हेडलाईन

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय         मिस वर्ल्डमा श्रृंखला खतिवडाको बलियो दाबेदारी,लाइभ कसरी हेर्ने ?         मिस नेपाल श्रृंखला खतिवडाको बलियो दाबेदारी         मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…         मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?        

३७ वर्षपछि किन गाउँ फर्किए युवराज लामा तामाङ ?

भदौ १७, २०७५ – यो उखरमाउलो गर्मीमा हाफ गन्जी लगाएर युवराज लामा निजगढका चोकहरूमा कुदिरहेका छन् । कुनै मेकअप छैन, कुनै विशेष गेटअप छैन । तर उनको मुस्कान चाहिँ उही पुरानो छ । मुस्कानका लयहरूमा जुन चमत्कार छ, त्यो अझै जीवन्त छ । आफ्नै बाउबाजेले दुःख गरेर आर्ज्याको माटोमा फलेको सागसब्जी खाएर होला, उनको अनुहार ‘अर्ग्यानिक’ जस्तो रसिलो भएर बदलिएको छ ।

शुरूमा त लाग्छ, अरे यार, यो युवराज लामा निजगढमा किन बसिरहेछ ? यो मान्छे पागल भयो कि क्या हो ? तर शुरूमा लागेको कुरा नै अन्तिम सत्य हैन । बुझ्दै जाँदा यो कुराको अनुभूति हुन्छ कि यो देशमा हजारौं युवराज लामाहरू जन्मिनु आवश्यक छ जसले गाउँ सम्झेर फर्किन्छ अनि गाउँका लागि केही गर्छ । हरेक देशप्रेमीले आफ्नो गाउँलाई माया गर्छ । लेखेर राख्नुहोस्, गाउँलाई माया नगर्नेहरू देशलाई पनि माया गर्दैनन् ।

मीनबहादुर विष्टको निकै मन पर्ने एउटा कविताको शीर्षक छ, ‘साला पहाड में क्या है ?’ किनभने शहरियाहरूलाई लाग्छ, पहाडमा केही पनि हुन्न । पहाड सुन्दर हुँदैन । पहाडमा दुःख छ । पहाडमा ढाक्रे र पाखेहरू हुन्छन् । पहाड शहर जस्तो सम्पन्न हुँदैन । पहाड रमाइलो हुन्न । तर शहरियाहरूलाई यो कुरा थाहा हुँदैन कि पहाडमा झरना हुन्छ, पहाडमा लालीगुराँस हुन्छ, पहाडमा हिमालका चुचुराहरू हुन्छन् । अहो, झण्डै बिर्सेको, पहाडमा मृगशावकहरू पनि हुन्छन् ।

युवराज लामालाई कसैले खिसी गरेर सोधे कि सोधेनन् कुन्नि, ‘अरे यार, निजगढमा क्या है ?’ तर युवराजले निजगढका धेरै चीजहरूमा आफ्नो जीवनको नौलो सुन्दरता भेटाएका छन् । कम्तीमा ४० देश घुमिसकेका, देशका मै हुँ भन्ने माईकालालहरूसँग उठबस गरिसकेका, एकहिसाबले भन्ने हो भने राष्ट्रले ‘फिगर आउट’ गरेको व्यक्तित्व, शक्तिकेन्द्रले पत्याएको मनुष्य लामालाई व्यापार व्यवसाय पैसाको लागि त काठमाडांै काफी थियो । तर उनी ३७ वर्षपछि जन्मभूमि निजगढ फर्केका छन् । त्यसैले भन्न मन लाग्छ, निजगढमा ‘जरूर कुछ है’ ।

वास्तवमा हामी जन्मभूमिलाई चटक्कै बिर्सेर चार आना घडेरीमा खुम्चिएका छौं । गाउँको सयौं रोपनीमा तीतेपाती फुलाएर शहरका सेमिनारहरूमा कृषिक्रान्तिका भाषण गरिरहेका छौं । यति मात्र भएको भए त हुन्थ्यो, असार १५ को दहीचिउरा पनि फेसबूकमै मनाएका छौं । र फोटो खिच्न लागि खेतका आलीहरू खोज्दै हिँडेका हुन्छौं, केवल एक क्लिक फोटोका लागि । गाउँ फर्किने कुरा, जन्मभूमिमा फर्केर बस्ने कुरा लज्जाको विषय जस्तो बनेको छ । तर युवराज लामालाई लाज लागेको छैन । असल देशप्रेमीहरू यस्तै स्वभावका हुन्छन्, हेर्नुहोस् ।

को हुन् युवराज लामा ?

