हेडलाईन

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट         तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन         तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट        

आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ

२०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न परशुराम तामाङ आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष हुन् । तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी प्रमुख भएका थिए ।

उनी एसिया महादेशका आदिवासी जनजातिका तर्फबाट संयुक्त राष्ट्रसंघीय आदिवासी फोरममा दुईपटक निर्वाचित उपाध्यक्षसमेत हुन् । तामाङ जातिको जातीय संस्था तामाङ घेदुङका अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका अगुवा उनी लेखक पनि हुन् । तामाङसँग २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको सन्दर्भमा आदिवासी जनजातिका सवाल, चुनौती र योजनाबारे  गरेको कुराकानी :

आदिवासी र जनजातिबीच के फरक छ ?

कुनै पनि भूगोलमा आधुनिक राज्य निर्माण हुनुभन्दा पहिलेदेखि रहँदै आएको र राज्यको मूल प्रवाहभन्दा बाहिर रहेको आफ्नै संस्कार, संस्कृति तथा रितीरिवाज भएको जातिलाई आदिवासी भनिन्छ । आधुनिक राज्य निर्माण हुनुभन्दा पहिलेदेखि रहँदै आएका जाति जनजाति हुन् ।
जनजातिहरुले पनि राष्ट्रको हैसियत नपाएकाले र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आदिवासी र जनजाति दुबैलाई एकै रुपमा लिएर विकास क्रम अगाडि आएका कारण आदिवासी र जनजातीलार्इ एकै ठाँउमा राखिएको हो ।

२०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ स्थापना भयो । २०५८ मा आदिवासी जनजाति ऐन बन्यो । आदिवासी र जनजातिको सवालमा त्यसपछि भएका परिवर्तन के–के हुन् ?

परिवर्तनको कुरा गर्दा २०४७ सालभन्दा पहिले पनि आदिवासी जनजातिको आन्दोलन तथा विकास भएको थियो । त्यसबेला छुट्टाछ्ट्टै रुपमा भएको र कमजोर अवस्थामा थियो । त्यही आन्दोलनलाई मजबुत बनाउनका लागि नै सबै आदिवासी जनजातिको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ स्थापना भएको हो । पहिलो फेजमा राज्यबाट आदिवासी जनजातिलाई मान्यता दिलाउने काम भयो । पहिलो हामीले आदिवासी जनजाति महासंघलाई प्रतिष्ठानको रुपमा विकास गर्न सफल भयौं । दोस्रो, हामीले आदिवासी जनजातिको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन सफल भयौं । तत्कालीन राज्य व्यवस्थाले शासन गरिरहेको एउटा समुदायलाई विस्थापित गरेर उनीहरुले राज्य गरेका थिए । एउटा भाषा, धर्म र संस्कृतिले अरु समुदाय, धर्म र संस्कृतिलाई अन्याय गरेको थियो । त्यसलाई हामी हिन्दू राज्यव्यवस्था भन्छौं ।

हामीले एकल जातीय हिन्दू वर्ण व्यवस्थाको राज्यको पुनःसंरचना गरी बहुभाषा, धर्म तथा संस्कृतिको राज्य निर्माण गरी सबैको साझा राज्यको रुपमा रुपान्तरण गर्न माग राख्यौं । तेस्रो कुरा, अदिवासी जनजाति भनेको राज्यको मूल प्रवाहभन्दा बाहिरको भाषा र संस्कृति भएको जाति हो । त्यसैले हामीले राज्यको हरेक कामकाज र नीति-निर्माणमा आदिवासी जनजाति समुदायको पहिचानलाई झल्कने गरी नीति-निर्माण तथा कार्यक्रम गर्न कानुनी मान्यता दिलाउन सफल भयौं ।

चौथो, धर्म निरपेक्षता, समानुपातिक समावेशिताको आधारमा सहभागिता र संघीयता स्थापित गर्न सफल भयौं । यसो हुँदा आदिवासी जनजाति आन्दोलन सफल वा पूरा भएको छैन । तर, यो सफलता उन्मुख छ । चाहेको र आवश्यकताअनुसार परिवर्तन भएको छैन ।

आर्इएलअो १६९ लाई मान्दा पनि अब आदिवासी जनजातिहरुले राज्यका हरेक अगंमा सहभागिता जनाइसकेका छन् । त्यसो हुँदा, अब आदिवासी जनजातिको परिभाषा र अवधारणा परिवर्तन गर्ने बेला भए जस्तो लाग्दैन ?

अहिले हामी त्यो स्थितिमा पुगेका छैनौँ । आदिवासी जनजातिका सम्बन्धमा दुईवटा अन्तर्राष्ट्रिय कानुन बनेका छन् । एउटा अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी तथा प्रजाति महासंघ र अर्को संयुक्त राष्ट्रसंघीय आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणा पत्र । त्यसले के भन्छ भने आदिवासी जनजातिको स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार हुनेछ । यो अधिकार आदिवासी जनजातिले प्रयोग गर्न पाउनेछन् । यो महत्वपूर्ण कुरा हो ।

अहिले पनि नेपालमा आदिवासी जनजातिले स्वशासन र स्वायत्तता प्राप्त गरेका छैनन् । आदिवासी जनजातिको पहिचान, अधिकार, संघीय संरचनाको राज्य निर्माण भएपछि हाम्रो आन्दोलन र अधिकार एउटा नयाँ उचाइमा पुग्नेछ । हामी त्यहाँ पुगेको छैनौं र अहिले नै परिभाषा तथा अवधारण परिवर्तन गर्ने बेला भएको छैन ।

आदिवासी जनजातिका अगुवाहरु ‘सेटल’ भए तर तल्लो तहका आदिवासी जनजाति जनताको अवस्था न उस्तै छ भनिन्छ नि !

यो संविधानले आदिवासीको लोकतान्त्रिक अधिकार पनि पूर्णरुपमा प्रत्याभूत गरेको छैन । धर्म निरपेक्षताको कुरा गर्दा पनि यसले परिभाषा गरेको छ । तर, हिन्दू सनातन धर्मलाई नै प्राथमिकतामा राखेको छ । दोस्रो कुरा, समानुपातिक समावेशिता संविधानमा उल्लेख छ । तर, यो समानुपातिक समावेशिताको कुरा अहिले पनि भएको छैन । संघीयताको कुरामा पनि प्रशासनिक संघीयता भएको छ, आदिवासीको पहिचानको संघीयता छैन । मौलिक हकको रुपमा संविधानमा आदिवासी जनजाति नै उल्लेख छैन । गणतन्त्रको कुरा गर्दा आमनागरिकले प्रयोग र उपयोग गर्नेखालको गणतन्त्र आएको छैन ।

आदिवासी लोकतन्त्रकै आन्दोलनको कुरा सकिएको छैन । तर, अहिले राज्यमा जुन पहुँच बनेको छ, त्यो हाम्रो आन्दोलनका कारणले भएको हो । यद्यपि, अझै अपुग छ भन्ने कुरा सत्य हो । अहिले अधिकार एलिट वर्गको पहुँचमा छ, त्यो सत्य हो । किनकि, अधिकार तल्लो तहसम्म पुग्ने संयन्त्र बनेको छैन । सबै नीति र संयन्त्र बनेपछि अधिकार तल्लो तहसम्म पुग्छ ।

जनजातिका ‘एलिट’हरु पनि राज्यका विभिन्न अगंमा छन् । उनीहरु जनजातिको अधिकार निर्माणमा निर्णायक मानिन्छन् । आफ्ना अधिकारबारे उनीहरु सन्तुष्ट देखिन्छन् । अब कसले माग्ने अधिकार ?

अहिले जो आदिवासी जनजातिको आन्दोलनका प्रभावले माथिल्लो तहमा पुगेका छन्, यो संयोगमात्र हो । उनीहरु सन्तुष्ट होलान् । तर, आदिवासी आन्दोलन आफैं सन्तुष्ट छैन । जो आन्दोलनमा छन्, उनीहरुले अहिले पनि सन्तोषको सास फेरेका छैनन् । जबसम्म अधिकार प्राप्त हुँदैन, तबसम्म यो आन्दोलन निरन्तर चलिरहन्छ । यो गरीखाने वर्गको आन्दोलन हो । जो आज सुविधा उपभोग गर्ने छन्, ती आन्दोलनको निर्णायक होइनन् । हिजो पनि थिएनन् । समाजको प्रोडक्टका रुपमा एलिट बन्छन् ।

जनजाति आन्दोलनले अधिकार माग्यो र राज्यले दियो पनि तर आदिवासीले आफ्नो कर्तव्य निर्वाह गर्न सके ?

मलार्इ त्यस्तो लाग्दैन । जो हिजोदेखि परिवर्तनको आन्दोलनमा छन्, तिनीहरु आज पनि आन्दानेलमै छन् । जसले आज सुविधा उपभोग गरेको छ । ती सबै अवसरका लागि आएका हुन् । त्यसकारण मौका छोप्न आएकाहरुलाई हेरेर कर्तव्य निर्वाह गरेन भन्ने कुरा म मान्दिँन । आदिवासीको सुविधा भनेको आममानिसले उपभोग गर्ने हो । व्यक्तिगत रुपमा हामी कसैले यो सुविधा उपभोग गर्ने हैन । अहिले युवाको आवश्यकता र आन्दोलनको गतिबीचको तालमेल नमिलेको अवस्था छ । हामी गुजारामुखी भयौं ।

बाहुन, क्षेत्री, दशनामी समुदायले पनि आदिवासीको अधिकार माग्न थाल्नुको कारण आदिवासीले आफ्ना अधिकार र कर्तव्य भुलेर वा प्रयोग गर्न नसकेर हो की !

यो गलत बुझाइ हो । पहिलो कुरा उनीहरु राज्यसत्ताको शासक वर्गभित्रका हुन् । त्यसकारण उनीहरु आदिवासी बनिरहनु परेन । अर्को कुरा, आदिवासी राज्यसत्ताबाट पिछडिएको उत्पीडनमा परेको समुदाय हो । उनीहरु राज्यसत्तामा छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिअनुसार राज्य सञ्चालन हुन्छ भने किन चाहियो आदिवासीको मान्यता ?

आदिवासी जनजाति आन्दोलन अब कसरी अघि बढ्छ ?

आदिवासी जनजातिको अबको कार्ययोजना दुईवटा कुरामा केन्द्रित हुनुपर्छ । एउटा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त उपलब्धिलाई नेपालमा पनि कार्यान्वयन गर्ने र आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई नेपालमा पनि कार्यान्वयन गर्ने । नेपालमा प्राप्त भएको आदिवासी जनजातिको अधिकार कागजमा मात्र सीमित छ । परिभाषाबिनाको धर्म निरपेक्षता, पहिचानबिनाको संघीयता, आमजनताले उपभोग गर्न नसक्ने गणतन्त्रलाई सारमा परिणत गर्नुपर्छ । स्वशासित र स्वायत्त प्रदेशको निर्माण गरी स्वायत्त क्षेत्र बनाउन आदिवासी आन्दोलन केन्द्रित हुनपर्छ । यो दुईवटा कुरा भयो भने आदिवासीका अधिकार उच्चतम रुपमा पुग्छ र नयाँ नेपालको रुपमा परिवर्तन हुनेछ । अहिलेको पहाडे राष्ट्रवाद इन्द्रेणी राष्ट्रवादमा परिणत हुनेछ । सबै जाति, भाषा, संस्कार र संस्कृतिको समान रुप र हैसियत हुन्छ । हाम्रो आन्दोलन पनि यसैका लागि हो । त्यसपछि सबै जातिको सर्वभौम सम्पन्न राष्ट्र निर्माण हुनेछ ।

आदिवासी जनजाति आन्दोलन सफल बनाउन चुनौती पनि त थुप्रै होलान् नि !

आन्दोलन सफल बनाउन थुप्रै चुनौती छन् । पहिलो कुरा मानसिकता हो । अहिले आदिवासीहरुमा हेर्दा हारेको महसुस भएको छ । तर, हामी हारेको छैनौ । हारेका त ती छन्, जसको आदिवासी जनजातिसम्बन्धी केही मुद्दा नै थिएन र छैन । जसलाई आदिवासी जनजातिको मुद्दाले घिसारेका छन् । हामीले धेरै कुरा जितेका छौँ । तर, हारको मानसिकतामा छौं । हारेकाहरु जितको मानसिकतामा छन् । अबको यो पहिलो चुनौती हो ।

दोस्रो कुरा के भने नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई आदिवासी जनजातिले प्रभाव पार्ने गरी योजना बनाउनु हो । आदिवासी जनजाति अहिले केन्द्रीकृत छैनन्, यो तेस्रो कुरा हो । चौथो कुरा, सरकारले पनि बनाउन नसकेको अवधारणा हामीले बनाएका छौँ । पहिचानसहितको विकास र समृद्धिको अवधारणा सबैलाई बुझाउन जरुरी छ ।

तपाईंले भनेजस्तै पहिचानसहितको समृद्धिका लागि नेपाल आदिवासी जनजाति महासंघले के गर्नुपर्छ ?

हामीले जनचेतनाको कुरामा जोड दिनुपर्छ । त्यो आदिवासी र गैरआदिवासी सबैमा गर्न जरुरी छ । राजनीतिक दल, प्रशासनिक क्षेत्र सबै ठाउँमा यसको परिभाषा तथा मागको बारेमा बहस र छलफल जरुरी छ । अहिले के छ भने आदिवासी जनजातिले आफ्ना अधिकार र अवधारणाको कुरा गर्दा अर्को वर्गको मनमा चिसो पस्छ र डर पैदा हुन्छ । किनकि, उनीहरुले हाम्रो अवधारणा बुझेका छैनन् । हिजो उनीहरु पनि कसै न कसैलाई विस्थापित गराएर आएका हुन् र आज आदिवासी जनजाति अगाडि आउँदा आफ्नो वर्चस्व गुम्ने चिन्ता उनीहरुमा छ । तर, हामीले कसैको अधिकार खोस्ने हैन । सबैको अधिकार बराबारी गराउने भनेको हो । यो कुरा हामीले सबैलाई बुझाउन जरुरी छ । इन्द्रेणी राष्ट्रवादको कुरा बुझाउन आवश्यक छ । यो त कम्युनिस्ट पार्टीले भनेको जस्तो समाजवादको निर्माण पनि हो ।

सञ्जय श्रेष्ठ / न्युजकारोबार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution