हेडलाईन

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने         गौतमबुद्ध विमानस्थलको युद्धस्तरमा काम : आगामी जेठभित्र उडानयोग्य         दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद         हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ         इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने         ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो         बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा         आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै         यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन         तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न         शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?         राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?         पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा         राष्ट्रपतिज्यू, गणतन्त्रलाई यति विलासी नबनाइदिनुस्         केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने        

‘योगमाया’ लार्इ यस वर्षको मदन पुरस्कार प्रदान गर्ने निर्णय

काठमाडौं । निलम कार्की निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहितयकार बनेकी छन् । ०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि पारिजातको ‘शिरीषको फूल’ कृतिलाई विक्रम संवत् २०२२ मा मदन पुरष्कार प्रदान गरिएको थियो ।

पारिजातपछि मदन पुरष्कार पाउने महिला लेखक झमक घिमिरे हुन् । उनले वि.सं. २०६८ सालमा ‘जीवन काँडा कि फूल’ का लागि यो पुरष्कृत ठहरिएकी थिइन् । राधा पौडेलको पहिलो कृति ‘खलङ्गामा हमला’ का लागि मदन पुरष्कार पाएकी थिइन् । उनले वि.सं. २०७१ मा यो पुरष्कार पाएकी थिइन् ।

*****

– अक्षर काका

“तपाईंले ‘चीरहरण’मा उत्कृष्ट विषय उठान गर्नुभयो, अब तपाईंले अर्को ऐतिहासिक विषयको उत्खनन् गर्न सक्नुहुन्छ । योगमायामाथि न्याय गरेर उपन्यास लेख्नुस् !” ०७२ को भदौतिर हुनुपर्छ, दाहाल यज्ञनिधिले निलम कार्की निहारिकालाई भने ।

तिनताक यज्ञनिधि मृगौलाको प्रत्यारोपणपश्चात् घरमै आराम गरिरहेका थिए । विरलै हिँड्थे सार्वजनिक कार्यक्रममा । नेपाली वाङ्मयका शीर्ष व्यक्तित्व दाहाल यज्ञनिधिले यसो भन्दा निलमका हृदयका गह्रा रसाए ।

त्यतिबेला उनको मथिंगलमा कविताका टुसा अङ्कुरण भएका थिए । केही कथाका खोरिया खोस्रने तयारी पनि गरेकी थिइन् । ‘चीरहरण’को प्रस्फुटनपछि एकखालको रिक्तता पनि थियो ।

त्यतिबेला यज्ञनिधिले ‘योगमाया’ लेख्न सुझाएका मात्रै थिएनन्, ‘तिमीले सक्छ्यौ’ भनेर हौसलाको भारीसमेत बोकाएका थिए ।

त्यसो त इतिहास–महिला योगमायाका बारेमा निलमले नपढेकी थिइनन् । सती, दासप्रथाको विरोध गर्ने साहसिली महिलाको भीमकाय विम्ब उनको मथिंगलमा डेरा जमाएर बसेको थियो । १९२० को दशक, जतिबेला महिलाको घरबाहिर संसारको कल्पनासमेत सम्भव थिएन । दैलो–मझेरी, चुल्हा–चौकामा तिनका रहर पोखिएका थिए । ढिकी, जाँतो र अर्पपर्ममा सीमित थिए तिनका सपना ।

आमाको दूध चुस्दाचुस्दै जन्मघर छाड्नुपर्ने, घर–माइत गर्नुपर्ने अभिशप्त नियति तिनले बपौतीमा पाएका थिए । ध्रुवतारा नउदाउँदै ब्युँझनुपर्ने र तीन घडी रात छँदै दैलो खोलेर बिहान डाक्नुपर्ने टिठलाग्दो बाध्यताको भुमरीमा थिए उनीहरू ।

समाजमा स्त्रीजातिले अमानुषिक जीवन व्यतीत गरिरहेका बेला विद्रोहको दियालो जगाउने ऐतिहासिक नारीपात्रको ओझेल परेको इतिहास यज्ञनिधिले पुनः प्रकाशवान तुल्याउन अह्राए । र, त्यसैको खोजिनिती गरेर औपन्यासिक चरित्र दिन लागिपरिन् निलम ।

‘योगमाया’ फगत उन्यास लेखन थिएन, इतिहासको पुनर्लेखन पनि थियो । र, त उनले कष्टसाध्य नीलकाँडाका झ्याङ् फाँडिन् । घनघस्याको उकालो चढिन् । भग्नप्रायः अरूण किनारका, समाधीस्थ अवशेष उत्खनन् गरिन् ।

यज्ञनिधिले उनलाई जीवनपरक भन्दा पनि छुवाछुतमाथि उपन्यास लेख्न सुझाएका थिए । तर, उनले योगमायाको समग्रताको चित्रण गर्ने कोसिस गरिन् ।

० ० ०

योगमायाबारे लेख्ने निधो भइसकेपछि उनले बजार चहारिन् र अभिलेख सङ्कलन गरिन् । अनुसन्धनात्मक रूपमा निस्किएका केही कृति पाइन् पनि । त्यसमध्ये धेरै इतिहासका थिए । १९८० यताका सामाजिक परिवेशमाथि लेखिएका विभिन्न पुस्तक मिहीन ढंगले अध्ययन गरिन्, नेपालबाट अमेरिका फर्किएपछि ।

गोविन्दमानसिंह कार्की, डा. मातृका तिमल्सिनाको किताब उपयोगी बने । त्यसबाहेक उनले योगमायाका बारेमा फुटकर रचना लेखेका थिए, तिनलाई पनि औपन्यासिक चरित्र निर्माणको अवयव बनाइन् उनले ।

बीचमा नेपाल फर्किएर भोजपुरको दिङ्ला पुगिन् र योगमायाको शाखा–सन्तानसँगसमेत कुराकानी गरिन् । योगमायाकै बारेमा काम गरेका लेखनाथ सापकोटा, उत्तम पन्थी, पवन आलम र योगमायाकै परिवारका सदस्य दीपेश न्यौपानेसमेतसँग कुराकानी गरेर कथाक्रम तयार पारिन् ।

यसले पनि उपन्यासलाई पूर्णतातिर समाहार गराएको हो ।

योगमाया बालविधवा थिइनन्

१९२० को दशक, जतिबेला योगमाया जन्मिइन्, बालखैमा आँगन कटाउने चलन नौलो थिएन । योगमाया पनि बालखैमा विवाह गर्न अभिशप्त थिइन् । केही इतिहासकारहरूले उनका पतिको बालखैमा निधन भएको लेखेका छन् ।

तर, ज्ञानमणि नेपालकृत ‘नेपाल निरूपण’मा चाहिँ ‘श्रीमानको चुटाइ खाएर घर खान नसकेकी महिला’को रूपमा उल्लेख गरिएको छ ।

इतिहास अन्वेषक मातृका तिमल्सिनाका अघिल्ला संग्रहमा पनि योगमाया बाल विधवा नै रहेको उल्लेख छ । तथापि पछिल्ला कृतिहरूमा भने उनले आफ्नै अनुसन्धानमाथि परिमार्जन गरेर ‘योगमाया बालविधवा थिइनन्, योगमायाले त्याग गरिसकेपछि श्रीमानले पुनः विवाह गरेर त्यसबाट जायजन्मसमेत भएको’ भन्ने तथ्य उजागर गरेका छन् ।

यी परस्पर विरोधी तथ्यले मात्रै योगमाया बालविधवा नरहेको पुष्ट्याइँ भएन । योगमायाबारे एक किसिमको शिक्षाबाट अनुगृहीत निलम बाझिएका तथ्य उधिन्दाउधिन्दा हायलकायल नै भइन् । र, खाँदबारी बस्ने तिनै मातृकासँग सम्पर्क बढाइन् ।

तथ्यपरक इतिहास पटक–पटकको उत्खनन्, खोज र अन्वेषणबाट मात्रै निर्माण हुन्छ । नभन्दै मातृकाले विभिन्न समयमा गरेका खोज र अध्ययनका आधारमा पछिल्लो पटक निष्कर्ष निकालेका रहेछन्– ‘योगमाया बालविधवा थिइनन् ।’

योगमायालाई बिहे गरेर दिएको ठाउँका स्थानीय, बुद्धिजीवीसँग कुराकानी गर्दा पनि पत्ता लाग्यो, उनी बालविधवा थिइनन् । उनका श्रीमानले पछि खड्का र सुवेदी थरका दुई स्त्री भित्र्याएको उनकै पिता–पुर्खाले बताए ।

योगमायाकै बारेमा अन्वेषण गर्दा बाझिएको अर्को विषय थियो– श्रीमानको नाम । केही इतिहासकारहरूले उनका श्रीमान् मनोरथ कोइराला हुन् भनी किटान गरेका थिए । तर, केही इतिहासकारले ईश्वर पाध्याय हुन् भनेका थिए । यो विषयले पनि निलमको मथिङ्गल हुँडल्यो । यो विषयलाई पनि उनले किनारा लगाइन्, योगमायाका श्रीमान् मनोरथ होइनन्, ईश्वर पाध्याय नै हुन् ।

तत्कालीन समयमा योगमाया विवाह गरेर धोद्ले खानी गएको बुझिन्छ । अहिले त्यहाँ खतिवडाहरूको बसोबास स्थल छ । केही मगरहरू पनि छन् त्यहाँ । एकाध कोइराला पनि छन् । योगमायाको विवाह भएको समयमा त्यस ठाउँमा दुई घर कोइरालाहरू थिए ।

“तत्कालीन समयमा उनको घरभित्र र बाहिर बोलाउने नाम फरक भएको पनि हुन सक्छ भन्ने संशय अध्येताहरूलाई छ,” निलम भन्छिन् ।

किन असफल भयो पहिलो विवाह

७–८ वर्षकै उमेरमा विवाह भएकी योगमायाको घरमाइती ज्यादै टाढा थियो । झन्डै दुई दिनको बाटो । बास बस्दै पुग्नुपर्ने । बिहेलगत्तै दुई–चार वर्ष मैतालु बस्ने प्रचलन थियो । तर, योगमायालाई त्यसो पनि गरिएन ।

सासुको बुहार्तन् । ठूलो जहानघर । घर खान कष्टसाध्य भएपछि उनी १२ वर्षकै उमेरमा भागेर माइती आएको बताउँछिन् निलम ।

स्थलगत अध्ययनका लागि योगमायाको पहिलो घर पुग्दा ईश्वर पाध्यायका शाखा–सन्तान भेटिए । निलमलाई तिनले अनुनय गरे, “इतिहासकारहरूले योगमायालाई नायक चित्रण गर्ने क्रममा हाम्रा जिजुबाजेहरूलाई खलपात्रका रूपमा उभ्याइएको छ । हाम्रा बाजेबराजुले खान नदिएको हामीले पाएका छैनौँ । बरु योगमाया आफैँलाई घर खान गाह्रो भएको हो ।”

तर, इतिहासकारहरूले योगमायालाई चित्रे गोठमा सुताउने, खुर्सानीको धूलो अँगेनामा हालेर खार लगाइदिने, खान नदिनेलगायत अमानुषिक यातना दिएका थिए भनेर उल्लेख गरेका छन् । त्यसलाई काट्ने ठाउँ भेट्दिनन् निलम पनि ।

दमन, उत्पीडन, आँधीतुफानकी विम्ब योगमायाले पहिलो विवाहमा ढुंगा लागिसकेपछि दोस्रो बाटो रोजिन् । काँडाको बाटो थियो त्यो । तत्कालीन समाज व्यवस्थासँग दुस्मनी मोल्न त्यहीँबाट सुरू गरेकी हुन् उनले ।

० ० ०

योगमाया लेखपढ गर्न जान्दिनथिन् । प्रेमनारायण चेलामार्फत उनले थुप्रै सिर्जना लेखाएकी थिइन् । गाएकी थिइन् । र, तत्कालीन राज्यसत्ताको दरबार–खोपीमा खल्लीबल्ली मच्चाएकी थिइन् ।

तिनताका प्रेमनारायण पण्डित्याइँ गर्थे र नाताले योगमायाको भाइबुहारीको भाइ पर्थे ।

योगमायाले गायकीको प्रभाव उनकी छोरी नैनकलामा समेत परेको थियो । आमा नैनकलाले गाएका गीतहरू उनलाई कण्ठस्थै थिए ।

योगमाया नारी वेदनाका आदिम आयाम हुन् । उनका सिर्जनामा तिनै सुस्केरा भेटिन्छन् । उनमा आध्यामिक चेतको विकास भने आसाम बस्दादेखि सुरू भएको छ ।

“आसाममा योगमायाले सामान्य गृहिणीका रूपमा जीवन व्यतीत गरिन् । त्यसबेला त्यहाँ श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञादी कार्य हुन्थ्यो र त्यसैको प्रभाव उनीमा देखिन्छ,” निलमले अध्ययनका केस्रा केलाइन्, “उहाँलाई जे सिकायो, जीवनले नै सिकायो । त्यसमा मलजल हाल्ने काम जप र तपले गर्‍यो ।”

योगमाया विक्रम् सम्वत् १९७३ मा असामबाट फर्किएकी हुन् । त्यसपछि उनी सीधै स्वर्गद्वारी आश्रम पुगिन् र ब्रह्मचर्या पालना गर्न थालिन् । साधनामार्फत तत्वज्ञान खुलाउन लागिन् । अध्यात्ममा लीन भइन् । स्वर्गद्वारीमा दीक्षित भइसकेपछि उनी केही समय बद्री, केदारलगायत भारतको उत्तराखण्ड तीर्थाटनमा समेत गएको अभिलेख भेटिन्छ । उत्तराखण्डबाट फर्किएपछि लामो योग–साधना गरिन् र आफूलाई भक्तिमार्गमा समाहित गरिन् उनले ।

कर्मयोग उनको विधा थियो । असल कर्मद्वारा समाज सुधारको सूत्रपात गर्न कर्मयोगबाटै अभिभूत भएकी हुन् भन्दा हुन्छ । छुवाछुत, सती प्रथा, मानापाथी आदि जति पनि त्यसबेलाका रूढ संस्कारविरुद्ध उनका अभियान थिए, कर्मयोगकै उपज हुन् ।

विद्रोही चेतको विकास

योगमाया त्यतिबेला विद्रोहको पर्याय थिइन् । जतिबेला उनले पहिलो गृहस्थी त्याग गरिन्, त्यतिबेला उनी जम्मा १२ वर्षकी मात्रै थिइन्, रजोधर्मसमेत नभएकी । घरबाट माइत फर्किन तीन दिन लागेथ्यो उनलाई । बाटामा बास बस्ने ठाउँ त परै जाओस्, टाउको लुकाउने ओढारसमेत थिएनन्, रूखको टुप्पामा चढेर रात कटाएकी थिइन् । श्रीमान् दिवंगत नहुँदै उनले पुनः विवाह गरेर आँट साहसको जबर्जस्त उपमा बोकेकी थिइन् ।

योगमायाले नगरेका कामको चर्चा

इतिहासमा योगमायालाई सती प्रथा उन्मूलनको मानक मानिन्छ । सती प्रथा उन्मूलनका लागि सतीसालझैँ खडा भएकी समेत भनिन्छ । तर, यी अनावश्यक चर्चा हुन् भन्छिन् निलम ।

सतीप्रथाको उन्मूलन विक्रम् १९७७ मा भयो । योगमाया नेपाल आएको जम्मा ४ वर्षमै सती प्रथा उन्मूलन भइसकेको थियो । योगमाया आसामबाट १९७३ मा नेपाल आएकी हुन् ।

योगमायाका अनुयायी, भक्तहरू चन्द्र शमशेरकहाँ सामाजिक सुधारको माग राखेर ‘डेलिगेसन’ आउँदा नेपालमा सतीप्रथामात्रै होइन, दासप्रथासमेत उन्मूलन भइसकेको थियो । उनका अनुयायीहरू चन्द्र शमशेरलाई भेट्न १९८४ तिर काठमाडौँ आएका हुन् ।

“सतीप्रथाबारे योगमायाले धेरै ठाउँमा विरोध गरेको भेटिन्छ तर उनकै कारण सतीप्रथा उन्मूलन भयो भनेर चित्रण गर्नु सर्वथा अनुचित हुन्छ,” निलम दाबी गर्छिन् ।

सुधारका विभिन्न शृंखला पार गर्दै उन्मूलन भएको हो सतीप्रथा । योगमायाले अभियान सुरू गर्दा नेपालमा अधिकारीहरूको अनुमतिबिना सती पठाउन पाइँदैनथ्यो । विक्रम सम्वत् १९७३ भन्दा पछाडि नेपालमा कोही सती गएको तथ्य भेटिँदैन । १९७३ मा दिङ्लाकी न्यौपाने थरकी स्त्री सती गएको तथ्यबाहेक कुनै अभिलेख छैन ।

अग्नि समाधी

समाजसुधारका विभिन्न माग लिएर पहिलोपल्ट काठमाडौं आउँदा योगमायाका अनुयायीहरूले चन्द्र शमशेरसँग भेट गर्न पाएनन् । त्यत्तिकै बिते चन्द्र शमशेर । उनको निधनपश्चात् भीम शमशेरसँग योगमायाका अनुयायीले भेटको प्रबन्ध मिलाए तर उनीसँग समेत राम्रो कुराकानी हुन पाएन । भीम शमशेरको पनि त्यत्तिकैमा देहावसान भयो ।

जुद्ध शमशेरको पालामा योगमायाले तेस्रोपटक अनुयायी पठाइन् । जुद्ध शमशेरका प्रतिनिधिसँग छलफल पनि भयो । त्यतिबेला योगमायाको माग थियो– धर्मराज्यको स्थापना । जुद्ध शमशेरले फूलको थुङ्गा दिएर वचनको परिपालना गर्ने प्रतिबद्धता गरेका थिए उतिबेला ।

फूलको थुङ्गा धर्मभीक्षा पाइसकेपछि समाजले कोल्टे फेर्ने अपेक्षा थियो योगमायाको । तर, कल, बल र छलका ओस्ताज राणाहरूले अबला ‘भिक्षुणी’सँगको वचनको परिपालना के गर्थे ! लत्याए ।

राणाहरू वचनप्रति इमान्दार नदेखिएपछि चौथोपटक केही अनुयायी लिएर आफैँ काठमाडौँ आइन् र पाशुपतिसन्निकटको बज्रघरमा धर्ना बसिन् । जुद्ध शमशेरसँगै वर्ता भयो र राणाले वचन पालना गर्ने पुनः कबुल गरे । यो १९९३ सालको कुरा हो ।

तर, १९९५ सालसम्म पनि कुनै माग पूरा नभएपछि ‘अधर्मी राज्यमा बसेर मोक्ष प्राप्ति हुँदैन’ भनेर योगमायासहित २४० जना अनुयायीले अग्नि दाहको तयारी गरे । कात्तिकको महिना थियो । भोजपुरको अरूण र इखुवाको दोभानको किनारमा अग्निकुण्ड तयार पारी एकैपटक हाम फाल्ने तयारी गरेका थिए उनीहरूले ।

जासुसीमार्फत राणाहरूले थाहा पाइहाले । यज्ञमात्रै बिथोलिएन, योगमाया नजरबन्दमा राखिइन् । भोजपुरको राधाकृष्ण पाटीमा राखिएकी हुन् उनी । अनुयायीहरू तीन महिना जेल परे ।

‘सन्तमहन्त भए पनि नेल ठोक्नू !’ भनेर हुकुम थियो तर पक्राउ परेका कसैलाई पनि नेल ठोकिएन । “जुद्ध शमशेरमा धर्मको भय भएकाले जेल परेकालाई यातना नदिइएको हुन सक्छ,” निलम लख काट्छिन् ।

समाजमा न बाँच्न सक्ने अवस्था छ, न मर्न सजिलरी पाइन्छ । केही सीप नचलेपछि योगमायासहितका ६८ अनुयायीले १९९८ साल असारमा अरूणमा जलसमाधी लिए । अत्यन्त गोप्त तरिकाले जलसमाधीको योजना बुनेका हुँदा २४० मध्ये ६८ मात्रै तयार भए । सुरूमा ६६ जना, त्यही दिउँसो नन्दकुमारी न्यौपाने र त्यसको तीन दिनपछि काइँली कमिनीसमेत गरी ६८ जना समाधिस्थ भएका हुन् ।

योगमाया एक्लै पानीमा लिन भएको भए आत्महत्या हुन्थ्यो, नायकको अवशान हुन्थ्यो, शायद । तर, ६७ जनाले सामूहिक रूपमा जीवन उत्सर्ग गर्ने आँट गरेकैले योगमाया वास्तविक रूपमा योगमाया बन्न सकेकी हुन् । यी जम्मै पात्रहरूलाई कहीँ न कहीँ समाविष्ट गर्नुपर्ने भएकाले उपन्यासमा चरित्रको जुलुस बनेको छ भन्छिन् निलम ।

के जोस्मणि सन्त परम्परासँग नजिक थिइन् योगमाया ?

इतिहास अन्वेषणकै उपज हो । केही इतिहासकारहरूको मतैक्य छ– योगमाया जोस्मणि सन्त परम्परासँग नजिक थिइन् । ती संस्कारसँग अनुगृहीत थिइन् उनी । जनकलाल शर्माकृत कृतिमा योगमायालाई जोस्मणि सन्त परम्पराकै ‘शक्तिमाई’ भनेर चित्रित गरिएको छ ।

तर, निहारिकाको उपन्यासले प्रश्न खडा गरको छ, योगमाया जोस्मणि सन्त परम्परासँग निकट थिइनन् । साधनाको पूर्वाद्र्धमा केही नजिक देखिए पनि बीचमा त्यसबाट बाहिर आइसकेकी थिइन् उनी । योगमायाले आफ्नै बलबुतामा योग–ध्यान गरेर समाज सुधारको अगुवाइ गरेकी थिइन् ।

स्वर्गद्वारीमा बालतपश्वी अभयानन्दको सान्निध्यमा दीक्षित भएकी हुन् उनी । तथापि उनी जोस्मणि थिइनन् भन्ने कुराको पुष्ट्याइँ उपन्यासले गर्न खोजेको छ ।

योगमायाका अनुयायी

रत्नमान बस्नेत योगमायाका अनुयायी थिए । जग्गा–जमिन, आयस्था प्रशस्तै थियो र उस्तै दयालु पनि थिए । गाउँठाउँका दीन–दुःखी भोकै भएको थाहा पाए भने आफ्नो ढुकुटी नै खोलेर अन्नादि चिजहरू लैजाओ भन्थे । मानापच्चिसा, दिँदा सानो पाथीले दिने, लिँदा ठूलो पाथीले भरेर लिने, त्यसको कट्टर विरोधी थिए उनी ।

अनावृष्टिताका भोकमरी पैदा हुँदा उनले गावैँलाई अन्न बाँडेपछि आफैँलाई खान संकट हुँदा बारीका दूधे मकै कोपर्नुपरेको किस्सासमेत छन् उनका ।

ती अनुयायी जेल परे र निकै बिरामी भए । जेलभित्र निको हुने चाल पाएपछि अधिकारीहरूले बाहिर पाटीमा ल्याएर राखिदिएछन् । त्यहीँ चोला उठ्यो तिनको ।

रत्नमानका अाठ सन्तान थिए, ४ छोरी र ४ छोरा । रत्नमानले पाटीमै चोला बिसाएपछि श्रीमती मनमाय बस्नेतले चारवटी छोरीलाई लिएर अरूणमा जलसमाधी लिइन् । काखका दूधे–छोरालाई चाहिँ उनले घरमै छाडिछन् ।

जलसमाधिमा जानुपूर्व ती काखे बालकका लागि मनमायाले अँगेनामा रोटी पकाएर दैलो मझेरीतिर छरिदिएकी थिइन्– उठेपछि छोराले रोटी भेट्टाओस् र भोक मेटाओस् भनेर ।

यसरी बालखैमा बाबुआमा गुमाउने टुहुरो हरिबहादुर बस्नेत जीवित छन् र विराटनगरमा बस्छन् । योगमायाको जीवन खोजबिन गर्ने क्रममा निलमले हरिबहादुरलाई पनि भेटिन्, केही तथ्य उत्खनन् गरिन् ।

“हाम्रो घरबाट अरूण नदी पुग्न डेढ घण्टाको ओरालो झर्नुपर्छ । बिहानै हिँड्नुपर्ने हुनाले आमाले त्यस दिन जुरुक्क उठेर चोठाकोठा सबैतिर बत्ती बाल्नुभएछ, घर बढारकुँडार गर्नुभएछ र रोटी पकाएर मझेरी, पिँढी सबैतिर राखिदिनुभएछ,” बस्नेतले विह्वल भएर सुनाएका कुरा हुन् यी ।

सँगै जलसमाधी लिएका चारमध्ये दुईजनाको विवाह भइसकेको थियो । छोराले पो गरेर खान सक्छ, यी छोरीहरूको के बिजोग होला भन्ने सोचेर आफूसँगै पानीमा लीन गराइछन् मनमायाले ।

(सांग्रिला बुक्सले प्रकाशन गरेको निलम कार्की निहारिकाकृत ‘योगमाया’ लार्इ यस वर्षको मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।)

*****

‘योगमाया– इतिहासको विघटन’

काठमाडौं । नीलम कार्की निहारिकाकृत ‘योगमाया’ इतिहास र मिथकीय विघटन भएको वक्ताहरूले औँल्याएका छन् । वि.सं. १९८० को दशकमा सामाजिक सुधारको छवि बनाएकी इतिहास–पात्र योगमाया न्यौपानेको जीवनवृतान्तमा आधारित उपन्यास ‘योगमाया’ विमोचनमा वक्ताहरूको त्यस्तो धारणा आएको हो ।

योगमाया उपन्यासमाथि समालोचकीय धारणा राख्दै प्राध्यापक कृष्ण गौतमले योगमाया ‘फ्याक्ट र फिक्सन’को अन्तरघुलन भएको टिप्पणी गरे । २०७० को पद्मश्री पुरस्कार विजेता लेखकको अघिल्लो उपन्यास ‘चीरहरण’लाई ‘स्त्रीलिङ्गी महाभारत’को उपमा थमाएका गौतमले योगमाया ‘सिंगो अरूणको भेल’ भएको टिप्पणी गरे ।

योगमाया मानवतावादी आन्दोलनको युगीन प्रवोध भएको बताउँदै पितृसत्ता–सुधारको इतिहास–चेत भएको उनले औँल्याए । “आजसम्म महिलाको इतिहास कमै लेखिएको थियो, यो महिलाको इतिहासको विच्छेद पनि हो,” उनको तर्क थियो । त्यस्तै उनले योगमाया महाख्यान भएको बताए ।

उपन्यासमाथि बोल्दै डा. सावित्री कक्षपतीले योगमाया विसंरचनावादी धारमा बगेको बताइन् । “योगमायामा लेखकले आफ्नो शैली निर्माण गर्न लागिपरेको देखिन्छ,” कृतिमाथि उनको टिप्पणी थियो, “उपन्यासले विगतको क्रान्तिको मियो समातेर यथार्थको बोध गराउँछ ।” उपन्यासको महत्ता चित्रण गर्दै उनले ‘योगमाया’ आँखी झ्यालमात्रै नभएर कौसीमै गएर हेर्ने सुविधा दिएकोसमेत बताइन् ।

त्यस्तै सन् १९८० को दशकमा योगमायाबारे अध्ययन, अनुसन्धान गर्ने अमेरिकी अनुसन्धानकर्मी बारबारा अजिजले योगमाया अध्ययनमा धेरै इँट्टा थपिएको बताइन् । उपन्यास विमोचनकै लागि नेपाल आएकी अजिजले लगनशील लेखिकाले इतिहासको गहिराइमा गएर खोज गरेको भन्दै उपन्यास जीवन्त रहेको विश्वास व्यक्त गरिन् ।

उपन्यासकारी कार्कीले उपन्यासका पात्रहरू ९९ प्रतिशत सही भएको बताउँदै पुस्तकले योगमायाबारे धेरै कुरा छर्लङ्ग पारेको धारणा राखिन् । उपन्यासले योगमायामाथि विगतमा गरिएको केही खोज, अन्वेषणमाथि तथ्यपरक प्रश्न उठाएको र केही प्रश्नको निरूपणसमेत गरेको बताइएको थियो ।

उपन्यासकारकी माता मीनाकुमारी केसी र अजिजद्वारा लोकार्पित कृति ‘योगमाया’लाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

पुस्तक वि.सं १९२३ मा भोजपुरको नेपाले डाँडामा जन्मिएकी योगमाया न्यौपानेको जीवनमा आधारित कृति हो । न्यौपानेले विसं. १९९८ असार २२ गते शनिबार आफ्ना ६८ जना अनुयायीलाई लिएर जलसमाधि लिएकी थिइन् ।

योगमाया बाल विधवा थिइनन् !

काठमाडौं । आज हरिशयनी एकादशी । भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो भन्ने धार्मिक किंवदन्ती पनि छ ।

नेपाली इतिहासमा आज अर्को विशिष्ट दिन पनि हो । विसं. १९९८ सालमा योगमायालगायत ६८ जनाले अरुण नदीमा जल समाधि लिएको दिन हो आज ।

भोजपुरको सिम्लेमा जन्मिएकी योगमाया बाँचुन्जेल समाजका विकृति, विसंगती चिर्न उद्यत रहिन् । तत्कालीन समाजका नारीको दुदर्शाविरुद्ध आगो ओकलिन् उनले ।

सावाँ अक्षर नचिनाइएकी योगमाया फरर्र कविता भन्न सक्थिन् । योगमाया आज पर्यन्त नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक बनेकी छन् ।

धार्मिक मिथमा आधारित उपन्यास ‘चीरहरण’ लेखेकी नीलम कार्की निहारिका उनै योगमायामा आधारित भएर ‘ठूली हजुर’ उपन्यास लिएर आउँदै छिन् । योगमायाले तपस्या गरेको, समाधी लिएको, बसेको ठाउँ समेत पुगेकी कार्कीले उपन्यासमा उनी बाल विधवा नरहेको तथ्य उजागर गरेको बताएकी छन् ।

अनुसन्धानमा योगमाया सात वर्षको उमेरमा विवाह भएको र नौ वर्षको उमेरमा विधवा भएको बताइए पनि वास्तविकता त्यस्तो नपाइएको उनको दाबी छ । भन्छिन्, “ योगमाया बाल विधवा नभइ उनका पति ईश्वर पाध्य कोइरालाले योगमायासँग विवाह भइसकेपछि पनि सुवेदी र खत्री थरका दुई महिलासँग विवाह गरेको अनुसन्धानबाट देखिएको छ ।”

त्यस्तै उनले योगमाया र ईश्वर पाध्यको ६ महिनाको अन्तरमा मृत्यु भएको कुरा स्थलगत अध्यनबाट पुस्टि भएको बताएकी छन ।

योगमायाको जन्म थलो सिम्ले, विवाह भएको धोद्ले, उनलाई बन्दी बनाइएको दिङ्लाको राधाकृष्ण मन्दिर र अग्नी समाधी लिन लागिएको स्थल, जल समाधि लिएको अरुण नदी किनारबारे अध्ययन गरिएको उनको भनाइ छ ।

“योगमायाका बारेमा थुप्रै गुह्य खोतल्ने प्रयत्न गरिएको छ,” उनले भनिन् । लोकान्तरबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा... बाँकी यता

tamang online / October 30, 2018

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको... बाँकी यता

tamang online / October 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution