मधेसी मोर्चाले राजविराजमा विरोध प्रदर्शन र मसाल जुलुस
फाल्गुन १०, २०७३- सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको थियो । सरकारी घोषणाको केही घण्टामै निर्वाचनको विरोधमा उत्रिएको मोर्चाले फागुन ११ गते आह्वान गरेको मधेस बन्दको पूर्वसन्ध्यामा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाका नेता कार्यकर्ता सम्मलित मसाल जुलुस राजविराजको विभिन्न भागको परिक्रमा गर्दे स्थानीय नेता चोकमा सम्पन्न भएको थियो । सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दे आफूहरुको माग सम्बोधन नहुन्जेल कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिए ।
यस्तै, मध्य तराईका बारा, पर्सा र रौतहटमा मंगलबार प्रदर्शन भएको छ । संविधान संशोधन नै नगरी चुनाव गराउनु धोखा हो भन्दै मधेस केन्द्रित दलका नेता कार्यकर्ताहरुले वीरगन्ज र कलैयामा टायर बालेर प्रदर्शन गरेका हुन् । ‘संशोधन अघि चुनावको औचित्य छैन् । चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको छ,’ संघीय समाजवादी फोरम नेपालका कलैया नगर अध्यक्ष विनोद बरैले भने, ‘चुनाव चाहिन्छ । तर संशोधनपछि ।’