हीरादेवी वाइबाका गीत नवनित आदित्य वाइबाको स्वरमा एल्बम
पुस १४, २०७३- गायिका हीरादेवी वाइबाले आफ्नो चार दसक लामो सांगीतिक यात्राका क्रममा थुप्रै लोकभाका गाउन भ्याइन् । उनका छोरा सत्य आदित्य वाइबाका अनुसार हीरादेवीका ३ सय वटा लोकधुन रेकर्डेड छन् । तिनै सयौं गीतबाट सातवटा चर्चित गीत छानेर हीरादेवीकी छोरी, नवनित आदित्यले एउटा एल्बम नै तयार पार्न लागेकी छन् ।
‘फरिया ल्याइदिएछन्…’, ‘आइस्याङ्बो सहनाईको संकेतले…’, ‘धनकुटाको डाँडैडाँडा…’ जस्ता चर्चित लोकगीतहरू अब नवनितको स्वरमा सुन्न पाइने भएको छ । आमाका गीतको सम्मान र संरक्षण गर्ने हेतुले उनले गएको एक वर्षदेखि यो काममा जुटेको बताइन् । सानैदेखि गितार बजाउने सत्य पनि दिदीलाई सघाउन अहिले दार्जिलिङबाट काठमाडौं आइपुगेका छन् ।
मार्चको पहिलो साता निकाल्ने भनिएको एल्बममा ‘कुटुम्ब’ समूहले संगीत संयोजन गरिरहेको छ । पुरानो प्रविधिमा रेकर्ड गरिएका आमाका गीतलाई अहिलेको डिजिटल प्रविधिमा ढालेर नयाँ पुस्तामाझ लोकप्रिय बनाउने उद्देश्य रहेको सत्यले बताए । ‘पुराना लोकभाकाहरू रिभाइभ होऊन् भनेर यस्तो गरिएको हो,’ सत्यले भने, ‘आमाकै स्तरमा गाउन दिदीले धेरै मिहिनेत गरिरहेकी छन् ।’
पेसाले एयरहोस्टेस नवनितले आमाकै गीतमार्फत पहिलोपल्ट गाउने प्रयास गरिरहेकी छन् । यद्यपि, उनको स्वर युटयुबमा सुन्न सकिन्छ । ‘आइस्याङ्बो…’, ‘फरिया ल्याइदिएछन्…’ लगायत गीतको अडियो भर्सन उनले आफ्नै नामकको युटयुब च्यानलमा अपलोड गरिसकेकी छन् । हीरादेवीका छोराछोरीको प्रयासबारे अवगत गराउन बुधबार सानो कार्यक्रम पनि गरिएको थियो ।
सन् १९७० को दशककी चर्चित गायिका हीरादेवी ७१ वर्षको उमेरमा सन् २०११ मा दिवंगत भएकी थिइन् । विशेषत: पूर्वेली लोक भाकाको उत्थानका लागि उनको योगदानको स्मरण गरिन्छ । सन् १९६६ मा रेडियो नेपालबाट गायन यात्रा सुरु गरेकी उनले लोकजीवन, मौलिकता र सांस्कृतिक भाव बोकेका गीत बढी गाएकी थिइन् । @ इकान्तिपुर |