हेडलाईन

तामाङ राजाहरु “ग्याल्बो चुईनी” तामाङ जाति सम्बन्धि महत्वपूर्ण जानकारी         तामाङ पुर्खा काभ्रे तिमालको इतिहास – जे डी तामाङ         पृथ्वीनारायण शाहको लुकाइएको इतिहास         रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव         वामदेवको उत्थान र पतन         राज्यले सबै चार्डलाई समानता नदिएकै कारण आदीबासीले दशै-तिहार बहिस्कार गर्यो         के एप्पल वाचमा रेकर्ड भएको थियो साउदी पत्रकार खाशोज्जीको हत्या ?         माथिल्लो तामाकोशीको ९० हजार कित्ता सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला         इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी         तामाङ छार व्हाई ‘सिङ्का सिङ्का खोतासी’ युट्युबमा सार्वजनिक         समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन         बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव         चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट         दशैं राजनीति कि संस्कृति ? – मोहन गोले तामाङ         देखे जस्तो छैन अमेरिका- सुने जस्तो हैन अमेरिका        

मेडिकल छात्रामाथि के हुन्छ ब‌ंगलादेशमा ?

काठमाडौं : ‘….आज म कथा खोल्छु, बंगलादेशमा कयौँ चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु- उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। मैले सुनेको छु, यति मार्मिक छ कथा। उनीहरूले यहाँ कथा खोलिरहेका छन्। हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौँ, तर उसले आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन। त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निस्कन्छौं, पाइँदैन, हुँदैन भन्छौँ। के गरेको यो ?’

-शेरबहादुर तामाङ, निवर्तमान कानुन मन्त्री

‘…आज म तपाईंहरूलाई एउटा कुरा भन्छु, त्यो पनि लेख्न जरुरी छ। बंगलादेश पढ्न गएका हाम्रा चेलीबेटीहरू… किन अरू केटाहरू पाँच वर्षमा पास गरेर आउँछन्… केटीहरू किन नौ वर्षसम्म आउँदैनन् ? त्यहाँका प्रोफेसरहरूले करणी गरेर राख्या छ ती केटीहरूलाई। त्यो कुरा किन आउँदैन ? पीडा छ नि। हामीले भोगेका छौं नि। हामीले बुझेका छौँ नि।’

– दुर्गा प्रसाईं, व्यवसायी

यी दुई अभिव्यक्तिले बंगलादेशमा मेडिकल पढ्न जाने र पढेर आउने छात्राहरूको आत्मसम्मानमा प्रहार गरेको छ। अभिव्यक्तिकै कारण कानुन मन्त्री तामाङले राजीनामा दिनुपर्‍यो। ‘यो अभिव्यक्तिले बंगलादेशमा मेडिकल पढिरहेका र पढेर आएका हरेक छात्राले अग्नि परीक्षा दिनुपर्छ भन्ने आशय बोकेको छ, ‘ नेप्लिज स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले भने, ‘यसले उनीहरूको चरित्रसँगै भविष्यमाथि नै प्रश्न गरेको छ। जुन सरासर गलत हो।’

‘हामी चकित छौँ’

बंगलादेशबाट एमबीबीएस पढेर आएकी डा. अनुपमा कार्की यस्ता खालका अभिव्यक्तिले आफूहरू तीनछक परेको बताउँछिन्। ‘बंगलादेशमा पढेर आउने छात्राहरूमाथि जुन आरोप लगाइएको छ, एकदमै वाहियात हो,’ हाल वीर अस्तपालमा सिनियर कन्सलटेन्ट डर्मेटोलोजिस्ट रहेकी उनले भनिन्, ‘लगभग छ वर्षको बसाइमा मैले त्यहाँ त्यस्तो कुरा न देखेँ, न जानेँ, न सुनेँ। यस्तो कुरा कहाँबाट र कसरी आयो हामी चकित छौँ।

हामी डाक्टर मात्र होइन, सारा नेपाली जनता छक्क छन्।’ उनी बंगलादेशमा पढेर राम्रो नम्बर ल्याएर पास गर्ने विद्यार्थीमा पर्छिन्। ‘म त्यहाँबाट राम्रो नम्बर ल्याएर एकदमै सम्मानित ढंगले पासआउट भएको विद्यार्थी हुँ,’ डा. कार्कीले भनिन्, ‘नेपालीहरू भनेका टपर हुन् भन्ने छाप हामीले त्यहाँ छाडेर आएका छौं।

त्यहाँका विद्यार्थीलाई प्रोफेसरहरूले हाम्रो उदाहरण दिनुहुन्थ्यो। ‘नेपालीबाट सिक’ भन्नुहुन्थ्यो। हामीले कमाएको त्यो इज्जत आफ्नै देशका मान्छेले माटोमा मिलाइदिए।’ यस्ता खालका अभिव्यक्तिले मेहनत गरेर पढ्नेलाई निकै चोट पुर्‍याएको उनी बताउँछिन्। ‘त्यहाँ हामी पढ्न जाने हो,’ बंगलादेशको ढाकास्थित एक कलेजमा एमबीबीएस पढेर आएकी उनले भनिन्, ‘मभन्दा अगाडि र पछाडि कैयौँ ब्याच त्यहाँ पढ्न गए, हामीले नभोगेको कुरा उहाँहरूले कसरी सुन्नुभयो।’

बंगाली प्रोफेसर र साथीहरू कहिल्यै विदेशी हुन् भन्ने नै नलागेको डा. कार्की बताउँछिन्। ‘हामीलाई त्यहाँ सबैले सम्मानजनक व्यवहार गर्थे,’ उनले भनिन्, ‘कतै पनि गुनासो गर्ने ठाँउ थिएन। हाम्रो अरू कलेजका नेपाली साथीहरूसँग पनि संगत थियो। उनीहरूबाट पनि कहिल्यै कुनै गुनासो सुनिएन।’ यस्ता कुराले बाहिरी देशमा आफ्नो देशको स्तर गिराउने उनी बताउँछिन्। ‘हामी यस्तो देशका नागरिक हौँ, जहाँ उच्च ओहोदामा बसेका मान्छेले नै बिनाप्रमाण जे पाए त्यही बोल्छन्,’ डा. कार्की भन्छिन्, ‘आज कति अभिभावकका छोराछोरी पढ्न गएका होलान्, उनीहरूमाथि के बितिरहेको होला ?’ यो विषय एकदमै संवेदनशील भएकाले बोल्नुभन्दा पहिला विचार पुर्‍याउनुपर्ने उनको तर्क छ। उनी प्रश्न गर्छिन्, ‘डाक्टर पढ्नु चानचुने कुरा हो ? हामीलाई यसरी औँल्याएर बोल्न मिल्छ ? सबैको सेवा गर्ने, ज्यान बचाउने पेशालाई यस्तो निम्न स्तरको आरोप लगाउन मिल्छ ?’

‘बाबुजस्ता प्रोफेसर’

बंगलादेशमा नै डेन्टल स्टडीमा स्नातक गरेर आएका डा. प्रजिता भट्टराई र डा. आशा श्रेष्ठ पनि आफूहरूलाई यो कुरा चित्त नबुझेको बताउँछन्। ‘बंगलादेश भन्नेबित्तिकै मुस्लिम देश भन्ने सबैलाई थाहा छ,’ डा. भट्टराई भन्छिन्, ‘त्यहाँ हाम्रो लवाइखवाइ सबै एकदमै अनुशासित हुन्थ्यो। एप्रोनमाथि पनि सल लगाएर हिँड्नुपथ्र्यो।

कलेज जाँदा कहिल्यै प्यान्ट लगाएनौँ। सबै जना कुर्ता वा सारीमा हुन्छन्। त्यहाँको संस्कारलाई हामी सम्मान गर्छौं।’ अहिले बाहिर आइरहेको कुरामा अलिकति पनि सत्यता नभएको उनी बताउँछिन्। ‘केटाहरूले समेत हाफ प्यान्ट लगाएर हिँड्न नमिल्ने देशमा त्यस्तो घटना कसरी हुन्छ ?’ उनी भन्छिन्, ‘एउटा जिम्मेवार पदमा बसेको मानिसले त विचार गरेर बोल्नुपर्ने हो।’

बंगलादेश पढाइको मामिलामा एकदमै कडा भएको डा. आशा श्रेष्ठ बताउँछिन्। ‘पढ्न सक्यो पास, नपढे फेल,’ उनी भन्छिन्, ‘बंगलादेश पढाइमा एकदमै स्ट्रिक्ट छ। ल्याङ्ट्याङ गरेर पास भइँदैन। अन्यथा गरेर पास गरौँला भनेर त कल्पना पनि नगरे हुन्छ।’ उनी आफू र आफ्ना साथीहरूले प्रोफेसरलाई एकदमै सम्मान गर्ने गरेको बताउँछिन्। ‘हामी प्रोफेसरलाई मात्र नभएर आफ्ना एक ब्याच सिनियर दाइदिदीलाई समेत सम्मान गर्छौँ,’ डा. श्रेष्ठ भन्छिन्, ‘त्यो हामीले उहाँहरूलाई मनैदेखि दिएको सम्मान हो।’

उनीहरू आफूलाई त्यहाँका प्रोफेसर आमाबुबाजस्तै लाग्ने उनीहरू बताउँछन्। ‘प्रोफेसरले हामीलाई छोरीको जस्तो व्यवहार गर्नुहुन्थ्यो,’ डा. श्रेष्ठ भन्छिन्, ‘उहाँहरू हामीलाई ‘स्ट्रिक्ट फादर’ लाग्थ्यो। कहिल्यै कुनै पनि प्रोफेसरले हामीमाथि अन्यथा सोचेको हामीले पाएनौँ। हामी प्रोफेसरको अनुहारमा समेत हेर्न डराउँथ्यौँ। उनीहरू र हामीबीच एक प्रकारको दूरी थियो।

हामीले कहिल्यै पनि ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोध्ने आँट समेत गरेनौँ।’ उनीसँग सहमति जनाउँदै डा. भट्टराई भन्छिन्, ‘मेडिकल फिल्डको प्रोफेसरजस्तो मान्छेसँग पनि कसलाई कस्तो व्यवहार गर्ने भन्ने बुद्धि नहोला त ? उहाँहरू भनेको एकदमै शिक्षित दर्जाको मानिस हो।’
कलेजमा सिक्ने कुरामा कहिल्यै सम्झौता नभएको र प्रोफेसर र विद्यार्थीको सम्बन्ध कलेजमा मात्र सीमित भएको उनीहरू बताउँछन्। निवर्तमान कानुन मन्त्री तामाङ र व्यवसायी प्रसाईंका गलत अभिव्यक्तिका कारण आफ्नो ‘इमेज’मा नराम्रो असर परेको उनीहरू बताउँछन्। ‘हाम्रो मात्र होइन,’ डा. भट्टराई भन्छिन्, ‘बाबुसमान बंगाली प्रोफेसरहरूको समेत बेइज्जत भयो।’

पाटन अस्पतालमा कार्यरत डा. नोरा रञ्जित आफ्नो बंगलादेश बस्दाको अनुभव यसरी साट्छिन्, ‘म बंगलादेशमा पढ्न जाँदा त्यहाँ विद्यार्थीलाई प्रोफेसरहरू आमाबुबाले जस्तो माया गर्थे। बंगलादेशको नाम हाम्रो सर्टिफिकेटमा टाँसिने हुनाले ‘यिनीहरूले आफ्नो देश फर्कंदा एउटा राम्रो डाक्टरले सिक्नुपर्ने कुरा सिकेर जाऊन्’ भन्ने उनीहरूको विचार हुन्थ्यो। त्यहाँ हामीलाई उनीहरूको देशको इज्जत भनिन्थ्यो।’

‘पूर्णतः सुरक्षित बंगलादेश’

हाल भक्तपुर क्यान्सर अस्पतालमा अन्कोलोजिस्टका रूपमा कार्यरत डा. श्वेता बरालले पनि बंगलादेशबाट नै एमबीबीएस गरेर आएकी हुन्। ‘त्यहाँ त्यस्तो कुनै पनि कुरा थिएन, जुन कुरा भनिएको छ,’ उनले भनिन्, ‘धेरै पढ्नुपथ्र्यो। पढ्ने मान्छे आरामले पास हुन्थ्यो, नपढ्ने मान्छे फेल। प्रोफेसर र हाम्रो सम्बन्ध भनेको क्लासमा मात्र हो। बाहिर हामीलाई कसैको मतलब हुँदैनथ्यो। नेपालमा बरु प्रोफेसरसँग बसेर चिया-खाजा खाइन्छ। त्यहाँ त्यस्तो हुँदैन। प्रोफेसर भनेको एकदमै मान्नुपर्ने मान्छे हो।’

बंगलादेशमा एमबीबीएस अध्ययन गरेर हाल पाटन अस्पतालमा कार्यरत डा. समिता पन्तले पनि छ वर्ष बंगलादेशमा बिताइन्। त्यहाँ बस्दा आफूले कहिल्यै पनि असुरक्षित महसुस नगरेको उनी बताउँछिन्। ‘बंगलादेश नेपाली छात्राका लागि पूर्णतः सुरक्षित छ। त्यहाँका प्रोफेसरहरूले छात्रामाथि नराम्रो दृष्टिले आँखा उठाएर हेरेको मलाई थाहा छैन,’ उनले भनिन्, ‘पढ्नलाई गाह्रो छ, मेहनत गर्नुपर्छ। सर्टिफिकेटकै लागि त्यो हदसम्मको काम गर्छन् भन्नु सरासर गलत र कपोलकल्पित हो।’

यस्ता खालका अभिव्यक्तिले अहिले पढिरहेका मात्र नभएर पहिला पढेर आउनेलाई समेत असर पुर्‍याउने उनी बताउँछिन्। ”अरूले त्यसरी सर्टिफिकेट ल्याउने रहेछन्, यसले कसरी सर्टिफिकेट ल्याई’ भनेर सोच्न थालिएको छ,’ डा. पन्त भन्छिन्, ‘कुनै डाक्टर बुहारीले सासूससुरालाई के जवाफ दिने ? यस्तो गैरजिम्मेवार र झुटो अभिव्यक्ति दिनेलाई कडा कारबाही हुनुपर्छ।’

भक्तपुर, गट्ठाघरकी निशा अर्याल छात्रवृत्तिमा ‘पब्लिक पोलिसी एन्ड गभर्नेन्स’ विषयमा मास्टर्स गर्न बंगलादेश गइन्। उनी केही समयअगाडि मात्रै नेपाल फर्किएकी हुन्। ‘बंगलादेशमा डेढ वर्ष धेरै मेहनत गरेर पढेँ,’ अर्यालले भनिन्, ‘त्यहाँ मेरा मेडिकल पढ्ने धेरै साथी थिए। मैले उनीहरूले गरेको परिश्रमलाई नजिकबाट नियालेकी छु। उनीहरू रातभरि पढ्छन्। मन्त्रीजस्तो मान्छेका मुखबाट यस्तो ‘चिप’ कुरा सुन्दा म त छक्कै परेँ।’

अध्ययनरत विद्यार्थी के भन्छन् ?

मेघा खत्री
मन्त्री र व्यवसायीले भनेका कुरा एकदमै गलत हो। जसको कुनै पनि प्रमाण छैन। उनीहरूले हाम्रो भविष्यमाथि खेलबाड गरिरहेका छन्। मिडियामा त्यस्ता कुरा बोल्न उनीहरूलाई लाज लाग्नुपर्ने हो। उनीहरूको बोलीले गर्दा हामीप्रति केही मानिसको दृष्टिकोण नकारात्मक भएको छ। हामीलाई धेरैले प्रश्न गर्न थालेका छन्।

त्यसको जवाफ उनीहरूले दिनुपर्छ। हामीले भन्ने सरकारलाई हो। सरकारले यस विषयमा कदम चाल्नुपर्छ। यदि कसैको चरित्रमाथि नै प्रश्न चिन्ह उठाइन्छ भने त्यसमा सरकार चुप लागेर बस्नु हुँदैन। सरकारबाट ठोस निर्णय नपाएकाले हामीलाई गाह्रो भइरहेको छ। उनीहरूलाई कडा कारबाही गर्नुपर्छ। यहाँका साथीहरूले हामीलाई ‘तिमीहरूलाई आफ्नै देशका मानिसले कसरी त्यस्तो भन्न सकेका’ भनेर सोधिरहेका छन्। यसको पनि हामीलाई जवाफ चाहियो।

श्वेता शर्मा
दुर्गा प्रसार्इं र शेरबहादुर तामाङजस्ता व्यक्तिहरूले दिएको अभिव्यक्ति एकदमै आपत्तिजनक र अपमानजनक छन्। यसले बंगलादेशमा पढिरहेका सबै छात्राहरूको चित्त दुखाएको छ। उनीहरूलाई पीडा दिएको छ। जे पायो त्यही बोल्ने अधिकार कसैलाई पनि छैन।

नामको अगाडि डाक्टर राख्नु सानो कुरा होइन। त्यसका लागि हामीले धेरै दुःख गरिरहेका छौँ। धेरै मेहनत गरिरहेका छौँ। हाम्रा प्रोफेसरहरूलाई अझै पनि यस बारेमा खासै थाहा छैन। जुन दिन थाहा हुन्छ, उनीहरूले के सोच्छन् ? यहाँ त नेपाली विद्यार्थी भन्नेबित्तिकै एकदमै मेहनती ठानिन्छ।

जेनिया राई
मलाई अझै पनि मेरो कलेजको पहिलो दिन याद छ। जब मैले ‘म नेपाली विद्यार्थी हुँ’ भनेर परिचय दिएको थिएँ, त्यहाँको प्रोफेसरले भनेका थिए, ‘नेपाली विद्यार्थीहरू एकदमै मेहनती र बुद्धिमान हुन्छन्।’ हामी सधैँ त्यस्तै हुने कोसिस गर्छौं। हामीले हाम्रा सिनियरलाई फलो गरिरहेका छौँ।
अहिले जुन हल्ला फैलाइएको छ, त्यो एकदमै गलत हो।

गलत मात्र होइन, दण्डनीय पनि हो। यस्तो कुरा बाहिर आउनु भनेको हाम्रो मेहनतमा प्रश्न गर्नु हो। हाम्रा अभिभावकले हाम्रो भविष्यलाई लिएर चिन्ता गरिरहनुभएको होला। केहि दिनअगाडि मात्रै मलाई मेरो एक जना प्रोफेसरले बोलाएर ‘नेपालमा के भइरहेको छ ?’ भनेर सोधे। मलाई लाजमर्नु भयो।
यहाँका प्रोफेसरहरू हामीलाई सम्मान गर्छन्। तर, हाम्रा आफ्नै देशका मन्त्रीले हाम्रो अनदार गरेका छन्। हाम्रो आत्मसम्मानमा चोट पुगेको छ।
(उनीहरू ढाकास्थित सिटी डेन्टल कलेजमा बीडीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।)

‘प्रोफेसरले सम्मान गर्थे’

अस्मिता बुढाथोकी, मेडिकल ग्र्याजुएट बीडीएसतर्फ ढाका युनिभर्सिटी टपर

म सन् २०१६ मा बंगलादेशबाट पासआउट भएर नेपाल आएँ। त्यहाँ मैले लगभग छ वर्ष बिताएँ। त्यहाँका प्रोफेसरहरूले हामीलाई एकदमै माया गर्थे, सम्मान गर्थे। तर, उनीहरू एकदमै कडा थिए। प्रोफेसरसँग हामीले कहिल्यै आँखा जुधाएर कुरा गर्न सकेनौँ। त्यो हामीले उनीहरूलाई गरेको सम्मान थियो। मन्त्री र व्यवसायीका अभिव्यक्ति अपमानजनक र अभद्र छन्। हामीलाई एकदमै चोट पुगेको छ।

बंगाली साथीहरूका माझमा पनि यो समाचार भाइरल भइरहेको छ। उनीहरूले मलाई मेसेज गरिरहेका छन्। ‘यहाँबाट राम्रो रिजल्ट लिएर गयौ, त्यहाँ तिमीहरूलाई सम्मान गर्नुको सट्टा त्यस्तो पो भएछ है’ भनिरहेका छन्। कसैले सान्त्वना दिइरहेका छन्। कसैले खिल्ली उडाइरहेका छन्। त्यहाँ प्रायः नेपालीहरू नै टपर हुन्छन्। म स्वयं ढाका युनिभर्सिटी टपर हुँ।

‘राजीनामा दिएर मात्रै पुग्दैन’

व्यवसायी दुर्गा प्रसाईं र निवर्तमान कानुन मन्त्री शेरबहादुर तामाङका अभिव्यक्तिले बंगलादेशमा पढिरहेका र पढेर आएका छात्राहरूमा एक प्रकारको आक्रोश पैदा गरेको छ। बंगलादेशमा पनि यसले नराम्रो सन्देश पुर्‍याएको छ।

मेडिकल भनेको आफ्नै बलबुताले पास गर्न सक्छु भनेर पढ्ने खालको विषय हो। अर्काको देशमा गएर मेहनत गरेर पढ्दा पनि आफ्नै देशको मन्त्रीबाट उनीहरूको अस्मितामाथि प्रश्न उठ्छ। बोल्नेले बोले। राजीनामा पनि दिए। तर, बोलिसकेको कुरा फिर्ता आउँदैन। राजीनामा मात्रै दिएर पुग्दैन। यसलाई ‘सेफ ल्यान्डिङ’ बनाइएको छ।

दुई जनाको बोलीको कारणले जुन किसिमको तरंग फैलिएको छ, यो यत्तिकै सकिँदैन। यसमा सरकारले कारबाही गरेन भने कानुनको के अर्थ ? यसमा नेपाल सरकारले चासो प्रकट गरेको छैन। प्रधानमन्त्रीबाट यस विषयमा आधिकारिक वक्तव्य आएको छैन।

देशको प्रधानमन्त्री भएपछि नागरिकका समस्यालाई सम्बोधन गर्नु उनको कर्तव्य हो। जबसम्म सरकारले यस विषयलाई सम्बोधन गर्दैन, तबसम्म छात्राहरूले राहत महसुस गर्दैनन्। यस्तो अभिव्यक्ति दिनु दण्डनीय र अक्षम्य अपराध हो।

बंगलादेशका पत्रपत्रिकाले पनि यस विषयमा समाचार छापिरहेका छने। यसले बंगलादेशी नागरिकले नेपालीलाई हेर्ने दृष्टिकोण प्रभावित हुन सक्छ। आफ्नै देशको सरकारले आफ्नै देशका नागरिकलाई नभएको आरोप लगाएपछि उनीहरूले के सोच्छन् ? यसले दीर्घकालीन असर पुर्‍याउँछ।

नवीन यादव नेप्लिज स्टुडेन्ट एसोसिएसन, बंगलादेश, अध्यक्ष

सम्पूर्ण साप्ताहिकबाट साभार।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेकपामा आबद्ध विद्यार्थी संगठनले मागे आइजीपी खनालको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू... बाँकी यता

tamang online / October 4, 2018

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी... बाँकी यता

tamang online / September 13, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution