के हो फाइभ जी, कति हुन्छ स्पीड ??
काठमाडौं, फागुन २० । नेपालमा हालै नेपाल टेलिकमले फोर जी मोवाइल टेक्नोलोजी ग्राहक माझ ल्याएको छ । विश्वभर फोर जीले व्यापकता पाएको भए पनि नेपालमा भने भर्खरै याे सेवा सुरु भएको हाे । अझै देशभर याे सेवा विस्तार हुन सकेकाे छैन ।तर नेपालमा फोर जी सुरु हुँदै गर्दा विश्व भने फाइभ जी, अर्थात पाँचौ पुस्ताको मोवाइल प्रविधिमा फड्को मार्ने जमर्को गर्दैछ ।
हालै बार्सिलोनामा आयोजित मोवाइल वल्र्ड कंग्रेसमा सामसुङले आफ्नो नयाँ मोवाइल सेट सामसुङ ग्यालेक्सी एस ८ र ट्याब्लेटको सट्टा पाँचौ पुस्ताको प्रविधिका बारेमा चर्चा गरेको थियो । उक्त सम्मेलनमा यो प्रविधिका सम्बन्धमा अध्ययन, अनुसन्धानहरु भइरहेको बताउँदै यसको आगमनले विश्वलाई एउटा नयाँ युगमा प्रवेश गराउने बताइएको छ ।
के हो फाइभ जी ?
फाइभ जी हाल हामीले चलाउँदै आएको मोवाइल इन्टरनेट भन्दा सय गुणा र हाम्रो घरमा उपलब्ध हुने सबैभन्दा तीव्र गतिको इन्टरनेट भन्दा १० गुणा छिटो हुने बताइएको छ ।
यो प्रविधि थ्री जीबाट फोर जी मा पुस्तान्तरण भएभन्दा फरक हुनेछ । किनकी, यो प्रविधि सामान्य फोर जी बाट फाइभ जी मा स्तरोन्नती मात्र हुनेछैन । यसमा गति, प्रतिकृया लगायतका धेरै विषयमा एउटा क्रान्तिकारी परिवर्तन हुने बताइएको छ ।
कहिले आउँछ ?
यो प्रविधि सन् २०२० सम्ममा हाम्रो घरदैलोमा पुर्याउने उदेश्यले विगत एक वर्षभन्दा पहिलेदेखी प्राविधिकहरुले अध्ययन, अनुसन्धान सुरु गरिसकेका छन् ।
तर, मोवाइल कंग्रेसमा यो प्रविधि अपेक्षित समयभन्दा पहिले नै बजारमा आउने बताइएको छ ।
विज्ञहरुका अनुसार यो प्रविधि सन् २०१९ सम्ममा सार्वजनिक भइसक्ने बताइएको छ ।
अमेरिकामा यसै वर्ष
सन् २०१९ सम्ममा मोवाइलमा प्रयोग गर्न मिल्नेगरी यो प्रविधिको विकाश भइरहेको भए पनि होम इन्टरनेटमा भने यो प्रविधि अहिल्यै प्रयोगमा आउन लागेको छ ।
अमेरिकामा भेरिजोन नामक इन्टरनेट सेवा प्रदायक कम्पनीले घर घरमा पाँचौं पुस्ताको इन्टरनेट सेवा परीक्षण गर्ने तयारी गरेकाे छ । जसको गती हाल उपलब्ध भन्दा धेरै गुणा छिटो हुने बताइएको छ ।
यो इन्टरनेट सेवा हाल सबैभन्दा तीव्र मानिएको गुगलको इन्टरनेट भन्दा पनि धेरै तीव्र हुने अपेक्षा गरिएको छ ।
कति हुन्छ स्पीड ?
फाइभ जी को स्पीड कति हुने भन्ने अहिले नै सार्वजनिक भइसकेको छैन । तर, समाचारहरुमा आए अनुसार यसको गति परीक्षणका क्रममा १० देखी २० जिबी पर सेकेण्ड हुने बताइएको छ ।
अमेरिकी इन्टरनेट प्रदायक कम्पनी भेरीजोनले यसको गती परीक्षणका क्रममा २० जिबी प्रति सेकेण्ड भएको बताएको छ ।विज्ञहरुले यसको गति १० देखी २० जिबीको हाराहारी हुने दावी गरेका छन् । समाचारहरुमा यसको गति २० जिबी पर सेकेण्ड हुने बताइएको छ ।