मिडियाहरूमा फलाना को हुन्, ढिस्काना को हुन् भन्ने शीर्षकमा तिनका चिनारीहरू आउने गर्छन् । मलाई यो शैली मन पर्दैन किनभने फलाना ढिस्काना को हुन्, को हैनन् भन्ने ठेक्का कसैको हँुदैन । जम्माजम्मी तिनको कर्मको चर्चा गर्ने हो, त्यसपछि तिनको गहन पहिचान गर्ने जिम्मा लोकवासीको हो । बहुप्रतिभाका धनी युवराज लामाको पेशालाई पगरी गुथाउन बडो मुश्किल छ । त्यसैले को हुन् युवराज लामा ? यो रहस्य पाठकहरूले आफैं पत्ता लगाउनेछन् ।

एउटा गम्भीर परिकल्पनाविना चित्रकारले मोनालिसा जस्तो चित्र बनाउन सक्दैन । मन्दिरका टुँडालहरूमा सेक्सका आसनहरूका जुन चित्र हुन्छन्, त्यहि हो गम्भीर परिकल्पना भनेको । काठमा सुन्दर बुट्टा भर्नका लागि पनि डकर्मीको दिमागमा सिर्जना जन्मिनु जरूरी हुन्छ । पंक्तिकारको विचारमा चलचित्रलाई गम्भीर किसिमको जीवन्त प्राण दिनका लागि एउटा निर्देशकको सोच पनि गम्भीर हुनुपर्दछ । डायनामिक निर्देशक हुन् युवराज लामा ।

युवराज लामाको नाम सुन्दै ग्ल्यामरस लाग्छ । ग्ल्यामरस कुराको उत्पादक थिए युवराज लामा । एक प्रोलिफिक चलचित्र निर्देशक जसले दर्जनौं कलाकारहरूको कलाकारितालाई चलचित्रको पर्दामा उतार्न आफ्नो जीवनका दशौं वैशाखहरू समर्पण गरे । समाजमा यथार्थहरू बोकेर, मानवजीवनका दैनिकीहरू बोकेर उपस्थित भएका कथावस्तुहरूमाथि निर्देशन गरिरहे । र अन्ततः आफूलाई अब्बल चलचित्र निर्देशकको रूपमा उभ्याए । तर उनले केवल चलचित्रको निर्देशन गरिरहेका थिएनन्, यो समाजका जीविकाहरूको निर्देशन गरिरहेका थिए ।

चलचित्रमा लामो समय काम गरेपछि युवराज लामाले आफूलाई राजनीतिक नेताको रूपमा समेत दरो गरी उभ्याए । खेलकुद क्षेत्रको आमूल परिवर्तनका लागि राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष भएर काम गरे । तत्कालीन एनेकपा माओवादीले उनलाई विश्वास गरेर नियुक्ति गर्‍यो । राष्ट्रिय खेलकुद परिषदमा उनले खेलकुद मात्र देखेनन्, राजनीति पनि देखे । त्यहाँ उनले देशको असली अनुहार देखे ।
आजभोलि युवराज लामा कुनै चलचित्रको निर्देशन गर्न व्यस्त छैनन् । खेलकुद क्षेत्रको उन्नति गर्न भनेर चारैतिर कुदिरहेका पनि छैनन् । काठमाडौंको सम्पूर्ण व्यापार व्यवसाय छोराहरूलाई जिम्मा लगाएर निजगढ फर्केका छन् । शुरूमै पनि भनियो उनी आफ्नो बाउबाजेको माटोमा ३७ वर्षपछि फर्किएका छन् । तर उनी निजगढमा खाली हात बेकामे भएर बसेका छैनन् । भाषण गरेर, दुनियाँलाई अर्ती उपदेश दिएर पनि समय बिताएका छैनन् । आफ्नै माटोमा पसिना बगाएका छन् ।

निजगढमा रहेको आफ्नै पुर्ख्यौली जमीनमा युवराज लामाले ‘तारा इन’ नामको होटल सञ्चालन गरेका छन् । यो पंक्तिकार घुम्दै फिर्दै निजगढ मात्र पुगेन, तारा इनमै पुग्यो । त्यहाँ पुग्दा युवराज लामा आफ्ना स्टाफहरूसँग काम गरिरहेका थिए । लाग्दैनथ्यो कि उनी कुनै सेलेब्रिटी निर्देशक, सफल लीडर हुन् भनेर । एकदमै साधारण, सरल अनि भद्र । देशको मायामा भौंतारिएको एउटा पागल जस्तो, जससँग महान् सपनाहरू बाहेक अरू थप आकांक्षा केही हुँदैन ।

युवराज लामा मेरा नजरमा दाइ हुन् किनकि दाइको भाष्यमा प्रेम हुन्छ, आत्मीय सम्मान पनि । दाइसँगको भेटलाई शब्दहरूमा उतारौं न भन्ने अभिप्राय मात्र हो किनभने युवराज लामा दाइ युवाहरूको लागि समेत रोलमोडल हो । मुस्कुराउन नजानेका युवाहरूले, देश र जन्मभूमिको याद गर्न नजानेका युवाहरूले, संघर्ष र उतारचढावदेखि हरेस खाने युवाहरूले युवराज दाइको जीवनलाई नियाल्न आवश्यक छ । तर यो कुनै दाइको बायोग्राफी लेखन हैन । विशाल महासागरमा सानो पत्थर हान्ने काम हो यो पंक्तिकारको । दाइसँगको मेरो संवाद छोटकरीमा ।

निजगढमा होटल खोल्नुभएको रहेछ हगि ?

मैले सोचें कि जन्मभूमिका लागि केही गर्नुपर्छ । यो निजगढ व्यापारिक हब हो । अर्को कुरा, पर्यटकहरू आउने जाने बाटो मात्र हैन, वास बस्न सक्ने, रमाइलो गर्न चाहने स्थान पनि हो निजगढ । त्यही पर त हो नि, बम्जनले तपस्या गरेर बसेको छ । उनलाई हेर्न पनि मानिसहरू आउँछन् । यहाँ धेरै चीज छ । फास्ट ट्य्राकको काम चालू छ । अरूले गरेको भए त खै के, आर्मीले जिम्मा लिएको भएर काम होला भन्ने छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चरणमा छ । यसको निम्ति हामीले पनि भूमिका खेल्नुपर्छ ।

तर निजगढमा एउटा गतिलो होटल भएन । यसको मतलब अरू गतिलो छैनन् भन्न खोजेको हैन । तर हामीले युगअनुसार विदेशी पर्यटकहरूलाई सेवा दिन सकेनौं भने हाम्रो नै बदनामी हुने हो । त्यसैले पैसाको लागि भन्दा पनि सेवाको लागि सामान्य श्रमशुल्क लिएर कम्तीमा पर्यटकहरूलाई खुशी दिन सक्छौं कि भन्ने लागेर यो सोच बनाएको हुँ । तर होटल अझै निर्माणको क्रममै छ । होटलमा स्विमिङ पुल, फूटसल कोर्टदेखि चलचित्र हल समेत हुनेछ । र यो होटल कुनै फाइभस्टार वा कुनै तारे होटल जस्तो नभएर सामान्यदेखि मध्ययम स्तरका स्वदेशी तथा विदेशी पर्यटकहरूको निम्ति निर्माण हुँदैछ ।

कत्तिको फाइदामा छ त ?

हाहाहा, मैले त शुरूमा सोचको थिएँ, कम्तीमा दुई वर्ष जति होटल चलाउनका लागि मैले आफ्नै रकम खर्च गर्छु भनेर । घरपायक भएका कर्मचारीहरू छन्, उनीहरूको भरणपोषण खल्तीबाटै गर्छ ु। बिस्तारै पिकअप हुँदै जाला भन्ने सोचेको थिएँ । तर ठीक उल्टो पो भयो । त्यो के भने होटल अझै निर्माणकै क्रममा छ । तर निर्माण भइसकेका रूमहरू बुक हुँदैछन् । साथीभाइहरू आउनुहुन्छ । विदेशी पर्यटकहरू पनि आउने गर्नुहुन्छ ।

तर यो होटललाई सिङ्गो प्लानिङमा लैजान बाँकी नै छ । म्यानेजमेन्टको टीम तयार भएको नै छैन । सबै कुरामा म स्वयं खटिरहेको छु । तर एउटा कुरा, म खटिनै रहनेछु । लगानी गरेर, आफू मस्ती गरेर, साहु बनेर बस्ने हैन । म आफैं खट्ने हो ।

तपार्इंका साथीभाइले, युवराज तँलाई मिस गर्‍यौं यार, काठमाडौं आइज भन्दैनन् ?

तपार्इंलाई एउटा पुरानो कुरा सुनाउँछु । तर यो साथीभाइविरोधी कुरा भने हैन । संस्मरणको कुरा मात्र । जब म चलचित्र क्षेत्रमा केही गरूँ भनेर निर्देशनको कामहरूमा हात हालेको थिएँ । थोरै बजेटमा धेरै चीज पस्किनुपर्ने नेपाली चलचित्रमा रिस्क नहुने कुरै भएन । फेरि हिन्दी चलचित्रको जगजगी भएको बेलामा नेपाली चलचित्रलाई नयाँ प्रारूप दिनु थियो।

यस्तो कठिन र चुनौतीपूर्ण अवस्थामा केही साथीहरूले ‘तँ के गर्छस् यार, विदेश आइज, यतै मस्ती छ, छोराछोरीलाई पनि नेपालमा किन राखेको, विदेश पठाउने काम गर, यतै ठीक छ’ भनेर सम्झाए । कतिले त पागल पनि भने । शायद मायाले भनेका होलान् त्यो चाहिँ । तर मैले आफ्ना सन्तानहरूलाई त्यही रूपमा ग्रूमिङ गरेर हुर्काएँ । नेपाल सुन्दर देश हो, जे छ सबै यहीँ छ भनेर सम्झाएँ र सिकाउने काम गरें । मैले पनि खुब संघर्ष गरें । छोराहरू पनि विदेश गएका छैनन् । यहीँ केही गरौं आफ्नो माटोमा भन्ने छाप उनीहरूमा पारें ।

विदेश गएको भए पैसा त कमाउन सकिन्थ्यो होला, साथीभाइको जस्तै शानदार लाइफस्टाइल बनाउन सकिन्थ्यो होला, तर आफ्नो पहिचान बन्ने थिएन । मानिसहरूले पैसा कति कमायो भन्ने हैन, पहिचान के बनायो भन्ने कुरा मुख्य हो । साथीभाइसँग फेसबूकबाट, ट्विटरबाट भेटघाट गरिरहेको हुन्छु । कहिलेकाहीँ काठमाडौं जाँदा भेटघाट गर्छु । मैले आफ्नो माटोमा पनि केही गरूँ भनेर फर्किएको हुँ । काठमाडौंले मलाई पहिचान दियो, माया दियो, सम्मान दियो, जीवनको दिशा दियो । तर निजगढले मलाई हातगोडा चाल्न सिकायो, हुर्कायो, बढायो ।

चलचित्रका कलाकारलाई जस्तै होटलका कर्मचारीहरूलाई निर्देशन दिन सजिलो छ ?

केही दिनपहिला एकजना पत्रकार भाइ आउनुभएको रहेछ । उहाँ होटलमा नै बसिरहनुभएको रहेछ । शायद साथीभाइसँग आउनुभएको होला । मलाई थाहा थिएन । तर उहाँले मैले होटलको ट्वाइलेट सफा गरेको देख्नुभएछ । त्यो मेरो कामभन्दा पनि संस्कार थियो । उहाँले त्यो कुरा कतै लेख्नुभएछ । भाइरल जस्तै भयो । अब बुझ्नुहोस्, म कामदारसँग कसरी काम गरिरहेको छु भनेर । मेरो मान्यता के हो भने अरूलाई काम लगाउन आफू पनि काम गर्नुपर्छ ।

हामीकहाँ काम नगरेर बसेर खाने मान्छे ठूलो ठान्ने संस्कार छ । सामन्ती संस्कार हो यो । म कहिल्यै पनि खाली बसिनँ । काम गरिरहें । मेरा लागि सबै काम बराबर हुन् । चलचित्रमा हुँदा पनि, राखेपमा हुँदा पनि, होटल व्यवसायमा हुँदा पनि सबै काम मेरा लागि केवल काम हुन् ।

बसाईं कस्तो छ त, निजगढमा ?

गजब छ । काठमाडौंमा भएको भए उद्घाटन, गोष्ठी, सेमिनार, छलफल, खादा, माला, शुभकामना । दैनिकी निकै दिकदार जस्तो हुनेथियो । कसैले खेलकुदविज्ञ भनेर बोलाउँछन् । कसैले चलचित्र विज्ञ भनेर बोलाउँछन् । त्यो स्वाभाविक पनि हो । तर मलाई के लाग्छ भने अनुत्पादक काममा भुल्नुहुँदैन ।

यो देशमा सबैथोक रणनीतिमा चलेको हुन्छ । समारोहमा भाषण गरेर के हुन्छ ? तपाईंलाई थाहा नै होला मेरो खुट्टा तान्न खोजिएकै हो । मलाई असफल बनाउने प्रयासहरू पनि भएकै हुन् । तर निजगढमा त्यो खिँचातानी छैन, त्यो कोलाहल पनि छैन । मलाई असफल बनाउने प्रयास कसैले गर्दैनन् ।

सेलेब्रिटी भएर त काठमाडौं बस्नुपर्ने हैन र ?

त्यो हाम्रो नकारात्मक सोच मात्र हो । काठमाडौंबाहिर पनि नेपाल छ । झन् सुन्दर छ । हाम्रा दाजुभाइ यो कुरा बुझ्दैनन् । काठमाडौंमा मेरो मासिक खर्च ५० हजार रुपैयाँ हुन्थ्यो । यो आउँछ, त्यो आउँछ, यसो भन्छ, त्यसो भन्छ । काम गरिदिएन भने रिसाउँछ, गाली गर्छ, झर्किन्छ । नेताकोमा जाउ, यो गर त्यो गर । तर निजगढमा आनन्द छ । ताजाताजा चीज खाँदा नि हाम्रो खर्च भनेको बढीमा १५ हजार हो । श्रीमती र मेरो खर्च त्यही हो ।

तर खर्चको कुरा गरेर म पैसावादी भएको हैन । त्यो अर्थ नलगाइयोस् । तर हामी नेपालीहरू लाइफस्टाइललाई कसरी गुजार्ने भन्ने मामिलामा अलिक कमजोर छौं ।

काठमाडौंका साथीभाइ र रमझमको याद आउँदैन त ?

फेसबूक, भाइबर छ नि सम्पर्क गर्न साथीभाइलाई । तपाईंलाई पनि ट्विटरमा देखिरहन्छु । निकै कडाकडा लेख्नुहुन्छ । अर्को कुरा निजगढमा साथीभाइ हुँदैनन् र ?

छोटकरीमा भन्दिनुहोस् न, तपार्इंको चलचित्र निर्देशनको करीयरलाई कसरी संस्मरण गर्नुहुन्छ ?

त्यो एउटा रमाइलो किस्सा थियो मेरो जीवनको । मैले जे गरें, उपलब्ध हुन सक्ने बजेटको प्रयोग गरेर दर्शकलाई धेरै चीज दिने प्रयास गरें । हामीकहाँ उपलब्ध प्रविधिको प्रयोग गरेर पनि हामीले राम्रै स्तरमा चलचित्र देखायौं भन्ने लाग्छ । त्यो जमानाको र यो जमानाको कुरामा खासै फरक त छैन कलाकारितामा । अनुहार मात्र फरक हुन् । तर प्रविधिले फड्को मारेको छ । त्यो स्वाभाविक पनि छ । भोलि नयाँनयाँ प्रविधि थपिन्छन् । हालका पुराना हुन्छन् ।

भनाइको मतलब हामीसँग जे जस्ता स्रोतसाधन थिए, तिनको प्रयोग गरेर हामीले सकेसम्म राम्रो काम गर्‍यो । राम्रो चलचित्र दिन सक्यौं भन्ने लाग्छ । पुराना चलचित्रहरूमा जीवन भर्ने काम त्यति सजिलो थिएन । तर म सन्तुष्ट छु मेरो कर्मसँग ।

राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष समेत हुनुभयो, कसरी संयोग जुर्‍यो ?

संयोग भन्दा पनि मेरो एउटा सपना थियो, खेलकुदको क्षेत्रमा केही गरूँ भन्ने । तर फगत सपना मात्र थिएनन्, मसँग सान्दर्भिक योजनाहरू पनि थिए । पक्कै पनि राखेपको अध्यक्ष हुने कुरा राजनीतिक नियुक्तिको विषय थियो । म कम्युनिस्ट विचारधारको मान्छे । आफनो लाइनका नेताहरूसँग कुराकानी भइरहन्थ्यो । मैले आफ्ना योजनाहरू प्रस्तुत गरें । तत्कालीन एनेकपा माओवादीको सरकार बन्यो । र मेरा योजनाहरूले साकार रूप पाए ।

तर म चाकडीको भरमा अध्यक्ष भएको हैन किनभने चाकडी गर्ने फुर्सद मसँग थिएन । केहि गरूँ भन्ने हुटहुटी थियो, त्यो हुटहुटी पूरा गरें । देशका लागि महत्त्वपूर्ण योगदान पनि गरें । धेरै सुधार गरें खेलकुदको क्षेत्रमा । स्कूल स्कूलमा खेलकुदका अभियान चलाएँ । आवेगमा खुट्टा काट्नेहरूले यो चलचित्रको मान्छे कसरी खेलकुदको काम गर्छ सम्म भन्न भ्याए । तर म डराइनँ । काम गरेर देखाएँ । अब खेलकुदको मान्छेले कसरी होटल चलाउँछ नि भन्लान् तर म चलाएर देखाउँछु ।

खेलकुदमा पनि राजनीति छ भन्छन् नि, सत्य कुरा बताइदिनुहोस् न ।

ठूलो राजनीति त खेलकुदमै छ । तर सबै कुरा भन्न मिल्दैन । खेलाडीमा पनि राजनीति छ । तर सबैभन्दा ठूलो कुरा राजनीतिभन्दा नि रणनीति छ । म राखेपको नेतृत्व गरेको धेरैलाई मन परेको थिएन । त्यो मलाई हेक्का थियो । कसरी हुन्छ मलाई बदनाम गर्ने, बर्खास्त गर्ने र खुट्टा टेक्नै नदिने प्रयासहरू भए । ती कोकोबाट भए म जान्दछु । तर सबै कुरा भनेर म हलुका बन्न चाहन्नँ । जे भयो, त्यो भयो । नेपालको रीतिथिति नै यस्तै होला ।

देशको राजनीतिक घटनाक्रमहरूसँग अपडेट हुनुहुन्छ होला, कस्तो लाग्दैछ ?

संविधान त बन्यो तर आदिवासी जनजातिलाई संविधानले समेट्यो जस्तो लाग्दैन । आफ्ना मान्छेहरू मात्रै भर्ना गर्ने काम भयो – सरकारमा होस् वा सरकारी कार्यालयमा । तर घुमाईफिराई चीज उही पुरानो नै हुने हो कि भन्ने लाग्छ । तर म राजनीतिक विश्लेषक हैन । म राजनीतिको विश्लेषण गर्न गइरहेको छैन । एक नागरिकको हैसियतले यो देशमा हुने दुःखले मलाई पीडा हुन्छ, सुखले खुशी दिन्छ । म नेपाली जनता खुशी भएको देख्न चाहन्छु ।

अबको सोच के छ त तपाईंको ?

अब यतै निजगढतिरै बस्ने हो, जन्मभूमिका लागि बाँकी जीवन समर्पण गर्ने हो । यो भूमिलाई कम्तीमा केही न केही योगदान गर्ने हो । जिन्दगीमा केही न केही त गर्न पर्‍यो नि ।

अन्तिममा दाजु, यो कुराकानी प्रकाशन पनि गर्नपर्ला है ?

के गर्नुपर्छ, कता कता ठोक्नुपर्छ, ठोक्नुस् ।

-दिलनिशानी मगर / लोकान्तर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution