्युनिस्ट पार्टीका नेता हुन् 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा... बाँकी यता

tamang online / October 30, 2018

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको... बाँकी यता

tamang online / October 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution