हेडलाईन

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने         गौतमबुद्ध विमानस्थलको युद्धस्तरमा काम : आगामी जेठभित्र उडानयोग्य         दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद         हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ         इजरायलमा तामाङ सोनाम ल्होछार २८५५ फाग/ ड्वा ल्हो भव्यताको साथ मनाउने         ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो         बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा         आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै         यसरी गरौ – तामाङ भाषामा ल्हो गन्ती / गणन         तामाङ साँस्कृतिक लोकवार्ता सम्पन्न         शान्ति प्रक्रियामा प्रचण्ड नायक कि खलनायक ?         राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?         पुरुषहरु सम्बन्ध विच्छेदका मुद्दा लिए देशभरका अदालतमा         राष्ट्रपतिज्यू, गणतन्त्रलाई यति विलासी नबनाइदिनुस्         केरुङ–काठमाडौं रेलमार्गः चिनियाँ टोली अर्को महिना नेपाल आउने        

तामाङ आधुनिक कविता प्रकृति र प्रवृत्ति

कुमार यात्रु 

तामाङ आधुनिक कविताको फांटमा प्रवेश गर्नुअगाडि ‘आधुनिक’ शब्दको छिनोफानो गरिनु जरुरी छ । मूलधारको भनिएको नेपाली (खस) साहित्यको सन्दर्भमा नै ‘आधुनिक’ शब्दको सर्वमान्य व्याख्याको अभाव भइरहेको बेला तामाङ आधुनिक कविताको खोजी जटिल विषय हो । वास्तवमा, विश्वव्यापी रूपमा नै समीक्षकहरू आधुनिकताको सवालमा विरोधाभासपूर्ण धरातलमा यात्रारत छन् ।

नेपाली (खस) साहित्यको सन्दर्भमा विक्रम संवत् २०१६/१७ सालतिरबाट मात्र आधुनिकताको चर्चा हुन थालेको हो । विशेष गरेर रूपरेखाको प्रकाशनपछि नै नेपाली (खस) साहित्यमा आधुनिकताका विषयमा बहस भएका हुन् । रूपरेखामा विजय मल्लले ‘आधुनिक शब्दले आजको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक आदि पृष्ठभूमिमा लेखिएको आजको कवितालाई जनँउंछ’ भनेका छन् । कवि मोहन कोइरालाको धारणा पनि मल्लको शब्दस“गै मिल्छ । तर, इश्वर बरालले ‘आधुनिकता प्रदर्शन तथा प्रचारको विरोधी हो’ भनेका छन् अर्का चिन्तक चूडामणि बन्धुले ‘आधुनिकता विद्रोह, सारहीनता र अनेकौं भावहरूको सन्धि हो’ भन्ने धारणा राखेका छन् ।

नेपाली साहित्यमा हक्की समालोचक भनेर चिनिने डा. ताना शर्मा, आधुनिक कविताको वि द्रोही र उपयुक्त सुधारवादी र मानवतावादी स्वरलाई मात्र स्वीकार गरी अन्य पक्षलाई बुर्जुवा समाजको अभिव्यक्ति हो भन्ने कुरा इंगित गर्दछन् । अर्का समालोचक मोहनराज शर्मा ‘आधुनिक कविता परम्पराविरोधी हुन्छ र वैज्ञानिक विचार हुन्छ’ भन्ने मत राख्छन् । उनले ‘आधुनिकता धार्मिकताको प्रतियोगी हो र वैज्ञानिक दृष्टिकोणमा अडेको’ धारणामा निकै वकालत गरेका छन् ।

आधुनिकताको परिभाषा गर्ने सन्दर्भमा पारिजातको विचार महत्त्वपूर्ण छ । परिजातले भनेकी छन्- ‘जति लेखिने साहित्य हुन् ती आधुनिक र जति लेखिसकिएका छन् ती प्राचीन, जति नपढिएका छन् ती आधुनिक र जति पढिएका छन् ती प्राचीन । तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पञ्जाछाप छाडेकै हुन्छ । जस्तै- अत्याधुनिक हामीले दाबा गरे पनि ती रचना गरिएको कालभन्दा बढी नवीन हुन सक्दैनन् ।’

आधुनिकता नेपाली समाजको मौलिक चेतना होइन । अर्थशास्त्रको क्षेत्रमा आधुनिकताको प्रयोग स्रोत-साधनको वितरण औद्योगिकीकरण एवं सूचना, प्रविधिलगायत आर्थिक लाभको अर्थमा हुने गरेको छ । राजनीतिशास्त्रमा राष्ट्रनिर्माण, प्रजातान्त्रिक मूल्य, प्रशासनिक सुधार एवं सत्ताको विकेन्द्रीकरणको अर्थमा हुन्छ । समाजशास्त्रको सन्दर्भमा आधुनिकताको प्रयोग समतामूलक समाजको सन्दर्भमा हुन्छ । वास्तवमा, हरेक समाज विभिन्न कालखण्डमा ऐतिहासिक अनुभव र स्मृतिको सँगालो बोकेर अगाडि बढिरहेको हुन्छ, जस्तो युरोपको समाज सामन्ती प्रथा, पूर्वी युरोपको निरंकुश व्यवस्था, अरू मुलुक उपनिवेशको सिकन्जाबाट मुक्ति पाएर अगाडि बढेको हो । कवितामा वा साहित्यमा प्रयुक्त आधुनिकता शब्द पनि समाजको आफ्नो स्वरूप र प्रकृतिको सापेक्षमा व्याख्या गरिनुपर्दछ ।

हुन त, आधुनिकता विश्वव्यापी धारणा हो । मध्ययुगको अँध्यारोबाट पुनर्जागरण लागेको समाजलाई आधुनिक मान्नेको बहुमत छ । यसैले एक बौद्धिक र वैचारिक अनुभूतिलाई आधुनिकता ‘मोर्डनिज्म’ भनिन्छ । पाश्चात्य साहित्यमा यसलाई अनेक रूपमा व्याख्या गर्ने गरिन्छ । रूप र शैलीलाई लिएर कलाले जीवनका अन्तरंगको चित्र प्रस्तुत गर्नुलाई आधुनिक लेखनको रूपमा दिनेहरूको कमी छैन । पिकासोको चित्रलाई, हर्मन हेम्सको उपन्यासलाई, टिएस एलिएटका कवितालाई, स्टिनबर्गको नाटकलाई आधुनिक सभ्यताको अभिव्यक्ति भनिन्छ । तर, यसको मापदण्ड भने सबै समीक्षकको एकरूपता छैन ।

डा. अभि सुवेदीले आफ्नो पुस्तक रचना र माध्यम (२०५४) मा आधुनिकताका बारे विषद चर्चा गर्दै आधुनिकतासम्बन्धी २० वटा बुँदा प्रस्तुत गर्नुभएको छ । आधुनिक काव्यको विशेषता प्रस्तुत गर्दै सुवेदीले आधुनिकता युरोपेली धारणा भएकाले यो धारणामा ‘सम्प्रति’ र ‘काव्यिक चेतना’ हुन्छ भनेका छन् । उनले आधुनिक कविता ‘धर्मविरोधी’ खुला दृष्टिकोण वा ‘यौन सहजवृत्ति’, कविताको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक पृष्ठभूमि र सुधारवादी धारणा राखेका छन् । उनले आधुनिकता वैज्ञानिक दृष्टिकोण भन्दै कविताले जीवनको समग्रतालाई बोक्ने, विद्रोह, मिथकको प्रधानता आदिलाई प्रमुखता दिएका छन् ।

यस पृष्ठभूमिमा भाषाको स्थिति युगौंदेखि सत्ताविमुख अवस्थामा बाँचेको समुदाय र सांस्कृतिक, सामाजिक पछौटेपनाको चरित्र बोकेर घस्रँर्दै आएको तामाङ समुदाय आफैंले हुर्काएको साहित्यलाई -काव्यलाई) आधुनिकताको चस्माले हेर्ने समय भएको छ कि छैन भन्ने प्रश्न उपस्थित हुनसक्छ । तर, तामाङ साहित्यिक फांटमा हुर्किरहेको लेखकीय हौसला र स्रष्टाहरूको बहुल उपस्थितिले अब ती लेखनलाई जांच्ने र तौलने समय आइसकेको छ । किनभने सिर्जनात्मक कार्यको क्रममा कला-साहित्यको मूल्यांकनले सिर्जनकारलाई शक्ति, सामर्थ्य र हौसलालाई नै सहयोग पुग्दछ । त्यसको अर्थ साहित्यिक मूल्यांकन प्रशंसा वा निन्दाको अर्थमा ग्रहण गरिनु हुदैन । र, मूल्यांकनविनाको सिर्जनाले आफ्नो लक्ष्य हासिल पनि गर्न सक्दैन ।

त्यसो त, तामाङ कविता (यहां अन्य विधाको चर्चा नगरेर कविताकै मात्र चर्चा गरिन्छ) शैशव अवस्थामा नै गुज्रीरहेको छ ।

तामाङ साहित्यको अवस्थाः

तामाङ साहित्य लेख्य रूपमा आउन थालेको पनि झन्डै पांच दशक पुगिसकेको छ । राष्ट्रिय भाषा नीति सुझाव आयोगले तामाङ भाषालाई लेख्य, परम्पराउन्मुख भाषामा वर्गीकरण गरेको छ । यो वर्गीकरण कुन मापदण्डका आधारमा गरिएको हो, त्यो स्पष्ट छैन । देवनागरी लिपिमा तामाङ साहित्य सिर्जना नभएको कारणले लेख्य परम्परा नभएको मान्ने हो भने पनि २०५० सालमा सो आयोगको प्रतिवेदन सार्वजनिक हुंदा झन्डै सयको हाराहारीमा पुस्तक प्रकाशित भइसकेका थिए । तामाङ भाषाको आफ्नै लिपि नभएको कारणले त्यसो भनिएको भन्ने हो भने (संभोटा/तिब्बती) लिपिमा लेखिएको तामाङ भाषाका पाण्डुलिपि बौद्धनाथमा फेलापरेको यसअघि नै सार्वजनिक चर्चामा आएको थियो । लामा लिपिमा लेखिएका ती पाण्डुलिपिहरू (म्याकडोनाल्ड- १९८७) तामाङ जातिका इतिहास र कुलदेवतासम्बन्धी छन् । अहिलेसम्मको खोज-अनुसन्धानले प्रकट गरेको तथ्यअनुसार यिनै बेनामे कृतिहरू तामाङ साहित्यका आधारभूत जग हुन् । सन्तवीर लामाले ‘ताम्बा काइतेन’ प्रकाशमा ल्याउनुपूर्व नै यससम्बन्धी कृति लेखिसकेको उहांको पुस्तकबाट जानकारी पाइन्छ । ती सबै पुस्तक लामा लिपिमा र हस्तलिखित थिए । यसबाट के अनुमान गर्न सकिन्छ भने लामा लिपिमा यस भाषामा लेख्य, परम्परा आदिकालदेखि नै थियो । लामा लिपि ज-जसले प्रयोगमा ल्याए, ती जातिले निजी प्रयोजनका लागि केही न केही त पक्कै लेखे । तर, प्रेसको सुलभ उपलब्धताको अभावले प्रकाशन भने भएन । त्यो खोजको विषय हो ।

अमृत योञ्जनले स्योम्हेन्दोको अंक- ११ मा पुराना तामाङ पुस्तकको खोज, चर्चा र सूची शीर्षक दिएर लेख्नुभएको लेखमा पनि १२ वटा पुस्तकको चर्चा छ । (तामाङ-२०६१) ती पुस्तक तिब्बती लिपिमा लेखिएको उल्लेख गर्नुभएको छ ।

यता आएर देवनागरीमा लेख्ने परम्परा भने १९८९ बाट सुरु भएको योञ्जनको ठम्याइ छ । उनले विसं १९८९ कात्तिक १ गतेको गोरखापत्रमा जुद्धशमशेर जंगबहादुर राणाका भाषणको सारांश छापिएकोलाई लेख्य परम्पराको पहिलो अभिलेख मान्नुभएको छ । यसको विकल्पमा अहिलेसम्म यसभन्दा अघिको प्रमाण प्राप्य नभएकाले यसैलाई पहिलो तामाङ लेखन मान्नुपर्दछ ।

यसपछिका कालक्रममा राणाकाल र पञ्चायतीकाल त्यति उत्साहबर्धक नभए पनि तामाङहरूको आफ्नो प्रयत्न भने जारी रहेको देखिन्छ । सन्तवीर लामाको ‘ताम्बा काइतेन ह्वाई रिमाठिम’ २०१६ सालमा प्रकाशित भएपछि साहित्यिक प्रकाशन प्रारम्भ भएका हुन् । श्रुति साहित्यिक परम्परा बोकेको तामाङ समाजलाई मात्र नभएर नेपाली समाजले लामाको पुस्तक निकै सहयोगी सिद्ध भएको छ ।

पञ्चायतीकालमा कर्मसिंह थोकरको ह्याङला डम्फुला ह्वाई २०२८, झयामाङ लामाको रुङस्याङ च्योपकी तामपाकैतेन, दिलबहादुर ब्लोनको तामाङ ह्वाई, मोक्तान भाइको उठानदेखि …(२०४०) उल्लेख्य छन् । गणेश योञ्जन (२०३८)को घोङगोङ देन नप्राङ (अनुवाद) आदि देखापरे भने पत्रपत्रिकामा थ्वीनडेल, म्हेन्दो, फ्याफुल्ला, स्योम्हेन्दो आदि देखापरे र यी पत्रपत्रिकाले तामाङ भाषा र साहित्यलाई उन्नतिको बाटोमा डोर्‍याउन ठूलो सहयोग पुर्‍याएको छ ।

हाल तामाङ साहित्य लेखनमा गुरुत्तोर विकास भएको छ । संख्यात्मक मात्र नभएर गुणात्मक वृद्धिमा पनि तामाङ साहित्यकार सजग भएका देखिएका छन् । २०४७ सालको राजनीतिक परिवर्तनले यो सम्भव भएको हो । पछिल्लो दशकमा तामाङ साहित्यका चर्चित हस्ताक्षरहरूमा अमृत योञ्जन, प्रताप बल तामाङ, दुपवाङगेल मोक्तान, अमान चोथेन, परशुराम तामाङ, रामबहादुर थोकर, ज्ञानबहादुर गोले, दिलबहादुर ब्लोन, कृष्ण तामाङ, धर्मराज लामा, विगेन्द्र बाइवा, रमेशकुमार तामाङ, प्रतीक ङेसुर तामाङ, डा. गणेश योञ्जन आदि देखा पर्नुभएको छ । विधागत आधारमा भन्ने हो भने कथा, कविता, गीत, गजल, लोकसाहित्य, नाटक, एकांकी आदि तामाङ भाषामा पढ्न पाइने अवस्था सिर्जना भएको छ । यो सुखद उपलब्धि हो ।

तामाङ आधुनिक कविताका प्रवृत्तिहरूः

प्राज्ञ बैरागी काइँलाले राष्ट्रिय भाषाको साहित्यका प्रवृत्तिलाई पहिचान गर्ने क्रममा एघारवटा विशेषताको सूची प्रस्तुत गर्नुभएको छ । (काइंला- २०६०) काइँलाका अनुसार राष्ट्रिय भाषाका कवितामा नेपाली समाजभित्र विद्यमान जातीय विभेदका कुरा प्रखररूपमा उठ्ने गरेको र भाषिक विभेद, पीडा, उद्बोधनको स्वर चर्को रूपमा पाइएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय साहित्यमा स्वाभिमान र आत्मसम्मानको वकालत, अज्ञात विगतप्रतिको मोह, आफ्नो संस्कृति प्रेम आदि वासस्थानप्रतिको प्रतिबद्धता पाइने जनाउंदै विपरीत परिस्थित्रि्रति क्रुद्धता नै समानान्तर नेपाली कविताको मुख्य स्वर भएको ठहर उहांको छ ।

तामाङ साहित्य पनि उपर्युक्त राष्ट्रिय भाषाका साहित्यभन्दा पृथक् छैन । राष्ट्रिय परिवेशमा राज्यउपेक्षित ठूलो समुदायको प्रतिनिधित्व गर्ने तामाङ जातिले जतिबेलादेखि आफ्नो चेतनालाई अभिव्यक्तिको माध्यम बनाए, त्यतिबेलादेखि नै समानताको आवाज बुलन्द बनाउंदै ल्याएका छन् । तामाङ आधुनिक कविता पनि यही धरातलीय यात्राबाट यहां आइपुगेको हो ।

त्यसो त, तामाङ साहित्य भन्नेबित्तिकै तामाङ भाषामा लेखिंदैमा हुने हो वा अरू मापदण्ड पनि छन् भन्ने प्रश्न टड्कारो रूपमा यो पृष्ठभूमिमा उपस्थित हुनसक्छ । तामाङ जातिको सन्दर्भमा खस-नेपाली, अंग्रेजी भाषामा दर्जनौं कृति लेखिएका छन्, ती तामाङ साहित्यभित्र पर्छन् कि पर्दैन भन्ने जिज्ञासा पनि उत्पन्न हुनसक्छ । तामाङ भाषामा लिएका सबै तामाङ साहित्य भन्ने हो भने रामायण सुन्दरकाण्डदेखि लुकासे ब्रिपी ज्यपि सम्चारसम्म पनि प्रकाशन भएको छ । उता अन्य भाषामा खासगरी खस नेपालीमा लेखिएका तामाङ विषयवस्तुलाई छोड्ने हो भने प्रतापबल तामाङ, परशुराम तामाङ आदिका तामाङकेन्द्रित रचना छुट्ने भय रहन्छ । यसैले तामाङ साहित्यको मापदण्डसम्बन्धी यस क्षेत्रका विद्वान्हरूको ध्यानाकृष्ट हुन जरुरी भइसकेको छ ।

वास्तवमा, तामाङ साहित्यको क्षेत्रमा भाषाको प्रयोग अधिक रूपमा गरिए मात्र साहित्य समृद्धिको बाटोमा लाग्ने हो । भाषाको बहुल प्रयोगबाट नै समुदायले ज्ञान, विज्ञान र सूचना ग्रहण गर्न सक्छन् ।

भाषाको उन्नति पनि वक्ताको पहुँचका आधारमा हुने हो । यसैले विज्ञान, चिकित्सा एवं समाजशास्त्र, राजनीतितर्फ यसको पहुँच बढाउन जरुरी छ । यस उद्देश्यले अनुवाद साहित्य पनि आइरहनुपर्दछ । तर, यसो भनिँदैमा भाषाको उन्नतिबाट नै साहित्यको स्तर नाप्न सकिंदैन । भाषाको प्रयोग गर्न लेखक-कविमा भाषाज्ञान त जरुरी छ नै, तर ऊ भाषाविद् नै हुनुपर्छ भन्ने जरुरी भने छैन । कुनै कविले कविता सिर्जना गर्दा सर्वप्रथम अभिव्यक्तिलाई कलात्मक ढंगले प्रस्तुत गर्दछ, उसलाई वाक्य रचना, वर्णविन्यास र ध्वनि विज्ञानको सूत्रात्मक नियमसित त्यति सरोकार हुंदैन । साहित्यिक सिर्जनामा भाषा माध्यम मात्र हो, मूल कुरा स्रष्टाको अनुभूतिलाई अभिव्यक्त गर्ने कला हो । अझ आधुनिक कवितामा त यो पक्ष सशक्त भएर उठ्ने गर्दछ ।

तामाङ आधुनिक कविताको सन्दर्भमा पनि अब हामीले पेङदोर्जेकै युगमा बसिरहनु जरुरी छैन । भाषा विकासको निश्चित गति हुन्छ । अब पनि तामाङहरूले डम्फूला ह्वाईकै सेरोफेरोमा घुमिरहने हो भने भाषाको पनि विकास हुंदैन, साहित्यको पनि विस्तार हुंदैन । खस नेपाली भाषामा उत्तराधुनिकको चर्चा भइरहंदा बल्ल हामी आधुनिकताको कुरा उठाउने स्तरमा आइपुगेका छौं । यसैले तामाङ भाषाको बहुल प्रयोगमा जोड दिंदै लेखिँदै आएका कवितामा नवीन छन्द, वैचारिक विषयवस्तुको प्रवेश हुनुपर्दछ । यसो भनिरहंदा साहित्यलाई अनुकरणमा जोड दिएको बुभmनु पनि गलत हुन्छ । समकालीन नेपाली साहित्य र विश्व साहित्यको प्रभाव ग्रहण गर्न भने भुल्नु हुंदैन । अनुकरण र प्रभाव समानार्थी विषय नभएर फरक विषय हो ।

तामाङ समुदायमा ह्वाई (गीत) को प्रचलन पुरानो भए पनि तामाङ आधुनिक कविता लेखनको प्रारम्भ स्योमेन्दोको प्रकाशनबाट भएको हो । संग्रहका रूपमा २०४७ मा चु सा हेन्से -यस धरतीबाट) अमृत योञ्जनले प्रकाशित गरेपछि तामाङ आधुनिक कविताको शिलान्यास भएको हो । अमृत योञ्जनले तामाङ कविताको परम्परागत स्वरूपलाई परिवर्तन गरेर शेलो छन्दभन्दा पृथक् लेखन शैलीलाई पहिलोपटक चु सा हेन्सेबाट प्रारम्भ गरे । त्यसपछि अमान चोथेन, कृष्ण तामाङ देखापरे । यसै गरेर रोमी योञ्जन, दुपवाङगेल मोक्तान, ग्यासर योञ्जन, ध्यानबहादुर मोक्तान, धर्मराज लामा, रमेशकुमार तामाङ, अर्जुन ग्लान, मोहन घिसिङ, यकिना अगाध, बुद्ध योञ्जन, प्रतापबल तामाङ सक्रिय रूपमा कविता लेखनको क्षेत्रमा प्रकट भएको पाइन्छ ।

तामाङ आधुनिक कवितामा यथास्थितिको विरोध र समावेशी प्रजातन्त्रको पक्षमा वकालत गरिएको हुन्छ । युगौंदेखि दासता र विभेदकारी राज्य संरचनाको विरुद्ध जागरण ल्याउने सन्देश तामाङ कविहरूले व्यक्त गरिरहेका छन् ।

आऊ एकक्षण बसौं हामी
देशको संविधान हेरौं
किन ब्यूँझन सकेनौं हामी, यहां
अलिकति बुझ्न खोजौं
किन फर्कन सकेनौं हामी यहां
अलिकति यसमा सोचौं ।
अमृत योञ्जन, ‘आऊ एकक्षण बसौं, थकाइ मारौं’

तामाङ आधुनिक कविताका अर्का हस्ताक्षर डुपवाङगेल मोक्तानको आवाज पनि व्रि्रोही स्वभावको छ । समकालीन परिस्थितिको विद्रोह उनको विशेषता हो । त्यसो त, विद्रोह तामाङ आधुनिक कविताको साझा स्वर हो । तर, यो वि द्रोहलाई अर्थ बहुलताको सापेक्षमा कलात्मक बनाउन मोक्तान निकै सिपालु छन् ।

विज्ञानले मंगलग्रह फोरिसक्यो
देशले तिम्रो रगत पसिना खाइसक्यो
सिंगो देश सिंगार्ने किरण लिन
ढिलो भयो,
ननिस्केको तिमी किन ?

डुपवाङगेल मोक्तान, ‘ननिस्कएको तिमी किन ?’

तामाङ कवितामा माया र प्रेमको कुरा, डम्फू र सगुनको कुरा, सेलरोटी र रक्सी-मासुका कुरा मात्र गर्ने तामाङ काव्य परम्परामा निकै लामो फड्को मारिसकेको छ । पुर्ख्यौली सत्ताको विरासतलाई तामाङहरूले सूचना प्रविधिको नवीन आविष्कारमा पनि उत्तिकै साक्षात्कार गर्न सक्छन् भन्ने प्रमाण दिइरहेका छन् । यसर्थमा अमृत योञ्जन प्रौढ र परिपक्वतातिर जांदैछन् भने मोक्तानको लाअे आरे, माङअे आरे कवितासंग्रह यसको साक्षी हो । मोक्तानको कवितामा भौतिकवादको सन्दर्भलाई जातीय सन्दर्भमा जोड्ने प्रयास भएको छ । उनी तामाङ समाजलाई विज्ञानसम्मत र आधुनिक विश्वको समकक्षीमा पुर्‍याउने उपक्रममा छन् भने योञ्जन विधागत रिक्ततालाई पुर्दै अगाडि बढ्न तल्लीन छन् । त्यसैले उनले ग्यासर योञ्जनको नामबाट ङआउ- ङयाउ-सुरी जस्ता बालकविता प्रकाशित गरेका छन् । कविता विचारको दस्तावेज पनि हो । कविताको माध्यम जे भए पनि त्यहाँ प्रयुक्त मिथकले कविताको आधारभूमि पत्ता लाग्छ । थोरै तामाङ भाषामा र बांकी नेपाली खसमा लेख्न रुचाउने प्रतापबल तामाङ जातीय विम्बको उत्पादक हुन् । जातीय र स्थानीय सांस्कृतिक सौन्दर्यलाई कवितामा प्रयुक्त गर्न खप्पिस प्रतापको आवागमन पनि समकालीन तामाङ आधुनिक कविताको एउटा धारा हो-

हराएको आफूलाई खोज
बिर्सिएको आफ्नो इतिहास फेरिसम्म
अनि
अनि आस्याङ !
तिम्रो माइच्याङले पाइदिएको छोरा थेवाको
भविष्य के हुनुपर्ने हो ?
त्यो तिमी
तिमी आफैं सोच !

प्रतापबल तामाङ ‘आस्याङ आफैं सोच’

त्यसो त, नेपाली खस भाषाको मूलधारका कविहरूमा अग्रणी मोर्चामा आउने तामाङ कविहरू कृष्णभूषण बल, जस योञ्जन प्यासी, कुमार यात्रु, स्व. जीवन थिङ, अगमसिंह लामा, गोपाल योञ्जन आदिको सिर्जनामा पनि तामाङ मिथकको प्रयोग नभएको होइन । तर, ती प्रयोगको प्रभावकारिता सशक्त छैन । उनीहरूको अरू नै व्यक्तित्वले त्यो पाटो ओझेलमा परेको छ ।

अमात चोथेन, ध्यानबहादुर मोक्तान, रमेशकुमार तामाङ, लामा थुप्तेन गेइन, ग्यासर योञ्जन, अजितमान तामाङ, लालबहादुर वाइवा, अर्जुन ग्लान, बुद्ध योञ्जन, मोक्तान माई, मोहन घिसिङ, यकिना अगाध, प्रतीक ङेसुर तामाङ, कृष्ण तामाङ, जगत दोङ, वेला लामा, प्रकाश ब्लोन, कुमार मोक्तान, रवीन्द्र तामाङ, मनकुमारी ब्लोन, निर्मला लामा ब्लोन, उजाड रक्तिम, मायाकुमारी मोक्तान, विजयकुमार मोक्तान ‘टेन्सन’, लालबहादुर घिसिङ, ज्ञानजन ङेन्सुर, भीमबहादुर लामा ‘ङावाङ’लगायतका कविता लेखन आसलाग्दो भएर आफ्नै शैलीमा समय-समयमा देखिँदै आएको हो ।

तामाङ आधुनिक कविताको लेखनमा दुइ कोरीजति कविहरू देखापरे पनि आफ्नो पहिचान दिन अमृत योञ्जन, डुपवाङगेल मोक्तान, अमात चोथेन, रमेशकुमार तामाङ, ध्यानबहादुर मोक्तान, प्रतापबल तामाङ, मानबहादुर दोङ, दिलबहादुर ब्लोन, कृष्ण तामाङलगायतकाको कविताले मात्र आधुनिक कवितासंग सम्बन्ध स्थापित गर्न सफल छन् । यी कविहरूको काव्यशैली, परिधान, मिंथ, पुरावृत्त र बौद्धिकता निकै खारिएको छ ।
कविहरूले बौद्धिक व्रि्रोह, सौर्न्दर्यलाई नयाँ शैली प्रस्तुत गर्ने सीप पक्रेका छन् । केही कविको कविता र समकालीन खस-नेपालीको मूलधारभन्दा पनि निकै उन्नत श्रेणीका छन् । यही रीतले तामाङ आधुनिक कविता लेखिन गएको खण्डमा नेपाली राष्ट्रिय कवितामा नयां आयाम देखिनेछ । अन्त्यमा, यो एउटा काव्यसन्दर्भ-

भाषा त पुर्खाको प्रसाद हो
भाषा नै देशको गहना हो
आफ्नो भाषालाई नछोड्नोस्
ताम्बा हट्छ पाप लाग्छ
धर्म जाति रहन्न केही
अरूले हामीलाई गिज्याउलान्
आफ्नो भाषालाई नछोड्नोस् ।
सन्तवीर लामा ‘आफ्नो भाषा नछोड्नोस्’

 

सन्दर्भ सामग्री

सुवेदी, डा. अभि, काठमाडौं/२०५४/रचना र माध्यम, साझा प्रकाशन
तामाङ, अमृत योञ्जन, रामेछाप/२०५५ तामाङ प्रकाशनको विकास, पेमा घिसिङ, तिल्पुङ प्रकाशन,
काइँला, बैरागी, (सं), काठमाडौं /२०५२/ कविता-५५ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान
काइँला, बैरागी, काठमाडौं/२०६१/ समानान्तर नेपाली साहित्य/समन्वय-२
तामाङ, प्रतीक ङेन्सुर (सं), ललितपुर/२०६१/ छार गोङमा अंक २, ७ प्रकाशक स्वयं
गोपाल, वत्स, (सं), गान्तोक/सन्२००५/सिक्किमका ११ राज्य, भाषाको समस्या अनि दुइदिने सेमिनार
श्री ५ को सरकार, काठमाडौं /२०५०/ राष्ट्रिय भाषा नीति आयोगको प्रतिवेदन, सूचना तथा सञ्चार मन्त्रालय
तामाङ, अमृत योञ्जन, काठमाडौं/२०६१/ तामाङ सञ्चारको फड्को

काठमाडौं – कुमार यात्रु
स्रोत : Nepalipost.com






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अविवाहितलाई दालचिनी र मरिचको धुलो खन्याउने अनौठो चलन

काठमाडौं । विवाहका सन्दर्भमा विभिन्न समाजमा फरक–फरक परम्पराहरु जोडिने गरेका छन् । आफ्ना संस्कृति र परम्परा... बाँकी यता

tamang online / October 30, 2018

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’ !

काठमाडौँ । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको... बाँकी यता

tamang online / October 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution